पूर्वराजा ज्ञानेन्द्र शाहले अंग्रजी नयाँ वर्ष–२०१८ नेपालगन्जमा आफ्नो समेत लगानी रहेको होटल सोल्टीको ‘सफ्ट ओपनिङ’ सँगै मनाएका छन् । पत्नी कोमल, बुहारी हिमानी तथा छोरी प्रेक्षासहित पुस १३ गते बिहीबार नेपालगन्ज ओर्लिएका पूर्वराजा शाहले यसपटकको पूरै भ्रमणलाई व्यवसाय प्रवद्र्धनमा केन्द्रित गरेको बताइन्छ । हिन्दू धर्म र राजतन्त्रलाई मुख्य सिद्धान्त मान्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्ताले राजनीतिक रंग दिन खोजे पनि पूर्वराजा शाह भने एउटा व्यवसायीका रूपमा मात्र प्रस्तुत भए ।
झन्डै एक साताको नेपालगन्ज बसाइलाई उनले होटल सोल्टीको प्रवद्र्धनमा सदुपयोग गरे र त्यस क्रममा स्थानीय उद्योगी एवं होटल व्यवसायीहरूसँग भेटघाट गरे । सीमा अपराध तथा सुरक्षाका सम्बन्धमा प्रहरी–प्रशासनका अधिकारीहरूसँग छुट्टै भेटेर चासो देखाए । व्यवसायिक भ्रमण भएकै कारण हुनुपर्छ, उनी भेटघाटमा उत्तिकै सहज देखिन्थे ।
राप्रपाका नेता–कार्यकर्ता मात्र नभै नयाँ वर्ष मनाउन होटल पुगेका सर्वसाधारणसँग पनि उनले खुलेर तस्बिर खिचाए भने सरल ढंगले अभिवादन फर्काए । चार तारे सोल्टी वेस्टेन्ड प्रिमियर नाम दिइएको होटलको ‘सफ्ट ओपनिङ’सँगै पूर्वराजा ज्ञानेन्द्रले नेपालगन्जमै अंग्रेजी नयाँ वर्ष–२०१८ को स्वागत गरे । उनको उपस्थितिमा नवनिर्मित होटल सोल्टीमा आयोजित न्यू इयर इभ कार्यक्रम भव्य बनेको थियो । साँझ ८ बजे सुरु भएको उक्त कार्यक्रम राति एक बजेसम्म चलेको बताइन्छ ।
पूर्वराजा ज्ञानेन्द्र साढे नौ बजेतिर सार्वजनिक कार्यक्रममा सहभागी भए । इन्डियन आइडलकी तोरशा सरकार तथा नेपाली गायिका श्रेया सोताङ आदिको प्रस्तुति समेटिएको सांगीतिक वातावरणमा उनी १५ मिनेटजति मात्र बसे, तर त्यति समयमा नयाँ वर्ष मनाउन पुगेकाहरूले उनीसँग फोटो खिचाउन भ्याए । पूर्वराजा ज्ञानेन्द्र यसपटक सेल्फी दिनसमेत सहज देखिए ।
उनीसँग सेल्फी लिन खोज्नेहरूको तँछाडमछाडले सुरक्षा प्रबन्ध समेत अस्तव्यस्त भएको थियो । होटल सोल्टीमा नयाँ वर्ष मनाउन पुगेका ग्राहकहरूले पूर्वराजा ज्ञानेन्द्रसहितको सेल्फी सामाजिक सन्जालहरूमा समेत सेयर गरिरहेका छन् । नेपालगन्जका मेयर धवलशमशेर राणाले भने पूरै समय पूर्वराजासँगै बसेर नयाँ वर्ष मनाए ।
सुटुक्क ड्राइभिङ
नेपालगन्ज बसाइका क्रममा पूर्वराजा शाह पूर्वजानकारीबिनै सुटुक्क ड्राईभिङमा निस्किए । नयाँ वर्ष २०१८ को पहिलो दिन सोमवार बिहान आठ बजेतिर सुरक्षा निकायलाई थाहै नदिई बा २ च ६४१८ नम्बरको कार लिएर निस्किएका शाह सुर्खेत रोड हुँदै भन्सारचोक पुगेर फर्किए ।
फर्किएर उनी कारकाँदोस्थित सोल्टी होटल आउने सुरक्षाकर्मीहरूको अनुमान थियो । यद्यपि शाह कोहलपुरतर्फ लागेपछि सुरक्षाकर्मीहरू हैरान भए । यता उनी भने गनापुर पुगेर नेपालजन्ज फर्किए ।
शाहले नेपालगन्ज बसाइमा बागेश्वरी मन्दिरको दर्शन गर्ने पूर्वानुमान थियो । त्यसै पनि उनी शक्तिपीठहरू धाइरहन्छन् । त्यसैले आफैं ड्राइभिङ गरेर निस्कँदा बागेश्वरी मन्दिर दर्शन हुन सक्ने मानेर प्रहरी टोली त्यहाँ पुगेको थियो ।
