तर नमरेको प्रहर हुँदैन,
भागेर जाऊँ कुन ठाउँ जाऊँ,
मान्छे नमर्ने सहर हुँदैन,
मर्ने कसैलाई रहर हुँदैन ।'
सर्जक कृष्णहरि बरालले केही समयअघि एक चलचित्रको कथामा आधारित भएर सिर्जना गरेका यो पंक्तिले मृत्यु दर्शनलाई व्याख्या गर्छ । जन्मिएपछि मानिसले मात्र होइन समस्त प्राणीले मर्नुपर्छ नै, तर उनीहरू सधैं मृत्युसँग डराइरहेका हुन्छन् । मृत्युपछिको शून्यता अँगाल्ने सन्दर्भमा मानिस र अन्य प्राणी सधैं पछि हट्छन् । कतिपय सन्दर्भ र समयमा मृत्यु साक्षात्कार गर्ने अवस्थामा पुगे पनि मानिस भरसक मृत्युको भय हटाउने प्रयत्नमा हुन्छ । मृत्युको भय चेतनशील मानिसलाई मात्र होइन, जनावर र पन्छीहरूमा पनि उत्तिकै पाइन्छ ।
मर्ने कुरासँग डराउने मानिसहरू आजको विश्वमा इच्छा मृत्युको विषयमा बहस गरिरहेका छन् । विविध कारणले बाँच्न नचाहनेहरू अहिले इच्छा मृत्युको चाहना गरिरहेका छन् । विश्वमा केही मुलुकले इच्छामृत्यु चाहनेहरूका लागि बाटो खोलिदिएका छन् । यद्यपि धेरै मुलुकले यसलाई अझै पनि गैरकानुनी र अपराध मान्छन् । केही वर्षअघिको हिन्दी चलचित्र गुजारिसमा नायक ऋतिक रोशनले दुर्घटनापश्चात् पक्षघातको सिकार भएपछि इच्छामृत्यु चाहेको कुरा देखाइएको थियो ।
पछिल्ला समयमा भारतमा करिब आधा दर्जन इच्छामृत्युका मुद्दा दायर भए । राष्ट्रपति तथा प्रधानमन्त्रीका नाममा पत्र लेख्दै केही व्यक्तिले इच्छामृत्युको अधिकार मागे । अहिले नेपालमा पनि यो विषय आकषिर्त हुन थालेको छ । केही अवस्था र परिवेशका कारण मानिसहरू इच्छामृत्युका लागि अपिल गर्न थालेका छन् । यसलाई कानुनी दायरामा ल्याउनुपर्ने कुरा पनि उठेको छ । पूर्वसांसद एवं राजनैतिककर्मी कुवेर शर्माले इच्छामृत्युसम्बन्धी कानुनका निम्ति अभियान नै सञ्चालन गरिरहेका छन् । ७६ वर्षीय शर्मा गैरउद्देश्यको जीवन बाँच्न नचाहनेहरूका निम्ति इच्छामृत्युको बाटो उपयुक्त हुने तर्क गर्छन् ।
आत्महत्यालाई अपराध मानिने मुलुकमध्ये नेपाल पनि एक हो । आत्महत्या र इच्छामृत्यु परस्परमा एउटैजस्तो लागे पनि यसको परिभाषा फरक हुन्छ । दुवैमा व्यक्तिले आफूलाई समाप्त गर्ने कुरा भए पनि आत्महत्या क्षणिक आवेश वा मनोरोगको समस्याका कारण हठात लिइने निर्णय भएको विज्ञहरू बताउँछन्, जबकि इच्छामृत्यु वृद्धावस्था, सघन रोगका बिरामी, शारीरिक रूपमा अशक्त वा कष्टकर जीवनबाट मुक्ति खोज्न चाहनेहरूले चिकित्सकको सहयोगमा ग्रहण गर्ने मृत्यु हो ।
नेपालमा यो विषयमा बहस आवश्यक भैसकेको चिकित्सकहरू पनि स्वीकार गर्छन् । उपचारका नाममा लाखौं खर्च भैसकेको तथा छोराछोरीको आ-आफ्नो बाध्यता भएको अवस्थामा वृद्धवृद्धाहरू आफ्नो जीवन लम्ब्याउन चाहँदैनन् । त्यसबाहेक निको नहुने रोगबाट ग्रसित भएकाहरू, कोमामा गएका बिरामीहरूको पीडा देखेर परिवारकै सदस्यहरू पनि आजित भएका धेरै उदाहरण छन् । ती सबैलाई सहज रूपमा मृत्युको चाहना हुन्छ, अभियानकर्ता कुवेर शर्माका अनुसार तिनीहरूको अन्तिम विकल्पका रूपमा इच्छा मरणको चाहना भने उनीहरूको कुरा अध्ययन गरेर पूरा गरिदिनुपर्छ ।
के हो इच्छामृत्यु ?
