नेपाली सिनेमामा निजी क्षेत्रको लगानी र संख्या बहुदलीय प्रजातन्त्र पुन:स्थापनापछि ह्वात्तै बढ्यो । पहिलो फिल्म ‘आमा’ २०२२ सालमा रिलिज भएपछि २०४७ सालसम्म निर्माण भएका फिल्म संख्या औँलामै गन्न सकिने छन् । २०२८ सालमा स्थापित शाही नेपाल चलचित्र संस्थान सिनमाको निर्माण र नियमन सरकारी निकाय थियो । यो संस्थानले ०४६ सालसम्म जम्मा ११ सिनेमा बनाएको थियो । र, ०४७ सालअघिका अधिकांश निर्देशक भारतको बम्बईसँग सम्बन्ध राख्नेहरू थिए । ‘आमा’ बनाउन निर्देशक हीरासिंह खत्रीलाई बम्बईबाटै झिकाइएको थियो । निर्देशकको अध्ययन र सिकाइको पृष्ठभूमि कारण नेपाली सिनेमाको कथा, कथ्यशैली र फर्मुला पनि बम्बईकै हावी भएको निर्देशकहरू स्वीकार गर्छन् ।
‘हाम्रा सिनियरहरू प्रकाश थापा, बीएस थापादेखि समकालीन तुलसी घिमिरे, उग्येन छापेल र म त्यतिबेला बम्बईबाट फिल्म सिकेर आएका थियौं,’ ०४२ देखि ०६० सालबीचमा थुप्रै चल्तीका सिनेमा निर्देशन गरेका शम्भु प्रधान भन्छन्, ‘हामीले हिन्दी शैलीकै फिल्म बनाइदियौं । नेपालमा बलिउड प्रभावित फिल्म बन्नुको दोषी हामी नै हौं ।’ शम्भुका अनुसार त्यतिबेला गीत रेकर्ड गर्न पनि बम्बई नै जानुुपथ्र्यो, फिल्ममा पनि उताकै जस्तै चार–पाँचवटा गीत र फाइट राख्नै पथ्र्यौ । ‘नत्र त हामीले स्क्रिप्ट नै स्वीकार गर्ने अवस्था थिएन,’ शम्भुले सम्झिए । ०४७ सालअघिसम्म दुई वर्षमा १–२ वटा सिनेमा बन्थे । ०५० को दशकमा राजश्व कार्यालयले लिने मनोरञ्जन करमा छुटको व्यवस्था भएपछि सिनेमा निर्माणको संख्या बढ्न थालेको निर्देशक दयाराम दाहाल बताउँछन् ।
०४७ सालपछिको पहिलो दशकमा बलिउड फर्मुलालाई नै निरन्तरता दिने पंक्ति बलियो रह्यो । तुुलसी घिमिरे, प्रकाश थापा, शम्भु प्रधान, प्रताप सुब्बा त्यही पंक्तिका अगुवा हुन् । ०५० को दशकमा घिमिरेले निर्देशन गरेका ‘बलिदान’, ‘दर्पण छायाँ’, ‘दक्षिणा’जस्ता फिल्मले प्रदर्शनको सय दिन नाघेर रेकर्ड नै राखे र उनको लोकप्रियतालाई ह्वात्तै बढाइदिए । उनका प्राय:जसो फिल्ममा सामाजिक विषयको उठान त हुन्थ्यो तर महिलापुरुषको सम्बन्ध नै केन्द्रमा हुन्थ्यो । पीडालाई पनि ‘ग्यालमराइज्ड’ गर्न सक्ने उनको खास खुुबी थियो ।
