साप्ताहिक संवाददाता
अबको अभिनय यात्रा कसरी अघि बढाउने योजना छ ?
चलचित्र छक्कापञ्जा–२ को छायांकन सफलतापूर्वक सम्पन्न गर्ने योजना छ । त्यसका साथै आफ्नी मेरी श्रीमती सीतादेवी घिमिरेलाई पनि कलाकारितामा सक्रिय गराउँदैछु ।
सानो पर्दामा फर्कने सम्भावना कत्तिको छ ?
अनुहार मात्र देखाउन त फर्कन्न, राम्रो स्क्रिप्ट तथा कथा लेख्न सक्ने भएपछि टेलिश्रृंखलामा फर्कनेछु तर टेलिभिजनमै आउने कि युट्युबमा सीमित हुने भन्ने कुराचाहिं निर्णय गर्न बाँकी छ । नेपाल टेलिभिजनमा टेलिश्रृंखलाका लागि वातावरण राम्रो छैन । मेरा लागि मात्र होइन, यतिबेला कुनै पनि हास्य श्रृंखलाका लागि टेलिभिजनको वातावरण अनुकूल छैन ।
सीताराम कट्टेल धुर्मुससँगको सम्बन्ध कस्तो छ ?
हाम्रो सम्बन्ध राम्रो छ । उहाँ बेला–बेलामा फोन गरेर मेरो स्वास्थ्यका बारेमा जानकारी लिइरहनुहुन्छ ।
मेरी बास्सैकै कारण तपाईंहरू छुट्टिनुभयो नि ?
वास्तवमा हामीलाई परिस्थितीले छुट्यायो । मेरी बास्सै पिकमा रहेका बेला हामी सांस्कृतिक कार्यक्रममा पनि असाध्यै व्यस्त भयौं । त्यही क्रममा हामीले सल्लाह अनुसार नै २५ मिनेटको श्रृंखलालाई दुई भिन्न स्थानमा छायांकन गर्न थाल्यौं । अलग–अलग खिच्ने क्रममा हामी टेलिश्रृंखलाबाटै अलग भयौं ।
तपाईंहरूबीच कुरा नमिलेको चर्चा पनि थियो नि ?
मिडिया हबबाट पैसा नआएपछि मैले श्रृंखला रोकौं भन्ने प्रस्ताव गरें, उहाँले सुचारु गरौं भन्नुभयो । कुनै बिन्दुमा पुगेर बन्द गर्ने सहमति पनि भयो, तर उहाँ कसरी कन्भिन्स हुनुभयो थाहा छैन, एक्लैले श्रृंखलालाई अघि बढाउनुभयो । त्यसपछि हामी बाहिर देखिने नै गरी छुट्टियौं ।
मेरी बास्सै श्रृंखलालाई कसरी सम्झनु हुन्छ ?
केदार घिमिरेलाई माग्ने बूढो बनाउने श्रेय मेरी बास्सैलाई नै जान्छ ।
अहिले युट्युबमा सक्रिय देखिनुहुन्छ, यसतर्फ कसरी आकर्षित हुनुभयो ?
सन् २०१३ मा अष्ट्रेलिया पुगेका बेला त्यहाँका मानिसहरू टेलिभिजनको साटो युट्युबमै कार्यक्रम हेरेको देखेर म दंग परें । नेपालमा पनि कुनै बेला युट्युबको दिन आउँछ भनेर मैले त्यति बेलै भनेको थिएँ । त्यहाँबाट फर्किएपछि मैले युट्युबमा च्यानल बनाएर आफ्ना सामग्रीहरू अपलोड गर्न थालें ।
यतिबेला युट्युबमा तपाईंको सक्रियता कस्तो छ ?
आमा अग्निकुमार मिडिया (१ लाख ६० हजार ग्राहक) तथा माग्नेबूढो (३६ हजार ग्राहक) सहित झन्डै १५ वटा च्यानल सञ्चालन गरिरहेको छु । ती च्यानलमा मैले अरूले तयार पारेका हास्य सामग्री पनि किनेर राखेको छु ।
अहिलेसम्म कति लगानी गर्नुभयो ? प्रतिफल कस्तो छ ?
युट्युबका लागि मात्र मैले झन्डै ८० लाख रुपैयाँ लगानी गरिसकेको छु, करिब ५० लाखजति आम्दानी पनि भयो होला । यो दीर्घकालिन काम भएकाले भविष्यमा राम्रो होला भन्ने आशा छ ।
पछिल्लो एक वर्षको अवधिमा के गुमाएँ, के पाएँ जस्तो लागेको छ ?
म स्टेज कार्यक्रमहरूमा पछि परेको पक्कै हो । पूर्ण रुपमा स्वस्थ भएपछि पुनः स्टेजमा उक्लिनेछु । हजारौं शुभचिन्तक कमाएको रहेछु भन्ने कुरा पनि अनुभव गरेको छु ।