यात्रा रहेछ जिन्दगी, एक्लै म हिँडिदिन्छु...चलचित्र निर्मात्री तथा डिजाइनर पूनम क्षेत्री गौतमको जीवनमा यो पंक्ति ठ्याक्कै लागू हुन्छ । विश्वका दर्जनभन्दा बढी गन्तव्य एक्लै चहारिसकेकी पूनम पाँच वर्षअघि पहिलो पटक एक्लै हङकङ पुग्दा अलि डराएकी थिइन् । त्यसपछि उनी संयुक्त अरब इमिरेट्सको दुबई, फ्रान्सको पेरिस तथा अमेरिकाका विभिन्न राज्यको भ्रमणमा निस्किन्, त्यतिबेला पनि उनी एक्लै थिइन् । एकपछिको अर्को एक्लो यात्राले उनमा साहस थप्दै गयो । ती यात्राको अनुभवले उनलाई अझ बढी अनुशासित र जिम्मेवार बनाएको छ ।
दर्शना केसीलाई ठूला जहाज र पृथक् परिवेश कहिल्यै नौला लागेनन्, किनभने उनी बाल्यावस्थादेखि नै यसमा ‘युज टु’ भैसकेकी थिइन् । आठ वर्षको उमेरमा आमासँग हङकङ पुगेकी दर्शनाले त्यसयता भारत, हङकङ, सिंगापुर, थाइल्यान्ड, मलेसिया, पाकिस्तान तथा अमेरिकाका थुप्रै राज्यको भ्रमण एक्लै गरिसकेकी छिन् ।
बलिउड फेसन स्टोर पनास रनवेकी सञ्चालक श्वेता सिरोहिया रोक्का वर्षको १५ दिन संसारको कुनै कुनामा एक्लै रमाउँछिन् । यसले आफूभित्रका कमी–कमजोरीलाई सुधार्ने र बलियो पक्षलाई अझ सशक्त बनाउन सहयोग पुर्याउने उनको तर्क छ । श्वेताले भारत, सिंगापुर, दुबई, लन्डन, पेरिस, जर्मनी, स्वीजरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, इजिप्ट, अमेरिका आदि सहर तथा देश एक्लै घुमिसकेकी छिन् ।
टाइगर प्यालेस रिसोर्टको म्यानेजरबाट हालसालै अवकाश लिएर सोल्टी क्राउन प्लाजा ज्वाइन गरेकी अनिता बस्नेत पनि एकल यात्री हुन् । कामकै सिलसिलामा एक्लै भारत, चीन, थाइल्यान्ड, बंगलादेश, बेलायत आदि मुलुक घुमिसकेकी बस्नेत महिलाहरू हरेक कुरामा एक्लै निर्णय लिन सक्छन् भन्ने कुरा प्रमाणित गर्न चाहन्छिन् ।
वैश्वीकरणले संसारलाई सांघुरो बनाएपनि शारीरिक उपस्थितिका हिसाबले यो ब्रह्माण्ड निकै विशाल छ । यसभित्र अनेकन् संस्कार, संस्कृति, रहनसहन, वेशभूषा तथा दृश्यहरू समाहित छन् जसलाई नजिकबाट नियाल्न, बुझ्न र अनुभूति गर्न त्यही पुग्नुपर्छ । यी र यस्तै अनुभव सँगाल्ने रहर र रुचि भएकाहरू यात्रामा रमाउँछन् । यसरी घुम्नेहरूमा पहिले युरोप, अमेरिकाका महिलाहरू अग्रणी देखिन्थे । समाजमा खुलापनको विस्तार र शिक्षामा सहज पहुँचले सिर्जना गरेको अवसरहरू यतिबेला नेपालमा पनि सहज छ । त्यसैले पनि नेपालीहरू अहिले घुम्ने कुरामा अघि देखिएका छन् । खासगरी नेपाली महिलाहरू घुम्ने मामिलामा अहिले बढी उदार र खर्चालु देखिएका छन् ।
