रङ्गमञ्च हुँदै चलचित्रमा देखिएकी अभिनेत्री हुन्– मेनुका प्रधान । उनी चलचित्रका हरेक भूमिकालाई न्यायसंगत निर्वाह गर्न सक्ने कलाकार हुन् । उनै कलाकार मेनुकाको साप्ताहिकसँगको पात्र सम्वाद :
पहिचान
चलचित्र ‘एक दिन एक रात’बाट मेरो फिल्मी करियर सुरु भएको हो । तर, ‘भिसा गर्ल’मा निर्वाह गरेको सोझी केटीको भूमिकाले दर्शक र फिल्म निर्माता–निर्देशकको आँखामा पार्न सफल भयो । फिल्ममा पाटन बस्ने सोझी नेवारी केटीको चरित्र निर्वाह गरेकी थिएँ । हुन त यसमा मेरो भूमिका छोटो थियो । तर त्यसैले फिल्म क्षेत्रमा मेनुका प्रधान नाम गरेकी कलाकार छ, जसले राम्रो अभिनय गर्न सक्छ भन्ने बनायो ।
यो चरित्र निर्वाह गर्न मलाई निक्कै गाह्रो पनि भएको थियो । खासमा म चञ्चले छु, तर त्यो भूमिकाका लागि मैले आफूलाई निकै कन्ट्रोल गर्नुपर्यो । बाहिर सोझी, घरमा आफ्नो काम सबै गर्ने टिपिकल केटीको भूमिकामा काम गर्नुपरेको थियो । त्यसबेला मलाई निर्देशकले धेरै सहयोग गर्नु भयो ।
रमाइलो
चलचित्र ‘रेशम फिलिली’मा काम गर्दा निक्कै रमाइलो भएको थियो । फिल्म सुटिङ् चलिरहेको थियो । निर्देशकले मलाई आफैंले एउटा डाइलग थप्न लगाउनुभयो । मैले बोलेको सुनेर सेटमा रहनुभएका सबै हाँस्न भयो । म नर्भस भएँ । तर पछि त्यही डाइलग फिल्ममा राखिएछ ।
साह्रै गाह्रो
‘पुरानो डुङ्गा’को पानीमा डुब्ने भूमिका गर्न साह्रै गाह्रो भयो । त्यो सिनमा पानीमा डुब्नु मात्रै थिएन, पौडिन नसकेर, सास नपुगेर डुबी मरेको अभिनय गर्नुपर्ने थियो । त्यो भूमिका गर्न म निक्कै डराएकी पनि थिएँ । खोक्नु पनि पर्ने, डुब्नु पर्ने र स्वास फेर्न नपाइने सबै कुरा एकै पटक गर्नु पर्यो । सुटिङ्को समय जाडो महिनामा थियो । मानसिक रूपमा म यो सिन गर्न सक्दिनँ भन्ने नै थियो । तर, गरेँ र मेरा दर्शक र फ्यानले लामो समयसम्म मलाई सम्झने क्यारेक्टर ‘मनमाया’ बन्यो ।
चित्त नबुझेको क्यारेक्टर
हरेक फिल्मको क्यारेक्टरमा पछि हेर्दा केही कमी रहेजस्तो लाग्छ । राम्रो गरेर पनि पछि हेर्दा नराम्रो लागेकोचाहिँ ‘रेसम फिलिली’मा सुनिताको क्यारेक्टर हो । फिल्म सुटिङको समयमा निक्कै मेहनत गरेको जस्तो महसुस भएको थियो । फिल्म हेर्दा त अझै धेरै राम्रो काम गर्न सक्थें भन्ने भयो । यही फिल्ममा निर्वाह गरेको भूमिकालाई लिएर धेरैले मलाई ‘ब्यालेन्स हाल्दिने दाइ’ भनेर जिस्काए । त्यो फिल्ममा मैले फन्की खालको केटीको भूमिका निर्वाह गरेको छु ।
सन्देशमूलक भूमिका
चलचित्र साइँलीको ‘साइँली’ क्यारेक्टरले समाजको मानसिकतालाई परिवर्तन गर्न केहि भूमिका खेल्यो कि भन्ने लाग्छ । मनमा लागेको कुरा निर्धक्क भन्न सक्ने साइँलीको स्वभावसँग आकर्षित भएँर नै यो चलचित्रमा काम गरेको थिए । हाम्रो समाजमा अझैं पनि छोरी चेलीहरुले आफ्नो मनको कुरा निर्धक्क भन्न कहाँ सक्छन् र ।
चलचित्र ‘गाजलु’मा समाजसेवीको रूपमा प्रस्तुत भएकी छु । त्यसले समाजमा थोरै भएपनि परिवर्तनको छाप छाड्न सक्यो होलाजस्तो लाग्छ । नत्र समाज परिवर्तनकै लागि भनिने भूमिका निर्वाह गर्न पाएको छैन । हरेक चलचित्रमा केही न केही सन्देश त हुन्छ नै ।
मन छ
उमेरअनुसार मान्छेको रहर परिवर्तन हुने रहेछ । मेरो पनि अहिले रहर परिवर्तन भएको छ । ‘रक स्टार’को भूमिका गर्न रहर छ । यस्तो खालको भूमिका पाए भने अझ राम्रो काम गर्न सक्छु जस्तो लाग्छ । तर, उसको ‘साइकोलोजिकल जर्नी’ होस् ।