
- ‘चलचित्रमा विशेषत: विदेशमा बस्दै आएका गैरआवासीय नेपाली (एनआरएन) को चासो बढी देखिन्छ । अमेरिका, यूके, जापानमा बस्दै आएका गैरआवासीय नेपालीहरू नेपाली चलचित्र निर्माणमा आकर्षित भइरहेका छन् ।’
- ‘५० लाखदेखि २ करोडसम्मको निर्माणको लागत हिसाब गर्दा वार्षिक रूपमा चलचित्रमा झन्डै २ अर्बको लगानी भइरहेको छ । त्यसमा हिट, औसत र फ्लप चलचित्रकै आम्दानी हेर्दा १ अर्ब पनि नघाउन सकेका छैनन् ।’
‘केटाकेटीहरू, डेटिङका लागि सुनसान ठाउँ चाहिएको छ ? आजकाल जुनसुकै फिल्म हलमा गए पनि हुन्छ... हरिबिजोक डटकम’ अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा लेखेको यो स्टाटस थुप्रै अनलाइन सञ्चारमाध्यमका लागि समाचारको मसला नै बन्यो । राजनीतिक, सामाजिक तथा चलचित्र क्षेत्रकै समसामयिक विषयमा समय–समयमा व्यंग्यात्मक स्टाटस लेख्न खप्पिस दीपकको यो स्टासले अहिलेको नेपाली चलचित्र बजारको सेलाएको व्यापारको तीतो यथार्थको प्रतिनिधित्व गर्छ ।
चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले एक प्रश्नमा ‘कुनै पनि कलाकारले २० लाख पारिश्रमिक लियो भने उसले ५० लाखको दर्शक तान्न सक्नुपर्छ’ भन्ने जवाफ दिएपछि उनको जवाफले अनलाइन सञ्चारमाध्यममा राम्रै स्थान पाएको थियो । अर्की एक अभिनेत्रीलाई लक्षित गर्दै स्वस्तिमाले जवाफ दिएको भनिए पनि उनको भनाइ समग्र अभिनेता अभिनेत्रीप्रति लक्षित थियो भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो ।
लन्डनमा छायांकन गरिएको चलचित्र ‘पासवर्ड’को एक आइटम गीतका लागि निर्माण पक्षले बलिउड अभिनेत्री सनी लियोनीलाई झन्डै २ करोड पारिश्रमिक दियो । निकै महँगो बजेटको यो चलचित्र बक्स अफिसमा असफल नै भयो । सनी राखेकै कारण चलचित्र हेर्न दर्शक आउने आशामा निर्माण पक्ष रहे पनि त्यो आशा निराशामा परिणत भयो । मिलन चाम्सले निर्देशन गर्ने भनिएको चलचित्र ‘ब्याचलर बन्टी’का लागि निर्माण पक्षले अभिनेता अनमोल केसीलाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएर अनुबन्धित नै गर्यो । त्यसका लागि साइनिङ एमाउन्टबापत उनलाई १० लाख रुपैयाँ दिइयो । भलै यो चलचित्र त बनेन नै, अभिनेता अनमोल र निर्देशक मिलन चाम्सले पनि कारण देखाएर चलचित्र छाडे ।
चलचित्रमा अनुबन्धित गराउन कलाकारलाई निर्माताले पारिश्रमिकको अनुपात कतिसम्म बढाउँछन् भन्ने सनी र अनमोललाई हेरे पुग्छ । एक समय नेपाली चलचित्रको लागत ६० लाखदेखि ८० लाखसम्म थियो । यो संख्या बढेर अहिले २ देखि ३ करोडसम्म पुगिसकेको छ । तर, औसत लगानीको अनुपात भने अधिकतम डेढ करोडसम्म छ । नेपाली चलचित्रले प्रविधि, कलाकार र लोकेसनमा नयाँपन पाइसकेको छ । यही नयाँपनले चलचित्र निर्माणको लागतको अनुपात पनि करोडको बाटोमा कुदिरहेको छ ।
