साप्ताहिक संवाददाता
प्रदर्शनको तयारीमा रहेको चलचित्र पञ्चायतबाट अमेरिकामा सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड जित्न सफल अभिनेत्री हुन्— नीता ढुंगाना । कुशल अभिनय गर्न सक्ने नीता हरेक प्रकारका भूमिकामा उत्तिकै सशक्त देखिन्छिन् । पछिल्लो समय उनले आफूलाई आइटम गर्लका रूपमा समेत प्रस्तुत गर्न भ्याएकी छिन् ।
फागुन २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र हुर्रेको बाँचे नि पशुपति...गीतमा नीताले प्रस्तुत गरेको आइटम डान्स कामूक मात्र छैन, कलात्मक पनि छ । अभिनेता राजाराम पौडेलले समेत कम्मर मर्काएको उक्त गीतको सामूहिक नृत्यमा नीतालाई झन्डै एक दर्जन नृत्य कलाकारले साथ दिएका छन् ।
कालीप्रसाद बाँसकोटा तथा एकतारेको शब्दको उक्त गीतमा कालीप्रसादकै संगीत एवं झुमा सुब्बा तथा कालीप्रसादको स्वर सुन्न सकिन्छ । ‘पहिलो पटक आइटम गीतमा नृत्य गर्न पाउँदा खुसी लागेको छ, नीता भन्छिन्— गीत मन परेकाले नै उनी नृत्यका लागि तयार भएकी हुन् । गीत सार्वजनिक गर्ने समारोहमा पनि नीताले आइटम डान्स नै गरेर मनोरञ्जन प्रदान गरेकी थिइन् ।