इच्छामृत्यु अर्थात् युथनेसियाको अर्थ आफ्नै इच्छाले मर्ने चाहना हो । युथनेसिया गि्रक शब्द हो, जसको अर्थ हुन्छ— यू अर्थात् राम्रो, थनाटोस अर्थात मृत्यु । इच्छामृत्युलाई पनि दुई ढंगले बुझिन्छ, पहिलो युथनेसिया अर्थात् इच्छामरण तथा मर्सिकिलिङ अर्थात दयामृत्यु । भेन्टिलेटरमा राखेर लम्ब्याइएको बिरामी जो चिकित्सा विज्ञानको दृष्टिकोणमा मृत हुन्छ तर जैविक रूपमा जीवितै मानिन्छ, त्यसलाई चिकित्सकहरूले दयामृत्युको बाटोमा लान्छन् । भेन्टिलेटरबाट निकाल्नेबित्तिकै उसको प्राणपखेरु उड्छ, तर यत्तिमै मात्र दयामृत्युको परिभाषा पूरा हुँदैन । असाध्य रोगका बिरामीको हकमा पनि दयामृत्यु आकषिर्त हुन्छ । इच्छामृत्युलाई विभिन्न हिसाबले परिभाषित गरिएको छ । पहिलो स्वेच्छिक इच्छामृत्यु अर्थात् बिरामीको मन्जुरीपछि जानेर नै चिकित्सकले यस्तो औषधी चलाउँछन्, जसका कारण बिरामीको मृत्यु हुन्छ । यस्तो मृत्युलाई नेदरल्यान्ड र बेल्जियममा वैध मानिन्छ ।
दोस्रोमा बिरामी आफ्नो मृत्युको मन्जुरी दिन असमर्थ हुन्छ, तर चिकित्सकले आवश्यकता महसुस गरेर उसको जीवन समाप्त गर्ने औषधी चलाउँछन् । यो हाललाई विश्वभर नै अवैध मानिन्छ । तेस्रो, निष्क्रिय युथनेसिया अर्थात् बिरामीको मृत्युका लागि सम्पूर्ण उपचारपद्धति रोकिनु । जीवनरक्षक प्रणालीलाई हटाएर गरिने यो उपचार विश्वभरमै लागू छ । चिकित्सकले बिरामी पूर्वअवस्थामा र्फकन शतप्रतिशत असम्भव भएको स्थितिमा आवश्यक मानेर यसलाई अवलम्बन गर्छन् । दयामृत्युसँग मिल्ने यो पद्धति कम विवादास्पद मानिन्छ ।
चौथो सक्रिय युथनेसियाअन्तर्गत अफिमबाट बन्ने केही औषधी प्रयोग गरेर बिरामीलाई पीडाबाट राहत प्रदान गरिन्छ र अन्त्यमा उसको मृत्यु हुन्छ । यो पद्धतिलाई पनि केही मुलुकले वैध मानेका छन् । पाँचौं पद्धतिअन्तर्गत सहमतिका आधारमा डाक्टरले बिरामीलाई आत्महत्याका लागि मद्दत गर्ने केही औषधी चलाउँछन्, जुन खाएर बिरामीले आत्महत्या गर्न सक्छन् । यो उपाय नेदरल्यान्ड, बेल्जियम, स्वीजरल्यान्ड र अमेरिकाको ओरेगन राज्यमा वैध मानिन्छ ।
इच्छामृत्युलाई नेपालका अभियानकर्ताहरूले हिन्दू धर्मसँग सम्बद्ध केही धार्मिक एवं पौराणिक पृष्ठभूमिलाई उदाहरणका रूपमा पेस गर्दै अघि सारेका छन् । अभियानकर्ता कुवेर शर्माका अनुसार इच्छामरण कानुनको माग गर्नुको मूल कारण हाम्रा परम्परागत मान्यतालाई कुनै कानुनका आधारमा रोक्न पाइँदैन भन्ने हो । हिन्दू धर्मलाई नै हेर्दा पनि योगी, महात्मा, सिद्धपुरुष तथा महिलाले समाधिको माध्यमबाट प्राण त्याग गर्ने चलन पुरानै हो । परापूर्वकालमा जीवनको चौथो खण्डमा बूढाबूढीहरू संन्यास लिएर घरपरिवार त्यागेर जंगल प्रस्थान गर्थे । घना जंगलमा हिंस्रक जनावरले उनीहरूलाई सिकार बनाउँथे । यो इच्छामरणकै एउटा प्रकार थियो । राजनीतिज्ञ शर्मा भन्छन्- 'महाभारतका कर्तव्यनिष्ट महापुरुष भीष्मपितामहले इच्छामरणको वरदान नै प्राप्त गरेका थिए, मर्यादापुरुष रामले सरयु नदीमा प्रवेश गरेर जलसमाधि लिएका थिए, सीता र कृष्णको प्राणत्याग पनि इच्छामरण नै थियो । जैन धर्ममा अन्न र जल त्यागेर जीवन अन्त्य गर्ने प्रथा हालसम्म यथावत् छ, जसलाई जैन धर्मले सन्थारा भनेको छ । संन्यासी बनेर जीवन त्याग्ने हिन्दू संस्कार पनि छ । जापानमा हाराकारी भन्दै आफैंलाई छुरा घोपेर सेप्पुक अर्थात् मृत्युवरण गर्ने चलन छ ।
विश्वभर बहसको विषय भएको इच्छामृत्यु झट्ट हेर्दा मानवअधिकारविरोधी अर्थात् मानवताविरोधी कार्य भए पनि मानवअधिकारकै पक्षपाति मानिएका संयुक्त राज्य अमेरिका र स्वीजरल्यान्डजस्ता मुलुकले आवश्यक मानिसकेका छन् । मानवशास्त्री सुरेश ढकाल भन्छन्- इच्छामृत्युको प्रावधानले मानवीय मूल्य-मान्यतालाई ठाडो चुनौती दिन्छ । सामाजिक एवं सांस्कृतिक पक्षबाट हेर्दा यसलाई पूर्णतः नकारात्मक मान्नुपर्छ तर यो विषयमा अहिले बहस आवश्यक छ । कानुनविद् भीमार्जुन आचार्य यो विषयमा सकारात्मक र नकारात्मक दुवै पक्षमा कुरा गर्न सकिने बताउँछन् । विषयगत कानुनको हकमा निश्चित मापदण्ड बनाएर यो कानुन लागू गर्न सकिने भए पनि पर्याप्त अध्ययनबिना लागू गरिएको खण्डमा यसले भयानक दुर्घटना निम्त्याउन सक्ने आचार्यको तर्क छ ।