वडा प्रहरी निरीक्षक राजन गौतमको टोली धेरै बेरसम्म मन्दिरमा कुरेर बस्यो, तर शाह सिधै कोहलपुरतर्फ हुइँकिएपछि गौतम जिल्लिएनन् मात्र, उनको टोली शाहलाई खोज्दै कोहलपुरसम्म पुग्यो, तर त्यहाँ पनि ज्ञानेन्द्रलाई भेट्न सकेन । शाह होटल फर्किएपछि मात्र प्रहरीले त्यसको जानकारी पाएको थियो । होटल सोल्टीमा बसेका पूर्वराजपरिवारको सुरक्षाका लागि डीएसपीको कमाण्डमा सशस्त्र प्रहरी बलको टोली खटाइएको थियो ।
‘प्रहरीलाई भ्रमण तालिका उपलब्ध नगराइएकाले सुरक्षा व्यवस्था मिलाउन गाह्रो भयो’ संघीय प्रहरी एकाइका वरिष्ठ प्रहरी उपरीक्षक महेशविक्रम शाह भन्छन्, अन्तिम समयमा मात्र खबर आउने भएकाले प्रहरीको दौडादौड मात्र भयो ।
स्वागत विवादमा उपमेयर
पूर्वराजा शाहको स्वागत गर्न सयौको संख्यामा राप्रपा कार्यकर्ता तथा राजावादीहरू विमानस्थल पुगेका थिए । उनीहरूले स्वागत जुलुसमात्र निकालेनन्, पहिले–पहिलेजस्तै पूर्वराजाको जयजयकार समेत गरे । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा तथा उपमेयर उमा थापामगरले विमानस्थलमा पूर्वराजपरिवारको स्वागत गरेका थिए । ‘पूर्वराष्ट्राध्यक्षलाई आफ्नो नगरमा स्वागत गर्नु शिष्टाचारभित्रै पर्छ,’ मेयर राणाले भने–त्यसमाथि म राजतन्त्र मान्ने पार्टीको नेता पनि हुँ । राणाले पूर्वराजाको यो भ्रमणलाई आफूले नितान्त पारिवारिक तथा व्यवसायिक भ्रमणका रूपमा हेरेको पनि बताए ।
राप्रपा महामन्त्री समेत रहेका मेयर राणाले पूर्वराजाको स्वागत गर्नुलाई सामान्य मानिए पनि काग्रेस युवा नेतृ तथा उपमेयर उमा थापामगर पूर्वराजाको स्वागतमा गएकोमा पार्टीभित्रै आलोचना भैरहेको छ । कांग्रेसका जिल्ला नेता सुधांशु कोइरालाले सामाजिक सन्जालमै उपमेयरलाई संकेत गर्दै आफूले लज्जित महसुस गरेको कुरा उल्लेख गरेका छन् ।
उनले असन्तुष्टि व्यक्त गर्दै लेखेका छन् : ‘आफूलाई लोकतान्त्रिक पार्टीको नेता मान्ने, राजालाई दरबारबाट सडकमा ल्याउन जनआन्दोलनमा अहंम भूमिका निर्वाह गरेको भन्ने अनि पूर्वराजा नितान्त पारिवारिक भ्रमणमा आएको सुन्नासाथ पार्टीको मर्यादा ख्याल नगरी सत्कारमा पाल्नुहुने साथीहरूलाई देखेर म आफैं लज्जित महसुस गर्दैछु ।’
यता उपमेयर उमा थापामगर भने आफू पार्टीको कार्यकर्ता मात्र नभै उपमहानगरपालिकाको उपमेयर पनि भएको नबिर्सिदिन आग्रह गर्छिन् । पूर्वराष्ट्राध्यक्ष तथा नगरभित्र खुलेको स्तरीय होटलको लगानीकर्ताका रुपमा आफूले पूर्वराजा शाहलाई स्वागत गरेको उल्लेख गर्दै उपमेयर थापामगरले भनिन्– ‘पूर्वविशिष्ट व्यक्तित्वलाई नगरमा स्वागत तथा शिष्टाचार भेट गर्नुलाई सामान्य रूपमै लिनुपर्छ ।’
नेपालगन्ज त्यसै पनि पूर्वराजा ज्ञानेन्द्रका शुभेच्छुक एवं राजावादीहरू प्रसस्तै भएको सहर मानिन्छ ।
