• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
छोटोमा फरक कथा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कला अनुरागी

 छोटोमा फरक कथा
जेष्ठ २, २०७७

कोरोना सन्त्रासले विश्वलाई आक्रान्त पारिरहेको बेला सिनेमा क्षेत्रमा एउटा सुखद् खबर आयो– विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औं संस्करणमा नेपाली फिल्म पनि छनोटमा परेको । केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ओवरहउसेनको २०२० को संस्करणमा छनोट भएको छ । 

विश्वभरिबाट आवेदन गरेको ६५ सयभन्दा बढी फिल्महरूबाट उत्कृष्ट एक सय छनोट हुँदा एसियाबाट १९ फिल्म परेका थिए । जसमा यसपटक ‘जुनुको जुत्ता’ छानियो । नेपालका विभिन्न चलचित्र महोत्सवमा पुरस्कृत भइसकेको यो फिल्म ‘सिंगापुर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि छानिएको छ । 

यो खबरले नेपाली सर्ट सिनेमामा सक्रियहरूलाई उत्साहित बनाएको छ । निर्देशक केदार श्रेष्ठ भन्छन्, ‘रङ्गकर्ममा र लेखनमा रमाइरहेको बेला फिल्मबाट कथा भन्ने प्रयास गरेको थिएँ । विश्वप्रसिद्ध र सम्मानित महोत्सवमा छनोट हुँदा उत्साहित छु ।’ उनीसँगै निर्माता विभु पौडेल पनि प्रफुल्लित छन् । आफूले निर्माण गरेको सर्ट फिल्मले अन्तर्राष्ट्रिय मञ्च पाएकोमा खुसी त छन् नै, नेपाली कथा विश्व समुदायलाई सुनाउने मौकाको रूपमा उपयोग गर्न सकिनेमा आशावादी पनि । 

यसअघि, सनडान्स फिल्म फेस्टिभल (२३ जनवरी– २ फेब्रुअरी) मा अंकित पौडेलको सर्ट फिल्म ‘सङ अफ क्लाउड्स’ छनोट भयो । सनडान्सलाई अमेरिकाको प्रतिष्ठित र संसारकै ठूलो मध्येको फिल्म फेस्टिभल मानिन्छ । विशेष गरी नयाँ र सर्ट फिल्म मेकरका निकै ठूलो प्लेटफर्म हो । ‘यसले विश्वका राम्रा सिनेमा निर्देशक र निर्मातासँग भेट्ने अवसर दिलायो । यस्ता मञ्चहरूले नेटवर्क निर्माणमा राम्रो भूमिका खेल्ने रहेछ’, उनले भने । यसअघि सन् २०१७ मा पूजा गुरुङ र विभूषण बस्नेतको सर्ट फिल्म ‘दद्या’ले सनडान्स ‘स्पेशल जुरी अवार्ड फर सिनेमाटोग्राफी’ प्राप्त गरेको थियो । जसको सिनेमाटोग्राफी चिन्तनराज भण्डारीले सम्हालेका थिए ।

यी त पछिल्ला उदाहरणहरू हुन् । नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन सर्ट फिल्मले राम्रो भूमिका खेल्न थालेको केही अवधि गुज्रिसकेको छ । 

एकेडेमी अफ मोसन फिक्चर आर्ट एण्ड साइन्सेजले ४० मिनेटसम्मको फिल्मलाई सर्ट फिल्मको रूपमा लिएको छ । विश्वभरका अधिकांश फिल्म फेस्टिभलमा यही मान्यतालाई पछ्याउने गरिएको छ । एकेडेमी अवार्ड: द ओस्कारले पनि सम्पूर्ण क्रेडिटसहित ४० मिनेट वा सोभन्दा कम अवधिका फिल्मलाई सर्ट फिल्मको भरिभाषा दिएको छ । त्यसो त कतिपय सन्दर्भमा ५९ मिनेटसम्मको फिल्मलाई सर्ट मान्ने गरिएको निर्देशक सुवर्ण थापा बताउँछन् । फ्रान्समा सिनेमा अध्ययन गरेर सर्ट र फिचर फिल्म दुवैको निर्देशनमा सक्रिय सुवर्णका अनुसार ३० मिनेट अवधिसम्मका फिल्मलाई सर्ट र ५९ मिनेटसम्मलाई मध्यम मानिने गरिएको छ । 