पछिल्लो कालखण्डमा हेर्ने हो भने टेरि शियाबो प्रकरणले इच्छामृत्युको बहसलाई चर्चामा ल्याएको थियो । अमेरिकी महिला टेरी शियाबोको ४१ वर्षको उमेरमा गत वर्ष मृत्यु भएको थियो । उनलाई सन् १९९० मा हृदयाघात भएको थियो । उनको मस्तिष्क त्यो समयदेखि मृत्युवरण नगर्दासम्म शून्य नै रहयो । टेरीको जीवन र मृत्युलाई लिएर ७ वर्षसम्म अदालतमा बहस चल्यो । टेरीका पति आफ्नी श्रीमती त्रासद जीवनबाट मुक्ति पाऊन् भन्ने चाहन्थे, तर यता टेरीका मातापिता छोरीलाई जीवित नै हेर्न चाहन्थे । अन्त्यमा टेरीको अपिललाई सही मान्दै अदालतले मन्जुरी प्रदान गर्यो । त्यसपछि टेरीलाई प्रदान गरिएको आहार नली विच्छेद गरियो ।
भारतमा सन् २००५ मा तारकेश्वर सिन्हाले सन् २००० देखि बेहोस अवस्थामा रहेकी श्रीमती कन्चनदेवीलाई इच्छामृत्यु दिन अपिल गरेका थिए, तर उनले त्यो अधिकार पाएनन् । सन् १९९५ मा अस्टे्रलियाको उत्तरी स्वायत्त क्षेत्रमा इच्छामृत्युलाई वैधानिकता दिइएको थियो भने सन् १९९४ मा अमेरिकाको ओरेगन राज्यमा मान्यता दिइयो । सन् २००२ मा नेदरल्यान्ड र बेल्जियमले यसमा कानुनी मोहर लगाए भने स्वीजरल्यान्डमा चिकित्सकको रायअनुसार यसलाई मञ्जुरी दिइँदै आएको छ । समर्थकहरू इच्छामृत्युलाई मानवअधिकारसँग गाँसेर हेर्छन् । सम्मानजनक मृत्यु दिएर मृत्युमाथि विजय प्राप्त गर्ने अधिकार मानिसहरूलाई दिनुपर्छ भन्ने उनीहरूको तर्क छ । मानिसले आफूखुसी बाँच्न र मर्न पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ । मानिसलाई मर्नका निम्ति कुनै धर्म, परम्परा वा ऐन बाधक हुनु नहुने उनीहरूको तर्क छ । अर्कातर्फ मानवअधिकारवादीहरू भने मानिसको प्राण राज्यले वा समाजले रक्षा गर्नुपर्ने बताउँछन् ।
चिकित्सकहरूकै ठूलो संख्या अन्तिम अवस्थासम्म पनि मानिसलाई जसरी पनि जोगाउनुपर्ने अवधारणाबाट प्रेरित छ । एक वृद्धले नाम उल्लेख नगर्ने सर्तमा भने- ६५ वर्ष नाघिसकेपछि ५ पटकको अप्रेसनका क्रममा ५० लाख रुपैयाँखर्च भैसकेको छ, मेरा सन्तान पनि विदेशमा भएकाले यो औषधी-उपचारको भरमा बाँकी जीवन जिउन नचाहेको एक चिकित्सकलाई बताएको थिए, तर चिकित्सकले मलाई उल्टै गाली गरे ।' उनका अनुसार हाल उनी ६ वटा असाध्यरोगका औषधी सेवन गरिरहेका छन्, जुन खानु नै मृत्युभन्दा बढी पीडादायक छ ।
व्यक्तिको इच्छामा राज्य बाधक हुनुहुँदैन
कुवेर शर्मा, अभियानकर्ता
इच्छामरण कानुनका निम्ति किन अपिल गर्नुभएको ?
विश्वभर अहिले वृद्ध-वृद्धाहरूको संख्या बढिरहेको छ, एकातर्फ भएको सम्पत्ति उपचारमै खर्च भैरहेको छ भने अर्कातर्फ छोराछोरी तथा नातेदारहरू वृद्धवृद्धालाई समय दिन सकिरहेका छैनन् । नेपालमा मात्र होइन, विकसित मुलुकको पनि समस्या हो यो । वृद्धावस्थामा आउने विभिन्न रोगका कारण उनीहरू सहज जीवनयापन गर्न सकिरहेका हुँदैनन् । मृत्युप्रतिको मेरो प्रस्ट दृष्टिकोण भएकाले इच्छामृत्युको कानुन आवश्यक मानेरै मैले यो अपिल गर्न आवश्यक मानेको हुँ ।
व्यक्तिगत रूपमा मृत्युका बारेमा तपाईंको विचार के हो ?
मैले ६५ वर्षभन्दा बढी बाँच्नु नपरोस् भन्ने प्रस्ट सोच बनाएको थिएँ, अहिले ७६ वर्षको भएँ । पछिल्ला १० वर्षलाई मैले बोनस जीवनका रूपमा लिएको छु । मेरो स्वास्थ्योपचार खर्च हरेक महिना १५ हजार रुपैयाँभन्दा बढी छ । धेरै पटक ठूला शल्यक्रिया गराइसकेको छु । लाखौं खर्च भैसकेको छ । आखिर यो सबै गरेर मैले के पाएँ त ? आर्थिक दृष्टिकोणले विपन्न धेरै वृद्धवृद्धा छन्, जो उपचार गर्न नसकेर दिनहुँ मरिरहेका छन्, उद्देश्यविहीन अभिशप्त जिन्दगी बाँचिरहेका तिनीहरूलाई बाटो खोलिदिन पनि मैले इच्छामरण ऐनका लागि अपिल गरेको हुँ । मैले चिकित्सकहरूलाई पटक-पटक भन्दै आएको छु, मलाई औषधिमा निर्भर जीवन दिने प्रयास नगर्नुहोस् । मैले पनि इच्छामृत्युको बाटोमा जानै पर्छ भनेर नै यो कुरा अघि सारेको हुँ ।
इच्छामृत्युलाई पश्चिमा समाजले अवलम्बन गरेको उदाहरण एकातर्फ राख्नुहुन्छ अर्कातर्फ हाम्रो धार्मिक एवं पौराणिक ग्रन्थका पात्रको उदाहरण पनि दिनुहुन्छ, यो त फरक सन्दर्भका कुरा भयो नि होइन ?
