
'नखेल जुवा र तास, धनको नाश जीवनको वनबास' गीत अहिले पनि लोकपि्रय छ। त्यतिबेला रमाइलोका लागि खेलिने जुवा र तासकै कारण धेरैको वनबास भएको सुनेरै यो गीत रचना गरिएको होला, तर अहिले वनबास जान र धनको नाश गर्न जुवा र तासबाहेकका अन्य धेरै विकल्प उपलब्ध छन्। पछिल्लो समयमा विकसित प्रविधिका कारण यो सब सम्भव भएको हो। आफ्नो गाउँघर वा सहर-बजारमा सार्वजनिक रूपमा रमाइलोका लागि जुवा खेल्नेहरू अहिले कोठामा रहेको कम्प्युटरमार्फत विश्वका विभिन्न स्थानका मानिससँग सुटुक्क बाजी लगाइरहेका हुन्छन्। यो अवस्थामा उनीहरू एक-अर्काको पैसा हडप्ने ध्याउन्नमा हुन्छन्। त्यसैले अहिले जुवा र तासबाट यसको स्वरूप गेम हुँदै ग्याम्बलिङसम्म पुगेको छ। अफलाइनमा खेलिने गेम र ग्याम्बलिङ इन्टरनेटमार्फत अनलाइनमै पनि खेल्न सकिन्छ।
कम्प्युटरमा उपलब्ध अफलाइन खेलिने सोलिटेर, स्पाइडर सोलिटेर आदि निकै प्रचलित छन्। अनलाइन गेम खेल्ने कामको प्रारम्भ यस्तै खेलबाट हुनसक्छ। त्यसबाहेक पोकर सोलिटेर, हार्ट्स फ्री, क्रिबेज किङ, थ्रीज्याक्स क्रिबेज आदि पनि लोकपि्रय छन्। तिनकै विकसित भर्सनका रूपमा अनलाइन गेम खेल्ने र त्यसलाई जुवाकै रूपमा लिनेहरू पनि छन्। पोकर तासको एउटा लोकपि्रय खेल हो। क्यासिनोहरूमा खेलिने यो खेलमा निकै ठूलो रकमको हेराफेरि हुन्छ। त्यसकै अनलाइन भर्सनका रुपमा ज्यांगा पोकर बनाइएको हो।
विश्वभर इन्टरनेटका ४० प्रतिशत प्रयोगकर्ता अनलाइन गेम खेल्छन्। यसको अर्थ अनलाइन गेम खेल्ने मानिसको संख्या करिब १ अर्ब छ भन्ने हो। स्मार्टफोनमा निःशुल्क उपलब्ध हुने सबै खेल निकै रमाइला एवं रुचिपूर्ण हुन्छन्। आईओएस तथा एन्ड्रोइड प्लेटर्फममा उपलब्ध सबै खेल भिन्न शैली र प्रस्तुतिका हुन्छन्।
विकिपिडियाका अनुसार विश्वमा अनलाइन क्यासिनोको वैधानिक जन्म सन् १९९४ मा भएको मानिन्छ। उक्त वर्ष क्यारिबियन राष्ट्र एन्टिगुवा र बर्मुडामा फ्री ट्रेड एन्ड प्रोसेसिङ एक्ट पास गरियो, जसले अनलाइन क्यासिनो खोल्न स्वीकृति दिन सक्थ्यो। त्यसभन्दा अघि सफ्टवेयर कम्पनी माइक्रोगेमिङले पहिलो पूर्ण रूपमा स्वचालित ग्याम्बलिङ सफ्टवेयर विकास गरेको थियो। यसलाई क्रिप्टोलजिक नामक अनलाइन सेक्युरिटी सफ्टवेयर कम्पनीले विकास गरेको सफ्टवेयरले सुरक्षित गरिएको थियो। सन् १९९६ मा कानावेक ग्याम्बलिङ कमिसन स्थापना गरियो, जसले विश्वका धेरै स्थानका अनलाइन क्यासिनो तथा पोकर रुमलाई गेमिङ लाइसेन्स समेत प्रदान गथ्र्यो।
सन् ९० को दशकको अन्त्यमा अनलाइन गेमहरू निकै लोकपि्रय भए। सन् १९९६ मा इन्टरनेट गेमिङ वेबसाइटको संख्या १५ मात्र रहेकोमा सन् १९९७ मै उक्त संख्या २ सय पुग्यो। सन् १९९८ मा अनलाइन गेमिङबाट प्राप्त राजस्व नै ८० करोड ३० लाख डलर पुग्यो। त्यही वर्ष बिश्वकै पहिलो अनलाइन पोकर रुम स्थापित भयो। सन् १९९९ मा अमेरिकामा इन्टरनेट ग्याम्बलिङ एक्ट प्रस्तुत गरियो, जसले अमेरिकी नागरिकलाई कुनै पनि अनलाइन गेमिङ उत्पादन एवं बिक्री गर्न प्रतिबन्ध लगाउन सक्थ्यो, तर उक्त कानुन पारित भएन। त्यसपछि सन् १९९९ मै मल्टिप्लेयर अनलाइन ग्याम्बलिङ पनि प्रारम्भ भयो। सन् २००० मा अस्ट्रेलियामा थप नयाँ अनलाइन क्यासिनोका लागि लाइसेन्स नदिने निर्णय गरियो।
