साप्ताहिक संवाददाता
वर्ष २०७४ मा प्रदर्शित ९० वटा चलचित्रमध्ये ४४ वटा चलचित्र फ्लप सावित भएका थिए । वर्ष २०७५ मा उक्त संख्या ठ्याक्कै दोब्बरले बढेको छ । यो वर्ष प्रदर्शनमा आएका झन्डै ९३ वटा चलचित्रमध्ये करिब ८० वटा चलचित्र असफल भएका छन् । राम्रो व्यवसाय गर्ने आशा गरिएका चलचित्र समेत यो वर्ष नराम्रोसँग चिप्लिए ।
औसत रहे राम्रा चलचित्र
चलचित्रकर्मी मनोज पण्डितले चितवन राष्ट्रिय निकुञ्जमा घटेका घटनाहरूलाई समेटेर तयार पारेको कमलजंग कुँवरद्वारा लिखित पुस्तक ‘गैंडालाई चार वर्ष’ मा आधारित चलचित्र ‘खाग’ औसत रह्यो । उक्त चलचित्रमा प्रविण खतिवडाको सशक्त भूमिकालाई मन पराइयो, यद्यपि चलचित्रले व्यवसायिक सफलता हासिल गर्न सकेन ।
सब्बिर श्रेष्ठद्वारा निर्देशित चलचित्र ‘बाँध मायाले’ सफल हुने अनुमान गरिएको थियो । चलचित्रमा सृष्टि श्रेष्ठ तथा आर्यन अधिकारीको रोमान्टिक भूमिकालाई दर्शकले खासै रुचाएनन् । आकाश श्रेष्ठ र आश्मा गिरीको चलचित्र ड्रिम गर्ल पनि आशा गरिए अनुसार चलेन । नरेश कुमार केसीले मेहनत गरेर निर्माण गरेको चलचित्र रोमियो एण्ड मुनाको अवस्था पनि उस्तै रह्यो । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको जोडीलाई दर्शकले स्वीकार गरेनन् । अत्यधिक प्रचारप्रसार गरिएको चलचित्र दि म्यान फ्रम काठमाडौं समेत व्यवसायिक रुपमा औसत मात्र रह्यो । यो चलचित्रलाई पेमा डोण्डूपले निर्देशन गरेका हुन् भने यसमा बलिउड, हलिउड तथा पाकिस्तानी चलचित्रकर्मीहरूले समेत अभिनय गरेका छन् ।
गोपीकृष्ण मुभिजको निर्माण, निरक पौडेलको निर्देशन तथा प्रदीप खड्काको अभिनयको चलचित्र रोज औसतभन्दा माथि उठ्न सकेन । दर्शकले यो चलचित्रको प्रस्तुतीकरण नै मन पराएनन् ।
रेखा थापाको मालिका पनि व्यवसायिक रुपमा असफल भयो । वसन्त अधिकारीले निर्देशनमा डेब्यू गरेको चलचित्र जानी नजानी स्तरिय हुँदा–हुँदै पनि सफल हुन सकेन । सञ्चारकर्मीबाट निर्देशनको क्षेत्रमा आएका भीषण राईले पहिलो चलचित्र ‘पुरानो बुलेट’ सम्भावना त प्रसस्त देखाए, यद्यपि व्यवसायिक रुपमा भने चलचित्र असफल भयो ।
सञ्चारकर्मी दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘गोपी’ मौलिक विषयवस्तुमा आधारित भए पनि व्यवसायिक रुपमा सफल हुन सकेन । विपिन कार्की मुख्य भूमिकामा रहेको उक्त चलचित्र समीक्षकहरूको रोजाइमा मात्र पर्न सक्यो ।
खगेन्द्र लामिछानेले अभिनय गरेको चलचित्र डमरुको डन्डिबियोले उत्कृष्ट व्यवसाय गर्नेछ भन्ने अनुमान धेरैको थियो । लोप भैसकेको खेल डन्डिबियोमा आधारित उक्त चलचित्रलाई दर्शकले खासै रुचाएनन् ।
