आमाबुवाको सम्बन्ध बिग्रिएपछिको भावनात्मक पीडाबाट ग्रुजिएकी पुनम श्रेष्ठले जुडोमा स्वर्ण जितिन् । आमासँगै भाडाको कोठामा बसेर म्याटमा अभ्यास गरेकी पूनमको स्वर्णयात्रा भावनात्मक पीडा र अभावबाट ग्रुजिएको छ ।
स्थान : केरला, भारत
प्रतियोगिता : एसियन गेम–२०१६
जुडो खेलका लागि नेपालको प्रतिनिधि गर्दै केरला पुगेकी थिइन्, पूनम श्रेष्ठ । खेलस्थल नजिकैको होटलमा आराम गरिरहेकी थिइन् । खेल सुरु हुने घडी नजिकिएसँगै उनको मुटुको चाल तीव्र हुँदै थियो । ठीक त्यही बखत आफन्तले उनका बुवाको तस्बिर पठाए, जहाँ संक्षिप्तमा लेखिएको थियो, ‘बुवा बित्नुभो ।’
पूनमको मुटुको चाल रोकिएझैं भयो । यो अप्रिय खबरले उनको ह्दयमा तुफान ल्याइदियो । हुन त पूनमले बुवाको आश्रय र माया सानै उमेरमा गुमाइसकेकी थिइन् । आमा र बुवाबीच सम्बन्ध बिग्रिएसँगै पूनम आमाको काखमा हुर्किइन् । त्यसैले बुवासँग खासै धेरै घुलमिल थिएन । यद्यपि बुवा बितेको सुन्दा त्यो क्षण उनको नौ–नाडी गल्यो ।
जे भए पनि खेल्नु नै थियो । उनी गह्रौं पाइला चाल्दै रिङमा प्रवेश गरिन् । तर, रिङभित्र पूनमले आफ्नो खेल देखाउन सकिनन्, हारिन् ।
० ० ०
स्थान : लगनखेल, ललितपुर
प्रतियोगिता : दक्षिण एसियाली खेलकुद– २०१९
१३ औं सागअन्तर्गत जुडो खेल सुरु हुनुअघि पूनमले आमालाई भनेकी थिइन्, ‘मेरो खेल हेर्न आउनु है ।’ आमालाई लाग्यो, आफूलाई त्यहाँ देखेर छोरीले राम्ररी खेल्न सक्दिन । सामान्य ज्यालादारी गर्ने आमा खेल हेर्न गइनन् ।
पूनमले फोन गरिन्, ‘आमा, मलाई टिभीमा हेर्नु, टिभीमा मैले खेलेको देखाउँछ ।’ आमाले आफू काम गर्ने गेस्टहाउसको टेलिभिजनमै अधैर्यसाथ छोरीको खेल हेरिन् । आमाको आँखा रसायो । टेलिभिजनमा छोरीले स्वर्ण जितेको देखाइरहँदा आमाले मन थाम्नै सकिनन् ।
७८ केजीमुनिको तौल समूहमा पूनमले बंगलादेशी खेलाडी फेरिना खानोमलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् ।
० ० ०
स्थान : सुन्धारा, काठमाडौं (एक गेस्टहाउसको बार्दली)
सागको चटारो पछिको फुर्सदिलो दिनमा आमासँगै एक गेस्टहाउसमा बसिरहेकी थिइन्, स्वर्ण विजेता पूनम श्रेष्ठ । उनकी आमा त्यही गेस्टहाउसमा ज्यालादारी गर्छिन् । एक्ली आमाको आश्रयमा हुर्किएकी पूनम यतिबेला भने आफ्नो खेल–जीवनका कठिन क्षणहरू स्मरण गरिरहेकी थिइन् ।
उनी निकै विपन्न परिवारमा चितवनमा जन्मिएकी हुन् । सानै छँदा बुवाले आमालाई छाडिदिए । त्यसपछि आफ्ना लालाबाला च्यापेर आमा काठमाडौं आइन् । त्यसबेला पूनमसँगै उनकी दिदी र सानो भाइ साथमा थिए ।
आमाले सुन्धारास्थित पोखरा प्यालेस होटलमा काम गर्दै छाक जुटाउन थालिन् । यता पूनम र उनकी दिदी भने अनाथ बालबच्चा राख्ने होस्टलमा पुगिन् । त्यहाँ उनले कक्षा पाँच र उनकी दिदीले एसएलसीसम्मको पढाइ पूरा गरे । त्यसपछि आमासँगै भाडाको कोठामा बसिन् र नवयुग माध्यमिक विद्यालयबाट कक्षा १० सम्मको पढाइ पूरा गरिन् ।
होस्टलमा बस्दा उनी फुटबल खेल्थिन् । एक दिन साथीहरूको लहलहैमा त्रिपुरेश्वर पुगेकी पूनमले जुडो खेल हेर्न पाइन् । उनलाई जुडो खेलमा रुचि जाग्यो । हरेक बिहान पूनम जुडो हेर्न त्रिपुरेश्वर धाउन थालिन् ।
त्यही बेला उनको जुडोका गुरु चन्द्रकुमार डंगोलसँग भेट भयो । गुरुले भने, ‘जुडो खेल्छौ भने अनुशासित हुनुपर्छ ।’ पारिवारिक संस्कार राम्ररी नपाएकी र वेपर्वाह हुर्केकी उनलाई ‘अनुशासन’ बारे खास हेक्का थिएन । तर, खेल खेल्दै जाँदा उनले आफ्नो जीवनलाई अनुशासित बनाउँदै लगिन् ।
