करिब एक वर्षयता माक्र सत्रिय भएका यस्ता क्लबमा आबद्ध युवाहरूले ख्यालख्यालमा सुरु गरेको कमेडी सामाजिक संजाल तथा युट्युबमा हिट भएपछि ओपन शो तथा रेस्टुराँहरूमा समेत जम्न थालेका छन् र दर्शक तथा ग्राहकहरूलाई मरुन्जेल हँसाइरहेका छन् । रेस्टुराँ तथा बारमा हामी हप्ताको दुई दिन प्रस्तुति दिइरहेका छौं
साँझको समय छ । लाजिम्पाटको एक रेस्टुराँमा ग्राहकहरूको उपस्थिति बढ्दै छ । रेस्टुराँभित्रै सानो स्टेज तयारी अवस्थामा छ । जब रेस्टुराँमा ग्राहकहरू भरिँदै थिए, त्यतिबेला २०–३० वर्षका युवाहरू भित्र छिरे । कोही दार्ही पालेका, कोही डेटलक कपाल र हिप्पी ड्रेसमा । क्यामेरा र ट्राइपोट हातमा लिएका उनीहरूले आफ्नो तयारी सुरु गरिहाले । क्यामेरा स्टेजतिर सोझ्याए । माइक्रोफोन हातमा लिएर अर्का दार्हीवाल युवा स्टेजमा उक्लिए र भने– ‘अब पाँच जना केटाको जोक्स सुन्नुहोस् ।’ त्यसपछि पाँच जना युवाले ग्राहकलाई पेट मिचिइउन्जेल हँसाउने जोक्स सुनाए । कमेडी सर्कलका ती युवाको जोक्स सुनेर ग्राहकहरू लामो समयसम्म ताली पिट्दै हाँसिरहे ।
मीनभवनको एक क्याफेमा जम्मा भएका चार युवा साप्ताहिकसँग गफिनु अघि जोक्समै मस्त थिए– ‘राजेश दाइ (राजेश हमाल) गर्ल फ्रेन्ड खोज्दैछन् रे, तैंले सघाइदिए हुन्न ?’ गफको सुरुवातमै नेप–ग्याज्म कमेडी ग्रुपमध्येका एक युवाले २०७५ सालको माघ १२ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भएको आफ्नो ‘ग्रान्ड शो’को बेलिविस्तार लगाए । ‘५ सय दर्शकसँगै मदनकृष्ण श्रेष्ठ र किरण केसीलाई हाम्रो कमेडी सुनायौं, नेप–ग्याज्मका ती कमेडियनले भने, ‘हामी नर्सरीमै छौं तर युर्निभर्सिटीजस्ता लाग्ने महान कलाकारका अघि कमेडी सुनायौं ।’
परम्परागत हास्यव्यंग्यको शैली र ढाँचा बदलिएर ‘स्टयान्डअप कमेडी’ मा रुपान्तरण हुन थालेपछि यतिबेला नेप–ग्याज्म, कमेडी सर्कल, स्टोरी टेलर, कमेडी टुकटुक, नेक्सस कल्चर जस्ता कमेडी क्लबहरू सक्रिय हुन थालेका छन् । यी क्लब खुला प्रस्तुतिभन्दा पनि युट्युब एवं सामाजिक संजालहरूमा भाइरल भैरहेका छन् ।
गीत, गजल तथा दोहोरीले रन्किने काठमाडौंका रेस्टुराँ एवं बारहरूमा कमेडी शोले स्थान जमाउँदै गएको छ । काठमाडौं बाहिरका स्टेज कार्यक्रमहरूमा कमेडी शोका लागि सेलिब्रेटी कलाकार मात्र होइन यी सामान्य लाग्ने तन्नेरीहरूको पनि माग बढिरहेको छ ।