नेपालमा भने अनलाइन ग्याम्बलिङका लागि कुनै नियम छैन। अफलाइन रूपमा ग्याम्बलिङ खेल्ने स्थानका रूपमा प्रचलित क्यासिनोहरू पनि समय समयमा विवादमा आउँछन्। विदेशीका लागि मात्र खुल्ला गरिएका क्यासिनोमा नेपालीहरूको समेत प्रवेश भएका कारण पनि समस्या आएको पाइन्छ। यी क्यासिनो कहिले खुल्ने र कहिले बन्द हुने गरेका छन्।
अहिले सोसल साइटको बढ्दो प्रयोगसँगै अनलाइन गेम खेल्नेहरू पनि बढिरहेका छन्। यसमा ज्यांगा पोकर र तीन पत्तीजस्ता गेम लोकपि्रय छन्। कल ब्रेक अर्को गेमिङ एप्स हो। अनलाइन म्यारिज, धुम्बल आदि पनि प्रचलित छन्। यस्ता गेम धेरै व्यक्ति एउटा टेबुलमा बसेर खेलेजसरी खेल्न सकिन्छ। गत वर्षको दसैंकै अवसर पारेर नेपाली डेभलपरले निर्माण गरेको अनलाइन म्यारिज लन्च गरिएको थियो। विभिन्न गेमको संग्रह रहेको भुस डट कममा ती गेम फेला पार्न सकिन्छ। बाघचालले पनि अहिले अनलाइन गेमका रूपमा राम्रो बजार लिएको छ। भूपाल सापकोटाले विकास गरेको अनलाइन बाघचाल एप्स मार्फत अहिले मनोरन्जनका साथमा बाजी राखेर खेल्नेहरू पनि बढिरहेका छन्। मनोरन्जनका लागि निर्माण गरिएको भए पनि अहिले कतिपयले यसलाई जुवाकै रूपमा लिइरहेको सापकोटा बताउँछन्। सापकोटाकै समूहले निर्माण गरेको एप्स झोलामा हालै खोरखोरे अर्थात् लंगुरबुर्जाको एप्स पनि राखिएको छ। पहिले नै प्रचलित लंगुरबुर्जाको एप्स सुदिप आचार्यले निर्माण गरेका हुन्। परम्परागत रूपमा खेलिने लंगुरबुर्जामा गोटी र खालको आवश्यकता पर्छ भने एप्स मार्फत खेल्दा ती सामग्री चाहिदैनन्। उक्त एप्स केही समयअघिदेखि मात्र उपलब्ध हुन थालेको हो।
अर्कै छ जुवाको संसार
दुई औंलाबीच चेपिएको चुरोट, बेला-बेलामा सुरुप्प पारिने महँगो रक्सी र गड्डीका गड्डी पैसाको चलखेल। त्यति मात्र होइन, मुखमा अपि्रय लाग्ने शब्द, धेरै दिनको अनिँदो आँखा र मनमा पैसा जित्ने चाहना। अझ ध्यान दिएर हेर्ने हो भने उनीहरूले लगाएको पहिरन विस्तारै मैलो हुँदै गएको देखिन्छ। घरबाट आउने फोन ब्लक मुडमा राखिएको छ। जित्नेबित्तिकै एक मुठी पैसा वरपर बस्नेहरूलाई बाँडिन्छ। खानाको अर्डर आएको आयै छ। बेला-बेलामा देखिने ठिटीहरूले खेलाडीको अघि थुपि्रएको पैसाबाट दुई-चार हजार लिन बन्देज पनि छैन। सुकिलो जीवन आफ्नो हो भने आफ्नै तरिकाले बाँच्न पनि पाउनुपर्छ। सम्भवतः जुवाका खेलाडीहरूले यसलाई विशेष मन्त्र बनाउने गरेका छन्।
