पछिल्लो समयमा पैसाको पछि लाग्ने प्रवृत्ति हावी हुँदा घर परिवार विर्सिएका थिए अहिले पैसाले मात्र सबै चिज किन्न सकिदो रहेनछ भन्ने सन्देश उनीहरुले पाएका छन्
विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण नेपालीको जनजीवन पनि प्रभावित भएको छ । गत चैत्र ११ गतेबाट सुरु भएको देशव्यापी लकडाउन अझैं जारी छ । यसले धेरै क्षेत्रमा अस्तव्यस्ता सिर्जना गरेको छ । अब कहिलेबाट सहजता होला भन्न सक्ने अवस्था अझैं देखिदैन ।
कोरोनाको यही संत्रासका विच केहि सकारात्मक माहौल पनि देखापर्न थालेको छ । यतिबेला शहर प्रायः सुनसान छ । शहरको तुलनामा गाउँमा रौनकता भने बढेको छ । वर्षौदेखि बाँझो रहेको गाउँको जमिनले स्याहर–सस्याहार पाएको छ । नयाँ पुस्ता र पुराना पुस्ताबिचको खाडललाई केहि हदसम्म नजिक ल्याउने अवसर बनेको छ । अहिले सामाजिक सञ्जालमा हेर्ने हो भने अधिकांशले ग्रामिण भेगमा गरेको काम, सुन्दर दृश्यलाई पोष्ट गरिरहेका छन् । केहि सपना बोकेर गाउँबाट शहर पसेकाहरु गाउँतिरनै फर्केका छन् । कति अझै गाउँ फर्कने अवसर पाइन्छ की भनेर लकडाउन खुल्ने समयको प्रतिक्षा गरिरहेका छन् ।
गाउँमा देखिएको रौनकताले शहरमा बस्नेहरुलाई पनि छोएको छ । उनीहरु गाउँले जीवन बिताउन नपाएकोमा दुःखी छन् । रातदिन, भोकभोकै भएपनि आफ्नो घर फर्कन मजदुर, विद्यार्थीले गरेको सर्घषले पनि गाउँको महत्वलाई बढाउँछ । गाउँमा मकै गोड्ने, धानको रोप्ने, बाँझो जमिन खन्ने, कोदो रोप्ने मात्र नभइ अन्य विभिन्न कार्यहरु पारिवारिक सदस्य मिलेर गरिरहेका छन् । यसले गाउँका बस्तीमा उब्जा बढ्ने र बस्ती फेरी हराभरा बन्ने आशा जगाएको छ ।
लोक गायिका हरिदेवी कोइराला कोरानाले केहि सकारात्मक संकेत देखाएकोमा सहमत छिन् । ‘मानवीयता के रहेछ, जीवन के रहेछ, प्रकृतिको संरचना कति बलियो रहेछ, प्रकृतिलाई जित्न सक्छौ भन्ने दम्भ कती गलत रहेछ भन्ने बुझ्न पाइएको छ’ उनले भनिन् ।
लकडाउनका कारण घरमै बस्नु परेको कारण लामो समय परिवारसँग बस्न पाउने अवस्था सिर्जना भएको छ । जसको कारण परिवारमा राम्ररी घुलमिल हुन पाएका छौं । परिवारका सबै सदस्य एकै ठाउँमा हुन नसकेकाले पनि पारिवारिक मोहको बारेमा बुझ्ने अवसर पाएका छन् । नयाँ पुस्ताले हजुरबुबा, हजुरआमा, बुबा, आमा सहितका परिवारका सदस्यसँग समय बिताउन पाएका छन् । जसले गर्दा आत्मियता बढेको छ ।
साहित्यकार दिपक समिपले कोरोनाले हाम्रा मुल्य मान्यतालाई अझ दरिलो गरेर स्थापित हुन सघाएको बताउँछन् । ‘पछिल्लो सममया पैसाको पछि लाग्ने प्रवृत्ति हावी हुँदा घर परिवार विर्सिने गरेका धेरै थिए । पैसाले मात्र सबै चिज किन्न सकिदो रहेनछ । घर परिवार बिर्सिएर पैसाको पछि मात्र लाग्न हुदैन रहेछ भन्ने सन्देश उनीहरुले पाएका छन्’ समिपले भने ।