ज्ञानेन्द्र ०६७ जेठ ९ गते बागेश्वरी माताको दर्शनका लागि आउँदा त्रिभुवन चोकदेखि मन्दिरसम्म रातो कार्पेट बिच्छ्याईएको थियो । उनलाई हेर्न र स्वागत गर्न हजारांैको भीड जुटेको थियो । बिहान नेपालगन्ज आएर बागेश्वरी दर्शन गरी छोटो पत्रकार भेट गरेर उनी त्यही दिन काठमाडांै फर्किएका थिए । यसपटकको भ्रमणमा भने शाहले साइत जुराएर बागेश्वरीको दर्शन गर्ने भएका छन् । पुस १८ गते मंगलबार बुहारी हिमानी, छोरी प्रेक्षासहित परिवारका सदस्यहरूले पूजाआजा गरे पनि ज्ञानेन्द्र दम्पती भने बागेश्वरी मन्दिर पुगेनन् ।
बरु उनले बर्दियाको सदरमुकाम गुलरियास्थित बंगलामुखी मन्दिरको दर्शन गरे । ‘पूर्व युवराज्ञीसहित परिवारका सदस्यहरूले खुला दर्शन गर्नुभयो,’ मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले भने– उहाँहरूले बागेश्वरी माता, जुंगे महादेव, गणेश, भैरव तथा शनिको पूजाआज गर्नुभयो । अन्यत्र कतै नदेखिएको जुंगासहितको महादेवको मुर्ति देखेर पूर्वयुवराज्ञी हिमानीले त्यसका सम्बन्धमा चासो व्यक्त गरेको कुरा पनि महन्त योगीले बताए ।
पूर्वराजा दम्पतीले सोमबार बागेश्वरी दर्शन गर्ने खबर मन्दिर व्यवस्थापनले पाएको थियो । त्यही अनुसार, सुरक्षा व्यवस्था मिलाइएको थियो, तर पछि कार्यक्रम स्थगित भएको खबर आयो । पूर्वराजपरिवार अब नेपालगन्जबाट धनगढी जाने कार्यक्रम छ । पुस २० गते परिवारका अन्य सदस्यहरू काठमाडौं फर्किसके पनि पूर्वराजा शाह अरू केही दिन नेपालगन्जमै बस्ने र दाङसम्म पुग्ने कार्यक्रम रहेको राप्रपा नेता ऋषि देवकोटा बताउँछन् । त्यसै क्रममा उनले साइत हेरेर बागेश्वरीको खुला दर्शन गर्ने जानकारी पाएको मन्दिर स्रोत बताउँछ ।
कमल थापासँग लन्च मिटिङ
पूर्वराजा शाहले यसपटक राप्रपा अध्यक्ष एवं कामचलाउ सरकारका उपप्रधानमन्त्री कमल थापालाई नेपालगन्ज बोलाई लन्च छलफल गर्न समेत भ्याए । थापा पुस १५ गते शनिबार बिहान श्री एयरको पहिलो उडानबाट नेपालगन्ज पुगेका थिए ।
भेटघाटका लागि मध्यान्हको समय मिलाइएको थियो । त्यसैले बिहानभर थापाले बागेश्वरी मन्दिरको दर्शन एवं पूजाआजा गरे । पूर्वराजा शाह र थापाबीच मध्यान्ह १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म होटल सोल्टीमा लन्च मिटिङ चलेको थियो । भेटलगत्तै आयोजित पत्रकार सम्मेलनमा थापाले पूर्वराजासँगको भेटलाई शिष्टाचार भेटघाटका रूपमा अथ्र्याए ।
यद्यपि उक्त भेटमा पूर्वराजा शाहले वर्तमान राजनीतिक अवस्था एवं राप्रपाको भावी योजनाका सम्बन्धमा चासो देखाएका थिए । ‘पूर्वराजा नेपालगन्जमा भएका बेला म आउनु संयोग मात्र हो’, अध्यक्ष थापाले शाहसँगको भेटको बचाउ गर्दै भने, ‘म आउँदा पूर्वराजासमेत यतै भएकाले भेट गर्न गएको हुँ । भेट गर्नु मेरो कर्तव्य र शिष्टाचार पनि हो ।’
थापाले पूर्वराजासँगको भेटलाई राजनीतिक नभै व्यक्तिगत सम्बन्ध र शिष्टाचारका हिसाबले हेर्न आग्रह गरे । भेटमा पूर्वराजाले राप्रपाको चुनावी परिणाम र आगामी कार्यदिशाका सम्बन्धमा चासो देखाएको कुरा भने उनले स्वीकार गरेका छन् ।
राप्रपा अध्यक्ष थापाले नेपालगन्ज आउने अघिल्लो रात मात्र अगुवा कार्यकर्ता भेला राख्न जिल्ला नेतृत्वलाई निर्देशन दिएका थिए । थापा उक्त भेलालाई सम्बोधन गरेर शनिबारै राजधानी फर्किए ।
उद्योगी
व्यवसायीहरूसँग भेट
पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाललाई नेपालगन्जले किन पनि बिर्सिएको छैन भने त्यतिबेला उनको प्रत्यक्ष निर्देशनमा नेपालगन्जमा रहेका मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, सेनाको पृतना तथा अधिकांश क्षेत्रीय कार्यालयहरू विकास क्षेत्रको सदरमुकाम सुर्खेत सारिएको थियो । तिनै ज्ञानेन्द्र यसपटकको भ्रमणमा भने नेपालगन्जको विकासलाई लिएर चिन्तित देखिए । उनकै आग्रहमा पुस १४ गते शुक्रबार होटल एसोसिएसनहरू नेपाल (हान) ले नेपालगन्ज र कोहलपुरका स्तरीय होटल सञ्चालकहरूलाई नवनिर्मित होटल सोल्टीमा बोलायो ।
त्यस्तै, त्यहाँ उद्योगी–व्यवसायीहरू पनि निम्त्याइए । होटल सोल्टीको सञ्चालक समितिका सदस्य रविभक्त श्रेष्ठ तथा राजेशकाजी श्रेष्ठ उद्योगी–व्यवसायीहरूलाई प्रतिस्पर्धीभन्दा पनि साथी मानेर सहकार्य गर्न आग्रह गरिरहेका थिए । त्यत्तिकैमा बैठक कक्ष प्रवेश गरेका पूर्वराजा शाहले झन्डै दुई घण्टा नेपालगन्जका उद्योगी–व्यवसायीहरूसँग बिताए ।
‘उहाँले व्यवसायीहरूको अन्तक्र्रिया ध्यान दिएर सुन्नुभयो,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘अनौपचारिक कुराकानीमा पनि राजनीतिक कुरा गर्नु भएन । सोल्टी होटल र पर्यटन व्यवसाय नै उहाँको मुख्य चासो थियो । यता व्यवसायीहरूले भने नेपालगन्जको विकास एवं विमानस्थलको स्तरोन्नतिको खाँचो औंल्याएका थिए ।
पूर्वराजा शाहलाई भेट्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य पूर्वअध्यक्षहरू सुनिलकुमार शर्मा, अच्युत प्रसाई, संघका महासचिव अजय टन्डन, सदस्य सञ्जय थापा, उद्योगपति कन्हैयालाल वैश्य, प्रदीप छाछेड, सतिश गुप्ता, जडिबुटी व्यवसायी राजेश जैन, औषधि व्यवसायी अभयकुमार बस्नेत, होटल व्यवसायी केशव न्यौपाने, देवानन्द अर्याल, दिपु अग्रवाल आदि सोल्टी पुगेका थिए ।
सुरक्षा अधिकारीहरूसँगको भेटमा पूर्वराजा शाहले सीमा अपराधको स्थिति तथा पर्यटन व्यवसायमा सुरक्षा चुनौतीका सम्बन्धमा चासो देखाएका थिए । ‘तराईमा अपराधको स्थिति र सुरक्षा प्रबन्ध उहाँको चासोमा थिए,’ संघीय प्रहरी एकाइका वरिष्ठ प्रहरी उपरीक्षक महेशविक्रम शाहले भने–पर्यटन व्यवसायका लागि अहिले कुनै पनि सुरक्षा अप्ठ्यारो नरहेको जानकारी गरायौ । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, एसएसपी शाह तथा बाँकेका निमित्त प्रहरी प्रमुख राजेन्द्र अर्याल पूर्वराजालाई भेट्न होटल सोल्टी पुगेका थिए ।
पूर्वराजा शाहको उल्लेख्य लगानी रहेको होटल सोल्टीको चर्चा उत्तर प्रदेशको राजधानी लखनउसम्मै पुगेको थियो । ‘नेपाल पूर्वनरेशकी होटल’ भन्दै भारतीय मिडियामा पनि समाचारहरू आएका छन् । उक्त होटलले मानसरोवर कैलाश दर्शनका लागि मध्यम तथा उच्च वर्गीय धार्मिक पर्यटकलाई लक्षित गरेको छ । त्यसका लागि हुम्लामा समेत शाखा खोल्ने तयारी भैरहेको स्रोतले बतायो । होटलले छिट्टै क्यासिनो पनि संचालनमा ल्याउन अनुमति मागेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले बताएका छन् ।