साप्ताहिक संवाददाता
चलचित्रका अभिनेत्री तथा फेसन शोका मोडल मात्र होइन, स्टेजमा उत्कृष्ट सांगीतिक प्रस्तुती दिने गायिकाहरूले पनि आफूलाई ग्ल्यामरस शैलीमा प्रस्तुत गर्न थालेका छन् । गायिका इन्दिरा जोशी हुन् अथवा आस्था राउत, स्टेजमा उनीहरूको प्रस्तुति लोभलाग्दो त हुन्छ नै, हाउभाउ पनि उत्तिकै आकर्षक हुन्छ । उनीहरूलाई नै पछ्याउँदै नेपाली सांगीतिक क्षेत्रमा एउट नयाँ अनुहारको उदय भएको छ– सिर्जना गुरुङका रूपमा ।
केही महिनाअघि ‘मेरो एल्बम’ शीर्षक राखेर डेब्यू एल्बम सार्वजनिक गर्ने यी गायिकाले उक्त एल्बमको ‘खुशी छ यो मन’ गीतको म्युजिक भिडियोबाट राम्रै प्रशंसा पाएकी थिइन् । कन्सर्टमा समेत बाक्लै उपस्थिति जनाउन थालेकी सिर्जना आफ्ना तस्बिरलाई फेसबुकमा राखेर सयौं लाइक र कमेन्ट पाइरहेकी छिन् भने उनले भविष्यमा मोडलिङ हुँदै चलचित्रमा आउन सक्ने सम्भावनालाई समेत नकारेकी छैनन् ।
यसैबीच, सिर्जनाले आफ्नो नयाँ गीत किन दु:ख मान्छौको म्युजिक भिडियो यसै साता सार्वजनिक गर्दैछिन् ।