हाम्रो शास्त्रअनुसार जीवनलाई ४ खण्डमा विभाजन गरिएको छ । बाल्य एवं युवाकाल, घरगृहस्थी, वानप्रस्थ र संन्यास । सुरुका दुई कालमा मानिस आफ्नो जीवन स्वच्छन्द ढंगले घरकाजका निम्ति जिउँछ, तेस्रो वानप्रस्थका क्रममा घर व्यवहार छाडेर तीर्थव्रत गर्छ र चौथो खण्डमा नाता गोता, इष्टमित्र सबैलाई त्यागेर जंगल प्रवेश गर्छ । यो जंगल प्रवेश भनेकै इच्छामृत्यु हो । अहिले इच्छामृत्युलाई पश्चिमा समाजले उठाएको विषय मानिन्छ । इच्छामृत्युको यो विषयलाई सहजै स्वीकार गर्न सहयोग होस् भनेर नै हाम्रा धार्मिक एवं परम्परागत मान्यताका उदाहरण मैले मिसाएको हुँ ।
यो अभियान कहाँ पुग्यो त ?
मैले इच्छामृत्युको बहस छेडेको हो, यसलाई समर्थन गर्ने व्यक्तिहरूले आ-आफ्नो ठाउँबाट अभियान चलाउनुहोस् । मैले व्यक्तिगत रूपमा भेटेका सबैसँग यो कुरा सेयर गरेको छु । चिकित्सकदेखि वकिलसम्म, मानवशास्त्री, पत्रकारहरूदेखि अन्य पेसागत विज्ञहरूलाई इच्छामृत्युका बारेमा बताउँदै आएको छु ।
इच्छामृत्यु मानव सभ्यताविरुद्धको कुरा भएन र ?
यो मानव सभ्यताविरोधी कुरा होइन, बलियाले संसार चलाउने, आधिपत्य जमाउने, अरूमाथि शासन गर्ने मनोवृत्ति मानव जाति र पशु जातिमा समान छ, त्यसैले यसलाई प्रकृतिगत कुरा मान्नुपर्छ । सक्ने अवस्थासम्म त मानिस किन मर्न चाहन्छ र ? जब उसको जीवन निरुद्देश्य हुन्छ, सार्थक छैन भन्ने निष्कर्षमा पुग्छ त्यतिबेला इच्छामृत्युको कुरा आउँछ ।
यसले आत्महत्यालाई प्रोत्साहित गर्छ, होइन ?
मैले बुझेसम्म आफ्नो जीवन राख्ने कि नराख्ने भन्ने कुरा व्यक्तिगत अधिकारको विषयमा पर्छ । अहिले भारतमा आत्महत्यालाई अपराध नमान्ने कानुन बन्ने प्रक्रिया अघि बढेको छ । त्यसको अर्थ देहत्याग गर्न चाहनेहरूका लागि बाटो खोलिदिनुपर्छ भन्ने हो । इच्छामरण ऐनका निम्ति तीनवटा कुरा गर्न सकिन्छ । पहिलो, उपचारमा संलग्न चिकित्सकले आवश्यक मानेको सन्दर्भमा चिकित्सकलाई निर्दोष मानेर निर्णय लिन सक्ने बनाइदिनुपर्छ । दोस्रो, बिरामी स्वयंले आफ्नो प्राण त्याग्न चाहन्छ भने राज्य, समाज तथा नातेदारहरूले त्यसलाई रोक्नु हुँदैन । तेस्रो, बिरामी नियमित जीवनमा र्फकन नसक्ने रोगबाट ग्रसित छ भने पनि उसलाई सहज मृत्युको बाटोमा जान दिनुपर्छ ।
एकबारको जुनीमा इच्छामृत्यु किन रोज्ने भन्ने प्रश्न आउला नि ?