कोरोनाले दिएको सबै भन्दा सकारात्मक पक्षचाहिँ जीवनमा जुनसुकै बेला आपत आइलाग्न सक्छ, त्यसलाई भोग्नु पर्छ, सहनु सक्नुपर्छ र त्यसलाई पार लगाउनु पर्छ भन्ने भएको समिपले बताए ।
गायक धमेन्द्र सेवान कोरोनाको कारण भएको लकडाउनका कारण पृथ्वी सफा भएको बताउँछन् । ‘यहाँ भएका पशुपंक्षी, खोलानाला खुशी छन् । मानिसलाई दैनिक रुपमा गर्ने भागदौड के का लागि भनेर आफैमा प्रश्न गर्ने अवस्था सिर्जना गरिदिएको छ । परिवारको महत्वलाई बुझ्ने अवसर पनि सिर्जना भयो । स्वास्थ्य नै धन रहेछ भन्ने बुझाइ बढायो । घरमानै योग र व्यायम गर्न थाले’ उनले भने ।
गायक विनोद वानियाँ कोरोनाले एक खालको त्रास र त्यसले ठुलो क्षती पु¥याउदा पनि केहि सकारात्मक कुरा छाडेको बताउँछन् । ‘कोरोनाले मानिसमा सामाजिक एकताको भावना, सहयोगकको वातावरण, पारिवारिक मिलन, समय व्यवस्थापन, समाजमा ठुलो, सानो, धनी र गरिबको बिचको विभेदलाई केहि हदसम्म अन्त्य गर्न सकेको छ’ उनले भने ।
कलाकार माओत्से गुरुङ कोरोनाले मानव जाती सबै एउटै रहेछ भन्ने सन्देश दिएको बताउँछन् । ‘यतिखेर विभाजित भुगोल, धर्म, संस्कृति, धनी, गरिब सबैलाई एउटै भावनाको मालामा उनीदिएको छ’ उनले भने ।
चलचित्रकर्मी जितेश प्रधान कोरोना संक्रमणको कारण भएको लकडाउनको कारण सवारी साधन, मानिसको आवातजावत नहुँदा धुँवाधुलो र ध्वनिप्रदुषण कम भएको बताउँछन् । ‘मानिसहरुले आफ्नो परिवारको लागि समय दिइरहेका छन् । इन्टरनेटको प्रयोग गर्दे नयाँ कुरा सिकिरहेका छन् । अध्ययन गरिरहेका छन् । मानिसहरु क्रियटिभ हुन सिकिरहेका छन्’ उनले भने ।
कलाकार प्रकाश घिमिरे कोरोना कहरका कारण सधै बेर्फुसदिलाहरु फुर्सदिला भएको बताउँछन् । ‘स–परिवार गफिएर बस्न पाएका छन् । करेसावारी हुनेहरुले खोर्सन मलजल गर्न पाएका छन् । अबको केहि समयमा धेरै परिवार तरकारीमा आत्मनिर्भर हुनसक्नेछन्, यो सुखद कुरा पनि हो’ घिमिरेले भने ।
साहित्यकार प्रकट पंगेनी शिवले कोरोनाको कारण केहि सकारात्मकता देखिएको बताए । ‘पैसाको बचत, वातावरण सफा, शान्त परिवेश, श्रष्टालाई सिर्जना गर्ने पर्याप्त अवसर, मितव्ययिता, फजुल खर्चको नियन्त्रण यसका सकारात्मक पाटा हुन्’ उनले भने ।
निर्मलीको रुपमा चिनिएकी कलाकार निरु खड्काले पनि कोरोना कहरका कारण केहि सकारात्मक पक्ष देखिएको बताउँछिन् । वातावरण एकदम सफा भएको छ । समाजमा हुने, अपराधिक घटनामा कमी आएको छ । धेरै जसो परिवार सँगै बस्न पाएका छन् ।’ उनले भनिन् । गाउँको पूर्विय संस्कृति, परम्परा र चलनको महत्व समेत अहिले भएका गतिविधि बढाइदिएको उनले बताइन् ।
लोकदोहोरी कलाकार तारानाथ आचार्य कोरोनाले धेरै कुरा सिकाएको बताउँछन् । ‘हात धुन सिकायो, गाउँ पस्न सिकायो, घरबस्न सिकायो’ उनले भने ।