नेपालमै पनि यस्ता छोटा फिल्म फेस्टिभलहरूमा समावेश हुँदै आएको छ । अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ), नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)लगायतले सर्ट फिल्मको विधागत प्रतिनिधित्व गराइरहेका छन् । त्यसैगरी निरन्तर हुन नसके पनि एकादेशमा, ६० सेकेन्ड सर्ट फिल्म फेस्टिभललगायतले सर्ट फिल्मको सम्भावनालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेले । 

छोटोमा आकर्षण 
नेपालमा सर्ट फिल्मको इतिहास उति व्यवस्थित हिसाबले अभिलेखीकरण भएको पाइन्न । यसबारे अध्ययन गर्दा सन् २००८ पछिका अभिलेखमात्रै चलचित्र विकास बोर्डमा पाएको अंकित बताउँछन् । ‘त्यसबेला निडर नामक फिल्म बोर्डमा दर्ता भएको पाइएको छ । त्यसअघिको खासै रेकर्ड पाइएन’, उनले भने । वि.सं. २०६४ मा सर्ट फिल्म ‘मलामी’ बनाएका सुवर्णका अनुसार त्यसअघि यो विधालाई पहिचान दिने गरी धेरै काम हुन नसकेको बताउँछन् । ‘टेलिभिजनमा आधा घन्टाको स्लटमा मिल्ने गरी फिल्मचाहिँ बनेको पाइन्छ । तर, त्यसलाई सर्ट फिल्म भन्ने विधाकै पहिचान भने दिइएको पाइँदैन । अर्कोचाहिँ सर्ट फिल्मलाई पछिसम्म पनि ‘डकुमेन्ट्री’कै विधाको रूपमा बुझिने गरिएको यथार्थ पनि नेपालमा थियो’, उनले भने । 

सर्ट फिल्म अध्ययन, लेखन र निर्देशनमा सक्रिय युवा राजेशप्रसाद खत्री पनि सुवर्णसँग सहमत देखिन्छन् । उनको अध्ययनले पनि फ्रान्सको इमेजेनेरिज प्रोडक्सन र सिनेमा डी प्यारेलाल नेपालको सहकार्यमा सरुभक्तद्वारा लिखित र थापाद्वारा निर्देशित २० मिनेटको ‘मलामी’सँगै नेपालमा सर्ट फिल्म निर्माण अघि बढेको देखाएको छ । त्यसपछि बनेका अविनाश विक्रम शाह निर्देशित ‘स्वर्ग यहाँ, ‘म खुसी छु’ अनुप पौडेल निर्देशित ‘स्पर्श’, सन्तोष भट्टराई निर्देशित ‘सास फेरे जस्तो लाग्छ’, पूजा गुरुङ र विभूषण बस्नेत निर्देशित ‘द कन्टाजियस अपरिसन्स अफ डम्बरे डेन्ड्राइट’ र ‘दद्या’, मिन भाम निर्देशित ‘बाँसुल्ली’ लगायतका सर्ट फिल्मले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल भएको उनको बुझाइ छ । त्यसपछि पनि निरन्तर राम्रा सर्ट फिल्महरू बनिरहेको उनले पाएका छन् । त्यसमा सुजित बिडारी, नीराजन राज भेटवाल, शेनाङ ग्याम्जो तामाङ, राजन कठेत, कला संग्रौला, सचिन घिमिरे, दीपक रौनियार, अरुणदेव जोशी, परिच्छेद सेन, सुविज्ञ सुन्दर श्रेष्ठ, मनोजबाबु पन्त, प्रवीणकुमार रावत, सुनिल पाण्डे, रजीला श्रेष्ठ, अस्मिता शिरीषलगायतका बनाएका सर्ट फिल्महरूले राम्रो प्रतिक्रिया पाएका छन् । 

पछिल्लो समय फिल्म कलेजहरूको सुरुवात र डिजिटल प्रविधिको विकाससँगै सर्ट फिल्मले विधागत पहिचान पाएको सुवर्णको बुझाइ छ । डिजिटल प्रविधिले अन्तर्राष्ट्रिय मान्यताहरूलाई बुझ्न र त्यसैअनुसार काम गर्न सघाउ पुर्‍याएको उनले बताए । 

