गाउँ–गाउँमा होमस्टेको अवधारणा पुग्यो, ठाउँ–ठाउँमा पर्यटन लक्षित महोत्सव आयोजना गरिए । यसबाट मध्यमवर्गीय परिवारमा पनि देश–विदेश दर्शन गर्नुपर्छ भन्ने सोच जाग्यो ।
पैसा र समय जोहो गरेर वर्ष दिनमा एकाध पटक घुम्न निस्कनेहरू कति होलान् नेपाली समाजमा ? घुम्नकै लागि आवश्यक बजेट निकालेर, समयको प्रबन्ध गरेर घरबाट निस्कने प्रवृत्ति उति धेरै छैन । घुम्ने संस्कृतिको हाम्रो इतिहास त्यति लामो छैन । सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेपछि नेपालमा घुमफिरको संस्कृति झाँगिएको मानिन्छ । खासगरी नाङ्गो आँखाले हिमाली चुचुरो नियाल्न र साहसिक हिम–आरोहण विदेशीहरू नेपाल आउन थाले । उनीहरूसँग घुलमिल भइरहँदा नेपालीमा पनि घुम्नुपर्छ भन्ने मानसिकता विकास भएको मानिन्छ ।
त्यसबेलासम्म नेपाली समाजमा तीर्थयात्राका लागि मठ–मन्दिर चहार्नेबाहेक घुम्ने संस्कार थिएन । पछि रमणीय ठाउँ हेर्ने, त्यहाँको कला–संस्कृति अवलोकन गर्ने, जिब्रोको स्वाद फेर्ने, फरक रहनसहनसँग साक्षात्कार गर्ने मनसायले घुमफिर गर्ने लहर चल्यो । गाउँ–गाउँमा होमस्टेको अवधारणा पुग्यो, ठाउँ–ठाउँमा पर्यटन लक्षित महोत्सव आयोजना गरिए । यसबाट मध्यमवर्गीय परिवारमा पनि देश–विदेश दर्शन गर्नुपर्छ भन्ने सोच जाग्यो । चाडपर्वको फुर्सदिलो दिनमा वा आफ्नो अनुकूलता मिलाएर देश चहार्ने वा विदेश सयर गर्ने क्रम बढ्यो । घुमफिरको कुरा गर्दा धेरैले ताक्ने गन्तव्य हो, पोखरा, जोमसोम, लुम्बिनी, सौराहा । यद्यपि नेपालमा त्यस्ता अनगिन्ती ठाउँ छन्, जहाँ घुमफिरको बेग्लै अनुभव सँगाल्न सकिन्छ । केही यसप्रकार छन् ।
सन्दकपुर लेकको स्वाद
पूर्वी नेपालको रहनसहन बुझ्न, अर्थोडक्स चिया र अकबरेको स्वाद चाख्न, लेप्चा जातिको रीतिथिति अवलोकन गर्न, झुल्के घामको सुनौलो दृश्य नियाल्न तपाईंले इलामसम्मको यात्रा गर्नुपर्ने हुन्छ । इलाममा श्रीअन्तु, माइपोखरीजस्ता रमणीय ठाउँ छन् । त्यसमध्ये पनि सन्दकपुरको बेग्लै आकर्षण छ । सन्दकपुर इलाम र भारतको दार्जीलिङ सीमावर्ती भूगोल हो, जहाँ गर्मी छल्न पुग्ने गरिन्छ । समुद्री सतहबाट ३ हजार ६ सय मिटरको उचाइमा रहेको सन्दकपुरबाट देखिने आसपासका दृश्यहरूले तपाईंलाई मोहित बनाउनेछ । आँखैअगाडि देखिने हिमशृंखला, सूर्योदयको दृश्य विशेष लाग्नेछ । सन्दकपुरमा बसोबासको समस्या छैन । व्यवस्थित होटल तथा लज छन् । छुर्पी, च्याङ्ग्राको सुकुटी, सुँगुरको मासु, तोङ्वा छुटाउन नहुने यहाँका परिकार हुन् । सन्दकपुरसम्म पुग्न यातायातको पनि सुविधा छ ।
अरुण उपत्यका चराचुरुङ्गीको संसार