करिब एक वर्षयता माक्र सत्रिय भएका यस्ता क्लबमा आबद्ध युवाहरूले ख्यालख्यालमा सुरु गरेको कमेडी सामाजिक संजाल तथा युट्युबमा हिट भएपछि ओपन शो तथा रेस्टुराँहरूमा समेत जम्न थालेका छन् र दर्शक तथा ग्राहकहरूलाई मरुन्जेल हँसाइरहेका छन् । रेस्टुराँ तथा बारमा हामी हप्ताको दुई दिन प्रस्तुति दिइरहेका छौं कमेडी सर्कलका संस्थापक सुरज खड्कीले भने, ‘ख्यालख्यालमै युट्यूबमा भिडियो राख्न थालेका थियौं, नसोचेको सफलता मिल्दै गयो, त्यसपछि साथीहरू मिलेर यसलाई निरन्तरता दिन थालेका हौं । यस्तो क्रेज होला भने सोचेका पनि थिएनौं,’ उनले प्रष्ट्याए ।
अर्को समूह ‘कमेडी टुकटुक’ तथा ‘स्टोरी ट्रेलर’ मा सक्रिय आयूष श्रेष्ठ खुला स्थानमा कमेडी शो गर्दै हिँड्ने सम्भवतः पहिलो व्यक्ति हुन । पेसाले कम्युटर इन्जिनियर श्रेष्ठ भन्छन्, ‘म र साथी रसिना श्रेष्ठले दुई वर्षअघि सुरु गर्दा यस्तो किसिमको प्रस्तुति अरुले कसैले दिएका थिएनन्, हामी स्टेजमा उभिएर जोक्स भन्थ्यौं, मानिसहरूलाई हँसाउँथ्यौं तर युट्युबमा हालेनौं’, उनले भने, ‘सुरुमा त मैंले स्कुल पढ्दा नै कमेडी गरेको हुँ ।’
युट्युबमा आफ्नो कमेडी भिडियो अपलोड गरेर दर्शकलाई स्ट्यान्डअप कमेडीमा भुलाउने श्रेय नेप–ग्याज्म तथा कमेडी सर्कलजस्ता ग्रुपलाई नै जान्छ । एकदशक अघिदेखि नै भारतका कमेडियनहरूको स्ट्यान्डअप कमेडीमा रमाउँदै आएका नेपालीहरू ढिलो गरी मात्र नेपाली कमेडीयनहरूसँग झुम्मिन थालेका हुन् । ओपन ग्रान्ड शो र युट्युबका लागि मात्र प्रस्तुति दिइरहेको नेपग्याज्म कमेडी ग्रुपले पोखरा, चितवन, काठमाडौं, बुटवल आदि स्थानमा पुगेर खुल्ला मन्चमा प्रस्तुति दिइसकेको छ । नेप–गाज्मका संस्थापक लेखमणी त्रिताल भन्छन्, ‘हामी रेस्टुराँ तथा बारमा भन्दा पनि ओपन शोमा रमाउन चाहन्छौं, त्यसबाहेक युट्युबका लागि भिडियो तयार गरिरहेका हुन्छौं,’ लेखमणिले खुसी साट्दै भने, ‘हाम्रो प्रस्तुतिलाई रुचाएर विदेशबाट पनि निम्ता आउन थालेको छ, चाँडै नै अष्ट्रेलियाका नेपालीहरूमाझ प्रस्तुति दिंदैछौं ।’
स्ट्यान्डअप कमेडियनहरूको प्रस्तुति कुनै नेता, ब्यवस्था र राज्यलाई उडाउने वा गाली गर्ने मात्र नभइ मानिसको सामान्य जीवन भोगाइ, सामान्य लाग्ने घटना, टिएनएजरहरूको आन्तरिक जीवनशैली, रहनसहन, साथी–सर्कल तथा उनीहरूको दैनिकीसँग मिल्दोजुल्दो हुन्छ । क्यारिकेचर वा व्यंग्यात्मक प्रहसन स्ट्यान्डअप कमेडीअन्तर्गत समेटिँदैन । सामान्य लाग्ने विषयबस्तु स्ट्यान्डअप कमेडीका खुराक हुन्, जसको उदाहरणका रूपमा प्रस्तुत छन् कमेडी सर्कलका अपूर्व क्षितिज सिंह । नेपालमा पोर्न साइड बन्द भएपछि अपूर्वले प्रस्तुत गरेको ‘नेपालमा पोर्न प्रतिबन्ध’ सर्वाधिक हेरिएको भिडियोमा पर्छ । १५ लाखभन्दा बढी भ्यूअर्स पाइसकेको उक्त भिडियोले अपूर्वलाई सेलिब्रेटी नै बनाइदिएको छ । त्यसपछि उनका ६ वटाभन्दा बढी भिडियो आइसकेका छन् ।