नेपालमा वार्षिक रूपमा झन्डै सयको हाराहारीमा चलचित्र निर्माण हुने गरेका छन् । ५० लाखदेखि २ करोडसम्मको निर्माणको लागत हिसाब गर्दा वार्षिक रूपमा चलचित्रमा झन्डै २ अर्बको लगानी भइरहेको छ । त्यसमा हिट, औसत र फ्लप चलचित्रकै आम्दानी हेर्दा १ अर्ब पनि नघाउन सकेका छैनन् । धेरै चलचित्रलाई लगानीको त कुरा परै छोडौं, पोस्टर टाँसेबापत प्राविधिकलाई दिइने पारिश्रमिकबापतको पैसा पनि उठाउन मुस्किल पर्ने गरेको छ । यस्तो अवस्थामा पनि चलचित्र बनाउने लहड रोकिएको छैन । यो लहडमा पुरानाभन्दा नयाँ अनुहार बढी सक्रिय छन् ।
चलचित्र ‘मंगलम’ रिलिजपछि निर्माता छविराज ओझा चलचित्र निर्माणमा चुपचाप नै छन् । ‘मंगलम्’ रिलिजको दुई वर्षमा उनले पूर्वको एक हलमा लगानी गरिसकेका छन् । ‘म अहिले चलचित्रको अवस्थालाई नजिकबाट हेरिरहेको छु । नयाँ साथीहरू चलचित्रबारे केही नबुझिकनै लगानी गर्न आइरहनुभएको छ । उहाँहरूमा फाइदा र घाटाको केही जानकारी नै छैन । वर्षमा प्रदर्शनमा आएका चलचित्रमध्ये दुई–चारवटाले करोडौं कमाएको सुनेका र देखेका कारण पनि त्यति धेरै कमाइ हुने रहेछ भन्ने लोभमा आइरहनुभएको छ’, छविराज भन्छन्, ‘तिहारपछि चलचित्रको व्यापारमा आएको गिरावटका कारण धेरै हलमा ताला लागेको अवस्था छ । हामी पुराना मेकर नयाँ चलचित्र बनाउन डराएका छैनौं । केवल ‘वेट एन्ड वाच’मा छौं ।’
गैरआवासीय नेपालीहरूको नेपाली चलचित्र निर्माणमा बढ्दो आकर्षणलाई छविराज अलिक फरक ढंगले व्याख्या गर्छन् । ‘चलचित्रले व्यापार नगरे पनि निर्माता तथा निर्देशकहरूले मेरो चलचित्रले यति आम्दानी गर्यो भनेर मिडियामा समाचार दिन्छन् । त्यो देखेर उनीहरूमा लोभ पलाउँछ’, छविराजको दाबी छ, ‘चलचित्र क्षेत्र आफैंमा ग्ल्यामरस लाइन हो । यहाँ मिडिया पब्लिसिटी पनि राम्रै हुन्छ । त्यसकारण पनि नयाँ निर्मातालाई त्यो भोक रहिआएको छ ।’
चलचित्र निर्माता, वितरक तथा हल सञ्चालक गोपालकाजी कायस्थ चलचित्रमा लगानी गर्न आइरहेका नयाँ निर्मातामा धैर्यताभन्दा पनि सोखको मात्रा धेरै रहेको दाबी गर्छन् । ‘अहिले आएका निर्माताहरू सोखका लागि आएका हुन् । चलचित्र निर्माण गरेपछि मिडियामा उनीहरूको नाम आउँछ । विदेशमा रहेका साथीभाइलाई पनि मैले बनाएको चलचित्र हो है भन्ने मेसो पनि हुन्छ’, कायस्थ खुल्छन्, ‘उनीहरू चलचित्र निर्माणलाई अन्य व्यापार व्यवसायजस्तै ठानेर भनेजति पैसा लगानी गर्छन् । छोटो समयमा धेरै पैसा कमाउने लोभले आफैं नराम्ररी डुब्छन् । अहिले चलचित्र निर्माण शैली जग्गा दलालीजस्तै भएको छ । एक निर्देशकले अनेक प्रलोभन देखाएर तीनवटा नयाँ निर्माता ल्याउँछन् । उनीहरू आफू त फस्छन् नै, निर्देशकलाई पनि राम्रो चलचित्र बनाइदिएन भनेर आक्षेप लगाउँछन् ।’