तपाईं भूगोलमा रुचि राख्नुहुन्छ, चराचुरुङ्गीका बारेमा पनि उत्सुक हुनुहुन्छ भने अरुण उपत्यका उपयुक्त गन्तव्य हुनसक्छ । यो विश्वकै सबैभन्दा गहिरो उपत्यका मानिन्छ । अरुण उपत्यका समुद्री सतहभन्दा ३ हजार ६ सय मिटरसम्म गहिरो भएको अनुमान गरिन्छ । साथै यो क्षेत्र चराहरूको सुरक्षित आश्रयस्थल पनि हो । भनिन्छ, अरुण उपत्यकामा ६ सयभन्दा बढी जातिका चरा पाइन्छन् । विश्वमै बढी चरा पाइने उपत्यका पनि हो यो ।
त्यसो त भौगोलिक बनावट पनि आकर्षक छ । यस क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको रहनसहन, संस्कृति र जीवनशैली पनि उत्तिकै चाखलाग्दो छ । अरुण उपत्यका संखुवासभा जिल्लामा अवस्थित छ । अरुण उपत्यकाको अर्को विशेषता, यहाँ सबैजसो धर्म मान्नेहरू एकमुस्ट बसोबास गर्छन् । अरुण उपत्यका पुग्न तुम्लिङटारको विमानस्थलसम्म हवाई यात्रा गर्न सकिन्छ ।
तीनजुरे
गुराँस पच्छ्याउँदै
गुराँसले हराभरा जंगल चहार्ने चाहना छ भने तीनजुरे–मिल्के–जलजला क्षेत्र उपयुक्त गन्तव्य हुनसक्छ । गुराँसको राजधानी भनेर चिनिने यस क्षेत्रमा २८ प्रजातिका त गुराँस नै पाइन्छ । यो तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल हो ।
तेह्रथुम जिल्लामा पर्ने तीनजुरेलाई गुराँसको राजधानी भनेर चिनिन्छ । यहाँबाट कञ्चनजंघा र मकालुलाई पनि नजिकबाट नियाल्न सकिनेछ । यस क्षेत्रमा पुगेपछि तपाईंले लिम्बू जातिको रहनसहन, तिनको तिक्खर खान्की ‘वाचिपा’, चौंरीको दूध, तोङ्वा, गुराँसको जुस आदिले जिब्रोको स्वाद फेर्न सक्नुहुनेछ । धरानबाट भेडेटार, वसन्तपुर हुँदै गुराँसको राजधानीमा प्रवेश गर्न सकिन्छ ।
शैलुङ चौंरी डुलाउनेलाई
लेकाली जनजीवन कस्तो हुन्छ ? चौंरी गोठको बास कस्तो हुन्छ ? चांैरीको दूध र छुर्पीको स्वाद कस्तो हुन्छ ? तपाईंमा यस्तै जिज्ञासा छ भने शैलुङको फन्को लगाउनुहोस् । यहाँ पुगेपछि तपाईंले चौंरीको दूधबाट बन्ने थरीथरीको परिकार चाख्न छुटाउनु हुन्न । किनभने शैलुङमा चौंरीपालन गर्ने र त्यसको दूधबाट मिठाई, छुर्पी, चिज आदि बनाइन्छ ।
शैलुङमा सयवटा थुम्को तपाईंलाई विशेष लाग्न सक्छ । यो दुर्लभ जडीबुटीको भण्डारसमेत हो । हिमपात हुनासाथ सहरियाहरू शैलुङलाई गन्तव्य बनाएर घरबाट निस्कन्छन् । अर्थात् हिउँसँग खेल्नका लागि शैलुङ एक निर्विकल्प गन्तव्य हो ।
दोलखा जिल्लामा अवस्थित शैलुङबाट रमणीय हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यसो त यो धार्मिक पर्यटनका लागि पनि उत्तिकै चिनिएको छ । शैलुङमा हरेक १२ वर्षमा गोदावरी फुल्ने विशेष मेलासमेत लाग्ने गर्छ । सयवटा थुम्का भएको शैलुङ पुग्न खोलाखर्कबाट पैदल हिँड्नुपर्छ ।
जलजला आँखाभरि गुराँस
