
कलाकार दीपकराज गिरी तथा लेखक सामीप्यराज तिमल्सिनाबीच चलचित्र लेखनको एउटा समानता छ । दीपक चलचित्र निर्माण, लेखन र अभिनयमा सक्रिय रहे पनि सामिप्यराज केवल चलचित्रमात्र लेख्छन् । लेखनमा समानता भए पनि दीपकराज आफूले लेखेको चलचित्र कस्तो बन्छ भन्नेमा ढुक्क छन्, किनभने उनी चलचित्रको छायांकनको सुरुवातदेखि रिलिजसम्मको अवधिमा आफूले लेखेको कथासँगै हिँडिरहेका हुन्छन् । सामीप्यराजले भने दीपकको जस्तो अवसर कमै मात्र पाउँछन् ।
‘चलचित्र लेख्ने क्रममा मेरो सिर्जनालाई निर्देशकले कसरी प्रस्तुत गर्छन् भन्ने चिन्ता भैरहन्छ । किनभने राम्रो चलचित्र बनाउने–नबनाउने जिम्मा निर्देशककै काँधमा हुन्छ । स्क्रिप्ट लेख्ने क्रममा निर्माता–निर्देशकलाई कन्भिन्स गर्न तथा उनीहरूलाई कथा, संवाद आदि विषयमा मनाउन निकै समय लाग्छ’, सामीप्य भन्छन्, ‘एउटा स्क्रिप्ट लेखकले समय दिएर लेख्ने, लेखेको विषयलाई नयाँ तरिकाले सोचेर नयाँ प्रस्तुतिमा ढाल्ने समय पुगेकै हुँदैन । किनभने निर्माता–निर्देशकहरूलाई फ्लोरमा जाने हतार हुन्छ । यस्तो अवस्थामा जति मेहनत गरेर चलचित्र लेखे पनि निर्देशकले राम्रो चलचित्र नबनाइदिँदा कथा झुर भयो भन्ने आरोप लेखकले नै खेप्नुपर्छ । निर्माता–निर्देशकले लेखकसँग कसरी काम लिने रियलाइज गरेका छैनन् ।’
बिहान र राति चलचित्र लेख्ने सामीप्यलाई निर्देशक तथा निर्मातालाई चलचित्रको विषयवस्तुका बारेमा कन्भिन्स गर्न सकिन्छ कि सकिँदैन भन्ने डर सधैं हुन्छ । ‘स्क्रिप्ट हातमा परेर सुटिङ सुरु भएपछि मलाई मैले लेखेको कथाअनुसार चलचित्र बन्ने हो कि होइन भन्ने डर लाग्छ । किनभने निर्देशकले चलचित्र फ्लोरमा गएपछि लेखकसँग कुनै परामर्श गर्दैनन् । प्रि–प्रोडक्सनका क्रममा पनि राम्रो काम नहुनाले गाली तथा आरोप खेप्नुपर्छ’, उनी भन्छन् ।
चलचित्र लेख्नुअघि सामीप्य भिजुअलका लागि लोकेसन हेर्छन् । जुन ठाउँको चरित्रलाई चलचित्रमा उतार्ने हो, त्यो चरित्रको भाषा तथा रहनसहन अवलोकन गर्छन् । ‘प्रत्येक दृश्यमा के–के चाहिन्छ भन्ने कुरा निक्र्यौल भएपछि त्यसको मोरल रिसर्च गरिन्छ । रिसर्चपछि निर्माता तथा निर्देशकलाई चलचित्रको वानलाइन स्टोरी दिइन्छ । त्यसपछि पूर्ण रूपमा लेखनको काम सुरु हुन्छ’, तिमल्सिना भन्छन्, ‘एउटा चलचित्र लेखनको कामलाई झन्डै ६ दखि ८ महिना समय लाग्छ ।’ ‘कागबेनी’बाट चलचित्र लेखनको यात्रा सुरु गरेका सामीप्यका अनुसार उनले लेखेका झन्डै १५ वटा चलचित्र प्रदर्शनमा आइसकेका छन् ।
यता दीपक प्राय: बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चलचित्र लेखनका लागि छुट्याउँछन् । एक्लै चलचित्र लेख्ने भएकाले उनी आफू बसेको नजिकैको जंगलमा गएर कथा लेख्छन् । ‘मलाई चलचित्र कस्तो बन्ला भन्ने चिन्ता कहिल्यै हुँदैन । किनभने म आफैं मेकर पनि हुँ । ममा चिन्ता भनेको दर्शकलाई कथाले छुन्छ कि छँुदैन, उनीहरूलाई कत्तिको होल्ड गराउन सकिन्छ भन्ने कुरामै बढी हुन्छ । किनभने दर्शकलाई होल्ड गराउन सकिएन भने चलचित्रको कथा लेखेको अर्थ हुँदैन’, गिरी भन्छन्, ‘त्यसकारण मेरो ध्यान नै दर्शकमा हुन्छ ।’ ‘सगुन’बाट चलचित्र लेखन यात्रा प्रारम्भ गरेका दीपक आफ्नो समूहले निर्माण गरेको ‘६ एकान ६’देखि पछिल्लो ‘छ माया छपक्कै’ सम्म आइपुग्दा आफ्नै लागि मात्र चलचित्र लेखिरहेका छन् ।