सर्ट फिल्म निर्माणमा सक्रिय निर्देशक मनोजबाबु पन्तका अनुसार पछिल्ला दुई दशक अघिदेखि सर्ट फिल्म थालिएको बताउँछन् । विशेषगरी आर्थिक भारका कारण सेलुलोइड सिनेमामा काम गर्न नसकिरहेका सिनेमेकरहरूले सर्ट फिल्मको बाटो छनोट गरेको उनको बुझाइ छ । उनी भन्छन्, ‘एकातिर सस्तो र सरल प्राविधिक सुलभताले यसमा आकर्षण बढ्यो । अर्कातिर मूलधारको सिनेमा संस्कारप्रति असन्तुष्ट सिर्जनशील जमातले यसलाई आफ्नो विधा बनायो । साथै गम्भीर सिनेमा निर्माणको अभ्यास गर्नेलाई यसले अन्तर्राष्ट्रिय मञ्चको बाटो पनि खोलिदियो ।’

                                                                            ‘सङ अफ क्लाउड्स’को दृश्य ।

फरक शैली र नयाँ प्रविधि
विषयवस्तु र शैलीका हिसाबले सर्ट फिल्मको अब्बलता तुलनात्मक रूपमा बलियो देखिन्छ । एकैखाले सिनेमाहरू मात्र निर्माण भइरहेको मूलधारको तुलना गर्दा सर्ट फिल्महरूका प्रस्तुतिमा नयाँ शैलीहरू खोजिएको मनोज बताउँछन् । उनी भन्छन्, ‘विषयवस्तुप्रति गम्भीर र सामाजिक–राजनैतिक चेत पनि गहिरो देखिन्छ ।’ तथापि प्रविधिमा भने कमजोर देखिएको उनको मूल्यांकन छ । थोरै बजेटमा निर्माण

गर्नुपर्ने बाध्यताले सम्झौताको बाध्यता रहेको उनको बुझाइ छ । 
अंकितचाहिँ सर्ट फिल्ममा पनि ‘स्टोरी न्यारेसन’ नै धेरै आइरहेको देख्छन् । ‘हुन त कलात्मक कार्य आफैंमा स्वतन्त्र हुन्छ । तथापि यसमा अलिक बढी प्रयोग गर्न सकिन्छ भन्ने लाग्छ । त्योचाहिँ अलि कम भइरहेको हो कि भन्ने अनुभूति हुन्छ’, उनी भन्छन् । फिल्म कलेजको स्थापनाले सिनेमा निर्माणमा अधिकतम सकारात्मक भूमिका खेले पनि शैलीगत विविधतामा चाहिँ एकै खालको ‘स्कुलिङ’ निर्माण गर्ने गरेको कुराले यसमा प्रभाव पारेको उनको मूल्यांकन छ । त्यसमा चाहिँ सर्जकहरू आफैं सचेत र सिर्जनशील हुनुपर्नेमा उनको जोड छ । 

यसमा सहमत हुँदै राजेश थप्छन्, ‘प्राय: लघुचलचित्रहरू लेखकका पूर्वअनुभव र आफ्नै धरातलमा आधारित देखिन्छ । त्यसो हुँदा स्थानीय विषयवस्तुलाई सर्वव्यापीकरण गर्ने गरी निर्माण शैली अपनाएको पाइन्छ ।’ सर्ट फिल्ममै सक्रिय नवनिधि दाहालको बुझाइ पनि उस्तै छ । ‘नेपालमा बनिरहेका लघु सिनेमाको ठूलो हिस्साका विषयवस्तु सर्जकको व्यथाले भरिएको देख्छु । उनीहरूका स्मृतिको प्रक्षेपण देख्छु । तर, अरू थुप्रै विषयवस्तुमा पनि काम भएका छन् । शैलीमा आत्मकेन्द्रित कथावाचन अलिक बढी पाउँछु ।’ उनी प्रविधिमा भने एकदमै धेरै विविधता देख्छन् । उनको अध्ययनमा डिएसएलआर क्यामेरा तथा कम प्रकाशहरूको प्रयोगबाट काम भएका छन् भने मोबाइल फोनमा खिचिएका सिनेमा पनि बढिरहेका छन् ।

