साप्ताहिक संवाददाता
चलचित्र ‘बादशाह जुट’को विवाद टुंगिएको छ । चलचित्रको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुगेको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी प्रदेश कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको थियो ।
संघका गण्डकी प्रदेश सभापति शाह मोहम्मद मियाँले जारी गरेको उक्त विज्ञप्तिमा चलचित्रको ट्रेलरलाई सामाजिक संजालबाट हटाउन निर्देशन दिइएको थियो । संघको विज्ञप्ति जारी भएको दुई दिन पछिनै आपसी छलफलमा विवाद टुंगिएको छ ।
‘बादशाह जुट’ निर्माण कम्पनी एच एण्ड बी फिल्मस् प्रालिले जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष समिम मियाँ अन्सारीसँगको छलफलमा आवश्यक दृश्य सच्याउने सहमति भएको बताइएको छ । साथै, निर्माण पक्षले सुमदायको चित्त दुखाईप्रति पनि माफी मागेको छ ।
ट्रेलरमा ३ सेकण्डदेखि बजेको अजानको अवाज, लगतै ८ औँ सेकेण्डमा देखाइएको हात-हतियार र १३ सेकण्डमा बज्ने आइ.एस.एसको आवाजले मुस्लिम समुदाममा ठेस पुगेको बताइएको छ ।
सुशिल श्रेष्ठ स्टारर यो चलचित्र आगामी कार्तिक १५ मा प्रदर्शन हुँदैछ ।