नपत्याए सोर्स-फोर्स लगाएर छिर्नुहोस्, काठमाडौंको कुनै धनाढ्यले आफ्नो घरमा बनाएको मिनी क्यासिनोमा। तारे होटलमा सञ्चालन भएका क्यासिनो बन्द भएपछि अहिले काठमाडौंका केही घरमा यस्ता मिनी क्यासिनो खोलिएका छन्। अवैध रूपमा खोलिएका यी नयाँ जुवाघरमा नयाँ मानिस पस्न पाउँदैन। जुवा खेल्न जाने सबै मानिसको करिब तीनपुस्ते जानकारी उक्त क्यासिनोसँग हुन्छ। त्यसमा पनि प्रहरी, नेता र सेनासँग निकट मानिसले मात्र त्यस्ता जुवा खेलाउने हिम्मत राख्छन्। जुवा खेल्नेहरूका लागि खाने, बस्ने, सुत्ने र रमाइलो गर्ने सबै सामग्रीको बन्दोबस्त गरिएको हुन्छ। एउटा जुवाघरमा बढीमा २२-२५ जना खेलाडी पस्ने गरेका छन्। तिनै खेलाडीको सिफारिसमा मात्र नयाँ मानिसले प्रवेश पाउँछन्, जसले नयाँ मानिस लान्छ, त्यसले नयाँ मानिसको विस्तृत विवरण जुवाघरको मालिकलाई बताउनुपर्छ।
दुई औंलाबीच चेपिएको चुरोट, बेला-बेलामा सुरुप्प पारिने महँगो रक्सी र गड्डीका गड्डी पैसाको चलखेल। त्यति मात्र होइन, मुखमा अपि्रय लाग्ने शब्द, धेरै दिनको अनिँदो आँखा र मनमा पैसा जित्ने चाहना। अझ ध्यान दिएर हेर्ने हो भने उनीहरूले लगाएको पहिरन विस्तारै मैलो हुँदै गएको देखिन्छ। घरबाट आउने फोन ब्लक मुडमा राखिएको छ। जित्नेबित्तिकै एक मुठी पैसा वरपर बस्नेहरूलाई बाँडिन्छ। खानाको अर्डर आएको आयै छ। बेला-बेलामा देखिने ठिटीहरूले खेलाडीको अघि थुपि्रएको पैसाबाट दुई-चार हजार लिन बन्देज पनि छैन। सुकिलो घरभित्रको यो अनुपम दृश्य सुरुमा चलचित्रको दृश्यजस्तै लाग्न सक्छ।
सन्दर्भ हो, नयाँ बानेश्वर र पुरानो बानेश्वरबीचको एउटा गल्लीभित्र रहेको ठूलो कम्पाउन्डसहितको घरको। त्यहाँ दुई थरी खेल चलिरहेको छ। तल्लो तलामा भलाद्मीजस्ता देखिने ५ जना मानिस म्यारिज खेलिरहेका छन्। असाध्यै महँगोजस्तो लाग्ने लचकदार गलैंचा बिछ्याइएको तन्नामाथि हजार-हजारका गड्डीहरू मिल्किरहेका छन्। दुई-चार खेल हुँदा यताका गड्डी अर्कातिर पुग्थे भने केही गड्डी खुलेर केही हजार यताउति हुन्थे। लामो समय खेल हेरेपछि थाहा भयो, खेल तीन सय रुपैयाँ प्वाइन्ट चलिरहेको थियोर एक पटकमा २० औं हजारको हार-जित भैरहेको थियो।
यो भलाद्मी खेलमा आफ्नो पालो कुरेर केही अन्य भलाद्मी पनि बसिरहेका थिए। पालो कुरेर बस्नेलाई समय कटाउन सजिलो होस् भनेर केही ठिटीलाई उनीहरूको सेवामा खटाइएको छ। यी भलाद्मीहरू युवतीबाट विभिन्न किसिमका परिकार मात्र लिइरहेका छैनन्, उनीहरूसँग दैहिक सुख पनि लिइरहेका छन्। युवतीहरू परिकार अर्डर लिन, भान्सामा पकाउन एवं पुरुषहरूलाई मनोरञ्जन दिन एकसाथ भ्याइरहेका छन्। सायद धनाढ्य र विशिष्ट पाहुना भएका कारण हुन सक्छ, यहाँ सबै कुरा खुला भैकन पनि अश्लील भने छैन। कुनै भलाद्मीलाई युवतीबाट अतिरिक्त सेवा लिन मन लाग्यो भने एक तलामाथि केही कोठा खाली छन्। जहाँ उनीहरूको स्वीकृतिमा एकाध घन्टा एकान्तको मौका पाइन्छ। ती युवतीहरूमा अनौठो संयोग देखिन्छ, उनीहरू सुन्दर मात्र छैनन्, खुला पनि छन् र पाककलामा निपुर्ण पनि। सजिलै अनुमान गर्न सकिन्छ, यही कामका लागि उनीहरूले लामो समय तालिम लिएका छन्।