करियर कि परीक्षण ?
सर्ट फिल्म सिनेमा निर्माणलाई सिनेमा क्षेत्रमा काम गर्न चाहनेहरूले क्षमता परीक्षण र करियर दुवै दृष्टिकोणबाट अँगालेको पाइन्छ । राजेश भन्छन्, ‘लघु चलचित्रले मभित्रको क्षमताको पहिचान गरायो । केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भई केही उपलब्धि हात पार्न सफल भयो ।’ त्यसैका आधारमा आफू अन्तर्राष्ट्रिय महोत्सवद्वारा सञ्चालित चलचित्र अध्यापन गराउने संस्था (एसियन फिल्म एकेडेमी, बर्लिनाले ट्यालेन्ट क्याम्पस)मा छनोट भएको उनले सुनाए । त्यसबाट आफ्नो चलचित्रप्रतिको बुझाई फराकिलो हुनुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीको सञ्जालमा जोडिँदै गएको उनी बताउँछन् । चलचित्र संसारको बुझाइ र सञ्जालको विकास करियर निर्माणको बलियो आधार भएकाले यसले दीर्घकालीन फाइदा हुने उनको बुझाइ छ । 

नवनिधिलाई पनि त्यस्तै लाग्छ । ‘तुलामै राखेर नाप्ने भने क्षमता परीक्षण गर्न आउनेहरू बढ्ता हुनुहुन्छ । तैपनि, केही सर्जकहरू करियरका लागि भनेर लागि रहनु भएको छ । लागेका मध्येको थोरैको मात्र सफलता मिलेको देख्छु । धेरै जसो संघर्षमै हुनुहुन्छ ।’

रजीला श्रेष्ठका लागि चाहिँ यो अभ्यास बढी हो । हरेक सर्ट फिल्ममा फरक अनुभव हुने बताउँदै उनी भन्छिन्, ‘फिल्म बनाउने कुरामा यही नै ठीक हो भन्ने कहिल्यै हुँदैन । सिक्दै नयाँ चुनौतीको सामना गर्दै जाने हो । यसो गर्दा आफ्नो क्षमताको परीक्षण गरिरहेकी हुन्छु र भोलि गएर ठूलो पर्दाको फिल्म बनाउँदा यो अनुभवले मद्दत पुर्‍याउँछ भन्ने विश्वास छ ।’

मनोज भने यसभन्दा अलिक अघि बढ्छन् । उनको दृष्टिकोणमा यो करियरसँग मात्रै सम्बन्धित कुरा होइन । सर्जकको सिर्जनासँग सम्बन्धित कुरा हो । चर्चित फिलिपिनो निर्देशक लाभ डीयाजको सब्द सापटी लिएर विश्लेषण गर्छन्, ‘सिर्जनाका हिसाबले छोटो सिनेमा भन्ने कुरै हँुदैन, जसरी सानो क्यानभासमा पोतिएको पेन्टिङलाई सानो पेन्टिङ भन्न मिल्दैन । त्यस्तै छोटो समय अबधिको सिनेमालाई शर्ट फिल्म भानिरहनु पर्दैन । एउटा सर्जकले विषयवस्तुको मागअनुसार जुनसुकै लम्बाइको सिनेमा बनाउन सक्छ ।’

स्वाभाविक रूपमा छोटा सिनेमा बनाउने सर्जकले फिचर सिनेमा निर्माण गर्ने सपना देख्ने उनको बुझाइ छ । अपवादबाहेक धेरै छोटा सिनेमा फिचर सिनेमा निर्माणको प्रस्थान बिन्दुका रूपमा रहेका हुन्छन् । उनले त्यसैले मूलत: छोटा सिनेमाहरू क्षमता परीक्षण सँगसँगै आफ्नो सिर्जनाको भोक मेटाउने कार्यका रूपमा लिएका छन् । त्यसमा राष्ट्रिय–अन्तर्राष्ट्रिय दर्शकबीचमा पुग्ने उद्देश्य पनि हुन्छ नै । 