माओवादी द्वन्द्वका बेला धेरै सुनिने नाम हो, जलजला । त्यसो त पहाडी जनजीवन हेर्न र बुझ्न पनि जलजला एक सही गन्तव्य हो । यो पहाड अहिले प्राकृतिक, धार्मिक, सांस्कृतिक आकर्षण बनेको छ । पाखाभरि फुल्ने गुराँसले जलजलालाई बिछट्टै रुपवती बनाउँछ । हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थवाङ गाउँपालिकाले घेरेको छ । रोल्पाको सदारमुकाम लिवाङबाट २४ कोष पूर्व, व्यापारिक केन्द्र सुलिचौरबाट २२ कोष उत्तरमा अवस्थित छ । यो ठाउँ समुद्री सतहबाट ३ हजार १ सय ९३ मिटर उचाइमा छ ।
पोकली झरना हेरिरहूँ लाग्ने
अग्लो पहराबाट झरेको पानीको छाँगो, पानीको वेगसँगै उड्ने भुवाझंै बाछिटाहरू, अनि त्यसमा परेको सप्तरंगी इन्द्रेणी । यस्तो दृश्य देख्दा तपाईं पक्कै रोमाञ्चित हुनुहुन्छ । यो रोमाञ्चकता सँगाल्न पोकली ओखलढुंगा पुग्नुपर्छ । त्यही छ, पोकली झरना ।
हुन त पहाड र हिमाली भूगोललाई समेटेर फैलिएको हाम्रो देशमा यस्ता अनगिन्ती झरना छन् । पोकली झरनाचाहिँ तपाईंलाई विशेष लाग्न सक्छ । यो नेपालकै दोस्रो अग्लो झरना हो । लिखु खोलाको उत्तरपूर्वबाट झर्ने यो झरना चटाने भागमा बजारिँदै झरेको पानीको बेगले आनन्द दिलाउँछ । त्यसो त ओखलढुंगा पुगेपछि थोलेदाम्बा डाँडा पुग्नैपर्छ । नेपालको नक्सा बनाउँदा प्रयोग गरिएका सातवटा डाँडामध्ये एक हो यो । यहाँबाट सगरमाथा, गौरीशंकरलगायतका हिमाली दृश्यहरू निकै आकर्षक देखिन्छ ।
सिन्धुली गढी घुमेर हेर्दा
‘सिन्धुली गढी घुमेर हेर्दा’ गीत सुनेपछि नै घुम्न मन लाग्छ, सिन्धुली गढी । इतिहासमा चासो राख्नेहरूका लागि यो काइदाको गन्तव्य हुनसक्छ । सिन्धुलीगढीले ऐतिहासिक महत्त्व बोकेको छ । नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । अहिले पनि उक्त युद्धका अवशेष त्यहाँ पाइन्छ ।
हाम्रा पूर्खाहरूले शक्तिशाली अंग्रेज फौजसँग युद्ध गरेका थलो हो यो । वि. सं. १९७५ मा सिन्धुली गढीमा सेना बस्न १४ ढोका ५६ झ्यालको दरबार बनाइएको थियो । यो दुईतले दरबारलाई अहिले जीर्णोद्धार गरिएको छ । बीपी राजमार्ग निर्माणपछि सिन्धुलीको सौन्दर्य थप आकर्षण बढेको छ ।
पुनहिल पदमार्ग हुँदै
पहाडी भेगमा पैदल यात्रा गर्ने रहर छ भने पुनहिल रोजाइको गन्तव्य हुनसक्छ । पोखराबाट उक्लिएर अन्नपूर्णतर्फ लाग्ने पदयात्रीहरू पुनहिल हुँदै बढ्छन् । यहाँबाट अन्नपूर्ण हिमाल र धौलागिरि हिमाललाई आँखैअगाडि देख्न सकिन्छ । साथै सिजनमा यहाँका पाखाहरू गुराँसले ढकमक्क हुन्छ । भनिन्छ, पुनहिल क्षेत्रमा मात्र १६ प्रजातिका गुराँस पाइन्छ । हुन त यो पहाड गुराँसकै लागि बढी चिनिएको पनि छ ।