काठमाडौंको जडिबुटीस्थित पुष्पाञ्जली हलका सञ्चालकसमेत रहेका गोपाल दर्शक अभावकै कारण हल नै बन्द गर्ने निर्णयमा पुगिसकेका छन् । हजार सिट क्षमताको हलमा अहिले चलचित्र हेर्नकै लागि अत्यन्तै कम मात्र दर्शक आउने गरेका छन् । उनको भनाइअनुसार पुष्पाञ्जलीमात्र नभई धेरै सिंगल थिएटर बन्द हुने अवस्थामा पुगिसकेका छन् । ‘अहिलेका दर्शकले राम्रो चलचित्रभन्दा चलचित्रको ब्रान्ड भ्यालु र स्टारडम हेर्न थालेका छन् । समयअनुसार दर्शकमा आएको परिवर्तनले पनि चलचित्रको निर्माण र यसको व्यापारमा फेरबदल भइरहेको छ’, कायस्थ भन्छन्, ‘यस अवस्थामा अब हल चलाएर स्टाफलाई तलब, बत्ती खर्च, हल भाडा तिर्न सक्ने अवस्था रहेन । घाटाको व्यवसाय गर्नुभन्दा त्यसलाई बन्द गरेर त्यसको विकल्प सोच्ने अवस्था आएको हो ।’
चलचित्रको लगानी बढ्नुमा कलाकारदेखि प्राविधिकको पारिश्रमिक पनि प्रमुख कारण हो । कलाकारहरूको पारिश्रमिक अनुपात हेर्ने हो भने न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाखसम्म नै छ । अहिलेको परिप्रेक्ष्यमा अभिनेता अनमोल केसी सर्वाधिक पारिश्रमिक लिने कलाकारमा पर्छन् । उनको पारिश्रमिकको अनुपात ३० देखि ३५ लाख छ । त्यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि औसत २० लाखसम्म पारिश्रमिक लिन्छिन् । छायांकनदेखि अन्य प्राविधिक विधामा काम गर्ने प्राविधिकको पारिश्रमिक निकै बढिसकेको छ, जसका कारण चलचित्रको लागत ह्वात्तै बढेको छ ।
निर्माता तथा निर्देशक विकासराज आचार्य चलचित्र क्षेत्रमा चलचित्र नबुझेका मानिसको आगमन बढेकाले लगानीको मात्रा पनि बढ्दै गएको बताउँछन् । ‘हामीले चलचित्र बुझ्यौं, कथा बुझ्यौं । तर, नयाँ मेकरले केवल लगानी मात्र बुझे, कथा र चलचित्र बुझ्न सकेनन्’, उनी भन्छन्, ‘नयाँ मेकरले चलचित्र बनाउने शैलीलाई महँगो बनाइदिए, तर उनीहरूले महँगो चलचित्र बनाउन सकेनन् जसको असर चलचित्र क्षेत्रले नै भोगिरहनुपरेको छ ।’
विकास कलाकार र प्राविधिकको पारिश्रमिक महँगो हुनुलाई स्वाभाविक मान्छन् । ‘सधैं एकै मूल्यमा एउटै शैलीमा कोही पनि रुचाउँदैनन् । अहिले समय महँगो भइसकेको छ । यस्तो अवस्थामा उनीहरूले आफूलाई महँगो बनाउनु खासै ठूलो कुरा होइन’, विकास भन्छन्, ‘आफू महँगो भए पनि आफूमाथि निर्माताले गरेको लगानीलाई चाहिँ उठाउने किसिमले उनीहरूले काम गर्नुपर्ने हुन्छ ।’
अघिल्लो वर्ष २०७५ मा नेपाली चलचित्रको व्यापारिक अवस्था निराशाजनक भइरहँदा नयाँ वर्ष २०७६ को आगमनसँगै चलचित्रको व्यापारमा केही सुधार आउला भन्ने आशा चलचित्रकर्मीमा थियो । तर, २०७५ को चैत मसान्तमा रिलिज चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा : ए म्युजिकल भ्लग’ देखि हाल प्रदर्शित चलचित्र ‘प्रेम संसार’ र ‘सूर्य किरण’ सम्म आइपुग्दा चलचित्रको व्यापारिक अवस्था झन विकराल बन्दै गएको छ । यो समयावधिमा प्रदर्शन भएका चलचित्रहरूमध्ये ‘ए मेरो हजुर–३’, ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ ले निर्माताको गोजीमा उत्साहजनक सेयर भरिदियो । बाँकी चलचित्रमध्ये केहीले मात्र औसत व्यापार गरेर निर्माताको मुहारमा केही मुस्कान दियो । तर, ती बाहेकका चलचित्रको व्यापारलाई स्वयं निर्माताले नै सम्झन नसक्ने बनाइदियो ।