यही घरमा जुवाडेहरूको अर्को अखडा छ, मुुख्य घरबाहिरको ग्यारेज छेउमा। बाहिरबाट हेर्दा ग्यारेजजस्तो लाग्ने टहराभित्र एउटा सुकिलो गोल घर छ। थोरै अन्डरग्राउन्डजस्तो लाग्ने उक्त गोलघरभित्र छिर्न सिँढीबाट तल झर्नुपर्छ। अँध्यारो भएकाले त्यहाँ दिउँसै बत्ती बाल्नुपर्ने स्थिति हुन्छ। बत्ती रंगीन र झिलिमिली बनाइएको छ। एक तह तल झरेपछि एउटा फराकिलो तर सुविधा सम्पन्न कम्पाउन्ड आउँछ। त्यहाँ दुई झुन्ड खेलाडी छन्। खेलाडीहरूको संख्या १५ भन्दा बढी छैन। उनीहरूको सेवामा ५-७ जना युवती र ३-४ पुरुष छन्, जसले खानाको अर्डरदेखि थप मनोरञ्जन दिने युवतीको अर्डरसम्म लिन्छन्। कतिपयले त्यहाँ काटेको चेक बैंकमा गएर साट्ने वा ऋण लिन जानेसम्मको काम गर्छन्। यो खेल अघिल्लो जस्तो भलाद्मी छैन। यहाँ पैसा भएका तर संस्कार कम भएका मानिसको संख्या बढी देखिन्छ। रक्सी र जुवाको नशाका कारण हुन सक्छ, के बोल्ने के नबोल्ने भन्ने छैन। यति हुँदा पनि यहाँ झैझगडा र मारमिट नहुने दाबी सहयोगीहरूको छ। झगडालु र शंकास्पद मानिसहरू आउने वातावरण नै नहुने भएकाले पनि यो सानो जुवाघर अपेक्षाकृत शान्त छ। चुरोटको धूवाँ र मदिराको महक कम गर्न यो कोठामा बेला-बेलामा रुम स्प्रे छरिन्छ। रुम स्प्रेसहितको अनौठो गन्धले यो एउटा छुट्टै संसार लाग्छ।
कति हुन्छ हारजित ?
झट्ट हेर्दा यो सानो जुवाघर साधारण नै लाग्छ, तर यसमा हुने हारजित कल्पना गरेभन्दा धेरै माथि हुन्छ। त्यहाँ दुई-चार लाख रुपैयाँ नबोकी छिर्न पाइँदैन। खेल अघि बढ्दै जाँदा एउटा मानिसले एकदिनमा एक करोड रुपैयाँसम्म हार्न वा जित्न सक्छ। खेल्दै जाँदा चेक काटेर सहयोगीहरूलाई बैंक पठाउने नत्र एटीएम कार्ड र पासवर्ड नम्बर दिनेजस्ता अति गोप्य काम पनि सजिलै सम्पन्न भएको देख्न पाइन्छ। यो जुवाघरमा एकाध घण्टामै करिब २० करोड रुपैयाँसम्मको कारोबार हुन्छ। यद्यपि करोडौं रुपैयाँको कारोबारमा जितहारको अवस्था करोड नपुगे पनि लाखौं भएको अनुमान लगाउन सकिन्छ।
सबैभन्दा रमाइलो कुरा यहाँका हरेक खेलाडीले कुन जुवाडेले कति हारे वा जिते सजिलै भन्न सक्छन्। उनीहरूका कुरामा विश्वास गर्ने हो भने मोडल खुश्बु ओलीका पूर्व प्रेमी अर्पण कोइरालाले त्यहाँ सात दिन लगातार जुवा खेलेका थिए। उक्त अवधिमा उनले दुई करोड रुपैयाँ हारेको दाबी उनीहरूको छ।
सर्वस्व गुमाउनेहरू
काठमाडौंमा नयाँ खुलेका मिनी क्यासिनोहरू पुरानै क्यासिनोका रूपान्तरण हुन्। पहिले तारे होटलमा खेलाइने विशिष्ट जुवा सरकारले बन्द गरेपछि टुक्रे रूपमा यस्ता घरमा सारिएका हुन्। यस्ता जुवाघरलाई कहिल्यै खेलाडीको खाँचो हुँदैन। पुराना खेलाडी भएका कारण जुवाका कारण को-को बरबाद भए उनीहरू सजिलै भन्न सक्छन्। रमाइलो कुरा त के छ भने मृत्युजस्तै उनीहरू आफू भने त्यसरी टाट पल्टने कुरामा भने हत्तपत्त विश्वास गर्दैनन्।
