नेपाल आइडलमा सहभागी भएपछि धनगढी, कैलालीकी करिश्मा विष्ट एकाएक चर्चामा आइन् । धनगढी अडिसनमा उनले दिएको प्रस्तुतिले धेरैको मन जित्यो । फेसबुक र युट्युबमा मात्र होइन, उनले गाएको र्याप गीतले टिकटक एप्समा अझ बढी स्थान पायो । खासगरी स्कुल, कलेज पढ्ने विद्यार्थीहरूले करिश्माका र्याप गीतमा आफैंले अभिनय गर्दै टिकटकमा थुप्रै भिडियो अपलोड गरे, जसलाई अत्यधिक रुचाइयो ।
धनगढीकी करिश्मा मात्र होइन, नेपाल आइडलमा अडिसन दिएपछि चर्चामा आएका बझाङका नरेश पातली र नेपालगन्जका झक्कड थापाका गीत एवं उनले बोलेका डायलगलाई धेरैले भिडियो बनाएर टिकटकमा पोस्ट गरेका छन् । आफ्नै मोबाइलबाट टिकटकको सहयोगमा रमाइला भिडियो तयार पारेर अपलोड गर्ने चलन हिजोआज उत्कर्षमा छ । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकपछि आएका ट्विटर, इन्स्टाग्रामपछि अहिले टिकटकले धेरैको ध्यान खिच्न थालेको छ । स्कुल पढ्ने विद्यार्थीदेखि कलाकार, पत्रकार, डाक्टर, चलचित्र निर्माता लगायत फरक पेसा, व्यवसायमा संलग्न सबै यो एपमा रमाउन थालेको पाइन्छ । अझ रमाइलो त के छ भने चर्चित सेलिब्रेटीहरूको तुलनामा सर्वसाधारणहरू नै टिकटकमा बढी हिट छन् ।
तिनैमध्येकी एक सर्वसाधारण हुन्— विराटनगरकी रेश्मा घिमिरे । आरके चिल्ड्ेरन्स हस्पिटलमा कार्यरत नर्स रेश्माले जब भिडियो बनाएर टिकटकमा अपलोड गर्न थालिन्, उनका प्रशंसकहरू बढ्दै गए । रेश्माले विभिन्न गीत, संगीत, म्युजिक भिडियो, समसामयिक विषय तथा चलचित्रका डायलगहरूमा आफूले अभिनय गरेका भिडियो टिकटकमा अपलोड गर्दै आएकी छिन् । उनले अपलोड गरेका भिडियोहरूले ८४ हजारभन्दा बढी लाइक्स पाएका छन् । यो सामग्री तयार पार्दासम्म उनलाई फेसबुकमा १८ हजार ५ सय ८४ ले फलो गरेका छन् भने टिकटकमा उनका प्रशंसकको संख्या ५ लाख ५ सय ५२ भन्दा बढी पुगिसकेको छ । यसबाटै थाहा हुन्छ कि यो एपमा उनको लोकप्रियता कति छ ? त्यति मात्र होइन टिकटकका प्रयोगकर्ताको संख्या दिनहुँ कुन दरमा बढिरहेको छ भन्ने एउटा ज्वलन्त उदाहरण पनि हो यो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स रेनुका खड्का पनि टिकटकमा सक्रिय छिन् । विगत तीन महिना यता यो एप चलाउन थालेकी रेनुका फेसबुक चलाउँदा–चलाउँदा दिक्क लागेर टिकटकको संसारमा छिरेकी हुन् । ‘फेसबुक बोरिङ हुन थाल्यो । फेक समाचारहरूको बिगबिगी छ,’ रेनुकाले भनिन्, तर टिकटकमा बोरिङ भन्ने हुँदैन । रमाइलै रमाइलो छ । रेनुकाले चलचित्रका डायलग तथा अरूले बोलेका रमाइला संवादमा आफूले अभिनय गरेर भिडियो अपलोड गर्दै आएकी छिन् । रेनुका भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा, कोरियोग्राफर गीता कपुर तथा नेपाली डान्सर शुसान्त खत्रीको टिकटक एकदमै पछ्याउँछिन् । स्वयं उनका नर्स साथीहरू शुभेच्छा पौडेल, इशा कार्की, एरिना कार्की, मर्सना लिम्बुहरू पनि टिकटकमा सक्रिय छन् । उनीहरूका भिडियो हेरेर पनि आनन्द लिन्छु, –रेनुका भन्छिन् ।