पछि चर्चामा आएका निर्देशक शिव रेग्मीका सिनेमामा घिमिरेकै झल्को पाइन्थ्यो । शिवका ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ए मेरो हजुर’, ‘सुुख दु:ख’, ‘हामी तीन भाइ’, ‘पाहुना’ आदि व्यावसायिक हिसाबले सफल फिल्म मानिन्छन् । ०५० कै दशकमा लक्ष्मीनाथ शर्माका फिल्म पनि छाए, ‘मिलन’, ‘सारंगी’, ‘छोरी बुहारी’, ‘साथी’ आदि । ‘सम्झना’ हिट भएपछि शम्भु प्रधानले पनि ०६० सालसम्म लगातार फिल्म बनाइरहे । ‘मायालुु’, ‘बेहुुली’, ‘सम्पत्ति’, ‘स्वर्ग’, ‘सुुनचाँदी’, ‘सपना’, ‘नेपाल प्यारो छ’ आदि उनी निर्देशित फिल्म हुन् ।
‘पहिले हामी स्टोरी टेलिङ र म्युजिकमा बढी केन्द्रित हुन्थ्यौं । हाम्रो कथ्य प्रस्तुुति सामान्य हुन्थ्यो,’ निर्देशक प्रधान भन्छन्, ‘नेपाली सिनेमा डिजिटल युगमा प्रवेश गरेपछि अहिले प्राविधिक पक्षमा सिनेमा निकै अब्बल हुँदै गएको छ । क्यामेरा, सम्पादन, अभिनय आदि पक्षमा धेरै सुधार भएको छ । पहिलेको अभिनय निकै अस्वाभाविक थियो । हात उठाउनैपर्ने, बोल्दाबोल्दै चश्मा खोल्नैपर्ने हुन्थ्यो । तर, अहिले त्यस्तो नाटकीय अभिनय छैन, कलाकारहरू पात्रकै जीवन बाँचिरहेजस्तो लाग्छ ।’
कसले के बनाए ?
चलचित्र विकास बोर्डका संस्थापक अध्यक्ष यादव खरेलले ०५० सालमा बालकृष्ण समको नाटकमाथि बनाएको ‘प्रेमपिण्ड’ ०४७ सालपछि बनेको सम्झनलायक सिनेमा हो । उनले ५० कै दशकमा महिला बेचबिखनको कथामा ‘चेलीबेटी’सँगै ‘लोभी पापी’, ‘आँधीबेहेरी’लगायत फिल्म निर्देशन गरे ।
०४६ सालमा ‘विजय पराजय’फिल्म निर्देशन गरेर फिल्म मेकिङमा भित्रिएका राजेन्द्र सलभले समेत त्यसपछि ‘भाउजू’, ‘परिभाषा’, ‘भन्नै सकिनँ’ लगायत फिल्म निर्देशन गरे । निर्देशक समाजका संस्थापक अध्यक्ष युवराज लामाले ‘प्रतिज्ञा’, ‘जीवन संघर्ष’, ‘देउराली’, ‘गोरेटो’ आदि फिल्म निर्देशन गरे । कलाकारका रूपमा परिचय बनाएका रमेश बुढाथोकीले समेत ५० को दशकमा थुप्रै फिल्म निर्देशन गरे । ‘मोहनी’, ‘जूनतारा’, ‘अप्सरा’ केही उदाहरण हुन् । ०५० कै दशकमा उदाएका निर्देशक नारायण पुरी छोटो समयमा धेरै चलचित्र बनाउने निर्देशक मानिन्छन् । उनले ‘रगत’, ‘शंकर’, ‘आगो’, ‘तपस्या’, ‘आफ्नो घर आफ्नै मान्छे’, ‘मामाघर’ लगायत थुप्रै चलचित्र निर्देशन गरे ।
बीएस थापाको सहायक निर्देशक किशोर रानाले २०५१ सालमा आफैं सिनेमा निर्देशन गरे, ‘कर्जा’ । त्यसपछि ०५२ सालमा ‘राँको’ बनाए, जुन नेपाली फिल्म इतिहासमा पहिलोपल्ट सिनेमास्कोपमा निर्माण भएको फिल्म थियो । त्यसपछि ‘सीमारेखा’, ‘बन्दकी’, ‘सन्तानको माया’, ‘उपकार’, ‘करोडपति’ लगायत थुप्रै सिनेमा उनले निर्देशन गरे । ‘साइनो’ फिल्ममा उग्येन छोपेलको सहायक निर्देशक भएर काम गरेका प्रकाश सायमीले समेत ०४७ सालको राजनीतिक परिवर्तनपछि सिनेमा निर्देशन गर्ने हिम्मत गरे । ‘पृथ्वी’, ‘सिमाना’, ‘अवतार’, ‘जमिन’ लगायत सिनेमा त्यसकै प्रतिफल हुन् ।