झण्डै साढे दुई करोड रुपैयाँको लगानीमा निर्माण गरिएको चलचित्र रणवीर पनि चिप्लियो । चलचित्रले लगानी सुरक्षित गर्न नै संघर्ष गर्नु पर्यो । मुस्कान ढकालको निर्देशनमा तयार भएको सुविन भट्टराईको कृतिमा आधारित चलचित्र समर लभले पनि आशा गरे अनुरुप सफलता हासिल गर्न सकेन ।
युवा ज्योतिष हरिहर अधिकारीले अभिनेताका रुपमा पदार्पण गरेको चलचित्र शुभ लभ पनि सफल हुन सकेन । अपिल विष्टको चलचित्र कागज पत्रले समाजमा देखा परेको नयाँ समस्यालाई उजागर गरेको थियो । विदेश जान गरिने नक्कली विवाहको विषय समेटिएको यो चलचित्रलाई पनि दर्शकले साथ दिएन्न । हेमराज बिसीको चलचित्र दि ब्रेकअप पनि सम्भावना हुँदा–हुँदै पनि चलेन । ठूलो लगानीको उक्त चलचित्रलाई आसिरमान देशराज जोशी तथा शिल्पा मास्केले समेत जोगाउन सकेनन् । वैशाखको दोस्रो साता प्रदर्शनमा आएको चलचित्र कोहलपुर एक्सप्रेसको प्रचार–प्रसार व्यापक भयो, यद्यपि चलचित्रलाई लगानी सुरक्षित गर्न धौ–धौ पर्यो । केकी अधिकारीद्वारा निर्देशित यो चलचित्र मनोरञ्जक भए पनि यसले भने जस्तो बजार पाउन सकेन ।
दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र चंगा चेटले उत्कृष्ट व्यवसाय गर्ने अपेक्षा गरिएको थियो । आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परिमिता राणा, रवीन्द्र झा आदि कलाकारले अभिनय गरेको यो चलचित्रको व्यवसायिक पक्ष औसत रह्यो ।
विनोद पौडेलद्वारा निर्देशित चलचित्र बुलबुलले पनि फरक विषय उठान गरेको थियो । अभिनेत्री स्वस्तिमा खड्काले बेजोड अभिनय गरेको यो चलचित्र व्यवसायिक रुपमा भने औषत मात्र रह्यो । चलचित्रले मुकुन भुसालका रुपमा एक जना प्रतिभाशाली अभिनेता नेपाली फिल्म उद्योगलाई दिएको छ । चलचित्रको व्यवसायिक पक्ष जे–जस्तो रहे पनि यसले टेम्पो चालिकाको जीवनशैलीलाई प्रस्तुत गरेर सानो विषयमा समेत राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ ।
चल्दै नचलेका केही चलचित्र
२०७५ सालमा प्रदर्शनमा आएको पहिलो चलचित्र हो– स्वर्ग मेरो गाउँ । रामकृष्ण बजगाईंको यो चलचित्र सिनेमा हलमा दुई दिन पनि टिक्न सकेन । चलचित्रमा नरेन खड्का र भावना गुरुङ मुख्य भूमिकामा थिए । भनिन्छ, यो चलचित्रले पोस्टरको लगानी समेत उठाउन सकेन । वैशाखमै प्रदर्शनमा आएको मिलन चाम्स निर्देशित ह्याप्पी डेजको अवस्था पनि उस्तै रह्यो । निकै मेहनत गरिएको गोपालचन्द्र लामिछानेको चलचित्र लम्फूले पनि अपेक्षाकृत परिणाम दिएन । कान्छा निर्देशक सौगात विष्टको हैरानलाई पनि दर्शकले पत्याएनन् । अर्पण थापाले विदेश पुगेर छायांकन गरेको हरर चलचित्र सुनकेशरीले पनि दर्शकको साथ पाएन । एनबि महर्जनको हिरोज पनि असफल भयो ।
