साप्ताहिक संवाददाता
सरौतोको अर्थ सुपारी काट्ने हतियार हो । यही नाममा हाल चलचित्रघरमा चलचित्र ‘सरौतो’ प्रदर्शन भइरहेको छ । चलचित्रको कथा एक युवतीले आफ्ना बाबुआमाको हत्याको लिने बदला वरपर घुमेको छ ।
चलचित्रमा वाणी चरित्रमा देखिएकी अभिनेत्री सुमी मोक्तानले बाल्यकालमै हतियारधारीको आक्रमणबाट बाबुआमा गुमाएपछि उनको मनमा पैदा भएको द्वन्द्व र बदलाको भावनालाई चलचित्रले देखाएको छ ।
छायाकार हरि हुमागाईंको ‘डेब्यु’ निर्देशनमा बनेको चलचित्रलाई निर्देशकले सही गन्तव्य दिन सकेका छैनन् । चलचित्रको कथा अघि बढिरहँदा बीच–बीचमा आउने फ्ल्यासब्याकले दर्शकले कथावस्तु थाहा पाइसकेका हुन्छन् ।
चलचित्रमा खड्किएको इमोसनल पाटो एकदमै कम छ, जसका कारण पनि दर्शक चलचित्र हेरिरहँदा आफूलाई होल्ड गर्न सक्दैनन् । यो कुरामा निर्देशक हुमागाईं चुकेका छन् । चलचित्रको राम्रो पक्ष भनेको चलचित्रको एक्सन र सुमीको अभिनय नै हो । बोल्न नसक्ने चरित्रलाई सुमीले न्याय दिएकी छन् । अन्य कलाकारहरूको अभिनय औसत छ ।