‘युुगदेखि युुगसम्म’बाट राजेश हमाललाई स्टारका रूपमा जन्माएका निर्देशक दीपक रायमाझीले त्यसपछि पनि लगातार फिल्म बनाए । मायाप्रेम र सामाजिक विकृतिमाथि केन्द्रित रहेर उनले ‘कसम’, ‘प्रेयसी’, ‘हत्या’, ‘परेली’, ‘बज्रपात’ आदि फिल्म निर्देशन गरे । ०४४ सालमा रिलिज भएको ‘सन्तान’ फिल्ममा भिलेन बनेर देखापरेका उज्ज्वल घिमिरे पनि पछि ‘गोठालो’ फिल्मबाट निर्देशकको परिचयमा देखापरे । उनले त्यसपछि ‘जिन्दगानी’, ‘शुुभकामना’, ‘छोडी गए पाप लाग्ला’, ‘अन्दाज’, ‘वडा नम्बर ६’ लगायत सिनेमा बनाए ।
प्रताप सुुब्बा निर्देशित ‘मसाल’ फिल्ममा प्रमुख भूमिकामा देखिएका अशोक शर्मा पनि पछि आफैं निर्माता र निर्देशक भए । ‘सीता’, ‘गरिब’, ‘निरमाया’, ‘अल्लारे’, ‘यो मायाको सागर’ आदि उनले निर्देशन गरेका फिल्म हुन् । ‘जन्मभूमि’, ‘क्रोध’, ‘पन्छी’ लगायत थुप्रै चलचित्रमा अभिनय गरेका कलाकार आकाश अधिकारी पनि आफैं निर्देशक हुन् । उनले ‘जन्मभूमि’, ‘रणभूमि’, ‘दाग’, ‘को आफ्नो को विरानो’, ‘कोहिनुर’ आदि उनले निर्देशन गरेका फिल्म हुन् ।
देशभक्त खनालले २०५७ सालमा निखिल उप्रेतीलाई सात तलाबाट हाम फलाएर निर्देशन गरेको ‘पिंजडा’ले पनि नेपाली सिनेमामा रियल एक्सन र स्टन्टको शृंखला बढायो । त्यसपछि ‘मन मेरो मान्दैन’, ‘सन्तान थरीथरीका’ आदि फिल्मसमेत उनले निर्देशन गरे । दीपक श्रेष्ठ, शोभित बस्नेत, ज्ञानेन्द्र देउजा, मदन घिमिरे, नरेश पौड्याललगायतले पनि यो समयमा थुुप्रै हिट फिल्म दिए । ०४७ सालपछि फिल्म निर्माणमा वृद्धि त भयो, फिल्ममा काम गर्न चाहने निर्देशक, कलाकार र प्राविधिकको संख्या त बढ्यो तर नेपाली फिल्मको मौलिक कथावाचनले खासै स्थान पाउन सकेन । अधिकांश माथि उल्लेखित चल्तीका र सुपरहिट निर्देशक कतिपयले बलिउडकै फर्मुलामा फिल्म बनाए, कतिले त पूरै नक्कल नै गरे ।
‘त्यतबेला तुुलसी घिमिरेलगायतका सुपरहिट निर्देशकको सिनेमामा बलिउडको प्रभाव त थियो तैपनि त्यतिबेला नेपालीहरू बलिउडकै चिज पनि आफ्नै भएको हेर्न रुचाउँथे । सायद यसकारण पनि त्यो समय नेपाली सिनेमा निकै चले,’ निर्देशक विनोद पौडेल भन्छन्, ‘त्यसपछि मेकरहरूले आफूलाई ग्रोथ गर्न सकेनन् । उचाइमा पुगेर एकाएक हराए । दर्शक त बढे तर मेकरहरूमा सिनेमाप्रति सिकाइ बढेन ।’