धरानस्थित नायिका वर्षा राउतले टिकटक चलाउन थालेको एक वर्ष पुग्न थाल्यो । टिकटकमा रमाइला खालका भिडियो अपलोड गर्ने वर्षाले सकारात्मक प्रतिक्रियाहरू प्राप्त गरिरहेकी छिन् । चलचित्रमा अभिनय गर्दाको आफ्नै खालको रमाइलो छ । वर्षा भन्छिन्— टिकटकका लागि भिडियो बनाउँदा पनि कम रमाइलो हुँदैन । उनीजस्तै अन्य नायिकाले पनि रमाइलो खालका भिडियो बनाएर टिकटकमा अपलोड गर्दै आएका छन् । मोडल रिया श्रेष्ठ र तिर्सना बुढाथोकीले अपलोड गरेका डान्स भिडियोले प्रयोगकर्ताहरूलाई राम्रैसँग इन्गेज गराएका छन् । विगत दुई महिनाको अवधिमा १ सयवटाजति भिडियो पोस्ट गरिसकेकी रिया टिकटकमा ग्ल्यामरस भिडियो बढी पोस्ट गर्छिन् । टाइम पास र रमाइलो लागि भिडियो अपलोड गर्ने रियाले टिकटकलाई फेसबुकजत्तिकै समय दिइरहेकी छिन् ।
आफ्नो मोबाइलमा टिकटक एप डाउनलोड गरेर साइन अप गरेपछि जोकसैले १५ सेकेन्डको भिडियो बनाउन सक्छन् । तपाईं डान्स गर्नुहोस् वा क्यारिकेचर, अरूको गीत र चलचित्रको डायलगमा अभिनय गर्नुहोस् वा चुपचाप अरूले अपलोड गरेका भिडियो हेरेर मजा लुट्नुहोस् । कुन व्यक्तिमा कस्तो खालको क्षमता— सीप छ भन्ने कुरा टिकटकको संसारमा प्रवेश गरेपछि छर्लङ्ग हुन्छ । बजारमा कुन विषयले चर्चा पाइरहेको छ, यसका प्रयोगकर्ताहरूले बनाएको भिडियो हेरेपछि थाहा लाग्छ । चाहे त्यो नाम कमाएर होस् वा बदनाम भएर, त्यो बेग्लै पाटो हो ।
मोबाइलमा एकपटक टिकटक एप डाउलोड गरेर प्रयोग गर्न थाल्नुभयो भने तपाईं यो दुनियाँमा हराउनुहुनेछ । त्यसैले पनि होला सानो उमेरका केटाकेटीदेखि सेलिब्रेटीसम्म टिकटकको प्रयोगमा भुलिएका छन् । कुनै बेला हाइफाइभ सर्वाधिक चर्चामा थियो, अहिले त्यो इतिहास भैसकेको छ । फेसबुकको लोकप्रियता संसारभर छ, यद्यपि फेसबुक पनि कुनै बेला हाइफाइभ जसरी नै इतिहास नबन्ला भन्न सकिँदैन । किनभने समयअनुसार टिकटकजस्ता नयाँ–नयाँ एप आफूलाई अपग्रेड गर्दै यसरी उदाइरहेका छन् कि नेपाल जस्ता तेस्रो विश्वका कुनाकन्दरादेखि बलियो अर्थतन्त्र भएका अमेरिका, चीनजस्ता देशका डिजिटल मार्केट यिनकै वरिपरि घुम्न थालेका छन् ।