जीवनको लक्ष्य के हो ? हाम्रो संस्कारअनुसार अमरत्व प्राप्त गर्ने भन्ने हो । मानिसले आफूलाई आफ्नो लक्ष्यप्रति समर्पित गरेर त्यसका निम्ति प्रयास गर्छ । मानिसले उमेरसँगै यी कुरामा सफलता वा असफलता हासिल गर्छ । वृद्धावस्था हरेकका निम्ति आउँछ । यसरी जीवनका सबै अनुभव बटुलेर अब जीवन त्याग्नुपर्छ भन्ने निष्कर्षमा पुग्ने मानिसले केही बुझेर नै त्यसो भनिरहेको हुन्छ । समाज हरेक दिन परिवर्तनशील छ, त्यसैले समयमै वा अझ अगाडि रहेर कानुन बनाइनुपर्छ । कानुनका ज्ञाताहरूले सधैं अग्रगामी सोच राख्नुपर्छ ।
इच्छामृत्युसम्बन्धी केही जानकारी
- सन् २०१४ को प्रारम्भमा बेल्जियमको संसद्ले उपचार हुन नसक्ने बालबालिकाको हकमा इच्छाअनुसार मृत्युवरण गर्न पाउने कानुन बनायो । निको नहुने रोगको सिकार भएका बालबालिकाले चाहनाअनुसार मर्न पाउने यो कानुन बनाउने बेल्जियम पहिलो राष्ट्र हो । संसदमा विपक्षहरूले इच्छामृत्युजस्तो संवेदनशील विषयमा बालबालिकाले निर्णय लिन सक्दैनन् भन्दै विरोध गरेका थिए । विधेयकअनुसार प्राणघातक रोगको पीडाबाट छुट्कारा प्राप्त गर्न बाबुआमाको सहमतिमा बालबालिकाले इच्छामृत्युको सहारा लिन सक्नेछन् भनिएको छ, तर इच्छामृत्युका लागि आग्रह गर्दा बिरामीको अवस्थामा सुधार नभएको अवस्था, पीडाबोध भएको खण्डमा, बिरामीका अभिभावक, चिकित्सक र मनोवैज्ञानिक परामर्श एवं सहमतिमा इच्छामृत्यु प्रदान गरिने कानुनमा उल्लेख छ । बेल्जियमकै छिमेकी राष्ट्र नेदरल्यान्डमा भने यसअघि नै अभिभावकको सहमतिमा १२ वर्ष माथिकालाई मात्र यो नियम लागू हुने विधेयक पारित गरिएको थियो ।
- गत साउनमा भारतको विरला इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी, बिट्स पिलानीबाट स्नातकोत्तर तहकी गोल्डमेडालिस्ट छात्राले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै इच्छामृत्युको सिफारिस माग गरिन् । भारतको हिमाञ्चल प्रदेशस्थित पालमपुर सहरनजिकको अइमामा बस्ने ती छात्राले प्रधानमन्त्री मोदीसमक्ष इच्छामृत्युको सिफारिश माग गरेकी थिइन् । ती छात्रा रियोमेटोइड अर्थराइटिस रोगबाट पीडित छिन् । २१ वर्षदेखि एउटै कोठामा कैद भएर बसेकी सिमा नामकी ती छात्राका घुँडा, कुहिना, काँध, हात तथा खुट्टाका औंला यो रोगका कारण नराम्रोसँग प्रभावित छन् । कुनै पनि किसिमका गतिविधि गर्न असमर्थ भएपछि उनले इच्छामृत्युको माग गरेकी हुन् ।
- फ्रान्समा केही चिकित्सकले आफ्ना वृद्धरोगीहरूलाई उनको इच्छामा र केहीलाई नातेदारको अनुरोधमा जीवन समाप्त गर्ने काम गरे । सम्बन्धित चिकित्सकहरूले कानुनविपरीत काम गरेको भनेर मुद्दा चलाइयो, तर चिकित्सकहरूले अशक्त रोगीहरूलाई पीडाबाट मुक्ति प्रदान गर्न दयाको भावनाले जीवन अन्त गरेको तर्क पेस गरेपछि अदालतले चिकित्सकहरूको पक्षमा फैसला गर्यो । हाल फ्रान्स र क्यानाडामा उपचार हुन नसक्ने पीडित बिरामीको हकमा जीवन रक्षक प्रणाली बिरामीकै अनुरोधमा चिकित्सकले हटाउन सक्छन् । यद्यपि त्यहाँ रोगीले कुनै सहायताको माध्यमबाट आत्महत्याको माग गर्न सक्दैन । जबकि स्वीट्जरल्यान्डमा असिस्टेड सुसाइडको नाममा चिकित्सकको सहयोगमा जो-कसैले आत्महत्या रोज्न सक्छन् । अमेरिकाको ओरेगन, वासिङ्टन र मोन्टाना राज्यमा पनि जीवनरक्षक उपचार बन्द गर्न सक्ने कानुनी अधिकार चिकित्सकलाई छ ।
- इच्छामृत्युलाई कानुनी रूप दिएका मुलुकहरूमा यसको दुरुपयोगका थुप्रै घटना सार्वजनिक भएका छन् । बेल्जियममा सन् २००२ देखि २०१२ सम्ममा ७ हजार इच्छामृत्युका आवेदन आए, जसमध्ये केही यस्ता निवेदक थिए, जो युवावस्थामै निराशापूर्ण जीवनका कारण आहत भएर मृत्यु रोज्दै थिए । यस्तै डाक्टर डेथका रूपमा चर्चा कमाएका अमेरिकी चिकित्सक ज्याकोब ज्याक केबोरकियनलाई १ सय ३० व्यक्तिको मृत्युका लागि जिम्मेवार ठहर्याइयो । ती चिकित्सकले इच्छामृत्युको नाममा ती व्यक्तिहरूलाई विषसेवन गराएर मृत्युवरण गराएका थिए । इच्छामृत्यु फेसन हुनसक्छ भन्ने कुरालाई हालैको एक भारतीय समाचारले पुष्टि गरेको छ । अलिगढस्थित मुस्लिम विश्वविद्यालयमा आमसञ्चारमा पिएचडी