०५२–०५३ सालपछि नेपाली सिनेमामा बढ्दो व्यावसायिकतासँगै खराब प्रवृत्ति पनि बढेको बताउँछन्, निर्देशक मनोज पण्डित । ‘यही बेला सिनेमाको कलात्मक मूल्यलाई बिर्सेर क्यामेराले जे खिचे पनि हुन्छ भन्ने जमात ठूूलो आयो,’ उनले भने, ‘जसले सिनेमामा मुर्गा प्रवृत्तिको विकास गर्यो । मुुर्गा लगानीकर्ता खोज्ने, सिनेमा बनाउने । यसरी नेपाली सिनेमालाई भ्रष्ट बनाउने काम भयो ।’
निर्देशक दयाराम दाहालका अनुसार ०५४/०५५ सालसम्म नेपालमा राम्रो गीत रेकर्डिङ स्टुडियो थिएन, बम्बई जानुपर्ने बाध्यता थियो, सिनेमा निर्माण गर्नु पनि सहज थिएन । ‘०५४ सालमा मेरो सिनेमा ‘ठूल्दाइ’ सुपरहिट भएर म अत्याधिक व्यस्त हुँदासम्म मलाई मान्छेहरूले सोध्ने प्रश्न हुन्थ्यो, चलचित्रमा काम गरेर भात खान पुुग्छ ?,’ उनी सम्झन्छन्, ‘अहिले म गीत फुुर्यो भने तत्काल एरेन्जरसँग बस्न सक्छु । तर, ०५३ सालमा ‘दौतरी’ फिल्मको गीत रेकर्डिङ गर्दा मैले राजेश पायल राईलाई रेल चढाएर गीत रेकर्ड गराउन बम्बई लानुपरेको थियो ।’
बलिउडबाट प्रभावित फर्मुला फिल्मकै दबदबाका बीच ०५० को दशकमा मौलिक कथावाचनको प्रयास गर्ने र सिनेमालाई कलामाध्यमका रूपमा लिने निर्देशकहरू पनि आए । ती नाम हुन्, नविन सुुब्बा, छिरिङ रितार शेर्पा, रवि बराल, मनोज पण्डित । छिरिङले ०५७ सालतिर बनाएको ‘मुकुन्डो’ नेपालबाट पहिलोपटक ओस्करमा विदेशी भाषामा प्रतिस्पर्धा गर्न गएको फिल्म थियो । त्यस्तै सुब्बाको ‘नुुमाफुुङ’ परम्परागत कथ्यशैलीभन्दा विल्कुलै फरक र मौलिक थियो । सुब्बाको यो सिनेमाको विषय र कलात्मक पक्षमाथि आज पनि उत्तिकै बहस/विमर्श भइरहन्छ । ०६२ सालमा चलचित्र विकास बोर्डले आयोजना गरेको प्रथम राष्ट्रिय चलचित्र महोत्सवमा समेत यो सिनेमा ०५६ देखि ०५९ बीच बनेका चलचित्रमध्ये सबैभन्दा उत्कृष्टका रूपमा पुरस्कृत भएको थियो ।
रवि बरालको ‘चमेली’ यथार्थपरक सिनेमा नै थियो । राजनीतिक सिनेमा बनाउन रुचि राख्ने मनोज पण्डितले ‘दासढुुंगा’, ‘बधशाला’ जस्ता सिनेमा बनाए । ०५० को दशकमा नवीन, छिरिङहरू भारतको सिनेमाको वैकल्पिक आन्दोलनलाई समेत अध्ययन गरेर आएका थिए । बम्बईबाट प्रभावित परम्परागत कथ्य शैलीसँग उनीहरूको असहमति थियो ।
जनआन्दोलनपछि नयाँ मोड
०६२/०६३ को जनआन्दोलनपछि नेपाली सिनेमाले नयाँ मोड लिएको छ । यो समयमा फिल्म मेकिङको औपचारिक अध्ययन गरेका र प्रतिभाशाली युवाहरूको उदय भयो । समाज संकट र समस्याहरूसँग जुधिरहेको बेलामा राजनीतिक आन्दोलनसँग सम्बन्धित सिनेमा पनि बने । माओवादी आन्दोलनप्रति फरक–फरक दृष्टिकोण राखिएका सिनेमा पनि यो समयमा बने ।