खेलाडीहरूका अनुसार जीवन नेपाल, केशव रायमाझी, ओम गुरुङजस्ता केही उद्योगी-व्यवसायीले क्यासिनोमा जुवा खेलेर करोडौं रुपैयाँ हारेका छन्। यहीकारण नेपालको सिमेन्ट उद्योग, रायमाझीको जग्गा व्यवसाय एवं गुरुङको म्यानपावर कम्पनी अहिले समस्यामा परेका छन्।
यसैगरी चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा, चलचित्र कलाकार राज हमाल एवं लोकगायक मौलीधन मोक्तानले पनि जुवाका कारण असहज परिस्थितिको सामना गर्नुपरिरहेको छ। त्यसमध्ये देउजाले त आत्महत्याको प्रयाससमेत गरेका थिए।
जिल्ला प्रहरी कार्यालयले पनि जुवा खेलेर टाट पल्टिएका व्यक्तिहरूको नाम संकलन गरेको छ। यस्ता नाममा धेरैजसो बाबुबाजेको सबै सम्पत्ति सकेर फुटपाथमा जीवन बिताउनेहरूको संख्या ठूलो छ। प्रहरीका अनुसार बालाजुका राजन केसीले ३ करोड रुपैयाँ, म्हैपीका नरेशदास मानन्धरले ७ करोड रुपैयाँ, बालाजुकै केशव ठकुरीले २२ करोड रुपैयाँका साथै महाराजगन्जका विक्रम राणा, कपनका लीला लिम्बूहरूले पनि करोडौं रुपैयाँ जुवामा हारेका छन्। त्यसैगरी, गोंगबुका अरविन श्रेष्ठले आफ्ना दुइटा घर क्यासिनोमा हारे। प्रहरीका अनुसार अरविन अहिले ट्याक्सी चलाएर जीवनगुजारा गरिरहेका छन्। करोडपति व्यापारी अहमद असफाक पनि अहिले फुटपाथमा आइपुगेका छन्।
काठमाडौंका स्थानीय वासिन्दाले मात्र होइन, उपत्यकाबाहिरका मानिसहरूले पनि जुवामा करोडौं रुपैयाँ हारेको अनुमान प्रहरीको छ, जसअनुसार रामेछापका रविन सुनुवार, काभ्रेका रमेश, सिन्धुपाल्चोकका कृष्ण बस्यालहरूले पनि करोडौं रुपैयाँ हारेका छन्। वीरगन्जका चर्चित व्यापारी नथुनी शाहले छोराको जुवा-लतका कारण ठूलो तनाव बेहोर्नुपर्यो। नथुनीका २५ वषर्ीय छोरा अशोकले जुवा खेलेर १ करोड ७५ लाख रुपैयाँ हारेका थिए। उनले एक सातामै उक्त रकम हारेको प्रहरी सूत्रले उल्लेख गरेको छ।
सर्वसाधारण मात्र होइन, जुवाकै कारण सेनाका एक अधिकृत भविष्यमा सरकारी जागिरका लागि अयोग्य हुने गरी निष्कासितसम्म भएका छन्। नेपाली सेनाको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार नेपाली सेनाका उपसेनानी गौतम चन्द ठकुरी बर्दीसहित जुवा घरमा भेटिएका कारण उनलाई नेपाली सेनाले वर्खास्त गरेको थियो।
जित्नेहरू पनि गुमनाम
जुवामा हार्नेहरू छन् भने जित्नेहरू पनि हुन्छन् नै। तैपनि कस-कसले कति जिते र के-के उद्यम गरे भन्ने कुरा भने बाहिर आउने गरेको छैन। प्रहरीका अनुसार जुवामा जित्नेहरूमध्ये धेरैले मोजमस्तीमै पैसा खर्च गर्ने भएकाले जितेको पैसा नदेखिएको हो। मिनी क्यासिनोमा जित्नेहरूले युवती र छेउछाउका मानिसलाई बाँडेको रकम देखेरै त्यसको अनुमान लगाउन सकिन्छ। गतवर्ष काठमाडौं पेप्सीकोलाका रवीन्द्र थापाले क्यासिनोबाट एक सातामा ५ करोड रुपैयाँ जितेको खबर आएको थियो। उक्त रकममध्ये ८३ लाख रुपैयाँ उनले भोजभतेरमा सकेका थिए। त्यसको केही समयपछि उनी फेरि क्यासिनो जान थाले। नभन्दै उनले जितेको ५ करोडमध्ये ३ करोड रुपैयाँ क्यासिनोमै हार्न पुगे। बाँकी पैसा भोजभतेर र आफन्तलाई बाँडेका कारण उनी श्रीपेचबिनाको राजा जस्तै भए।