पुनहिल म्याग्दी जिल्लामा अवस्थित छ । समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलले मौसमअनुसार आफ्नो रूप बदल्ने गर्छ । पदयात्रा गर्न चाहनेको लागि पुनहिल सुन्दर गन्तव्य हो । हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि नियाल्न सकिन्छ । पोखरादेखि एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । जंगलको बीचमा ारहेको पहाडको टाकुरामा अवस्थित घोडेपानीदेखि ४५ मिनेट उकालो चढेपछि पुनहिल पुगिन्छ ।
गोरखा दरबार ऐतिहासिक गन्तव्य
गोरखा भनेपछि पृथ्वीनारायण शाहको स्मरण हुन्छ । उनै पृथ्वीनारायण शाहले कस्तो दरबारमा बसेर राज गरेका थिए ? सयौं वर्षअघिको दरबार कस्तो थियो ? हेर्न गोरखा पुग्नुपर्छ । भनिन्छ, यो दरबार चार सय वर्ष पुरानो हो । गोरखा जिल्लामा रहेको ऐतिहासिक दरबार पहाडको टुप्पोमा अवस्थित छ । ४ सय वर्ष पुरानो गोरखा दरबारको राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मको राजाहरूले राज्य गरेको इतिहास छ । त्यहाँ एक पुरानो गुफा पनि छ । दरबारको पश्चिममा देवी गोरखकालीको मन्दिर छ । विभिन्न आकृति कुँदिएको झ्याल ढोकाले दरबारलाई भव्य बनाएको छ । दरबार वरिपरिको मनमोहक दृश्यहरू निकै रमणीय छ ।
बीसहजारी ताल जता हेर्यो उतै राम्रो
तालतलैया हेरेर रमाउनुहुन्छ, पशुपन्छीको दैनिकी नजिकबाट नियाल्नुहुन्छ भने तपार्इं पुग्नुपर्छ, बीसहजारी ताल । चितवनमा पर्ने बीसहजारी ताल बरन्डाभार जंगलभित्र छ । यो ताल विभिन्न राष्ट्रबाट बसाइँसराइ गरी आउने मौसमी चराहरूको आश्रयस्थल हो । रामसार क्षेत्रमा सूचीकृत भएसँगै यो ताल पर्यटकको नजरमा पर्न थालेको छ ।
पर्यटक यस तालमा जलचर, चराचुरुङ्गी र जंगली जनावर हेर्न आउने गरेका छन् । ३२ सय हेक्टरमा फैलिएको यो तालमा दुर्लभ वन्यजन्तुदेखि बाघ, गैंडाहरूले पानी खान आउँछन् । यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीसहजारी ताल नामाकरण गरिएको हो ।
चुम भ्याली हिमालको काखमा
चुम भ्यालीको एउटा खास विशेषता हो, यहाँ कुनै पनि किसिमको हिंसा हुँदैन । मारकाट हुँदैन । चीनसँग सिमाना जोडिएको चुम भ्याली अहिंसाको क्षेत्रले चिनिन्छ । यहाँ पशुबलि निषेध गरिएको छ । यस क्षेत्रमा काटमार गर्न पाइँदैन । त्यतिमात्र होइन, यहाँको कुनै पनि होटल तथा रेस्टुराँहरूमा मासुको परिकार बन्दैन ।
तर, चुम भ्याली त्यति मात्रैमा पनि सीमित छैन । यो आफैंमा एक रमणीय गन्तव्य हो । यहाँको आकर्षक भूबनोटले जो–कोहीको मन तान्छ । हिमालको काखमा बसेको चुम भ्यालीबाट देखिने दृश्यहरू निकै मोहक लाग्छ । यो ठाउँ पदयात्राका लागि उपयुक्त हुन सक्छ । बौद्ध धर्मालवम्बीहरूको बसोबास रहेको चुम भ्याली सांस्कृतिक रूपमा पनि सम्पन्न छ । यस क्षेत्रमा पुग्न गोरखा सदरमुकामबाट ५ दिनको पैदलयात्रा गर्नुपर्छ ।