‘यो केही राम्रा मेकर जन्मिएको समय हो,’ निर्देशक विनोद पौडेल भन्छन्, ‘निश्चल बस्नेत, मिनबहादुर भाम, दीपक रौनियार, दीपेन्द्र के खनाल, रामबाबु गुुरुङ, जोयस पाण्डे उदाहरण हुन् ।’ नयाँ र फरक सोच बोकेका फिल्ममेकरहरू बढिरहेको पौडेल बताउँछन् । ०६८ सालमा निश्चल बस्नेतको ‘लुुट’ रिलिज हुनु केही दिनअघिसम्म चलचित्र विकास बोर्डले सिनेमा नचलेका कारण सिनेमा क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी गर्दै थियो । तर, ‘लुट’ व्यावसायिका रूपमा सुपरहिट भएपछि दर्शकलाई पुन: नेपाली सिनेमातर्फ आकर्षण गर्न यो सिनेमा कोशेढुुंगा सावित भयो ।
‘अनागरिक’, ‘कबड्डी’ जस्ता फरक स्वादका सिनेमा बनाएर आफ्नो अलग परिचयसहित सिनेमा जगतमा स्थापित निर्देशक हुन्, रामबाबुु गुुरुङ । मुस्ताङको रैथाने दृश्यहरूको नौलोपनाका कारण पनि ‘कबड्डी’का तीनै शृंखला दर्शकहरूले रुचाएका छन् । ‘कबड्डी’ले नै रंगकर्मी दयाहाङ राईलाई सिनेमा क्षेत्रको ‘पपुलर हिरो’का रूपमा स्थापित गर्यो । यौनमनोविज्ञानमा आधारित भनिएको ‘चपली हाइट’ हुँदै ‘पशुुपतिप्रसाद’ र ‘आमा’सम्म आइपुुग्दा निर्देशक दीपेन्द्र के खनालको छवि पनि प्रयोगवादी निर्देशकका रूपमा स्थापित भयो ।
प्रविधिको चरम विकाससँगै दीपक रौनियारले निर्देशन गरेको ‘हाइवे’लाई झन् विश्व सिनेमाकै प्रभाव मानियो । पछि उनले ‘सेतो सूूर्य’ बनाए द्वन्दोत्तर समाजको कथामाथि । त्यस्तै मिनबहादुर भामले ‘कालोपोथी’मार्फत कर्णालीको जीवन मात्रै लिएर आएनन्, नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने शैलीसहित आए । समलिंगी कथा बोल्ने सुवर्ण थापा निर्देशित ‘सुनगाभा’ र टेम्पो चालक महिलाको कथा भन्ने विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई पनि यो समयका फरक सिनेमाका रूपमा लिने गरिन्छ । टेलिभिजनको हास्यशृंखलाबाट उदाएको दीपकराज गिरी र दीपाश्री निरौलाको समूहको हास्यव्यंग्य सिनेमामार्फत यतिखेर सक्रिय छ ।
निर्देशक शम्भु प्रधान बदलिएको समयलाई स्वाभाविक भन्छन् । ‘हरेक मान्छेको जीवनमा एउटा काल हुने रहेछ । प्रोडक्टिभ र क्रिएटिभ हुने पनि फेज हुुने रहेछ, पागलपनको पनि फेज हुने रहेछ’, उनले भने, ‘अहिले नयाँ पुस्ता आयो । उनीहरूसँग हामीले स्वाभाविक रूपमा प्रतिस्पर्धा गर्न सक्दनौं किनभने उनीहरू हामीभन्दा फुर्तिला हुुन्छन् । हाम्रो क्रिएसन पनि घटेकै हो ।’