साप्ताहिक संवाददाता
सधैं सुटिङमा व्यस्त रहने कलाकारलाई पक्कै लकडाउनमा समय काट्न कठिन भइरहेको होला । तर, अहिले घरभित्रै रहनुको अर्को बिकल्प पनि त छैन । त्यसैले धेरैजसो कलाकार अहिले घरभित्रै रमाउने प्रयत्नमा छन् ।
चाहे त्यो परिवारलाई समय दिएर होस्, फिल्म हेरेर होस्, पुस्तक पढेर होस् या संगीत सुनेर । अभिनेत्री नम्रता श्रेष्ठ भने लकडाउनमा गीतारसँग रमाउँदैछिन् । लकडाउनको फुर्सदिलो समय उनले गीतार बजाउनमा दिइरहेकी छिन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा गीतार समाएको तस्बिर राख्दै उनले क्याप्सनमा लेखेकी छिन्, ‘म अब गीतार बजाउन जाँदैछु । मलाई लाज पनि लागिरहेको छ । किनभने यसको आवाज नराम्रो सुनिन्छ ।’ यसबाट थाहा हुन्छ, उनी गीतार बजाउन पोख्त छैनन्, सिक्दैछिन् ।
जे होस् यस्तो फुुर्सदिलो समयलाई सिर्जनात्मक काममा लगाउनु त राम्रै कुरा हो । अझ नम्रता त सिर्जनात्मक काममा मात्रै नभएर विपन्न परिवारलाई खाना खुवाउने सामाजिक कार्यमा समेत जुटिरहेकी छिन् । आफ्ना लकडाउन गतिविधिहरू उनले इन्स्टाग्राममा पोस्टसमेत गरेकी छिन् ।