अनलाइन ग्याम्बलिङका प्रकार
अनलाइन ग्याम्बलिङ पनि विभिन्न प्रकारका हुन्छन्। पहिले सट्टाबाजी वा बाजी राख्नेहरूले यसको विकल्पमा नयाँ-नयाँ उपाय फेला पार्दै गएका छन्। प्रविधिका कारण यो रहर भिडियो लटरी टर्मिनल, केनो र स्क्र्याच कार्ड हुँदै विभिन्न नयाँ शब्दमा रूपान्तरण हुन थालेको छ।
अनलाइन पोकर
अनलाइन पोकर टेबलमा विभिन्न टुर्नामेन्ट र क्यास गेम खेलिन्छ। यसमा ओमाहा, सेभेन-कार्ड स्टड, र्याज, हर्स र अन्य विभिन्न नामका टुर्नामेन्ट हुन्छन्। खेलाडीहरू कार्ड रुममा प्रवेश गर्छन् र आफ्नो रुचिको खेल खेल्छन्।
अनलाइन क्यासिनो
अनलाइन क्यासिनोमा रुलेट, ब्ल्याक ज्याक, पाचिन्को, ब्याकारेट तथा यस्तै विभिन्न खेल खेलिन्छ। यसमा खेलाडीहरू एक अर्को हाउसको विरुद्ध खेल्छन्।
स्पोर्ट्स बेटिङ
विभिन्न समयमा हुने खेलकुद प्रतियोगितामा बाजी राख्नुलाई पनि अनलाइन गेमका रूपमा लिइन्छ। अनलाइन वा टेलिभिजनमार्फत लाइभ खेल हेरेर त्यसकै आधारमा बाजी राखिन्छ र हार्नेले बाजी राखेको रकम वा अन्य वस्तु तिर्नुपर्छ।
अनलाइन बिंगो
इन्टरनेटमा खेलिने अनलाइन बिंगोलाई पनि एक प्रकारको जुवा नै मान्न सकिन्छ।
लट्री
लट्री वा चिट्ठालाई पनि अनलाइन गेम मानिन्छ। पहिले म्यानुअल रूपमा विभिन्न आधारमा चिट्ठा टिपिन्थ्यो भने अहिले कम्प्युटर प्रविधिका आधारमा विभिन्न विजेताको छनोट गरिन्छ। कतिपय देशमा सरकारले नै चिट्ठा चलाएको हुन्छ भने कतिपय चिट्ठा निजी रुपमा पनि चलाइएका छन्।
त्यसबाहेक अन्य विभिन्न नामका प्रशस्तै अनलाइन गेम इन्टरनेटमा उपलब्ध छन्।
भर्चुअल गेम
तिहारमा रमाइलो गर्ने विभिन्न उपाय छन्, तर प्रविधिका कारण अब रमाइलोका लागि साथीभाइसमेत नचाहिने भएको छ। स्मार्टफोनमा विभिन्न प्रकारका खेल खेलेर पनि समय बिताउन सकिन्छ। तास नै खेल्न पनि अब स्मार्टफोनले सहयोग पुर्याउँछ। कम्प्युटर भए अझ ठूलो स्त्रिनमा खेल्दा थप मज्जा आउँछ। अनलाइन रूपमा विभिन्न खेल डाउनलोड गरेर खेल्न सकिन्छ। नेपाली डेभलपरहरूले पनि नेपालकै सन्दर्भमा विभिन्न गेम बनाएका छन्। भर्चुअल गेमका कतिपय एप्ससमेत उपलब्ध छन्। भर्चुअल रूपमा खेलिने यस्ता गेमबाट पनि पर्याप्त मनोरञ्जन प्राप्त गर्न सकिन्छ।
म्यारिज
म्यारिज तासका तीन गड्डी मिलाएर खेलिन्छ। २ देखि ५ जना व्यक्ति प्रत्येकलाई २१ वटा पत्ता बाँडिन्छ। म्यारिजका पनि विभिन्न नियम छन्। ती नियमका कारण पनि यो बढी रुचिकर हुन्छ। यो खेल भुस डटकममा उपलब्ध छ।
धुम्बल वा झ्याप
झ्यापको नियम निकै सामान्य छ र नयाँ व्यक्तिले पनि यो गेमका बारेमा एक मिनेटमै बुझ्न सक्छ। यद्यपि यसका लागि खेलाडी सधैं चनाखो हुनुपर्छ र आँखा पनि सबैतिर लगाइरहनुपर्छ। यो तीव्र गतिको खेल मानिन्छ। यो खेल भुस डटकममा उपलब्ध छ।