मोबाइलबाट बनाउन सकिने छोटो भिडियोका लागि चर्चित एप्स हो— टिकटक । यसलाई सूरुवात गर्ने कम्पनिका अनुसार आफूले देखेको कुनै विशेष पल, सिर्जनात्मक र ज्ञानको विषयलाई मोबाइलबाटै कैद गरेर संसारसामु प्रस्तुत गर्ने उद्देश्यले टिकटकको प्रारम्भ गरिएको हो । टिकटकले हरेक व्यक्तिमा सिर्जनात्मक ढंगमा भिडियोमार्फत अभिव्यक्ति दिन तथा आफ्नो अभिरुचिको विषय संसारसामु देखाउन उत्प्रेरणा जगाउँछ । यसमा आफ्नो मोबाइलबाटै १५ सेकेन्डभित्र भिडियो तयार पार्न सकिन्छ । यसमा फ्यान, फलोइङ र हार्ट फिचरसमेत समावेश छ । तपार्इंले अपलोड गरेका भिडियोको लाइक्सको संख्याका आधारमा हार्टको संख्या निर्धारण हुन्छ । एक–अर्कामा फलो, फलोअइङ छ भने यसबाट म्यासेज आदान–प्रदानसमेत गर्न सकिन्छ ।
आफूमा प्रतिभा छ भने त्यसलाई देखाउन अब ठूलै मिडिया साथमा हुनुपर्छ भन्ने रहेन । आफ्नो हातमा भएको स्मार्ट फोनको प्रयोगबाटै लाखौंको मन जित्न सकिन्छ । त्यसको एउटा उदाहरण हुन्, द कार्टुन्ज क्र्युकि आश्मा विश्वकर्मा । आश्माले तयार पारेका भिडियो नेपालमा मात्र होइन, भारतका अतिरिक्त अन्य मुुुलुकमा समेत भाइरल भएका छन् ।
आश्माले टिकटकमा अपलोड गरेका भिडियो अत्यधिक रुचाइएका छन् । उनी प्राय: डान्सका भिडियो अपलोड गर्छिन् । आश्माले द कार्टुन्ज क्र्युका प्रमुख सरोजसँग संयुक्त रूपमा निर्माण गरेका भिडियोले अत्यधिक लाइक्स पाएका छन् । युट्युबभरि टिकटकका यस्ता थुप्रै च्यानल खुलेका छन्, जहाँ टिकटक भिडियो हेर्न पाइन्छ । टिकटकका लागि तयार पारिएका भिडियो डाउनलोड गरेर, युट्युबमा अपलोड गर्ने चलन पनि निकै छ । काठमाडौं, मीनभवन, तीनकुनेस्थित भीएस निकेतनमा कक्षा १० मा अध्ययनरत सोहन क्षेत्री पनि टिकटकमा निकै सक्रिय छन् । उनले आफ्ना साथीहरूसँग मिलेर तयार पारेका भिडियोले धेरैको ध्यान तान्दै गएका छन् । सोहनले युट्युबमा टिकटक इन्क्लुडिङ म्युजिकल्ली नामक च्यानल खोलेर भिडियोहरू त्यसमा अपलोड गर्दै आएका छन् । निकिता बस्नेतको डान्स र उनको अभिनय टिकटकमा यति रुचाइएको छ कि उनका प्रशंसकको संख्या ९६ हजार नाघिसकेको छ ।
टिकटकले कतिसम्म ध्यान तानेको छ भने अस्ट्रेलियन युवती एमि फाल्जो तथा इलिसले नेपाली लोक गीत–संगीतमा नाचेको टिकटक भिडियो अपलोड गरेका छन् । उनीहरूको अभिनय निकै रुचाइएको छ । संसारभर छरिएर रहेको नेपाली समुदायमाझ ती दुई अस्ट्रेलियन युवति सेलिब्रेटी सावित भैसकेका छन् ।
अहिले नेपाली चलचित्र निर्माताहरूले टिकटकका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आफ्नो चलचित्रको प्रचार–प्रसार गर्न थालिसकेका छन् । मंसिर ७ गते प्रदर्शनमा आएको चलचित्र ड्रिम गर्लले टिकटक म्युजिकल्ली च्यालेन्जको आयोजना गर्यो । यो च्यालेन्जका लागि उक्त चलचित्रको तिम्रो मायामा हराउन थालेको र फूल टिपेर चढाए बोलका दुईवटा गीतका ट्रयाक नेपाल म्युजिकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएका थिए । प्रतिस्पर्धीहरूले उक्त ट्रयाकमा भिडियो बनाउनुपर्ने र आफ्नो फेसबुक, इन्स्टाग्राम तथा टिकटकमा अपलोड गर्नुपर्ने थियो । त्यसमा बढी लाइक्स र कमेन्टका आधारमा विजेता छनौट गरिएको थियो । उक्त प्रतिस्पर्धाका विजेताहरूलाई साप्ताहिक रूपमा विभिन्न उपहार प्रदान गरिएको थियो, जसमा चलचित्रको नि:शुल्क टिकटका साथै ड्रिम गर्ल टिमसँग डिनरको व्यवस्था थियो ।
