साप्ताहिक संवाददाता
अंकित शर्मा / अभिनेता
म सानैदेखि चलचित्रको वातावरणमा हुर्किएको व्यक्ति हुँ । हाम्रो घरमा कलाकारहरूको आउजाउ चलिरहन्थ्यो जसका कारण पनि नेपाली चलचित्रप्रति म सानैदेखि केही हदसम्म जानकार नै थिएँ । बाबा (अशोक शर्मा) ले निर्माण गर्नुभएको चलचित्र ‘अल्लारे’को गीत ‘रातो टीका निधारमा’ तयार हुँदा म दुई वर्षको थिएँ होला । त्यतिबेला म यो गीतमा नाच्थें पनि । म स्कुल–कलेजमा हुने नाटकहरूमा अभिनय पनि गर्थें ।
कलेज तहको कुरा गर्दा मैले मलेसियामा अभिनयमा ब्याचलर गर्नुका साथै यूकेमा अभिनयको विशेष प्रशिक्षण लिएँ । घरमा बाबा अशोक शर्माले ‘जय भोले’ निर्माण गर्ने योजना बनाउनुभयो । उक्त चलचित्रमा म निर्माताका रूपमा संलग्न थिएँ । त्यो चलचित्रमा काम गर्ने मन त थियो, तर अध्ययनका लागि बाहिर जानुपर्ने भएकाले समय दिन पाइनँ । ‘जय भोले’ हिट भएपछि बाबाले अर्को चलचित्र ‘रातो टीका निधारमा’ निर्माण गर्ने निर्णय लिनुभयो । यो चलचित्रमा चाहिँ बाबा र म बीच म नै अभिनेता हुने भन्ने ‘म्युचुअल अन्डरस्ट्यान्डिङ’ थियो ।
पहिलो पटक क्यामेरा फेस गर्दा नर्भस भइँदो रहेछ तर पनि नाटकको अभिनयले केही सहज बनायो । आफूभन्दा चलेका कलाकारहरूसँग काम गर्न पाइयो । उहाँहरूबाट धेरै कुरा सिक्ने अवसर पनि प्राप्त भयो । चलचित्रमा मेरी जोडी साम्राज्ञी राज्यलक्ष्मी शाहबाट पनि अभिनयसम्बन्धी धेरै कुरा सिकें । अहिले सामाजिक सन्जालदेखि लिएर चलचित्र भवनका भित्तासम्ममा आफ्नो पोस्टर देख्दा खुसी लाग्छ । पहिलो चलचित्रमा काम गर्दा उत्साहसँगै चुनौती पनि फिल हुँदो रहेछ । म अहिले दर्शकबाट कस्तो प्रतिक्रिया आउला भन्ने कुराको प्रतीक्षामा छु ।