नेपालमा पछिल्लो केही दशकयता छुट्टी मनाउन तथा रिफ्रेसमेन्टका लागि परिवारसहित घुमघाममा निस्कने ट्रेन्ड बढ्दै गएको छ । त्यही क्रममा एक्लै यात्रा गर्नेहरू पनि देखिएका छन् । यसरी एकल यात्रामा निस्किनेहरूमा पुरुष मात्र नभै महिलाहरू पनि छन् । माथि दिइएका उदाहरणमा उल्लेख गरिएका महिलाहरू त्यस्तै प्रतिनिधि पात्र हुन् ।
एक्लै संसार घुम्ने ती नेपाली महिला एकल भ्रमणले आफूमा आत्मविश्वासको तह निकै उँचो बनाएको र परिआएको खण्डमा जस्तोसुकै काम एक्लै सम्पन्न गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको बताउँछन् ।
दर्शनाकी आमाले सानैदेखि उनलाई सिकाएका तीन कुरा–नयाँ कुरा सिक, नयाँ काम गर र आफूलाई चिन भन्ने नै हो । यही मन्त्र अनुसरण गर्दै दर्शना हुर्कंदै गइन् । कालान्तरमा उनले स्वतन्त्र घरपरिवार र श्रीमान् पाइन् । अभिनेता भुवन केसीका कान्छा भाइ तथा दर्शनाका श्रीमान् प्रज्वलले उनलाई कुनै रोकटोक गरेनन् । बेटर होम्सकी कार्यकारी निर्देशक दर्शना आफू एक्लो घुमन्ते हुनुको कारण आफैलाई क्रिएटिभ, कन्फिडेन्ट, सदावहार र तरोताजा बनाउनु हो भन्ने तर्क गर्छिन् । एक्लै यात्रा गर्दा नेतृत्व सीप बढ्छ, अनुशासित भइन्छ, हाम्रो देशमा के पुगेको छैन त्यो सिकिन्छ, सभ्य भइन्छ, नयाँ कुरा सिकेर आफ्नै देशमा प्रयोग गर्न प्रयास गरिन्छ, आफूलाई उत्पादनशील बनाउन सकिन्छ । एकल यात्री हुँदाका फाइदा र सिकाइका बारेमा दर्शना भन्छिन्– ‘एक्लै हिँड्दा आफ्नो सुरक्षा आफैं गर्नुपर्छ भन्ने हुन्छ जसले आफूलाई बहादुर बनाउँछ । घरबाहिर यति टाढा आएर पनि म एक्लै केही गर्न सक्दो रहेछु भन्ने गर्वानुभूतिले आफैंप्रति सम्मान बढेर आउँछ । त्यसबाहेक आफूलाई एक्सप्लोर गर्ने र आफ्नो क्षमता चिन्ने अवसर मिल्छ ।’ कोही नभए पनि म एक्लै लडेर जीउन सक्छु भन्ने कुरा आमाबाट सिकेकी दर्शना यात्राका लागि हरेक व्यवस्थापन आफैं गर्छिन् ।