चलचित्र निर्माताको छाता संस्था नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी मुख्य तीन कारणले नयाँ निर्माताहरूको चलचित्रमा आकर्षण बढ्दै गएको दाबी गर्छन् । ‘एकथरी निर्माता रहरैरहरले निर्माणमा लागेका छन् । अर्काथरी निर्माता कसैको उक्साहट र बहकाउमा आएका छन् र अर्को थरी निर्माताचाहिँ नाम हुन्छ कि भनेर आउने गर्छन्’, आकाश भन्छन्, ‘जो व्यावसायिक रूपमा चलचित्र क्षेत्रमा लगानी गरिरहेको हुन्छ । उसलाई अर्को व्यवसाय गर्न गाह्रो हुन्छ । किनभने त्यसका लागि उसले अध्ययन अनुसन्धान गर्नुपर्छ । त्यसैले ऊ चलचित्र क्षेत्र छाडेर अन्य ठाउँमा जान सक्दैन । कुनै चलचित्र फ्लप भयो भने काठमाडौंमा नै बसेर अर्को चलचित्रको तयारी गर्छ ।’
आकाश चलचित्रमा उद्योपति, व्यापारी, व्यवसायीको आगमन राम्रो भए पनि चलचित्र बुझेर मात्र लगानी गर्न सुझाव दिन्छन् । ‘अहिले लहैलहैमा कुरै नबुझी चलचित्र निर्माणमा आउनेको संख्या बाक्लो छ । चलचित्रको बजेट, त्यसको प्रदर्शनको अवस्था र सम्भावित आम्दानीको हिसाबकिताब नगरी चलचित्र निर्माण गर्दा उनीहरू ठूलो नोक्सानी बेहोर्ने गरेका छन्’, अधिकारी खुल्छन्, ‘एउटा चलचित्र निर्माण गर्ने, त्यसले पैसा कमायो भने बस्ने नत्र बाहिरिने चलनले चलचित्रको बजारमा पनि असर परेको छ । मलाई अहिले पनि धेरै नयाँ निर्माताले चलचित्रमा गरिएको लगानीका विषयमा गुनासो गरिरहन्छन् ।’
चलचित्र निर्माणको काम ‘रिस्की जोन’ भए पनि भ्रम सिर्जना गर्दै चलचित्र निर्माण गर्ने वातावरण बनिरहेकोमा आकाश दु:खी छन् । विशुद्ध व्यावसायिक निर्माताको चलचित्र घाटामा गए पनि उसले चलचित्र निर्माण गर्दा राज्यलाई तिरेको करका आधारमा ७ प्रतिशतसम्म हिसाब मिलान गर्ने प्रचलन छ ।
कुनै समयमा एकपछि अर्को गर्दै चलचित्र निर्माण गर्ने निर्माताहरू अहिले ‘पर्ख र हेर’को स्थितिमा पुगिसकेका छन् । कम बजेटमा पनि राम्रो चलचित्र बनाउन खप्पिस उनीहरू चलचित्र निर्माण तथा निर्देशनमा नयाँ पुस्ताको आगमनसँगै कम सक्रिय हुन थालेका छन् । ‘बनिरहेका चलचित्रको प्रदर्शनपछिको व्यापार हेर्दा तुरुन्तै नयाँ चलचित्र बनाउने जाँगर मरेको छ । अहिले हामी पुराना केही निर्माताहरू पर्ख र हेरको अवस्थामा छौं’, एक चलचित्र निर्माता भन्छन्, ‘स्टार भ्यालु भएका कलाकारले अभिनय गरेका चलचित्र पनि एक साता नपुग्दै हलबाट उत्रिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा नयाँ चलचित्र बनाएर जोखिम मोल्न कोही चाहँदैनन् ।’