गरिरहेका एक छात्रले राष्ट्रप्रतिलाई पत्र लेख्दै इच्छामृत्यु मागे । डिसेम्बर २०१४ भित्र न्याय नमिले इच्छामृत्युको अधिकार दिइनुपर्ने ती छात्रको पत्रमा उल्लेख थियो । एउटै विषयमा दुईपटक अनुत्तीर्ण भएपछि तेस्रो पटकको परीक्षामा पनि २ अंक नपुगेर अनुत्तीर्ण भएको झोकमा ती छात्रको कपी जाँचको माग गरेका थिए । आर्थिक रूपमा कमजोर भएको बताउँदै आफाक अहमद नामका ती छात्रले जानी-जानी आफूलाई असफल बनाइएको आरोप लगाएका थिए । समस्याको निराकरणका निम्ति उनको कपी जाँचका निम्ति अर्को विश्वविद्यालयका अध्यापकसमक्ष पुर्याइएको थियो ।
- वर्ष २०१४ मा एउटा इच्छामृत्युले विश्व हल्लायो । २९ वर्षीय बि्रटानीले अपिल गरेको केही समयमै सम्मानजनक स्वेच्छिक मृत्यु पाइन् । केही समयअघि सार्वजनिक उनको भिडियो युट्युबमा पनि चर्चित छ । भिडियोका अनुसार उनको विवाह सन् २०१२ मा भएको थियो । नयाँ जीवन सुरु गर्ने सोच बनाइरहेका बेला चिकित्सकले एक्कासि अब तिमीसँग ६ महिनामात्र जीवन छ भनिदिएपछि उनी स्तब्ध भइन् । ५ वर्षको अफेयरपश्चात् बि्रटानीले प्रेमी डानियाल डियाजसँग सेप्टेम्बर २०१२ मा विवाह गरेकी थिइन् । नयाँ वर्ष २०१३ मा उनलाई ब्रेन क्यान्सर भएको खुलासा भयो । त्यसपछि उनले साँचेका सबै सपना भताभुंग भए । त्यसपछि उनले दुःखमा मर्नुभन्दा मृत्युलाई जितेर मर्नु राम्रो हुने निर्णय गरिन् । बि्रटानीको ब्रेन क्यान्सर अन्तिम चरणमा थियो । बाँकी रहेको जीवनलाई स्मरणीय बनाउन के गर्न सकिन्छ भनेर उनले सबैको साथ खोजिन् । श्रीमान् र आमाले पनि उनको इच्छामृत्युलाई स्वीकार गरे । त्यही क्रममा उनले अलास्काको पहाडि क्षेत्र घुमफिर गरिन् । बि्रटानीले कुनै समय नेपाल आएको पनि भिडियोमा उल्लेख गरेकी छिन् । त्यसक्रममा नेपालको एक अनाथालयमा पढाएको कुरा उनले बताएकी छिन् । शिक्षाशास्त्रमा
स्नातकोत्तर बि्रटानीले नेपालबाट धेरै कुरा सिकेको उल्लेख गरेकी छिन् । म सधैं संसारलाई केही दिन चाहन्थे, उनले भनेकी छिन्- 'मेरा प्यारा मित्र र परिवारसँग सधैंका निम्ति बिदा माग्दैछु, मैले मृत्युलाई प्रतिष्ठाका साथ ग्रहण गरेकी छु, यो पीडादायी ब्रेन क्यान्सरले म बाट धेरै कुरा लुट्यो, तर मैले बाँचुन्जेल यो सुन्दर पृथ्वीमा धेरै कुरा सिके ।' इच्छामृत्यु प्राप्त गर्न बि्रटानीले पनि संघर्ष गर्नुपर्यो । अमेरिकाको क्यालिफोर्नियाकी बासिन्दा बि्रटानीले इच्छामृत्यु प्राप्त गर्न नै परिवारका साथमा ओरेगनको पोर्टल्यान्ड बसाइ सर्नुपर्यो । ओरेगनमा सन् १९९७ देखि इच्छामृत्यु वैध मानिन्छ । इच्छामृत्युका क्रममा बि्रटानीलाई एउटा औषधी चलाइयो, जसको सेवनपश्चात् आधा घन्टामा उनले संसार छोडिन् । बि्रटानीले श्रीमान्को जन्मदिन मनाएर मृत्युको मिति तोकेकी थिइन् । क्याथोलिक चर्चले उनले उठाएको कदमको विरोध पनि गर्यो । यद्यपि बि्रटानीको सम्मानजनक इच्छामृत्युले संसारभर तरंग सिर्जना गरिदियो ।
- इच्छामृत्युका नेपाली अभियन्ताहरूले पनि यसले मेडिकल टुरिज्म बढाउने तर्क पेस गरेका छन्, तर यसलाई संसारले भनें, 'आत्महत्या पर्यटन' का रूपमा बुझेको छ । आत्महत्या पर्यटन यस्तो पर्यटन हो, जहाँ मानिस आफ्नो अन्त्यका निम्ति भ्रमण तय गर्छ । विश्वकै सफल र विकसित मुलुक स्वीट्जरल्यान्ड असिस्टेड सुसाइड अर्थात् आत्महत्या पर्यटन सञ्चालन गरिरहेको छ । केही समयअघि प्रकाशित जर्नल अफ मेडिकल इथिक्सको एक अनुसन्धानमूलक लेखमा विभिन्न मुलुकका मानिस देहत्यागका निम्ति स्वीट्जरल्यान्डको जुरिच भ्रमणमा आउने कुरा उल्लेख थियो । सुसाइड टुरिज्म ः अ पाइलट स्टडी अन दि स्वीस फेनमेनन शीर्षकको अध्ययनअनुसार असिस्टेड सुसाइड अर्थात् अन्य व्यक्तिको सहयोगमा गरिने आत्महत्याका लागि जुरिचले प्रसिद्धि कमाएको छ । अध्ययनअनुसार सन् २००९ देखि २०१२ भित्र असिस्टेड सुसाइडका निम्ति स्वीट्जरल्यान्ड पुग्नेहरूको संख्या दोब्बरले बढेको छ । ३१ मुलुकबाट जुरिच पुगेका ६ सय ११ मध्ये धेरै जर्मनी र बेलायतका नागरिक थिए, जसमा ५८ प्रतिशत महिला थिए । यसरी आत्महत्या रोज्नेहरू २३ देखि ९७ वर्षसम्मका थिए । सन् १९४१ देखि स्वीट्जरल्यान्डमा इच्छामृत्यु वैध मानिन्छ । त्यहाँ सन् २०११ म्ाा आत्महत्या पर्यटनमाथी प्रतिबन्ध लगाउन जनमत-संग्रह नै भयो, जसमा ८५ प्रतिशत जनताले आत्महत्या पर्यटन अन्त्य गर्ने प्रस्तावको विपक्षमा मतदान गरे भने ७८ प्रतिशत मतदाताले विदेशीलाई प्रतिबन्ध लगाउने प्रस्तावको विपक्षमा मतदान गरे । त्यहाँको राष्ट्रिय संसद्ले पनि आत्महत्या पर्यटन नियन्त्रण गर्ने प्रस्तावको विपक्षमा मतदान गरेको थियो ।