चलचित्र मारुनीकी निर्मात्री पूनम एक्लै संसार घुम्न थालेदेखि कसरी बोल्ने, हिँड्ने, खाने, सोच्ने, संसारलाई कसरी हेर्ने र व्यवहार गर्ने जस्ता कुरामा आफूमा निक्कै परिवर्तन आएको बताउँछिन् । ‘एकल यात्राले मलाई धेरै कुरा सिकाएको छ । मेरो सोच नै परिवर्तन भएको छ । यात्रा र संसार के हो ? छर्लङ्ग भएको छ । मानव जीवन के हो ? बुझ्ने अवसर प्राप्त गरेकी छु ।’ एकल यात्राले आफूमा आएको सकारात्मक परिवर्तन सेयर गर्दै पूनम भन्छिन्– ‘म तीन वर्षअघि एक्लै अमेरिका जाँदा सबै कुरा आफैंले गर्नुपर्दा कतिसम्म जिम्मेवार र सजग भइँदो रहेछ भन्ने कुरा सिकें । त्यतिबेला म घुम्ने उद्देश्यले अमेरिका गएकी थिएँ । त्यो यात्राले मलाई अमेरिका मात्र घुमाएन, अपितु आत्मविश्वासीसमेत बनायो ।’ पूनमको विचारमा यसरी एकलै संसार घुम्नु भनेको एक खुड्किलो माथि उक्लिनु हो ।
फेसबुकमा रहेको ‘सोलो ट्राभलर सोसाइटी’ का सवा २ लाख प्रशंसकमध्ये ६३ प्रतिशत महिला छन् । बुकिङ सर्भे वेबसाइटका अनुसार ६५ प्रतिशत अमेरिकी महिला छुट्टी मनाउन एक्लै हिँड्ने गरेका छन् । उक्त साइटका अनुसार सोलो ट्राभलरका रूपमा यात्रा गर्नेहरूमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । सोही सोसाइटीमार्फत जोडिन पुग्ने छुट्टा–छुट्टै मुलुकका महिलाहरू पनि एउटै डेस्टिनेसन छनौट गरी ‘सोलो ट्राभलर्स फ्रेन्ड्स’ बन्न सक्छन् । किन एक्लो यात्रा त ? यसको उत्तरमा ‘सोलो ट्राभलर सोसाइटी’ का एकल महिला यात्रीमध्ये ४६ प्रतिशतले स्वतन्त्रता, आत्मनिर्भरता र आफ्नो भित्री चाहना बुझ्न, २२ प्रतिशतले अर्कालाइ कुर्न नसक्ने अधैर्य स्वभाव तथा १५ प्रतिशतले आत्मविश्वास भर्ने चुनौती कारक रहेको बताएका छन् । त्यसबाहेक आफ्नो इच्छा अनुसार स्वतन्त्रतापूर्वक आफ्नै ढंगले यात्रा गर्न भन्नेहरू पनि भेटिए ।
नेपालमा पनि एकल महिला यात्रीको संख्या बढिरहेको जानकारहरू बताउँछन् । विगत केही बर्ष यता एक्लै संसार घुम्ने नेपाली महिलाहरूको संख्या लगातार बढिरहेको छ । यति नै भनेर संख्या तोक्न नसकिए पनि यस्ता महिलाहरूको संख्या बढिरहेको छ । यसको मुख्य कारण नेपाली महिलाहरूका शैक्षिक एवं आर्थिक हैसियतमा देखिएको युगान्तकारी परिवर्तन नै हो ।
अनिता बस्नेत / सेल्स एन्ड मार्केटिङ म्यानेजर, सोल्टी क्राउन प्लाजा
एकल यात्राले मेरो निर्णय क्षमता बढाएको छ ।
नेतृत्व सीपका विकास गरेको छ ।
धैर्य गर्न सिकाएको छ र त्यसले मेरो सोच बदलेको छ ।
जस्तोसुकै परिस्थितिमा पनि विचलित हुनबाट जोगाएको छ ।
महिलाले किन एक्लै यात्रा गर्ने ?