टिकटकले हालै १० हजार डलर (१० लाख रुपैयाँ) राशिसहितको टिकटक रियल सर्ट एवार्ड सार्वजनिक गरेको छ । फिल्म इन्डिपेन्डेन्टसँगको सहकार्यमा सञ्चालन हुने उक्त एवार्ड टिकटकको सबैभन्दा ठूलो राशिको एवार्ड हो । गत सेप्टेम्बर २४ मा सार्वजनिक प्रेस विज्ञप्तिअनुसार यति ठूलो एवार्ड हात पार्ने भाग्यमानी हुन्— अन्ना लुपो । मोबाइल फोनकै माध्यमबाट उनले तयार पारेको भिडियोको शीर्षक थियो, ‘किन म फिल्ममेकर हुँ ?’ ९० भन्दा बढी फिल्ममेकरले भाग लिएको उक्त प्रतिस्पर्धाकी विजेता अन्ना न्युयोर्ककी हुन् ।
अमेरिकाको लस एन्जलसलाई आधार बनाएर सञ्चालनमा आएको टिकटकको कार्यालय लण्डन, टोकियो, सिओल, संघाई, बेइजिङ, सिंगापुर, जर्काता, मुम्बईका साथै मस्कोमा समेत स्थापना गरिएका छन् । सन् २०१८ को सुरुवाततिरै यो एप सबैभन्दा बढी डाउनलोड गरिएको एपभित्र परेको थियो । बेइजिङको स्टार्टअप बाइटडान्सले सुरु गरेको टिकटक एपले चीनका अन्य स्थापित सोसल मिडिया प्लेटफर्म टेनसेन्टको विच्याट, सिना वेइवो तथा अलिबाबाको योउकुलाई समेत पछि पारिसकेको छ ।
टिकटकमा आयोजना हुने प्रतिस्पर्धा
टिकटकमा विभिन्न शीर्षकमा प्रतिस्पर्धा सञ्चालन हुँदै आएका छन् । टिकटक ग्लोबल च्यालेन्जले संसारभरबाट तीन जना उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । कुनै विषय दिएर भिडियो बनाइसकेपछि टिकटक ग्लोबल च्यालेन्जलाई ट्याग गर्नुपर्ने हुन्छ, जुन भिडियोमा सबैभन्दा लाइक्स र कमेन्ट आउँछ, त्यसमध्ये तीन वटालाई पुरस्कृत गर्ने चलन छ । त्यसबाहेक ५ लाख भ्युज कट्नेलाई पनि विभिन्न गिफ्ट अफर गरिएको हुन्छ । त्यस्तै कतै टिकटक गायन त कतै टिकटक भिडियो बनाउने प्रतिस्पर्धा आयोजना भैरहन्छन् ।
टिकटकमा भेटिने केही रमाइला डायलग
अम्बाको बोटमा परेवाको प्वाँख
तेरो बूढीभन्दा मेरो बूढी च्वाँक ।
०००
हिमालको हिउँ, आलुको बीउ
मनपर्ने केटीलाई आइ लभ यू ।
०००
सालघारीमा पानी पर्यो तालै भएन
मेरो बूढी पोइला गई बालै भएन ।
फेसबुकले ल्यायो लास्सो
टिकटकले बजार तताइरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको छ । यसलाई टिकटकको प्रतिस्पर्धीका रूपमा हेर्न थालिएको छ । टिकटकमा जस्तै यसमा पनि फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो समयको भिडियो बनाउन तथा सेयर गर्न सकिन्छ । फेसबुकले दिएको जानकारीअनुसार हालै सार्वजनिक गरिएको नयाँ भिडियो एप लास्सो यतिबेला अमेरिकी प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध छ ।
