साप्ताहिक संवाददाता
निर्देशक : मिलन चाम्स
कलाकार : बेनिशा हमाल, अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह, वसन्त भट्ट आदि ।
संगीतकार : हरि लम्साल, ताराप्रकाश लिम्बु तथा कल्याण सिंह
नेपाली चलचित्रमा फरक धारका चलचित्र निर्माण हुने क्रम बढ्दो छ । आज शुक्रबार सार्वजनिक हुने चलचित्र ब्लाइन्ड रक्स पनि व्यवसायिक चलचित्रभन्दा अलग छ । यो चलचित्रमा कुनै एक व्यक्तिको जीवनचित्र उतार्ने प्रयास गरिएको छ, अर्थात् यो एउटा बायोपिक चलचित्र हो । वास्तविक जीवनमै दृष्टिविहीन युवती सृष्टि केसीको संघर्षको कथालाई चलचित्र ब्लाइन्ड रक्सको मुख्य विषय बनाइएको छ ।
निर्देशक मिलन चाम्सले लामो अनुसन्धानपछि यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा अभिनेत्री बेनिशा हमालले सृष्टि केसीको भूमिका निर्वाह गरेकी छिन् । त्यसका लागि अभिनेत्री हमालले लामो समयसम्म सृष्टि केसीको संगत गरेकी थिइन् । निकेश लिम्बुद्वारा निर्मित यो चलचित्रमा औषधिको गलत प्रयोगबाट सधैंका लागि दृष्टि गुमाएकी सृष्टि केसीको दृष्टि गुम्नुअघिको अवस्थादेखि आजसम्मको परिस्थिति समेटिएको छ ।
चलचित्रमा आँखाको ज्योति गुमाए पनि जीवनदेखि हरेश नखाई अघि बढेको प्रसंगलाई प्राथमिकता दिइएको छ । आफ्नो जीवनलाई प्रगतिपथमा लम्काउन सफल सृष्टि केसीको जीवन भोगाइलाई यो चलचित्रमा उतारिएको छ । शारीरिक अपांगता भएका व्यक्तिहरू सामान्य मान्छेजस्तै काम गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्ने चलचित्र ब्लाइनड रक्समा मानवीय संवेदनालाई पनि मनोरञ्जक शैलीमा प्रस्तुत गरिएको छ । आँखा नदेख्दैमा प्रगति रोकिँदैन, सफल हुनबाट कसैले रोक्न सक्दैन भन्ने सन्देश बोकेको यो चलचित्र यसअघि विदेशका विभिन्न सहरमा प्रदर्शन भैसकेको छ ।