
साप्ताहिक संवाददाता
चलचित्र सफल भयो भने सबैभन्दा फाइदा त्यसका अभिनेता–अभिनेत्रीलाई हुन्छ । यतिबेला एउटा चलचित्र सफल भएको फाइदा भने एक जना निर्देशकले पाएका छन् । प्रसंग हो निर्देशक विशाल भण्डारीको । चलचित्र कोहलपुर एक्सप्रेसको सफलतासंगै यी निर्देशकले दर्जनौं प्रस्ताव पाउन थालेका छन् । कोहलपुर एक्सप्रेसकै निर्माताहरूको समूहले भण्डारी समक्ष कोहलपुर–२ निर्देशन गर्न आग्रह गरिसकेको छ भने अर्का एक निर्माताले प्रेम कथामा आधारित चलचित्र यही भदौदेखि फ्लोरमा लानै पर्ने दबाब दिएका छन् ।
यी सबै दबाबकाबीच निर्देशक भण्डारी भने सुटुक्क आफ्नो पुरानो विधा अर्थात् म्युजिक भिडियोको निर्देशनमा सक्रिय छन् । कोहलपुर एक्सप्रेसका कारण झन्डै आठ महिना भिडियो निर्देशन गर्न नभ्याएका भण्डारी जेठको पहिलो सातादेखि अचानक भिडियो निर्देशनमा व्यस्त भएका हुन् । ‘हप्तामै तीन–चारवटा भिडियो निर्देशन गरिरहेको छु, भण्डारी भन्छन्–‘आठ महिनादेखि मलाई पर्खेर बसेका स्रष्टालाई पहिलो प्राथमिकता दिएर काम गर्दैछु ।’