नेप–गाज्मका लेखमणि त्रितालको विन्ट–२ ले पनि ११ लाख बढी भ्युअर्स बटुलिसकेको छ । ‘गाँजामा रमाउने रमेश अंकलको छोरो’ विषयमा केन्द्रित उक्त भिडियोले नशालु पदार्थमा समय बर्बाद गरिरहेका युवाहरूलाई गतिलो सन्देशसमेत दिन्छ । यस्ता व्यंग्यात्मक प्रस्तुति मनोरन्जक मात्र हुँदैनन्, तिनले केही नयाँ सन्देश पनि बोकेका हुन्छन् ।
विषयवस्तु नै अनौठा
स्ट्यान्डअप कमेडी शो विस्तारै झाँगिदै गएको छ । दर्शकहरू बढ्दै गएका छन् । दर्शक हँसाउन कसैलाई गाली–गलौज, मानमर्दन र अश्लील शब्दको प्रयोग नै आवश्यक हुँदैन भन्ने उदाहरण युवाहरूले मज्जाले देखाइरहेका छन् । नेपालका ख्यातिप्राप्त कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, जितु नेपाल ‘मुन्द्रे’, धुर्मुस सुन्तली, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, राजा राजेन्द्र आदिको हांस्यव्यंग्य प्रस्तुतिको तुलनामा स्ट्यान्डअप कमेडीका युवाहरूको प्रस्तुति भिन्न छ । यसमा रमाउने पुस्ता पनि भिन्न छ । १५ देखि ३० वर्ष उमेरका युवाहरूले यस्ता स्ट्यान्डअप कमेडीको मज्जा लिइरहेका छन् भने विस्तारै वयस्क तथा पाकाहरू पनि तानिँदैछन् ।
नेप–गाज्मका उमेश गौतम ‘उमेश यूकेजी’ भन्छन्, ‘मैले आफ्नै र नेपालीहरूको नामका बारेमा दिएको प्रस्तुतिले युट्युबमा ५ लाखभन्दा बढी भ्यूअर्स पाइसकेको छ । आफ्नै भोगाइ, घटना तथा विषयवस्तुले दर्शकको मन छुँदो रहेछ ।’ कमेडी सर्कलका धिमान्त अधिकारीको पनि उस्तै अनुभव छ । धिमान्त भन्छन्, ‘बजारमा गरिने सपिङमा भोगेको अनुभवले समेत दर्शकको मन खिच्दो रहेछ, सामान्य हिंडडुल गर्दा, कलेज जाँदाका गफहरू पनि गजबले बिक्दा रहेछन् ।’
हुन पनि नेपाली तन्नेरी कमेडियनहरूले दिएका अधिकांश प्रस्तुति सामान्य खालका छन् । पेट्रोलको लाइनमा बस्दाको पीडा, बसमा कोचाकोच यात्रा गर्दाको दुःख, अभिभावक एवं छोराछोरीबीचको मतभिन्नता, टिएनएजरका कलेज लाइफ आदिमा उनीहरू १०–१० मिनेट मजाले प्रस्तुति दिन सक्छन् । विषयवस्तु छनौटका लागि धेरै अध्ययन पनि गरिरहनु पर्दैन् । दैनिक जीवनमा देखेको–सुनेको विषयलाई नै व्यंग्यको शैलीमा ढालेर सभ्य रूपमा प्रस्तुति दिए पुग्छ । कमेडी टुकटुकका आयूष श्रेष्ठ भन्छन, ‘म एउटा विस्कुटकै बारेमा पाँच मिनेट जोक्स सुनाउन सक्छु, आफ्नै बारेमा घोचपेच गर्न सक्छु, ठूला–ठूला गफले मात्र दर्शक तान्न सकिन्छ भन्ने होइन, उनले भने, ‘गाली तथा अश्लील शब्दको प्रयोगमा मात्र रमाइलो हुन्छ भन्नु पनि बेकार हो, सभ्य र शिष्ट शैलीमा सामान्य विषयवस्तुमार्फत पनि हँसाउन सकिन्छ ।’