बाघचाल
यो खेल दुई जना व्यक्ति मिलेर खेल्न सकिन्छ। एक जना व्यक्तिले चारवटा बाघ र अर्कोले २० वटा बाख्रा चलाएर यो खेल खेलिन्छ। बाघचाल खेल्न बाघचाल डटकममा जान सकिन्छ।
नेपाल जिल्ला
नेपाललाई ७५ जिल्लामा बाँडिएको छ। यो त्यसैका आधारमा निर्माण गरिएको स्मार्ट पजल गेम हो। यसमा नेपालको नक्सामा जिल्लाहरूलाई सही स्थानमा मिलाएर राख्नुपर्छ। कम्प्युटरको माउसलाई विभिन्न जिल्लामा पुर्याएर क्लिक गर्दै यो गेम खेल्न सकिन्छ। जति छिटो स्थान मिलाएर राखिन्छ, त्यति नै बढी स्कोर आउँछ। यो खेल वन्डरनेपाल डटकममार्फत खेल्न सकिन्छ।
स्ल्याप नेता (एन्ड्रोइड एप)
यो एन्ड्रोइड एप गेम हो। नामबाटै पनि यसको अर्थ थाहा हुन्छ। यसमा विभिन्न क्यारेक्टरलाई गेमको निर्देशनअनुसार थप्पड हानिन्छ। जब नेता अर्थात् कुनै क्यारेक्टर बोल्न थाल्छ, खेलाडीले त्यसलाई थप्पड हान्नुपर्छ। यो खेल गुगल प्ले स्टोरबाट डाउनलोड गरेर खेल्न सकिन्छ।
हनुमान-मिसन सञ्जीवनी
यो रामायणको कथामा आधारित एक प्रकारको गेम हो। यो एन्ड्रोइड एपका रूपमा उपलब्ध छ। रामका भाई लक्ष्मणलाई चोट लाग्दा हनुमान विशेष प्रकारको जडिबुटी अर्थात् सञ्जीवनीको खोजीमा हिमालय पर्वततर्फ लाग्छन्। त्यसैलाई आधार मानेर यो गेम डिजाइन गरिएको छ। यो गेममा हनुमान हिमालयमा जाँदाको यात्रालाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ। बाटोमा विभिन्न राक्षससँग लड्दै उनी हिमालय पर्वत पुग्छन्। यो गेम विभिन्न लेभलमा उपलब्ध छ। एक लेभलपछि अर्को लेभलमा जान सकिन्छ। यसलाई पनि गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ।
गो बनाना
गो बनाना बाँदर र केरामा आधारित एन्ड्रोइड गेम हो। यसमा धेरैभन्दा धेरै-धेरै केरा जम्मा गर्नुपर्छ। यो क्लासिक, एड्भान्स र टाइमर गरी तीन भर्सनमा उपलब्ध छ।
खेल्दै जाँदा कोकोनटलाई हिट गरियो भने खेल नै समाप्त हुन्छ। यसलाई गुगल प्ले स्टोरबाट डाउनलोड गरी खेल्न सकिन्छ।
जुवा हार्नेहरू
जुवाडेहरू धेरै हुन्छन्। संसारमा ठूलो रकम हारजित हुने जुवाडेहरू प्रशस्तै छन्। ठूलो रकमको हेराफेरी हुने क्यासिनोहरूमा यस्ता जुवाडे लगातार जान्छन्। कतिपय जुवाडेले आफूले हारेको रकमका कारण प्रशस्तै चर्चा पनि पाएका छन्।
टेरी वातानावे
टेरी वातानावेलाई क्यासिनोको इतिहासमा सर्वाधिक रकम हार्ने व्यक्ति मानिन्छ। उनले सन् २००७ मा एकै पटक १२ करोड डलर हारेका थिए। वातानावेले उक्त वर्ष मात्र सबै गरी २० करोड डलर हारेका थिए। लस भेगासको क्यासिनोमा खेल्ने वातानावेले आफूलाई हराउन विभिन्न औषधी तथा पेय पदार्थ दिइने गरेको आरोपसमेत लगाएका थिए।
ओमार सिद्धिकी
