कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले लकडाउन थपिरहेको छ । अझै केही हप्ता लक डाउन थपिने सम्भावना छ । यो अवधिमा सधैँ व्यस्त रहने कलाकार पनि घरमै छन् । गायकहरू रेकर्डिङ स्टुडियो जान पाएका छैनन् । सिनेमाको छायांकन रोकिएको छ । डबिङ रोकिएको छ । देश–विदेशका कार्यक्रम रोकिएका छन् । चलचित्र हेर्ने, आफूलाई मन पर्ने परिकार बनाउने, गीत हेर्ने, सुन्ने र नजिकका आफ्ना आफन्त तथा साथीसँग गफ गरेर उनीहरूको दिन बितिरहेको छ ।
उनीहरू अब कसरी कसरी काम थाल्ने भन्ने चिन्तामा छन् । अभिनेता प्रदिप खड्का भन्छन्, ‘योजनाबद्ध रूपमा अब कसरी काम थाल्ने सोच्दैछु ।’ उनको चलचित्र ‘प्रेम गीत ३’को छायांकन सकिएको थियो, डबिङ सुरु भएको बेला लकडाउन सुरु भयो । ‘कोरोनाले यो चलचित्रलाई मात्रै होइन, मेरा धेरै कामलाई प्रभाव पारेको छ’, उनले थपे । उनी पहिलेजस्तै स्वतन्त्र रुपमा नियमित काममा फर्किने दिन पर्खिरहेका छन् । लकडाउन सकिनेबित्तिकै ‘प्रेम गीत ३’ को काम सकेर तुरुन्तै हेमराज बिसीको नयाँ प्रोजेक्टमा व्यस्त हुने उनको योजना छ । यद्यपि अरू केही प्रोजेक्टको कुरा भएकाले तुरुन्तै नयाँ योजनाका साथ अघि बढ्ने सोच पालिरहेका छन् उनी ।
अभिनेता अनमोल केसी कोरोना सन्त्रास सकिएलगत्तै चलचित्र ‘ए मेरो हजुर ३’ को काममा व्यस्त हुने भएका छन् । उनको यो चलचित्र ललितपुरस्थित पाटनमा छायांकन भैरहेका बेला एकाएक रोकिन पुगेको थियो । यो चलचित्रको पूूरै काम सकिएपछि मात्रै अर्को प्रोजेक्टमा व्यस्त हुने अनमोलको योजना छ । हाल दिनमा ३–४ वटा चलचित्र हेरेर समय बिताइरहेका छन् ।
गायिका मेलिना राईको नेपाली नयाँ बर्षमा केही ठाउँमा कार्यक्रम तय थियो । दर्जनभन्दा धेरै गीत रेकर्ड गर्नुपर्ने थियो, त्यो काम पनि रोकियो । उनको आफ्नै केहि प्रोजेक्ट पनि रोकियो । उनी थप्छिन्, ‘कोरोनाको त्रास कहिलेसम्म रहन्छ भन्ने त थाहा भएन, रोकिएपछि पुनः नियमित रुपमा काममा फर्किनुपर्नेछ ।’ अहिले कहिले भान्सा–छत–बेडरुम गर्दै दिन बितिरहेको छ उनको । बाहिर निस्कन नपाउँदा दिक्क लागिरहेको छ ।
गायक प्रमोद खरेलको कुरा पनि उस्तै छ । आम नागरिकको अवस्था पहिलेजस्तै सहज बन्न थाल्यो भने मात्रै आफ्ना प्रोजेक्ट सुरु गर्ने उनको सोच छ । तर, एडभान्स रकम लिएर पनि गर्न नपाएका प्रोजेक्ट सुरुवातमा सक्ने उनको सोच छ । त्यस्तै एउटा गीतको सुटिङ पनि तुरुन्तै सक्ने योजना उनको छ । ‘लक डाउनका कारण जिन्दगीमै पहिलोपटक घरमा श्रीमतीसँग यति धेरै लामो समय बिताउन पाएको छु’, उनले भने, ‘यो त राम्रै कुरा भयो । तर, लक डाउनका कारण देश विदेशका कार्यक्रम रोकिएका छन् । धेरै संगीतकर्मी र सर्जकका गीत रेकर्ड गर्नुपर्ने भएकाले केही समय पहिलेभन्दा धेरै व्यस्त हुन्छुु होला ।’
अभिनेता दयाहाङ राई परिस्थिति ठिक भएर काममा जान पाएको खण्डमा छायांकन प्रारम्भ भएको चलचित्र ‘२ नम्बरी’को काम सक्ने र बिस्तारै अन्य प्रोजेक्टमा आबद्ध हुने योजनामा छन् । हाल परिवारलाई समय दिइरहेका उनको धेरै काम कोरोनाकै कारण प्रभावित भएको छ । ‘कोरोनाको महामारी अन्त्य भयो भने हामी सबैलाई राम्रो हुनेछ’, उनी भन्छन्, ‘कोरोनाको त्रास सकिएपछि साथीहरूसँग भेटघाट, नयाँ कामको लागि छलफल र रोकिएका चलचित्रको काम प्रारम्भ हुनेछ ।’