फैलँदो साम्राज्य
नेपालमा भाइरल भैरहेका कमेडी क्लबहरूको आ–आफ्नै विशेषता छ । प्रस्तुति र विशेषता आफ्नै पाराको छ । कुनै क्लब रेस्टुराँ वा बारमा रमाइरहेका छन् भने कुनै खुला प्रस्तुति दिन रुचाउँछन् । त्यस्तै कुनै क्लब भने कलेज–कलेजमा पुगेर विद्यार्थीहरूलाई हँसाउन रुचाउँछन् । उनीहरूको प्रस्तुति अझ खारिदै गएको छ । कमेडीका क्रेजीहरू पनि उनीहरूसँगै भुलिन थालेका छन् ।
अधिकांश क्लबले आफ्नै स्टुडियोमा प्रस्तुति दिएको भिडियोलाई युट्युबमा अपलोड गरेर दर्शक तानिरहेका छन । स्टुडियो पनि सामान्य हुन्छ । मधुरो कोठामा सानो स्टेज, माइक र पर्दा भए स्टुडियो तयार भैहाल्छ । नेप–ग्याज्मको मात्र ५० भन्दा बढी भिडियो युट्युबमा अपलोड भएको छ । त्यस बाहेक उनीहरूले देशका विभिन्न ६ स्थानमा बृहत प्रस्तुति दिइसकेका छन् । कमेडी सर्कलले पनि युट्युबमा एकसयको हाराहारीमा भिडियो अपलोड गरेको छ । यो समूहले लाजिम्पाटस्थित अल्पाज रेस्टुरेन्टमा प्रत्येक मङ्गलबार तथा कुपन्डोलको समे बारमा प्रत्येक बिहीबार कमेडी शो गर्छ । कमेडी टुकटुक र स्टोरी ट्रेलरले कलेज–कलेजमा पुगेर शो गर्ने तयारी गरिरहेका छन् ।
बढ्दैछ दाम र नाम
प्रतिभा भए पनि गुमनाम जस्तै भएका युवाहरू स्टान्टअप कमेडी मार्फत नै नाम र दाम कमाउन थालेका छन् । सेलिब्रेटी म्यानेजम्यान्ट नेपालले व्यवस्थापन गरिरहेको नेप–गाज्म कमेडी ग्रुपमा लेखमणि त्रिताल, डोरेस खतिवडा, सरोज भण्डारी, उमेश गौतम तथा विवेक उप्रेतीको टिमले युट्युबदेखि ओपन शोमार्फत ख्याति कमाउँदै गएको छ । यसको युट्युब च्यानलले सिल्बर बटन प्राप्त गरी मासिक १ लाख रुपैयाँ आम्दानी गर्न थालेको छ । त्यसबाहेक खुला शोमार्फत छुट्टै रकमसमेत हात पारिरहेको छ ।
कमेडी सर्कलको आम्दानी पनि क्रमशः बढ्दो छ । क्षितिज केसी, अपूर्व क्षितिज सिंह, सुजन जिम्बा, हिमेश पन्त, धिमान्त अधिकारीका साथै सुरज खड्गी, अनुप घिमिरे, नमुना गिरी, सन्जु कटुवालजस्ता कलाकार व्यवसायिक रुपमै अघि बढेका छन् । स्टोरी ट्रेलर र कमेडी टुकटुककी शैली बस्नेतले नेपालमा मात्र नभै अमेरिकाको कमेडियन क्लबमा समेत शो गरेर ख्याती कमाएका छन् । त्यसबाहेक स्टोरी ट्रेलरका आयुष श्रेष्ठ, सीमा गोल्छा, रजिना श्रेष्ठ, श्रद्धा बर्मा, योजना मगर, श्रेया पोख्रेलले पनि क्रमशः चर्चा पाउँदैछन् । आयुष एउटा कमेडी शोबापत २५ हजार रुपैयाँसम्म शुल्क लिएको अनुभव सुनाउँछन् । यद्यपि सामान्यतः एकजना कलाकारले न्यूनतम ४ हजारभन्दा माथि शुल्क लिइरहेका छन् । कमेडीयन क्लबका युट्युब च्यानलमा नेपालकै स्थापित कम्पनीहरूबाट ब्यवसायिक विज्ञापनसमेत आउन थालेको छ ।
