खुम्बुक्षेत्रमा विभिन्न गन्तव्य छन् जसमा एउटै समयमा सबै गन्तव्य पुग्न असम्भव हुनसक्छ । त्यसलाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर फरक–फरक समयमा जान सकियो भने अवश्य ती यात्रा अविष्मरणीय हुनेछन् । हाम्रो देशमा भएको विश्वको सर्वोच्च शिखर हेर्न बर्सेनि हजारौं विदेशी आउँछन्, तर हामी आफैं त्यहाँसम्म पुग्न किन छुटाइरहेका छौँ भन्ने पश्चाताप खुम्बुक्षेत्रको भ्रमणपछि नै हुन्छ । खुम्बु क्षेत्रमा समय छुट्याएर घुम्न सकिने फरक–फरक गन्तव्य कुन–कुन हुन सक्छन् त ?
संसारभरकै पर्यटकको रोजाइ हो— खुम्बुक्षेत्र । यसलाई सगरमाथा क्षेत्र पनि भनिन्छ जहाँ सर्वोच्च शिखर सगरमाथासँगै दर्जनौं हिमाल छन् । अत्यन्तै महँगो छ भन्ने हल्लाका कारण नेपाली पर्यटकहरू खुम्बु जान हिचकिचाउँछन् । यद्यपि अहिले बिस्तारै नेपाली पर्यटकहरू पनि खुम्बुक्षेत्र पुग्न थालेका छन् । नेपालीले बास नपाउने समस्या बिस्तारै समाधान हुन थालेको छ । यद्यपि पर्यटकीय मौसममा विदेशी पर्यटकको भीडका कारण कहिलेकाहीं समस्या हुनसक्छ ।
खुम्बुक्षेत्रमा विभिन्न गन्तव्य छन् जसमा एउटै समयमा सबै गन्तव्य पुग्न असम्भव हुनसक्छ । त्यसलाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर फरक–फरक समयमा जान सकियो भने अवश्य ती यात्रा अविष्मरणीय हुनेछन् । हाम्रो देशमा भएको विश्वको सर्वोच्च शिखर हेर्न बर्सेनि हजारौं विदेशी आउँछन्, तर हामी आफैं त्यहाँसम्म पुग्न किन छुटाइरहेका छौँ भन्ने पश्चाताप खुम्बुक्षेत्रको भ्रमणपछि नै हुन्छ । खुम्बु क्षेत्रमा समय छुट्याएर घुम्न सकिने फरक–फरक गन्तव्य कुन–कुन हुन सक्छन् त ?
१. नाम्चे
सगरमाथाको प्रवेशद्वार हो— नाम्चे । नाम्चे समुद्री सतहभन्दा ३ हजार ४ सयदेखि ३ हजार ६ सय मिटर उचाइसम्म फैलिएको छ । लुक्लाबाट दुई दिनमा पुग्न सकिने नाम्चेमा दुई रात बसेर फर्कन सकिन्छ । नाम्चे पुगेको भोलीपल्ट नजिकका स्थल स्याङबोचे, खुम्जुङ, खुन्दे आदि घुम्न सकिन्छ । खुम्जुङ गुम्बामा भएको यतिको टाउको तथा स्याङबोचेको एभरेष्ट भ्यू होटल त्यहाँका प्रमुख आकर्षण हुन् । स्याङबोचेमा देशकै एकमात्र याक विकास फार्म छ । नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्जको संग्रहालय पुग्न सकिन्छ । काठमाडौंबाट विमानमा लुक्ला हुँदै नाम्चे आसपास घुमेर फर्कन बढीमा ४ देखि ५ दिन लाग्छ भने खर्च १५ देखि २० हजार रुपैयाँसम्म हुनसक्छ ।
२. गोक्यो
४ हजार ७ सय ५० मिटरको उचाइमा अवस्थित गोक्यो विदेशीहरूको प्रमुख गन्तव्य हो । सगरमाथा आधार शिविरपछि दोस्रो प्राथमिकतामा पर्छ गोक्यो । गोक्योको यात्राका लागि सातदिनदेखि नौ दिन समय पर्याप्त हुन्छ । नाम्चेबाट बढीमा तीन दिनमा गोक्यो पुगिन्छ । लहरै भएका सातवटा हिमताल गोक्योका प्रमुख आकर्षण हुन् । निलो र सफा रंगको गोक्यो चिसो मौसममा आईस बनेर जम्छ । गोक्यो रि माथि चढेर ती सबै तालको अवलोकन गर्न सकिन्छ । ३० देखि ३५ हजार रुपैयाँमा गोक्यो घुमेर फर्कन सकिन्छ ।
३. त्याङबोचे
३ हजार ९ सय मिटर उचाईमा रहेको त्याङबोचेको पदयात्रा पनि निकै लोकप्रिय छ । नाम्चेबाट एकदिनमा पुगिने त्याङबोचे सगरमाथा आधारशिविर जाने बाटोमा पर्छ । जहाँ ६ सय वर्ष भन्दा पुरानो गुम्बा छ । त्याङबोचे र पाङबोचे गुम्बा यो क्षेत्रकै सबैभन्दा पुराना र चर्चित गुम्बा हुन् ।
