साप्ताहिक संवाददाता
गत शुक्रबार प्रदर्शनमा आएको मह सञ्चारको चलचित्र ‘दाल, भात, तरकारी’ ले मंगलबार साँझसम्ममा कुल २ करोड ५८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको निर्माता किरण केसीले बताएका छन् । ‘छक्कापञ्जा र शत्रुगतेपछि यही चलचिक्रले आत्रामक व्यवसाय गरेको तथ्यांक प्राप्त भएको छ, निर्माता केसीले साप्ताहिकसँग दाबी गर्दै भने– ‘चलचित्रले आजको मितिसम्म गरेको व्यवसायबाट हामी सन्तुष्ट छौं । बिहीबारसम्ममा ३ करोड रुपैयाँको व्यवसाय हुन सक्ने सम्भावना छ ।’
निर्माता केसीले चलचित्र हेरेका दर्शक तथा समीक्षकहरूको टिप्पणीलाई आत्मसात् गरेको पनि बताएका छन् । ‘चलचित्र समीक्षकहरूले दाल, भात, तरकारीमा नुन बढी भएर चर्को बनेको, स्वादिलो नभएको कुरा लेख्नु भएको छ, निर्माता केसी भन्छन्— ‘दाल, भात, तरकारी खाने आ–आफ्नै बानी हुन्छ, कसैलाई अलिनो मन पर्छ, कसैलाई नुन अलि बढी भएको मन पर्छ, कसैलाई हल्का गिलो मन पर्छ, कसैलाई बाक्लो दाल मन पर्छ । सबैलाई मन पर्ने ट्वाक्क परेको दाल भात तरकारी बनाउन गारै हुने रहेछ ।’
निर्माता केसीका अनुसार चलचित्र हेरेकामध्ये १० प्रतिशतले नकारात्मक प्रतिक्रिया दिएकोमा पनि निर्माण पक्ष खुसी नै छ । ‘१० प्रतिशत नकारात्मक प्रतिक्रिया जनाउनेहरूले तीनवटा कुरामा औंला उठाउनुभएको छ,’ केसी भन्छन्– उहाँहरूले चलचित्र लाउड भयो, स्टेज कार्यक्रम जस्तो भयो तथा चलचित्रका मुख्य पात्रहरूबीच अलि बढि झगडा भयो भन्नुभएको छ । ‘ती सबै प्रतिक्रियालाई हामीले आत्मसात गरेका छौं,’ केसी भन्छन्– यद्यपि चलचित्र हेर्ने दर्शकको भीड नघटेकोमा हामी सन्तुष्ट छौं ।
चलचित्रका मुख्य पात्र रामहरी (हरिवंश आचार्य) र उनकी श्रीमती उर्मिला (निरुता सिंह) को बीच माया–प्रेम भन्दा झैझगडा बढी छ । उर्मिला जसरी भए पनि अमेरिका जान लालायित छिन्, रामहरि उनको चाहना पूरा गर्ने प्रयास गरिरहेका छन् । उर्मिलाको अमेरिका जाने चाहनालाई उनका छोरा (पुष्प खड्का), उनकै प्रेमिका (आँचल शर्मा) तथा प्रेमीकाका बुवा (राजाराम पौडेल) ले पनि साथ दिएका छन् । चलचित्रका सबै मुख्य पात्र अमेरिका जाने कुरामा सहमत छन्, तर जाने कसरी ? डिभी नपरेपछि उनीहरू दलालको भूमिकाका रहेका धर्मगुरु गायक स्वामी (शिशिर बाङ्देल) को शरणमा पुग्छन् । स्वामी उनीहरूको १ करोड रुपैयाँ हजम गरेपछि आफैं अलप हुन्छन् । अमेरिका जाने भनेर घर धितो राखी जम्मा पारेको १ करोड रुपैयाँ डुबेपछि चलचित्रका पात्रहरूबीच द्वन्द्व चुलिन्छ । गायक स्वामीबाट उनीहरूले डुबेको पैसा लिने कसरतमा चलचित्रको मध्यान्तर पछिको भाग केन्द्रित छ ।
अभिनेता हरिवंश आचार्यको अभिनय चलचित्रको सबैभन्दा आकर्षक पक्ष हो । उनी चलचित्रका हरेक पक्षमा अब्बल देखिएका छन् । एउटा मध्यमवर्गीय नेपाली परिवारको अमेरिका मोहलाई चलचित्रले व्यंग्यात्मक शैलीमा चित्रण गरेको छ । डिभी भर्ने व्यवसाय गरेर सर्वसाधारणलाई झुक्याउनेहरूलाई पनि चलचित्रले झापड हानेको छ । त्यसबाहेक विदेश पुर्याउँछु भनेर मानिसहरूलाई झुक्याउनेहरूको चरित्रलाई पनि चलचित्रले मनोरञ्जक शैलीमा उदांगो बनाएको छ । यो चलचित्र हेरेपछि ठूलो धनराशि खर्चेर विदेश जान लालायितहरूको सोचमा परिवर्तन आयो भने त्यसलाई ठूलै उपलब्धि मान्नु पर्ने हुन्छ । चलचित्रको सांगीतिक पक्ष आकर्षक छ । शम्भुजित बाँस्कोटाको संगीत निर्देशनमा तयार भएका गीतहरूमध्ये भिजिट भिसामा..ले दर्शकहरूको मन जितेको छ । अभिनेत्री प्रियंका कार्कीको आइटम डान्सलाई भने विशुद्ध मसलाका रूपमा मात्र समावेश गरिएको छ । चलचित्रका कतिपय दृश्यलाई रंगमञ्चको स्वरूप प्रदान गरिएको छ । त्यसलाई कतिपयले आकर्षक मानेका छन् भने कतिपयले पट्यार लाग्दो भनेका छन् ।
चलचित्र प्रारम्भ भएको करिब आधा घण्टा एउटै कोठामा दुई–तीन जना पात्रबीच चर्को संवादसहितको झगडाले दर्शकलाई इरिटेट बनाउँछ । दर्शकहरूलाई हँसाउने प्रयासमा हरिवंश र निरुताबीच अलि बढी नै झगडा गराइएको छ । झगडाको दृश्यबाट प्रारम्भ भएको चलचित्रको अन्त्यमा पनि झगडा नै गरिरहेको दृश्य हेर्नुपर्दा दर्शकहरू खुसी हुँदै सिनेमा हलबाट बाहिरिने सम्भावना कमै हुन्छ । त्यसो त चलचित्र दाल, भात, तरकारीमा दर्शर्क हँसाउने मर–मसला प्रशस्तै छन् ।
निर्देशक : सूदन केसी । कलाकार : मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह पुष्प खड्का, आँचल शर्मा, शिवहरि पौडेल, मोहितवंश आचार्य, रविन तामाङ, शिशिर वाङ्देल आदि । संगीतकार ः शम्भुजित बासकोटा ।