स्वतन्त्रता अनुभूति हुन्छ ।
नयाँ मानिस, संस्कृति, खानपान एवं संस्कारसँगको साक्षात्कार
आत्मविश्वास वृद्धि हुन्छ ।
गन्तव्यका विषयमा जानकार भइन्छ ।
संसाधनको ज्ञान बढ्छ ।
सम्झौताबाट टाढा भइन्छ ।
जिम्मेवार, कुशल व्यवस्थापक र अनुशासित भइन्छ ।
पूनम क्षेत्री गौतम/ चलचित्र निर्मात्री
एउटा देशप्रेमीका नाताले आफ्नो मुलुकलाई संसारभर चिनाऊँ भन्ने भित्री इच्छा एवं उद्देश्य हो । मलाई फरक देशका फरक मानिसको सोच र व्यवहार बुझ्न रमाइलो लाग्छ । अर्को कुरा एकल यात्रामा म आफूलाई शरीर र दिमागभन्दा भिन्न राखेर आत्मा भएको महसुस गर्छु । म स्वतन्त्र आत्मा हुँ, जुन मलाई यात्राले सिकाएको सबैभन्दा ठूलो कुरा हो ।’
सोलो ट्राभलर्सका टार्गेट
एक्लो घुमन्ते भएर बिताएका ती दिनहरू आगामी कामका लागि शुभ बनुन् ।
केही समयका लागि आफू आफैं भएर बाँच्ने ।
आफूभित्रका शक्ति, बलिया पक्ष र खुबीलाई उजागर गर्ने तथा एकान्तमा आफ्ना कमी–कमजोरीहरू केलाउने ।
शारिरीक तथा मानसिक रूपमा फिट एन्ड फाइन रहने ।
आफूलाइ बोल्ड बनाउने ।
अनुशासित तथा जिम्मेवार हुने ।
दर्शना केसी/ कार्यकारी निर्देशक, बेटर होम्स
एकल यात्रा— सिक्ने र आफूलाई चिन्ने अवसर
ट्राभल एरेन्जमेन्ट— म आफंै गर्छु ।
यात्राबाट सिकेको— लिडरसिप, कन्फिडेन्ट तथा सिभिलाइजेसन
अविस्मरणीय यात्रा— हङकङ र अमेरिका
एकल यात्रा गर्न चाहनेहरूलाई— तपाईं बहादुर भएर फर्कनुहुन्छ ।
श्वेता सिरोहिया रोक्का / सञ्चालक, पनास रनवे
यसरी एक्लै संसार घुम्दा डर लाग्दैन ?
म तीन दाजुभाइकी एक्ली बहिनी, परिवारकी एक्ली छोरी हुँ । असाध्यै पुलपुलिएकी छोरी, बहिनी र श्रीमती । पहिलो पटक एक्लै यात्रा गर्दा मलाइ होम सिक भयो, त्यसपछि म सेल्फ–लभमा परें । त्यसपछि म भित्रैदेखि बलियो हुँदै गएँ र आफूलाई माया गर्न थालें । अहिले संसारको जुनसुकै स्थानमा गए पनि डराउँदिनँ, जसको श्रेय मेरो एकल यात्रालाई जान्छ ।
यस्तो यात्राबाट तपाईंले प्राप्त गरेको उपलब्धि ?
मैले संसारलाई नजिकबाट बुझ्ने मौका पाएँ । आफूले आफूलाई माया गर्न सिकें । आफ्ना लागि जिउन सिकें । हरेक वर्ष १५ दिन मैले आफ्ना लागि समय पाएँ । त्यसपछि म शारीरिक एवं मानसिक रूपमा पनि फिट हुन थालें । काममा उत्साह र जाँगर बढ्न थाल्यो ।
हाम्रो जस्तो पुरुष निर्णायक मानिने मुलुकमा महिलाका लागि यो कार्य कत्तिको चुनौतीपूर्ण छ ?
समाज र यसभित्रका रीति तथा व्यवहार एक ठाउँमा छन् तर आफ्नो जीवन सूचारु गर्न धेरै कुरा आफैंमा भर पर्छ । म वर्षका ३ सय ५० दिन घरपरिवार र बालबच्चालाई दिन्छु । उनीहरूका लागि मेरो समय, श्रम र पसिना खर्चिन्छु । हरेक दिन साँझ नपर्दै घर पुग्छु । हामी श्रीमान्–श्रीमतीबीच बलियो विश्वास छ । मलाई वर्षको १५ दिन (मेरो जन्मदिनको अवसर पारेर) श्रीमान् आफैंले तिमी निष्फिक्री आफ्नो जीवन बाँच, खुसी लिएर आऊ भनेर घुम्न पठाउनुहुन्छ ।