यो एपको भिडियो एडिटिङ टुल्समार्फत आफ्नो भिडियोमा टेक्स्ट तथा म्युजिक पनि थप गर्ने सुविधा छ । ठूलो प्रचार–प्रसारबिना नै फेसबुकले यो नयाँ एप सार्वजनिक गरेको हो । फेसबुकका अनुसार छोटो तथा मनोरञ्जक भिडियोका लागि लास्सो निकै उपयोगी सावित हुनेछ । यतिबेला फेसबुकले यो एपका प्रयोगकर्ताबाट उनीहरूका गुनासा तथा सुझाव संकलन गरिरहेको छ । फेसबुकका अनुसार यो एप नि:शुल्क रूपमा एन्ड्रोइड तथा आईओएस दुवै अपरेटिङमा उपलब्ध गराइनेछ । प्रयोगकर्ताले इस्टाग्राम र फेसबुक अकाउन्टमार्फत पनि यो एपमा लग–इन गर्न सक्छन् । लास्सो एपबाट भिडियो तयार गरेर आफ्नो फेसबुकमा सेयर गर्न सकिन्छ । फेसबुकले युट्युब तथा स्न्यापच्याटजस्ता चर्चित भिडियो सेवा उपलब्ध गराउने कम्पनीलाई जित्ने उद्देश्यले यो एप निर्माण गरेको हो ।
टिकटकको इतिहास
सन् २०१६ को सेप्टेम्बरमा चीनबाट सुरु भएको टिकटक छोटो समयमै चर्चित भयो । बाइटडान्स नामक इन्टरनेट टेक्नोलोजी कम्पनीको यो सोसल मिडिया एप्स खासगरी एसियाका देशहरूमा बढी लोकप्रिय छ । चीनको संघाईबाट स्टार्टअप व्यापारका रूपमा सुरु भएको टिकटकको कार्यालय अमेरिकाको क्यालिफोर्नियामा पनि छ । अमेरिकाका टिनएजरलाई लक्षित गर्दै टिकटकको डिजिटल मार्केट अझ विस्तार गर्ने लक्ष्य लिइएको छ । विश्वका अन्य देशमा समेत यसका प्रयोगकर्ता निरन्तर बढ्दै गएका छन् । सबैभन्दा छोटो अवधिमा धेरै प्रयोगकर्ता बनाउन सफल यो एप्स अहिलेसम्म विश्वका ३४ भाषामा आईओएस र एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा उपलब्ध छ । सन् २०१४ को नोभेम्बरमा म्युजिकल्ली एप्सका रूपमा प्रयोगकर्तामाझ आएको यो एप्सको नाम सन् २०१८ को अगस्ट २ मा म्युजिकल्लीबाट टिकटक भएको हो । टिकटकले नोभेम्बर ९, २०१७ मा १ बिलियन अमेरिकन डलरमा बाइट्डान्स कम्पनीको म्युजिकल्ली खरिद गरेको हो । सन् २०१६ सम्म आइपुग्दा म्युजिकल्लीका प्रयोगकर्ता ९० लाख पुगिसकेका थिए । त्यसको एक वर्षमै प्रयोगकर्ताको संख्या २ सय मिलियन पुगेको थियो ।
टिकटकमा सक्रिय नेपाली सेलिब्रिटी
अभिनेत्री वर्षा राउत, आँचल शर्मा, नीता ढुंगाना, पूजा शर्मा, केकी अधिकारी प्रियंका कार्की, सारिका घिमिरे, मोडल तथा डान्सर आश्मा विश्वकर्मा, अनु शाह, गायिका इन्दिरा जोशी, अभिनेता, निर्माता तथा निर्देशक शोभित बस्नेत आदि टिकटकमा सक्रिय नेपाली सेलिब्रिटी हुन् । विभिन्न नेपाली एवं हिन्दी गीत, चलचित्रका डायलग तथा समसामयिक विषयहरूमाथि यी सेलिब्रेटीले टिकटक भिडियो बनाएर पोस्ट गरेको पाइन्छ ।