साप्ताहिक संवाददाता
निर्देशक : रामेशकुमार राई
संगीत : विकास चौधरी
कलाकार : दिलीप रायमाझी, अनु शाह, राकेशकुमार राई, रवीन्द्र आचार्य, खुश्बु खड्का, बिमला गिरी, सूरवीर पण्डित, ममता शर्मा, सूर्य जिसी आदि ।
५०–६० को दशकमा छाएका दिलीप रायमाझीले आफ्नो बेलामा सुपरहिट चलचित्रहरू दिए र त्यसपछि अमेरिका भासिए । हाल अमेरिकामा रहँदै आएका नायक रायमाझीले एक वर्षअघि नेपाल फर्केर अभिनय गरेको चलचित्र ‘गोरे’ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।
सामाजिक प्रेमकथात्मक चलचित्र ‘गोरे’ मा दिलीपले पहिलेझैं नाच्ने–नचाउने र हाँस्ने–हँसाउने भूमिका निर्वाह गरेका छन् । खलपात्रबाट पिडित दुई नायकले लिने बदला चलचित्र गोरेको मुख्य विषय हो । अनु शाह यो चलचित्रमा दिलीपकी जोडीका रूपमा देखा पर्नेछिन् ।
यही चलचित्रबाट तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक राकेशकुमार राई अभिनेताका रूपमा डेब्यु गर्दैछन् । चलचित्र ‘गोरे’ मा एक्सन, रोमान्टिक एवं समसामयिक विषयवस्तु समेटिएको बताइएको छ । चलचित्रमा हुनुपर्ने मसलाहरूको भरपुर उपयोग गरिएकाले गोरे मनोरञ्जक बनेको निर्माण पक्षको दाबी छ । जी.एस. मुभि मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘गोरे’ को प्रस्तुतकर्ता सूर्य जिसी हुन् भने रूपा जिसि चलचित्रकी निर्मात्री हुन् ।