अभिनेत्री सुरक्षा पन्त कोरोना–त्रास सकिएपछि घुम्न निस्कने योजनामा छिन् । विदेश होइन, नेपालमै । प्रकृतिको स्वच्छ वातावरणमा केही दिन टे«किङ गरेको बिताउने मन उनको छ । पछिल्लो समय चलचित्र ‘आमा’बाट राम्रो प्रतिक्रिया पाएकी उनको तुरुन्तै कुनै चलचित्रको छायांकनमा व्यस्त हुने योजना छैन । यद्यपि केही प्रोजेक्टको कुरा भइरहेको उनले सुनाइन् ।
अभिनेत्री केकी अधिकारीको पनि कोरोना–त्रास सकिने बित्तिकै केही चलचित्र र गीतको काम सक्ने योजना छ । हाल घरमै व्यायाम गर्ने, चलचित्र हेर्ने, केही किताब पढ्ने लगायतका काममा समय दिइरहेकी छिन् ।
अभिनेत्री बर्षा शिवाकोटी बाँकी केही प्रोजेक्ट सक्ने योजनामा छिन् । ‘केही चलचित्र र गीतमा अभिनय गर्नु पर्नेछ’, उनले भनिन्, ‘कोरोनाको डर सकियो भने बिस्तारै पहिलेजस्तै नियमित काममा फर्किनुपर्नेछ । तर यसका लागि अहिले कुनै तयारी भएको छैन ।’ पछिल्लो समय उनी संलग्न चलचित्र ‘परदेशी २’ को छायांकन लकडाउनका कारण रोकिएको छ ।
अभिनेत्री रेखा थापा कोरोनाको त्रास रोकिएपछि आफ्नै होम प्रोडक्सनबाट निर्माण हुने चलचित्रको काममा व्यस्त हुनेछिन् । ‘कलाकार छान्ने र स्क्रिप्टको काम सकिएपछि छायांकनमा जाने मूड बनाइरहेका बेला लक डाउन भयो’, उनी भन्छिन्, ‘लक डाउन रोकियोस्, त्यसपछि कसरी व्यवसायिक दिनको सुरुवात गर्ने योजना गराउनुपर्ला ।’
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ कोरोना त्रास सकिएलगत्तै गौतमबुद्ध रंगशालाको काममै व्यस्त हुने सुनाए । उनको परिवार कोरोनासम्बन्धी सचेतनाको भिडियो निर्माण गर्दै सार्वजनिक गरिरहेका छन् । उनले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ फागुनमा प्रदर्शनमा आएको थियो । नाफाको ५० प्रतिशत रंगशालालाई दिने भनिएको थियो । तर सोचेजति व्यापार गर्न नसकेपछि उनी चिन्तित छन् ।
अभिनेत्री सुहाना थापालाई पनि कोरोना सन्त्रासका कारण भएको लकडाउनले छायांकन भैरहेको चलचित्र रोकिएकामा चिन्ता छ । ‘चलचित्र सकिएको भए यही बेला पनि सम्पादनमा समय दिन सकिन्थ्यो’, उनले भनिन्, ‘न चलचित्र सकियो, न सम्पादन । न अरू केही काम गर्न नै सकियो ।’ चलचित्र ‘ए मेरो हजुर ३’को बाँकी कामलाई कसरी गर्ने भन्ने विषयमा उनी आफ्ना बुबा–आमासँग सरसल्लाह गर्दै दिन बिताइरहेकी उनी लक डाउनपछि चलचित्रको छायांकन सकाउने योजना छ ।
अभिनेता पुष्प खड्का आगामी बर्ष दुईवटा चलचित्रमा काम गर्दैछन् । एउटा चलचित्रको स्क्रिप्टको काम सकिएको छ र उक्त टिमसँग मौखिक सम्झौता पनि भइसकेको बताउछन् । अर्को चलचित्रको सम्झौता नभएपनि काम गर्ने लगभग पक्का भएको छ, उनी भन्छन्, ‘कोरोना संक्रमणका कारण कहिलेदेखि छायांकनमा जाने भन्ने निर्णय भएको छैन ।’ हाल दुबै चलचित्रका स्क्रिप्ट पढिसकेका उनी आगामी दिनमा सकेसम्म छनौट गरेर मात्रै चलचित्रमा काम गर्ने सोचाईमा छन् । अघिल्लो बर्ष हिट चलचित्र ‘मारुनी’ दिएपछि पुष्पले थप जिम्मेवारीबोध भएको सुनाए । पुष्पका अनुसार एक महिनाअघि घोषणा हुने भनिएको चलचित्र कोरोनाको त्रासकै कारण पछि सरेको बताए ।