आफूले निर्माण गरेको चलचित्रले व्यावसायिक सफलता चाख्न नपाउँदा त्यसको ठूलो दोष वितरकलाई दिन्छन् । वितरकले निर्माता र दर्शकबीच पुलको काम गर्छन् । पुल यस अर्थमा कि हरेक चलचित्र उपत्यका तथा उपत्यकाबाहिर कुन–कुन हलमा प्रदर्शनमा आउँदैछन् भन्ने कुराको जानकारी वितरकलाई हुन्छ । यस्तो अवस्थामा कसैको चलचित्रले कम हल त कसैले बढी हल पाउने सम्भावना रहन्छ । बढी हल पाउँदा खुसी हुने र कम हल पाउँदा आक्रोशित हुने नेपाली निर्माताको पुरानै शैली हो ।
४० वर्षयतादेखि चलचित्र वितरण गरिरहेका गोपाल वितरकले चलचित्र चलाउने नभई दर्शकमाझ चलचित्र पुर्याउने काम मात्र गर्ने रहेको बताउँछन् । ‘निर्माताहरू राम्रो चलचित्र बनाएर पनि वितरकका कारण चलचित्र चल्न सकेनन् भन्ने आरोप लगाउँछन् । यो बुझाइ गलत हो । हाम्रो ध्यान चलचित्र नजुधोस् भन्ने मात्र हो’, उनी भन्छन्, ‘चल्ने र नचल्ने हात दर्शकमा हुन्छ । चलचित्रको छनोटको अधिकार दर्शकको हुन्छ । हामीले त चलचित्र हेर्ने वातावरण मात्र बनाउने हो ।’
उपत्यका बाहिर चलचित्र वितरणमा सक्रिय संस्था एफडी कम्पनीका अध्यक्ष सुशील पोखरेल राम्रो कथावस्तुका चलचित्रलाई मात्र दर्शकले मनपराउने भएकाले त्यस्तै विषयमा चलचित्र बनाउन आग्रह गर्छन् । ‘पहिला आफू राम्रो चलचित्र बनाउन सक्नुपर्यो । राम्रो चलचित्र बनाएपछि मात्र त्यसको जस आफू, निर्देशक, कलाकार र प्राविधिकले पाउन सक्छन्,’ उनी भन्छन्, ‘आफू राम्रो चलचित्र नबनाउने अनि अरूलाई दोष दिएर हुन्छ र ?’
नेपाली चलचित्रको पछिल्लो अवस्थामा हेर्दा चलचित्रमा विशेषत: विदेशमा बस्दै आएका गैरआवासीय नेपाली (एनआरएन) को चासो बढी देखिन्छ । अमेरिका, यूके, जापानमा बस्दै आएका गैरआवासीय नेपालीहरू नेपाली चलचित्र निर्माणमा आकर्षित भइरहेका छन् । आफू बसेको स्थानमा सर्वसुलभ ढंगले चलचित्रको छायांकन र रिलिज गर्ने लोभले पनि उनीहरूले मनग्यै लगानी गर्ने गरेका छन् ।
पछिल्लो समयमा नेपाली चलचित्रको विदेशी भूमिमा छायांकन गर्ने लहड नै चलेको छ । आर्यन सिग्देलको ‘कायरा’, मिलन चाम्सको ‘लिलिबिली’, ‘ह्याप्पी डेज’, ‘ब्लाइन्ड रक्स’, मुकुन्द भट्टको ‘लप्पनछप्पन’ र ‘लप्पन छप्पन–२’, वसन्त निरौलाको निर्देशनमा ‘होलिडे’, सुरेशदर्पण पोखरेलको ‘मिस यू’, पृथ्वी रानाको ‘परें नि मायाजालैमा’, रमित ढुंगानाको ‘बुद्ध बर्न इन नेपाल’, सुधांशु जोशीको ‘नेपाल’, आकाश अधिकारीको ‘काठमाडौं’, रामशरण पाठकको ‘प्रेम गीत–२’, नीरज बरालको ‘स्टुपिड मन’, ऋषिराज आचार्यको ‘ड्रिम गर्ल’, मुस्कान ढकालको ‘समर लभ’, राजवल्लभ कोइरालाको ‘राघव’, निर्माता तथा अभिनेता कुशल थापाको ‘ह्याप्पी न्यु इअर’ र रेनेशा वान्तवा राईको ‘इन्टुमिन्टु लन्डनमा’ लगायतका चलचित्रहरू विदेशी भूमिमै छायांकन गरिएका छन् । यीमध्ये केही चलचित्रको गीत विदेशमा छायांकन गरिए पनि बाँकी चलचित्रका सम्पूर्ण दृश्य उतै खिचिएका छन् । यो हिसाबले यी चलचित्रको लगानी कतिसम्म बढ्यो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।