आर्थिक सुरक्षाको दृष्टिकोणले पनि सर्ट फिल्मलाई फिचरको प्रस्थानविन्दु मान्दा कसैको आपत्ति देखिँदैन । नेपालको सन्दर्भमा पछिल्लो समयमा चलचित्रमा फरक स्वाद दिन सफल निर्देशकहरू दीपक रौनियार, मीन भानलगायतले सर्ट फिल्मलाई नै आफ्नो सिनेमा करियरको प्रस्थान विन्दु बनाएका छन् । त्यसो त कतिपय विषयवस्तुका हिसाबले पनि सर्ट फिल्म विधाको माग हुन्छ । ‘मलामी’पछि ‘छोरा’ र ‘कोख’ बनाएका सुवर्णले अहिले पनि एउटा सर्ट फिल्मको कथामा काम गरिरहेका छन् । 

सिर्जनात्मक सीमा र सुन्दरता
सर्ट फिल्मको सीमा यसको अवधि हो । निश्चित समयमा खुम्च्याउनु पर्ने भएकाले फिचरमा कथावाचनको सम्भावना हुँदैन । त्यसको फाइदा भनेको परम्परागत कथावाचनको शैली परिवर्तन गर्नु अनिवार्यता बन्न जान्छ । मनोज भन्छन्, ‘त्यही सीमितताभित्र अभिव्यक्त हुनु पर्ने कुरामा नै सर्ट फिल्मको सम्भावना र सौन्दर्य लुकेको हुन्छ । परम्परागत कथा भन्ने शैली परिवर्तन गर्नका लागि नयाँ शैली र प्रयोगको खोज गरिन्छ ।’ लामा सिनेमा पात्रका द्वन्द्वका आरोह–अवरोहमा केन्द्रित हुन्छन् र धेरैमा संरचनात्मक एकता पाइन्छ । दर्शक र बजारका लागि पनि यी कुरा आधारभूत हुन जान्छन् । तर सर्ट फिल्ममा चाहिँ दृश्य र आवाजको भाषामा धेरै सम्भावना उत्खनन गर्न सकिने उनको अनुभव छ । उनी उनी आफ्नो सर्ट फिल्म ‘अवशेष’को उदाहरण दिन्छन्, ‘यसमा कथाको कुनै सिलशिला छैन । मेरो स्मृति र स्वैरकल्पनामा छरिएका दृश्य र आवाजलाई समयको प्रवाहमा स्वतन्त्र छोडिदिएको छु । कथानक अपेक्षालाई तोड्ने यो एउटा प्रयोग हो ।’

यसो भन्दै गर्दा उनी सिनेमाको कथा बनोटको अभ्यस्त शैलीका कारण यस्ता प्रयोगलाई आत्मसात् गर्न हुने चुनौतीलाई पनि उनी नजरअन्दाज गर्दैनन् । तथापि दर्शक र बजारको अपेक्षामा नबाँधिइकन स्वतन्त्र हिसाबले काम गर्न पाउनुलाई उनी सिर्जनात्मक मूल्यमा निकै महत्वपूर्ण ठान्छन् । उनको अनुभूति छ, ‘छोटा सिनेमाहरू सर्जक केन्द्रित हुन्छन् । काव्यिक वाचनको धेरै गुन्जाइस रहन्छ छोटो सिनेमामा ।’ प्रयोग, नीजता र सिर्जनात्मक उचाइको यो विश्लेषणमा नवनिधि पनि सहमत छन् । सर्ट फिल्मको सुन्दरता नै यही भएको उनको निष्कर्ष छ । 

कस्ता बन्दैछन् ?
पछिल्लो समयमा सर्ट फिल्म निर्माण ह्वात्तै बढेको मान्न सकिन्छ । यो संख्यात्मकमात्रै छैन, गुणात्मक पनि छ । मनोज भन्छन्, ‘नेपालमा बन्दै गरेका धेरै छोटा सिनेमाहरू कलात्मक दृष्टिकोणले अब्बल छन् । अन्तर्रास्ट्रिय महोत्सवहरूमा दरिलो उपस्थिति जनाइरहेका छन् । धेरै पुरस्कृत भएका छन् । सिनेमाको शिल्प र शैलीको नयाँ आयामहरू छोटा सिनेमाको संस्कारबाट नै खोजिदैछन भन्दा फरक पर्दैनन् ।’ यसलाई उनी मूलधारका फिचर सिनेमासँगको तुलना नै दोहोर्‍याउँछन् । त्यसरी हेर्दा सर्ट फिल्म कलात्मक रूपमा गहिरा र विषयगत रूपमा सचेत देखिन्छन् ।