ओमार सिद्धिकी एउटा प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनीका कर्मचारी थिए। सुरु-सुरुमा क्यासिनोमा जुवा खेल्दा उनले जितेका पनि थिए, तर पछि उनले क्रमशः साढे ६ करोड डलर हारे। उनी ब्ल्याकज्याकको पर ह्यान्डमा २ लाख डलरसम्मको बाजी राख्थे। पछि ओमारले विभिन्न तरिकाले कालो धन जम्मा गरेको कुरा पत्ता लाग्यो र उनलाई ४० वर्षको जेल सजाय भयो।
आर्ची कारास
आर्ची कारास लस भेगासमा पहिलो पटक आउँदा ६० डलर मात्र लिएर आएका थिए। गि्रसमा जन्मिएका आर्ची पछि गएर अमेरिकी भएका थिए। उनले डाइस, ब्याकारेट, पुल तथा पोकर खेलेर ३ करोड डलर जिते, तर पछिल्लो समयमा उनले प्रत्येक खेल हार्दै गए।
केरी प्याकर
अस्ट्रेलियाका मिडिया टाइकुन केरी प्याकरको खेल पनि निकै चर्चित छ। उनले तीन हप्ताको अवधिमा डेढ करोड स्टर्लिङ पाउन्ड सिध्याएका थिए। त्यसभन्दा पहिले उनले ठूलो रकम जितेका थिए। मानिसहरू प्याकरसँग खेल्न पनि डराउँथे। जुवाडेहरू भन्थे— उनको भाग्य राम्रो छ। यद्यपि पछि गएर उनी टाट पल्टिए।
अकियो कासिवागी
जापानका अकियो कासिवागी प्रोपर्टी डेभलपर थिए र सामान्य रूपमा जीवन बिताइरहेका थिए। उनी राति-राति क्यासिनो पुगेर ब्याकारेट खेल्थे, तर एक दिन ट्रम्प क्यासिनोमा उनले एकैपटक डेढ करोड डलर हारे। सिंगल सेसनमा यति ठूलो रकम हारिएको उक्त घटना क्यासिनोको इतिहासमै पहिलो थियो।
फ्रयांक साराकाकिस
गि्रसमा जन्मिएका तथा कार उद्योगका कहलिएका व्यापारी फ्रयांक साराकाकिस लन्डनको क्रकफोर्ड्स तथा रिट्ज क्यासिनोमा जुवा खेल्थे। उनी आफूलाई भाग्यमानी खेलाडी मान्थे। साराकाकिस रुलेट टेबलमा निकै रमाउँथे। एकपटक छोटो समयमै उनले १ करोड स्टर्लिङ पाउन्ड हारे। पछि त्यही पैसा फिर्ता आउने आशाका साथ लगातार खेल्दै गए। त्यसो गर्दा उनले थप रकम गुमाउँदै गए।
जिम्मी ह्वाइट
स्नुकर र पुलका सौखिन जिम्मी ह्वाइटले पहिले पोकर र अन्य खेलका कारण प्रशस्तै पैसा कमाए, तर युरोपमा जुवा खेल्ने क्रममा उनले ६० लाख पाउन्ड हारे। जिम्मी ब्ल्याकज्याकमा रमाउँथे। भनिन्छ, जिम्मीले वेश्यावृत्तिमा पनि प्रशस्तै पैसा सिध्याए।
फाओद-अल-जायद
जायद रुलेट खेल्न रुचाउँथे। उनले सुरुमा ५ लाख पाउन्ड हारेका थिए। त्यसपछि उनी लगातार हार्दै गए। पछि बेलायती अदालतले उनको सम्पत्ति पनि रोक्का गरिदियो। जायद लन्डनका ठूलो जुवाडेका रूपमा परिचित छन्।
जो फ्रान्सिस
जो फ्रान्सिसले विन होटलको क्यासिनोमा एकै पटकमा २० लाख डलर हारे। रोचक कुरा के छ भने उनले उक्त रकम तिर्न अस्वीकार गरे। क्यासिनोले जोविरुद्ध मुद्दा पनि हाल्यो। पछि क्यासिनोले उनलाई केही रकम छुट दिने कुरा त बतायो, तर कति छुट दियो भन्ने कुरा भने सार्वजनिक भएन।
रोबर्ट म्याक्सवेल
मिडिया टाइकुन रोबर्ट म्याक्सवेलले बेलायतको एम्बेसडर क्यासिनोमा एक मिनेटमै २० लाख डलर हारेका थिए। उनले मल्टिपल रुलेट हि्वल खेलेका थिए र कुनै पनि ब्रेक क्याच गर्न सकेनन्। जुवामा हारेकै कारण उनको ठूलो र प्रतिष्ठित प्रकाशन कम्पनी धराशायी भयो।