बिहान विद्यालय, साँझ जुडो । तर, खेल्नका लागि न उनीसँग ड्रेस किन्ने पैसा थियो, न डाइट किन्ने । पैसा कोसँग माग्ने ? आमाको अवस्था दयनीय थियो । पैसाको अभाव भएकाले कहिलेकाहीँ उनी खेल्न पनि जाँदैनथिन् । पूनमको अवस्था बुझेर डंगोल गुरुले बेलाबखत पैसा दिन्थे, आउजाउ र खाजाका लागि ।
छोरी के खेल्दैछे, किन खेल्दैछे, खेलेर के पाइन्छ ? आमा अनभिज्ञ थिइन् । आमालाई यति मात्र थाहा थियो कि, खेल्न पाउँदा छोरी खुसी हुन्छे । छोरीको खुसीकै लागि आमा भन्थिन्, ‘तँलाई खेल्न जाने ठाउँ टाढा भयो भने नजिक डेरा सरौं ।’ उनीहरू त्रिपुरेश्वरनजिक टेकुमा डेरा सरे ।
पूनमलाई जुडोको ड्रेस डंगोल गुरुले किनिदिएका थिए । त्यो ड्रेस पूनमले जतनसाथ राखेकी थिइन् । एक दिन बुवा बालबच्चा भेट्न डेरामा आइपुगे । छोरीले जुडो खेल्छे भन्ने थाहा पाएपछि उनले उक्त ड्रेस च्यातिदिए र आमालाई ‘छोरीलाई पढ्न नपठाएर तँजस्तै बनाउने भइस्’ भन्दै बेस्सरी पिटे । ‘त्यसपछि म धेरै दिनसम्म खेल्न गइनँ,’ पूनमले सम्झिइन्, ‘गुरुले किन नआएको भनेर सोधीखोजी गरेपछि मैले ड्रेस नभएको कुरा बताएँ । उहाँले अर्को ड्रेस किनिदिनुभयो ।’
डंगोल गुरुले पूनमलाई खेलकौशल मात्र सिकाएनन्, सुखदु:खमा साथ पनि दिए । गुरुले आमा र दिदीलाई काममा लगाइदिन्छु भनेपछि पूनम ढुक्कसाथ जुडो खेल्न थालिन् । जुडो खेल्दा चोटपटक लाग्थ्यो, हातखुट्टा मर्कन्थ्यो । मल्हम किनेर लगाउने पैसा थिएन । तैपनि आमाले खेल्न दिन्नन् कि भनेर उनी चुपचाप आफ्नो पीडा लुकाउँथिन् । चोटपटक आफंै बिसेक हुन्थ्यो । खेलमा जितेको पैसा उनी आमालाई बुझाउँथिन् । छोरीले खेल जितेर आउँदा आमाले सोध्ने प्रश्न हुन्थ्यो, ‘कति रुपैयाँ जितेर ल्याइस् ?’
जुडो रिङमा प्रवेश गर्दा पूनमलाई आमाको याद आउँथ्यो । अनि उही प्रश्न उनको कानमा गुन्जिन्थ्यो, ‘कति रुपैयाँ जितेर ल्याइस् ?’ आमाको मन राख्नकै लागि उनी कठिनताका साथ खेलमा लागिरहिन् । घर–परिवारको गर्जो टार्न दिदी वैदेशिक रोजगारीमा गएकी थिइन् । उनै दिदीले पूनमलाई खेल्नका लागि सजिलो बनाइदिइन् । दिदीले बुवाको अभाव टारिदिएकी थिइन् । यस्ता अनगिन्ती अभाव, अप्ठ्यारा झेल्दै पूनमले आफ्नो खेल जीवनलाई गतिशील बनाइरहिन् ।
उनले सन् २०१३ मा भुटानमा आयोजित ‘भुटान–नेपाल जुडो ज्वाइन्ट ट्रेनिङ क्याम्प एन्ड टुर्नामेन्ट’मा स्वर्ण पदक जितिन् । त्यसैगरी २०१६ मा भारतको सिलोङमा १२ औं दक्षिण एसियाली खेलकुदमा ७८ केजी तौल समूहबाट रजत पदक हासिल गरिन् । सोही वर्ष भारतमै भएको १७ औं एसियन जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भइन् । २०१८ मा आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा र थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय नर्थ बैंकक जुडो च्याम्पियनसिपमा कांस्य पदक जितिन् ।
नेपालमा १३ औं साग गेम हुने भएपछि उनी निकै उत्साहित थिइन् । प्रतियोगिताका लागि उनी बन्द प्रशिक्षणमा भएकै बेला दिदीको विवाह हुने भयो । तर, आफूलाई त्यतिका साथ र सहयोग गर्ने दिदीको खुसीमा उनी सामेल हुन सकिनन् । मोबाइलमा भिडियोबाटै दिदीको विवाह हेर्नुपर्ने भयो । त्यसबेला आमाले भनेकी थिइन्, ‘दिदीसँग त पछि पनि भेट हुन्छ, खेलमा ध्यान दिनू । यस्तो मौका फेरि आउँछ कि आउँदैन ।’ मौकाको सही सदुपयोग, लगन, मेहनत, जुडोप्रतिको प्यासनले उनी आज सफल भएकी छन् ।