चलचित्र लेखनको यो प्रसंगमा दीपक र सामीप्य उदाहरण मात्र हुन् । अहिले ठूला ब्यानरका मेकरको ध्यान राम्रो चलचित्र लेख्ने लेखकहरूतिर जान थालेको छ । नेपाली चलचित्रमा राम्रो कथाको खडेरी भैरहेको चर्चा एकातिर छ भने चलचित्र लेखकले पनि आफूलाई परिस्कृत बनाउँदै लगेका छन् । छायांकन हुने सम्भावित स्थानको अवलोकनपछि उनीहरू आफ्नो कार्यालय वा कोठामा बसेर स्क्रिप्ट लेख्न दत्तचित्त भएर लागिपरेका पाइन्छन् ।
झन्डै १५ वर्षदेखि चलचित्र लेखनमै सक्रिय प्रदीप भारद्वाज प्रायश: पुतलीसडकस्थित कार्यालयमै स्क्रिप्ट लेखिरहेका हुन्छन् । ‘स्क्रिप्ट लेख्नु अघि लोकेसन अवलोकन गर्छु । त्यसो गर्दा स्क्रिप्टका लागि आइडिया आउँछ र एउटा खाका तयार हुन्छ । कहिलेकाहीँ लोकेसनको फोटो हेरेर पनि त्यसैअनुसार कथा लेखिन्छ । म प्राय: बिहान र दिउँसो लेख्छु । धेरै कुरा दिमागमा घुमिरहने भएकाले जुनसुकै समयमा पनि त्यो कुरालाई स्क्रिप्टमा उतार्दा तनाव हुँदैन’ प्रदीप भन्छन् ।
प्रदीप आफूसँग कुरा मिल्ने टिमसँग काम गर्न रुचाउँछन् । ‘सोच मिल्नेसँग मात्र काम गरिन्छ । त्यसो हुँदा मेरो सिर्जना बिग्रिएला भन्ने डर हुँदैन । किनभने निर्माता–निर्देशकसँगको आपसी समझदारीमै लेख्ने काम हुन्छ’, प्रदीप खुल्छन्, ‘सोच नमिल्नेसँग काम गरियो भनेचाहिँ कथा बिगार्लान् भन्ने डर हुन्छ । फ्रेस कन्टेन्टमा चलचित्र लेख्दा चुनौती छ । एउटा सत्य के हो भने निर्माताले राम्रो स्क्रिप्टमा खर्च नगरेसम्म राम्रो कथामा चलचित्र बन्न गाह्रै छ ।’ चलचित्र ‘जंगली मान्छे’बाट कथा लेखनको काम सुरु गरेका प्रदीपसँग झन्डै ८ सय कथा तयार छन् । उनले लेखेका ३० वटा कथामा निर्मित चलचित्र प्रदर्शनमा आइसकेका छन् ।
अर्का लेखक अभिमन्यु निरबीको चलचित्र लेखन शैली आफ्नै किसिमको छ । उनी दिनभर पत्रपत्रिका तथा पुस्तक पढ्छन् । भेटिएका मानिसहरूसँग गफिन्छन् । आफ्ना अनुभव सुनाउँछन्, अरुका कुरा सुन्छन् अनि बेलुका चलचित्र लेख्न बस्छन् । ‘मेरो सुत्ने समय मात्र बाँकी हुन्छ । बाँकी समय लेखनमै बित्छ । थाकेका बेला दिमाग अझ राम्रो हुन्छ,’ निरबी भन्छन्, ‘अधिकांश लेखक लोकेसन हेरेर कथा लेख्छन् । कतिपय अवस्थामा लेखकको दिमागमा एउटा खालको लोकेसन हुन्छ । लोकेसन हेरेर भन्दा पनि यो पात्र वा कथालाई यस्तो लोकेसन चाहिन्छ भन्ने भएपछि त्यहीअनुसार लेख्छु । स्क्रिप्ट लेखिसकेपछि निर्देशक र निर्माताको कुरा सुन्ने अनि आफ्नो कुरा पनि सुनाउने भएपछि सबै कुरा मिल्छ ।’
लेखक निरबी झन्डै तीन महिनामा एउटा स्क्रिप्टको काम सक्छन् । ‘मैले लेखेको मोटामोटी ७० प्रतिशत कुरा चलचित्रमा देखिन्छ । चलचित्र लेखिसकेपछि त्यसको थिम नै चेन्ज गरौं भन्ने हुँदैन’, निरबी भन्छन्, ‘चलचित्र लेख्ने क्रममा आफूले आफैंलाई कन्भिन्स गर्न गाह्रो हुन्छ । कसरी लेखिरहेको छु, त्यसको जस्टिफिकेसन हुन्छ कि हुँदैन, मैले पैसा कमाउन मात्र लेखेको हो कि त्यसको अरू पनि कारण छ भनेर सोच्छु’, निरबीको दाबी छ, ‘आफूलाई राम्रो लागेको कथामा लेख्न थालेपछि जे आउँछ, ठिक छ भन्ने लाग्छ । दर्शकलाई जसरी भए पनि होल्ड गराउने भन्ने ध्यान हुन्छ ।’ पाँच वर्ष अघि ‘अन्तराल’बाट चलचित्र लेखन यात्रा थालेका निरबीद्वारा लिखित १० वटा चलचित्र प्रदर्शनमा आइसकेका छन् ।
कथालाई चलचित्रको मुटु मानिन्छ । कथा राम्रोसँग चल्यो भने त्यसलाई दर्शकले मन पराउने मात्र होइन, व्यवसायिक सफलता पनि प्राप्त हुन्छ । यद्यपि कथै बिग्रियो भने त्यसको असर निर्माताले मात्र होइन, दर्शकले समेत भोग्नुपर्छ ।