सर्ट फिल्म राम्रो बनिरहेको छ भन्ने प्रमाण यसलाई अन्तर्राष्ट्रिय महोत्सवहरूले दिइरहेको स्थानले देखाइरहेको रजिला बताउँछिन् । ‘यसले अझै राम्रो फिल्म बनाउनका लागि अन्तर्राष्ट्रिय वर्कसपमा सहभागी हुने वातावरण पनि बनाइरहेको छ’, उनी भन्छिन्, ‘जसले अझ राम्रो निर्माण हुने वातावरण बन्दैछ ।’ पुरुषहरूको तुलनामा महिलाको सक्रियता र उपस्थिति कमजोर हुनाले विषयगत रूपमा पनि केही असन्तुलन देखिए पनि पछिल्लो समय निर्देशन, लेखन, अभिनय, सिनेमाटोग्राफी, सम्पादन आदिमा सहभागिता बढ्दैछ । त्यसैले अबको दिनमा यसले अझ राम्रो फिल्म बन्न सघाउनेमा उनी आशावादी छिन् । 

राजेश यस सन्दर्भको सार खिच्छन्, ‘अहिले थोरै मात्रामा एक्सपेरिमेन्टल छन्, केही राजनैतिक र प्राय:चाहिँ आफ्नै मौलिकतामा आधारित समाजिक लघु चलचित्रहरू बनिरहेका छन् ।’ 

नेपालमा लगभग दर्जनवटा जति सिनेमासम्बन्धी शैक्षिक संस्था छन् । ती संस्थाहरूबाट बर्सेनि दर्जनौं सिनेमा बनिरहेको अवस्था छ । त्यस्तै विदेश बसेर सर्ट फिल्म बनाउनेको संख्या पनि उत्तिकै छ । त्यसमा अन्तर्राष्ट्रिय महोत्सवहरूमा सहभागी हुनेहरूको चर्चा बढी हुन्छ र धेरैले तिनैबारे थाहा पाउँछन् । नवनिधिले पनि त्यसैका आधारमा मूल्यांकन गर्दा सर्ट फिल्म कलात्मक विधामै सीमित रहेको पाउँछन् । जसको व्यवसायिक आयाम खोज्न भने बाँकी छ । 

बजारको कसीमा कमजोर
सर्ट फिल्मको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती बजार नै हो । अन्य कलात्मक विधाजस्तै यसको पनि बजारीकरण कमजोर देखिन्छ । तथापि तुलनात्मक रूपमा यसमा लगानी भने हुन्छ नै । यसलाई सर्ट फिल्म विधाकै सीमाको रूपमा पनि बुझ्न सकिन्छ । ‘थिएटर रिलिज हुन नसक्नु नै यो विधाको कमजोरी हो ।’ सुवर्ण भन्छन्, ‘फ्रान्समा एक समय फिचर फिल्मको अगाडि देखाउने र कलेक्सनको तीन प्रतिशतसम्म चाहिँ सर्ट फिल्मलाई दिने प्रणाली पनि सुरु गरिएको थियो । तर विवादका कारण त्यो पनि रोकियो ।’

त्यसैले छोटो सिनेमाको ध्येय अन्तराष्ट्रिय महोत्सवमा सहभागी हुनु र सर्जकलाइ फिचर सिनेमा बनाउने बाटो खुला गर्नुमै सीमित देखिन्छ । छोटा सिनेमाको स्वतन्त्र बजार र प्रदर्शनीको संस्कार अझै बलियोसँग सुरु हुन सकेको छैन । ‘संसारभरी नै छोटा सिनेमा नियमित प्रदर्शनीको संस्कारभन्दा बाहिर छन् । त्यसैले महोत्सव र सिमित प्लेटफर्ममा नै खुम्चिएको छ’, मनोज भन्छन्, ‘हुन त छोटा सिनेमा समूहमा राखेर प्रदशन गर्ने शैली लोकप्रिय छ अन्तराष्ट्रिय बजारमा, जसलाई अम्निबस फिल्म वा एन्थोलोजी फिल्म भनिन्छ । नेपालमा भने जुन गतिमा छोटा सिनेमा बनिरहेका छन्, यसका प्रदर्शनीका प्लेटफर्महरूको खोज त्यो गतिमा भएको छैन ।’

