
नेपाल आइडल सिजन–२ को अडिसन राउन्ड सम्पन्न भैसकेको छ । देशभरका अनेकौं प्रतिभाको सहभागिताबीच दोस्रो राउन्डका लागि १ सय ११ युवाले प्रतिस्पर्धा गर्दैछन् । नेपाल आइडलमार्फत धेरैले आफ्नो परिचय बनाउँदै प्रशंसकसमेत बटुल्न थालिसकेका छन् । यही अडिसन यात्रामा ४ जना प्रतिभाले निर्णायकहरूको मन यसरी जितेकी उनीहरूले सिधै गोल्डेन माइक हात पार्दै गाला राउन्डका लागि आफ्नो स्थान सुरक्षित गरे ।
मीनराज पौडेल, चितवन
रत्ननगर चितवनका मिनराज पेसाले शिक्षक हुन् । सानैदेखि घरमा बुवाले बजाउने विभिन्न वाद्यवादनबाट प्रभावित भएर संगीतमा लागेका पौडेलले हेटौंडामा सम्पन्न अडिसनमा तृष्णा गुरुङको ‘गाइने दाजैले’ गाउँदै निर्णायकहरूको मन जिते । पौडेल नेपाल आइडलमा पहिलो गोल्डेन माइक हात पार्ने प्रतिभा हुन् ।
नीलिमा थापामगर, पोखरा
पोखराकी नीलिमाको लक्ष्य नै संगीत हो । संगीतका लागि शिक्षण पेसा समेत छाडेकी थापाको परिवार सामान्य पसलबाट चलेको छ । कलेज पोसाकमै अडिसनमा उपस्थित भएकी निलिमाले श्रेया सोताङको एक्लो मन गाएर निर्णायकहरूको मन जितिन् । उनले सिने गुरुङको मन किन रुन्छ मन समेत गाएर गोल्डेन माइक हात पारेकी थिइन् ।
विक्रम बराल, पोखरा
बारहरूमा गाउने विक्रम बराल विभिन्न ब्यान्डसँग पनि आबद्ध छन् । उनले आइडलको पहिलो शृङ्खलामा समेत गोल्डेन टिकट प्राप्त गरेका थिए । यद्यपि त्यतिबेला अध्ययनका कारण उनले थिएटर राउन्डमा सहभागिता जनाएनन् । सबै किसिमका गीत गाउने खुबी भएका बरालले फत्तेमानको मर्न बरु गाएर गोल्डेन माइक हात पारेका हुन् ।
सुमित पाठक, झापा
झापा, सुरुंगाका सुमित सानैदेखि गाउँथे । सानैमा आमा गुमाएका पाठकले विभिन्न अप्ठ्यारा बेहोरे पनि संगीतलाई भने छाडेनन् । काठमाडौं अडिसनमा नारायणगोपालको ‘गल्ती हजार हुन्छन्’ बाट निर्णायकहरूको मन जितेका सुमितले एड्रिएन प्रधानको गीत सुनाएपछि जजहरूलाई गोल्डेन माइक दिन करै लाग्यो ।