- केही समयअघि बेलायतको उच्च अदालतमा इच्छामृत्युसम्बन्धी एउटा बहस चर्किएको थियो । टोनी निक्लिनसन नामका गम्भीर अशक्त व्यक्तिले रोगको पीडा सहन नसक्ने भएकाले जीवन अन्त्य गर्न अपिल गरेका थिए । अदालतले अन्तिम फैसलाका रूपमा जीवन अन्त्य गर्ने चिकित्सकलाई कानुनी रूपमा सक्षम बनाउने निर्णय दिएको थियो । घाँटीको पक्षघात भएका तर मानसिक रूपमा अप्रभावित ती व्यक्तिलाई चिकित्सकले मारिदिए कानुनी रूपमा हत्याको आरोप बेहोर्नु नपर्ने गर्न कानुनी संघर्ष गर्न पाउने अदालतको फैसला थियो । जबकि बेलायतको न्याय मन्त्रालय स्वयंले उक्त मुद्दा खारेज होस् भन्ने चाहेको थियो । मन्त्रालयले संसदले मात्र हत्यासम्बन्धी कानुन परिवर्तन गर्न पाउने तर्क गरेको थियो । सन् २००५ मा हृदयाघात भएपछि निक्लिनसनलाई लक्ड इन सिन्ड्रम देखा परेको थियो । उनले आफ्नो जीवन निष्क्रिय, पीडादायक, अर्थहीन, अपमानयुक्त तथा सहनै नसक्ने भएको बताएका थिए । बेलायतमा इच्छामृत्यु गैरकानुनी मानिन्छ ।
मानवीय दृष्टिले गलत कुरा
सुरेश ढकाल, मानवशास्त्री
नेपालमा पनि इच्छामृत्युको बहस सुरु भएको छ, मानवअधिकारका दृष्टिकोणले यसलाई कसरी बुझ्ने ?
पहिलो कुरा, यो विषयमा बहस हुनु स्वाभाविक हो, इच्छामृत्यु माग्नेले माग्न पाउँछ वा समर्थन गर्नेहरूको आ-आफ्नो तर्क हुन सक्छ र यसको विरोध पनि गर्न पाइन्छ । मुख्य कुरा व्यक्तिले आफ्नो निजत्वको हकमा आफूले स्वामित्व ग्रहण गर्न पाउने कि नपाउने भन्ने हो । बाँच्ने वा मर्ने अधिकार व्यक्तिमा निहित हुन्छ र ? त्यसो हुने भए व्यक्ति अधिकार भनिन्थ्यो होला, मानवअधिकार भनिँदैनथ्यो । व्यक्तिमा सम्पूर्णताको स्वामित्व हुनु हुँदैन भनेरै आत्महत्यालाई दण्डनीय अपराध भनिएको हो । केही अपवादबाहेक निको नहुने रोग लागेको, जीवन कष्टकर भएको अवस्थामा त्यो बिरामीले आर्थिक रूपमा समेत आफूलाई बचाउन नसकेको अवस्थामा अझ भनौं सबै बाटो बन्द भएको अवस्थामा इच्छामृत्युको कुरा आउँछ भने त्यो बेलामा के गर्ने भन्ने हो, तर मानवीय दृष्टिकोणले इच्छामृत्यु गलत छ ।
व्यक्तिलाई मर्ने अधिकार हुनुपर्छ कि पर्दैन ?
मनमोहन अधिकारीको केसमा चिकित्सकहरूले उहाँ चिकित्सा विज्ञानको दृष्टिले मृत तर जैविक दृष्टिले जीवित भने । उहाँको स्वाभाविक निधनलाई पर्खिइयो । यस्ता धेरै उदाहरण छन् । कसैले पनि आफ्नो मान्छे सहजै गुमाउन चाहँदैन । मैले भन्न खोजेको के भने व्यक्ति जो-कोही नै किन नहोस्, उसले परिवार तथा समाजका निम्ति ठूलो अर्थ राख्छ । बाँचे पनि परिवार, समाजका निम्ति र मर्दा पनि परिवार तथा समाजका निम्ति विशेष अर्थ हुन्छ । एउटा व्यक्तिले चाहँदैमा बाँच्ने र मर्ने भन्ने कुरा समग्र मानवीय हिसाबले गलत छ । यो विषय ठीक-बेठिक जे भए पनि व्यक्तिलाई यस प्रकारको अधिकार दिने भन्ने कुरा गलत हो । यसले मानविय मूल्यमा ह्रास ल्याउँछ ।
इच्छामृत्यु त अहिले विश्वभर बहसको विषय भएको छ नि ?
मेरो विचारमा यो पश्चिमी अवधारणा हो । व्यक्तिवादी संस्कृतिमा आधारित पश्चिमले इच्छामृत्युको बहस चलाएर हाम्रो जस्तो सामाजिक एवं सांस्कृतिक मूल्य-मान्यतामा आधारित समाजमा धावा बोलेको हो । कुनै मापदण्ड निर्धारण गरेर त्यसलाई उल्लंघन गर्न नसकिने कानुन बनाउन सकिएला, तर त्यो मापदण्ड कसरी निर्धारण गर्ने ? कानुनी रूपमा कसलाई दिने, कसलाई नदिने भन्ने कुरा गाह्रो छ । एउटा सामान्य ज्वरो आएको बिरामीले पनि केही समयको पीडा खप्न नसकेर मर्न पाए हुन्थ्यो भन्ने सोच्ला । यो एकदमै भावनात्मक विषय हो ।
तपाईंको तर्क हाम्रो समाजमा यो कुरा लागू हुदैन भन्ने हो ?