हिमालको फेदमा रहेको गुम्बा हिउँ परेका बेला अत्यन्तै आकर्षक देखिन्छ । यहाँ सुविधासम्पन्न होटलहरू छन् । नजिकै रहेको जंगलमा डाँफे, कस्तुरी, हिमाली झारलको झुन्ड हेर्न पाउँदा यात्रा अझ रोमाञ्चक हुन्छ । त्याङबोचेका लागि एक साता छुट्याउन सके पुग्छ । २५ देखि ३० हजार रुपैयाँ खर्चमा त्याङबोचे पुगेर फर्कन सकिन्छ ।
४. आधारशिविर
सगरमाथा आधारशिविर अधिकांश पर्यटकको पहिलो रोजाइ हो । सगरमाथाको फेदमै पुग्ने सपना धेरैमा हुन्छ । यसका लागि काठमाडौंबाट लुक्ला भएर विमानमार्फत यात्रा तय गर्ने हो भने १३ देखि बढीमा १५ दिन लाग्न सक्छ । ५ हजार ३ सय ८० मिटरको उचाइमा रहेको आधारशिविर यात्राकै बीचमा गोरक्सेप नजिकै रहेको ५ हजार ५ सय मिटर उचाइको कालापत्थर पुगिन्छ । जहाँबाट सगरमाथाको शिखरलाई वारीपारी बनाएर हेर्न सकिन्छ । आधारशिविर याक्राका त्रममा पर्याप्त होटलहरू फेला पार्न सकिन्छ । ३५ देखि ४० हजार नगदले आधारशिविरको खर्च धानिन्छ । खुम्बुक्षेत्रको सबैभन्दा ठूलो समस्या लुक्ला विमानस्थल हो । जहाँ बिग्रिरहने मौसमले कहिलेकाही बसाई लम्ब्याउन सक्छ । वैकल्पिक मार्ग सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै यात्रा तय गर्ने हो भने दुई दिन बढी लाग्छ ।
५. इम्जा
इम्जा हिमताल यो क्षेत्रको अर्को पर्यटकीय गन्तव्य हो । आईल्यान्ड पिक चढ्न जानेहरूका कारण इम्जा आसपासमा हिमाल आरोहीहरू पुगिरहेका हुन्छन् । काठमाडौंबाट पदयात्रा गर्दा इम्जा पुग्न आठ दिन लाग्छ । फर्कंदा सहित गरेर १० दिनमा इम्जाको पदयात्रा पूरा हुन्छ । ५ हजार १० मिटरको उचाईमा रहेको इम्जा हिमताल जोखिममा रहेको हिमतालका रूपमा समेत परिचित छ । नाम्चेबाट त्याङबोचे, दिङबोचे, छुकुङ हुँदै पुगिने इम्जाको बाटोमा प्रशस्त होटल छन् । ३५ हजारसम्म खर्चले इम्जा पुगेर फर्कन सकिन्छ ।
खुम्बुका अन्य गन्तव्य
खुम्बुमा तीनवटा चर्चित पास (भन्ज्याङ) छन्— चोला (५ हजार ४ सय २० मिटर), रेन्जोला (५ हजार ३ सय ४५ मिटर) र कोङमाला (५ हजार ५ सय ३६ मिटर) । यी पास साहसिक पदयाक्रा गर्नेहरूका बीच बढी चर्चित छन् । आधारशिविर जाने त्रममा करिब ४ हजार ९ सय मीटरको उचाइमा रहेको थुक्ला पास पनि कठिनमध्येमा पर्छ । कोङदे रिसोर्ट पछिल्लो समय बनेको नयाँ गन्तव्य हो । कोङदे हिमालको फेदमा बनेको यो रिसोर्ट केही विवादित समेत भएको थियो, तर उक्त रिसोर्ट हाल सञ्चालनमै छ । निकुञ्जको जग्गाक्षेत्रमा परेको भन्दै विवादित कोङदे रिसोर्ट पदयात्रीहरूका लागि भने आकर्षक गन्तव्य हो ।
खुम्बु सडक मार्गसँग जोडिँदै
खुम्बु पासाङल्हामु गाउँपालिकाको खरिखोला सम्म सदरमुकाम सल्लेरीबाट कच्ची सडक जोडिइसकेको छ । अबको दुई वर्षभित्र लुक्ला सम्म सडक जोड्ने लक्ष्य खुम्बु पासाङल्हामु गाउँपालिकाको छ ।
त्यसैले लुक्ला विमानस्थलमा नियमित उडान हुन नसकेपनि सडकमार्ग भएर बढीमा दुई दिनमा काठमाडौंबाट लुक्ला पुग्न सकिन्छ । त्यहाँबाट भने पैदल यात्रा गर्नुपर्ने हुन्छ । सडक जोडिएपछि आन्तरिक पर्यटक थपिनेमा खुम्बुका होटल व्यवसायीहरू ढुक्क छन् । विदेशी तथा नेपाली दुवै पर्यटकलाई धान्न सकिन्छ कि सकिन्न भन्ने चिन्ता उनीहरूमा छ । नाम्चेमा मात्र कम्तीमा ४० वटा व्यवस्थित होटल छन् ।
दिङबोचेमा पनि करिब ३० वटा होटल छन् । लुक्लाभन्दा माथि साना–ठूला गरेर ५ सयभन्दा बढी होटल छन् । लुक्ला सम्म सडक जोडिएपछि खाद्यान्न केही सस्तो हुँदा अहिलेको तुलनामा महँगीसमेत केही घट्ने आशा गर्न सकिन्छ । खुम्बुक्षेत्र समग्रमा पदयात्रा, फिल्म सुटिङ, आरोहण, जंगली जनावरदेखि बौद्ध धर्मसम्बन्धी कला–संस्कृति अवलोकन गर्ने संसारकै प्रमुख गन्तव्य हो ।