अडिसनबाटै छनौट हुने मौका
स्ट्यान्डअप कमेडीका लागि नयाँ क्षमतावान युवाहरूलाई प्रशस्त अवसर प्राप्त हुन्छ । हाल सन्चालित क्लबहरूले आफ्नै कार्यालयमा अडिसन मार्फत कलाकारको छनौट गर्ने गरेका छन् । त्यसबाहेक कतिपय इभेन्ट म्यानेजम्यान्ट कम्पनीले कलेजका विद्यार्थीहरूलाई लक्षित गरी कमेडी शो को अडिसन सञ्चालन गरिरहेका छन् । गायन र नृत्य जस्तै कमेडीको पनि ठूला अडिसन हुने क्रम बढ्दो छ । अडिसनमार्फत छनौट भैसकेपछि क्लबहरूले नै नयाँ कलाकारहरूलाई अवसर प्रदान गर्छन् । प्रहसनसहितको कमेडी हेरिरहेका क्रेजीहरूले समेत फरक स्वाद लिइरहेका छन् ।
विदेशको प्रभाव
भारतमा दुई दशकअघि देखि नै टेलिभिजनका पर्दामा स्ट्यान्डअप कमेडी शो देखाइन्थ्यो । भारतमा यस्ता थुप्रै कमेडी क्लब स्थापना भएका छन् । विश्व कल्याण रथ, जाकिर खान, करुणेश तलुवार, कपील शर्माजस्ता कमेडियनले भारतमा प्रशस्त चर्चा बटुलेका छन् । अमेरिकामा कमेडी वर्क्स उस्तै चर्चित छ । युरोप तथा अफ्रिकाका देशहरूमा व्यवसायिक रूपमा कमेडी शो हुन्छन् । मानिसहरू शुल्क तिरेर कमेडी हेर्न तथा सुन्न हल वा खुल्ला स्टेजमा पुग्छन् । विदेशमा कमेडी शोकै लागि करोडौं खर्चेर सुविधा सम्पन्न स्टेज तयार गरिएका छन् । यस क्रममा नेपालमा पनि स्ट्यान्डअप कमेडी व्यवसायिक बन्दै गएको छ ।
नयाँ पुस्तालाई स्वागत छ
मनोज गजुरेल, हास्यकलाकार
स्ट्यान्डअप कमेडीमार्फत युवा प्रतिभाहरूको आगमनले खुसी बनाएको छ । उनीहरूले आफ्नो पुस्तालाई राम्रोसँग सम्बोधन गर्न सकून् । युवाहरूको मनोदशा बुझेर सामाजिक मर्यादा वा सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता बुझेर प्रस्तुति दिनु राम्रो हुन्छ । हामीले सामाजिक एवं सांस्कृतिक प्रभावलाई अध्ययन गरेर प्रस्तुति दिए पनि नयाँ पुस्ताले आफ्नो जनजीवनसँग नजिक भएर दिइरहेको प्रस्तुति राम्रो छ । यद्यपि सतही व्यंग्य मात्र नभै विषयवस्तुमाथि गहन अध्ययन गरेर प्रस्तुति दिनु उपयुक्त हुन्छ ।
विदेशको नक्कल गर्नुभन्दा पनि हाम्रो सामाजिक विशिष्टतालाई ध्यानमा राख्नुपर्छ । विषयवस्तुको मिहिन अध्ययन गरेर गहन रूपमा प्रस्तुति दिन सके सुनमा सुगन्ध थपिनेछ । हँसाउनका लागि मात्र विषयवस्तु छनौट गर्दा वा अश्लील र भद्दा प्रस्तुति दिँदा हांस्यव्यंग्यको मर्यादा नै घट्छ । त्यसैले सामाजिक जीवनका घटना एवं युवापुस्ताको मनोभावना बुझेर प्रस्तुति दिन सक्नुपर्छ ।