विपिन कार्कीले पृथक भूमिका निर्वाह गरेको चलचित्र हरी पनि चलेन । उक्त चलचित्रको प्रस्तुतीकरण आकर्षक भए पनि अनि विपिन कार्कीले स्तरीय अभिनय गरे पनि यसले दर्शकलाई सिनेमा हलसम्म आकर्षित गर्न सकेन । सूर्य बोहोराको चलचित्र भैरे पनि चलेन । दयाहाङ राईसहितका स्टार कलाकारले समेत यो चलचित्रलाई सफल बनाउन सकेनन् । दिनेश श्रेष्ठको चि मुसी चि पनि व्यवसायिक रुपमा सफल हुने आशा गरिएको थियो । यद्यपि, उक्त चलचित्रले दर्शकहरूलाई निराश बनायो । प्रदीप श्रेष्ठद्वारा निर्देशित चलचित्र ब्ल्याकमा झन्डै आधा दर्जन अभिनेताले अभिनय गरेका थिए । यद्यपि चलचित्रले सन्तोषजनक व्यवसाय गर्न सकेन ।
एलिजा गौतमले निर्माण गरेको चलचित्र अनुराग पनि असफल भयो भने संगीता श्रेष्ठले निर्देशकका रुपमा डेब्यू गरेको चलचित्र कथा काठमाडौंले पनि दर्शकको पर्याप्त माया पाउन सकेन । प्रेम गीत जस्तो सफल चलचित्र निर्माण गरेका सन्तोष सेनले यो वर्ष निर्माण गरेको चलचित्र मेरी मामु व्यवसायिक रुपमा असफल रह्यो ।
यश कुमारले निर्माण गरेको चलचित्र छिरिङले पनि सफलताको स्वाद चाख्न सकेन । सञ्चारकर्मी सुव्रतराज आचार्यको चलचित्र सुश्री सम्पत्ति पनि व्यवसायिक रुपमा असफल भयो । प्रविण स्याङ्बोको अलग धारको चलचित्र कथा–७२ स्तरीय भए पनि यसले व्यवसायि रुपमा सफलता हासिल गर्न सकेन । विप्लव उप्रेतीको जय श्री धाम पनि चलेन । रामशरण पाठकको भ्रष्टाचार विरुद्धको चलचित्र सय कडा दश पनि व्यवसायिक रुपमा असफल रह्यो । व्यंग्यकार मनोज गजुरलेले पहिलो पटक अभिनय गरेको भए पनि यो चलचित्रप्रति दर्शकले खासै चासो देखाएनन् ।
विगतमा सति प्रथामा आधारित चलचित्र झोला निर्देशन गरेर चर्चामा आएका निर्देशक यादव कुमार भट्टराई यो वर्ष फरक विषयवस्तुको चलचित्र भोर लिएर दर्शकमाझ आए । दुःखको कुरा के भैदियो भने दर्शकले यो चलचित्रलाई रुचाएनन् । चलचित्र भोर सिनेमा हलमा केही दिन समेत टिक्न सकेन । सिनेमा हलमा एक–दुई दिन सम्म टिक्न नसकेका चलचित्रको सूची पनि लामै छ । मनाङ्गे नानी, अफिसर, बेबी आई लभ यू, तिमी हुन्छौ जहाँ जहाँ, चोखो माया, यो पागल मन, टिनएज, चौका दाउ, रेनी, निर्जला, दैलो, अनुग्रह, कोइला, शान्ति, गोल, जे सुकै होस्, आरोप, बैना, साथी तिमी नै हौ, ब्वाइफ्रेण्ड, फिंगर प्रिन्ट, अदालत, ऐलान जस्ता चलचित्र हलमा एक–दुई दिन पनि टिकेनन् ।