हाम्रो समाज सामाजिक एवं सांस्कृति मान्यताबाट प्रेरित छ, पश्चिमा समाजमा जस्तो आर्थिक र जैविक परिवेश यहाँ छैन । त्यही भएर अन्तिम अवस्थाको क्यान्सर, जसबाट बच्ने सम्भावना नै छैन भन्दा पनि मानिसहरू अन्तिम अवस्थासम्म पनि उपचार गराइरहेका हुन्छन् । हाम्रो परिवार र समाजमा मानिसको मृत्युले ठूलो अर्थ राख्छ, त्यसैले कुनै व्यक्तिले मर्छु भन्दैमा हामी त्यसमा सहमत हुन सक्दैनौं ।
वृद्धावस्थाको निरुद्देश्य, खर्चिलो एवं बोझिलो जीवनयापन गर्नुभन्दा इच्छा मृत्यु नै उपयुक्त हो भन्ने अभियानकर्ताहरूको भनाइ छ नि ?
यो त अझ गलत कुरा हो । वृद्धावस्थाको जीवन निरुद्देश्य हुने भए सत्यमोहन जोशी र माधवप्रसाद घिमिरेजस्ता सर्जकहरू किन सक्रिय हुन्थे ? माधव घिमिरे अहिले पनि गुणस्तरीय महाकाव्य सिर्जनाका निम्ति काम गरिरहेको बताइरहनुभएको छ । वृद्धवृद्धा भनेका हाम्रा समाजका गहना हुन् । उनीहरूमा भएको ज्ञान र अनुभवबाट हामीले धेरै कुरा सिक्न सक्छौं । हामी नर्सरीदेखि स्नातकोत्तर तहसम्म तथा १५ देखि ५९ वर्षसम्मको उमेर सक्रिय उमेर हो भनेर पढ्छौं, अनि ५९ वर्षपछि काम लाग्दैनन् भन्ने बुझ्न पुग्छौं । अर्थशास्त्रका हिसाबले मात्र मानिसलाई बुझ्ने कुरा गलत छ । वृद्धावस्थाका नागरिकलाई कसरी बेसहारा हुन नदिने वा उनीहरूका लागि कसरी सहज जीवनको वातावरण बनाउने भन्ने कुरा नसोची उनीहरूलाई समाप्त पार्नेतर्फ लाग्नु एकदमै गलत तथा नकारात्मक कुरा हो ।
हाम्रो सामाजिक परम्परामा पनि इच्छामृत्यु अपनाइएका उदाहरण थुप्रै छन् तर तपाईं यसलाई पश्चिमा सोच भन्नुहुन्छ ?
धार्मिक एवं पौराणिक हिसाबले पुण्यप्राप्तिका लागि निश्चित पौराणिक व्यक्ति तथा सिद्धपुरुषहरूले इच्छामृत्यु ग्रहण गरेका हुन्, हिजोको त्यो धार्मिक मृत्युलाई वर्तमानसँग जोड्न मिल्दैन । त्यो फरक दर्शन थियो । त्यतिबेला लेखान्त मृत्यु जस्ता कुरा लागू हुन्थे । अहिलेको इच्छामृत्यु भनेको विज्ञानसम्मत मृत्यु हो । विज्ञानले मैले नसक्ने भए, अब यो मानिस जिवित रहनुको अर्थ छैन भनेपछि इच्छामृत्युको कुरा आउँछ ।
युरोप र अमेरिकाजस्ता मानवअधिकारका चर्का कुरा गर्नेहरू नै यसको पक्षमा छन् नि ?
युरोप र अमेरिकाको कुरा फरक छ, त्यहाँ व्यक्तिवादी संस्कृति हावी छ । त्यहाँ त चेलिबेटीका पसल पनि खोलिएका छन्, हामीले वेश्यावृत्तिमा प्रतिबन्ध लगाइरहेका छौं । नेदरल्यान्डको हेगमा अन्तर्राष्ट्रिय मानवअधिकार उल्लघंनको विषयमा सुनुवाइ गर्ने उच्च न्यायालय छ, त्यसले विश्वभरका विषय हेर्छ, त्यही हेगमा विश्वकै ठूलो वेश्यालय सञ्चालनमा छ । यो विषयमा व्यापक बहस आवश्यक छ ।
संकुचित क्षेत्रमा अवलम्बन गर्न सकिन्छ
भीमार्जुन आचार्य, अधिवक्ता
इच्छामृत्युको कुरा बहसमा आएको छ । नेपालमा पनि इच्छामरण कानुन खोजिएको छ, के यो सम्भव छ ?
इच्छामृत्यु अहिलेको संसारमा बहसको विषय हो । हालै मात्र बेलायतमा यो विषय गम्भीर रूपमा बहसमा आएको थियो । यसलाई दुवै पक्षबाट बहस गर्न सकिन्छ । यसको पक्षमा केही तर्क राम्रा छन् भने यसका विपक्षमा बोल्ने ठाउँ पनि उत्तिकै छन् । इच्छामृत्यु अहिले संसारभर किन बहसमा आयो भन्ने कुरा बुझ्नु आवश्यक छ । अहिले हामी चौथो पुस्ताको अधिकार खोजिरहेका छौं । नागरिक एवं राजनैतिक अधिकार पहिलो पुस्ताको अधिकारका विषय थिए । आर्थिक, सामाजिक एवं सांस्कृतिक विषय दोस्रो पुस्ताको अधिकार थिए । समूह अधिकार तेस्रो पुस्ताको अधिकार थियो भने अहिले इच्छामृत्यु, गर्भपतनजस्ता विषय चौथो पुस्ताको अधिकारभित्र पर्छन् । हामीले तेस्रो पुस्ताको अधिकारलाई कानुनमा समेटिसकेका छौं । अबको प्रयास भनेको चौथो पुस्तासम्मको अधिकारलाई व्याख्या गरी त्यसलाई कानु