त्यसैले लाभ वा लगानी फिर्ता नहुने स्वीकारोक्तिमा नै सर्ट फिल्महरू बनिरहेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुनु र अवार्डको लागि प्रतिष्पर्धा गर्नु नै अहिले सर्ट फिल्मको ध्येय भएको छ । ‘नेपालमा बनेका सयौं सर्ट फिल्ममध्ये एक दर्जन सिनेमाले पनि लगानी उठाएका छैनन्’, नवनिधि आफ्नै फिल्मको उदाहरण दिँदै भन्छन्, ‘मैले अवशेष ६ लाखमा बनाएँ । तर ९० हजारमात्रै पुरस्कारबापत् पाएको छु ।’

टेलिभिजन च्यानल र अनलाइन प्रदर्शनको विकल्प पनि सर्ट फिल्मका लागि बलियो विकल्प हो । शेनाङ ग्याम्जो तामाङ निर्देशित चलचित्र ‘सुपरमंक’ फ्रेन्च प्रिमियम टेलिभिजन च्यानल क्यानल प्लसले लिएको थियो । यो एउटा उदाहरण हो । यस्तो सम्भावनाको खोजी नेपाल र नेपाल बाहिर पनि गर्न सकिने राजेश बताउँछन् । 

अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने सर्ट फिल्महरूले सिनेमा संस्था वा कम्पनीहरूले ‘फन्डिङ’ पनि गर्ने गरेका छन् । सुवर्ण त्यस्तै ‘फन्ड’ पाउनेमध्येका एक हुन् । उनले आफ्नो पहिलो सर्ट फिल्म ‘मलामी’का लागि फ्रान्सको नेसनल सेन्टर अफ सिनेमाटोग्राफीबाट झन्डै ६० हजार युरोको ‘फन्ड’ पाएका थिए । त्यस्तै टेलिभिजन च्यानलहरूबाट १० हजारजति फन्ड पाए । दोस्रो फिल्म ‘छोरा’मा उनले त्यतैको ‘फन्ड’ पाए भने ‘कोख’चाहिँ नेपाली संस्था ‘फेथ’को ‘फण्ड’मा बनाएका थिए । ‘विदेशमा आफ्नै लगानीमा सर्ट फिल्म बनाउने कम नै हुनुहुन्छ । प्रतिस्पर्धात्मक रूपमा फन्डका लागि प्रोजेक्ट छनोटमा पारेर नै धेरै काम गरिन्छ’, सुवर्ण भन्छन्, ‘त्यस्ता अन्तराष्ट्रिय मञ्चमा सहभागी हुने नेपाली फिल्ममेकरहरू पनि हुनुहुन्छ, तर थोरैमात्र । नेपालमै त्यस्तो अभ्यासचाहिँ कमै देखिन्छ ।’ 

यसका लागि राज्यले नै केही पहलकदमी लिनुपर्नेमा सुवर्णको जोड छ । उनीसँगै सहमत छन् अंकित पनि । उनको तर्क छ, ‘सर्ट फिल्मले अन्तराष्ट्रिय बजारमा नेपाली सिनेमालाई चिनाइरहेको छ । त्यसैले यसलाई बलियो बनाउनु भनेको समग्र सिनेमा क्षेत्र नै बलियो बन्नु हो । यसमा राज्यले ध्यान दिनुपर्छ ।’ उनको तर्कमा सुवर्ण पनि जोड दिँदै भन्छन्, ‘जसरी खेलकुदको क्षेत्रमा नेपालको राम्रो सम्भावना छ भनेर तर्क गरिन्छ, त्यही हाराहारीमा सर्ट फिल्मको पनि सम्भावना उत्तिकै छ । यसमा राज्य संवेदनशील बन्नुपर्छ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik