मंसिर, पुस र माघ महिनाभर नेपालका सिनेमा हलमा नेपाली फिल्मको खडेरी लाग्यो । एकैपटक दुईवटा हिन्दी फिल्म रिलिज हुन आउँदा पनि एउटै नेपाली फिल्म रिलिज हुन तयार भएनन् । त्यसैले फिल्म क्षेत्रमा प्रश्न उठ्यो– के अब फिल्म नै कम बन्न थालेका हुन् ?
१० दिनअघि हेटौँडामा आयोजित एक फिल्मसम्बन्धी कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले उक्त प्रश्नसँग सहमत देखिएनन् । पुराना फिल्म निर्माता, वितरक एवम् हल संचालकसमेत रहेका उनको टिप्पणी थियो, ‘कहिलेकाहीं यस्तो भइरहन्छ । तर, अब यो हप्तादेखि लगातार फिल्म जुध्न थाल्छ । हाम्रो जुध्ने बानी कहिल्यै नसुध्रिने भयो ।’
महर्जनले टिप्पणी गरेझैं केही सातायता यस्तै हुन थालेको छ । दुई हप्ताअघि विराज भट्टको ‘साङ्लो’सँग विपिन कार्कीको ‘सेल्फी किङ’ जुध्यो । अन्ततः यो जुधाइले दुवै फिल्मको परिणाम निराशाजनक निस्कियो । हलमा अपेक्षित व्यापार नगरेपछि दुवैले आफ्नो फिल्मको व्यापारिक रिपोर्ट सार्वजनिक गर्ने साहस देखाएनन् ।
शुक्रवारदेखि फेरि दुई ठूला ब्यानरका फिल्म जुध्दैछन्, ‘आमा’ र ‘सेन्टी भाइरस’ ।
दीपेन्द्र के. खनालले निर्देशन गरेको ‘आमा’लाई तीनजना आमाकाको संघर्षको कथा भनिएको छ भने रामबाबु गुरुङले निर्देशन गरेको ‘सेन्टी भाइरस’लाई राजनीतिक विषयसँग जोडिएको कमेडी फिल्म भनिएको छ ।
केही हप्ताअघि ‘सेल्फी किङ’सँग जुधेको ‘साङ्लो’का निर्देशक, निर्माता एवम् अभिनेता विराज भट्टले भनेका थिए, ‘यहाँ वितरकको इगोले फिल्म जुधाइन्छ, मारमा निर्माता पर्छन् ।’
‘आमा’ र ‘सेन्टी भाइरस’का हकमा पनि भएको त्यस्तै हो त ? ‘आमा’का निर्देशक खनाल भन्छन्, ‘हामी जुधेको होइन, हामीले फिल्मको रिलिज डेट एक वर्षअघि नै फागुन ९ गते भनेर फाइनल गरेका थियौँ । उहाँहरुले हालसालै हाम्रै मितिमा जुधाउन ल्याउनुभयो । त्यसैले यो विषयमा तपाईंले ‘सेन्टी भाइरस’ टीमसँग सोध्नुस् ।’
‘सेन्टी भाइरस’का निर्देशक गुरुङले पनि फिल्म जुधाएको मान्न तयार छैनन् । ‘अहिलेको स्थितिमा दुईवटा चलचित्र जुध्दा खासै फरक पर्दैन,’ उनले भने, ‘यदि उहाँहरुलाई सोलो रिलिज चाहिएको भए मिटिङ र सरसल्लाह गरेको भए हुन्थ्यो नि त !’
अब यसलाई इगोका रुपमा नलिन गुरुङको आग्रह छ । खनालले भने आफूहरुले छलफल गर्दा उल्टै ‘आमा’को डेट सार्न दबाव दिएको बताए । ‘मेरो प्रोड्युसर मान्नुभएन, त्यसैले हामीले सारेनौं,’ उनले भने ।
दुवै चलचित्रको अहिले मल्टिप्लेक्स बुकिङ खुलिसकेको छ । क्युएफएक्स चेनले ‘आमा’लाई २४ शो दिँदा ‘सेन्टी भाइरस’लाई ५० शो दिएको छ ।
राजधानीका मल्टिप्लेक्स हलहरुले ‘आमा’भन्दा शो बाँडफाडमा बढी प्राथमिकता ‘सेन्टी भाइरस’लाई दिएका छन् । अब दर्शकले कसलाई महत्व दिने हुन् ? त्यो हेर्न शुक्रबारसम्म पर्खनैपर्छ ।