सन्ध्या लामाले पुरुषका रूपमा जन्म लिए पनि साहसिक रूपमा आफूलाई तेस्रोलिंगीका रूपमा सार्वजनिक गरेर महिला वेशभूषा धारण गरेकी छिन् । झट्ट हेर्दा उनलाई कसैले पनि पुरुषबाट महिलामा रुपान्तरित तेस्रोलिंगी भन्न सक्दैनन् । यही रूपरंग एवम् जन्मजात नृत्य प्रतिभाले उनलाई म्युजिक भिडियो तथा चलचित्रमा अवसरको बाटो खोलिदिएको छ ।
३० वर्षीया सन्ध्या हालै भारतको मुंगेरबाट एउटा भोजपुरी म्युजिक भिडियोमा दुईवटा गीतमा अभिनय गरेर फर्किएकी छिन् । भोजपुरी चलचित्र ‘किस्मत’ को एउटा आइटम गीतमा आकर्षक नृत्य गरेकी सन्ध्याले अर्को भोजपुरी चलचित्र ‘जब प्यार किया तो डरना क्या’ मा एचआईभीविरुद्ध जनचेतना फैलाउने अभिनय गरेकी छिन् ।
२००८ मा काठमाडौंमा विश्व बैंकले आयोजना गरेको तेस्रोलिंगीहरूको ‘मिस ब्युटी एन्ड ब्रेन’ प्रतियोगिताको उपाधि जितेकी सन्ध्या बैंककमा सम्पन्न तेस्रोलिंगीहरूबीचको ‘मिस इन्टरनेसनल क्विन’ को अन्तिम १० सम्म पुगेकी थिइन् ।