त्रिपुराकोट डोल्पाको गन्तव्य
मध्यपश्चिमको डोल्पा दुर्गम र विकट भए पनि भौगोलिक रूपले अत्यन्तै सुन्दर जिल्ला हो । हुन त डोल्पा भन्नासाथ धेरैले फोक्सुन्डो ताल सम्झने गर्छन् । यो ताल नेपालकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको हो ।
तर, डोल्पाको आकर्षण यो ताल मात्र होइन, त्रिपुराकोट पनि हो । यहाँ नेपालकै प्रसिद्ध शक्तिपीठ रहेको छ । रमाइलो कुुरा त के भने दसैंमा त्रिपुराकोटमा टीका लगाउने साइत अन्यत्रभन्दा फरक हुन्छ । त्रिपुराकोटले प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको छ । यहाँ सयौं वर्ष पुरानो बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिर रहेको छ । आवश्यक प्रचार–प्रसार नभएकाले यहाँ पर्याप्त मात्रामा धार्मिक पर्यटक कमै आउने गरेका छन् ।
साततले दरबार कति रहरलाग्दो
काठमाडौंबाट नुवाकोट पुग्न कठिन छैन । केही घण्टाको दूरी छिचोलेर नुवाकोट पुग्न सकिन्छ । नुवाकोट पुगेपछि साततले दरबार किन नहेर्ने ? यो सदियौं पुरानो दरबार हो । पृथ्वीनारायण शाहले दोस्रो पटकको आक्रमणमा विजय प्राप्त गरेपछि भव्य नौतले दरबार बनाएका थिए । ९० सालको भूकम्पले दुई तला भत्काएपछि दरबारको साततला मात्र बाँकी भएको हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गर्नुअघि नुवाकोट निकै शक्तिशाली राज्यका रूपमा चिनिएको थियो । नुवाकोट दरबारमा धार्मिक हिसावले महत्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन् । दरबारको सातौं तलामा रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिन्थ्यो ।
तान्जे गाउँ मह सिकार गर्न
नेपालमा पर्वतारोहणका लागि मात्र पर्यटक आउँदैनन् । लुम्बिनी वा पशुपतिनाथको दर्शनका लागि मात्र पनि पर्यटक आउँदैनन् । यहाँ विभिन्न किसिमका पर्यटक आउँछन्, जसमध्ये एक हो मह सिकार हेर्ने । भीर मौरीले बनाउने महको सिकार कसरी गरिन्छ भनेर हेर्नकै लागि पर्यटकहरू नेपालसम्म आइपुग्ने गर्छन् । तर, हामी नेपालमै भएर पनि यसबारे खासै चासो छैन ।
यदि महको सिकार गरेको हेर्ने रहर भए तान्जे गाउँ पुग्नुपर्छ । कहालीलाग्दो भीरमा झुन्डिएर जोखिपूर्ण ढंगले मह सिकार गरेको दृश्य निकै रोचक लाग्न सक्छ । यहाँ मौरीको मह सिकार गर्ने आफ्नै विधि विधान छन् । ती सबै विधि विधान पूरा गरेर मौरीको मह सिकार गरेको हेर्न सकिन्छ । मह सिकार गर्नका लागि दर्जन बढी सिकारी खटिन्छन् । उनीहरूलाई करिब १० घण्टा समय लाग्छ ।
यो लोपोन्मुख परम्परा हो । भनिन्छ, यो परम्परा २ सय वर्षअघिदेखि चलेको हो । तान्जे गाउँ लमजुङ जिल्लामा पर्छ ।
परशुराम धाम धार्मिक पर्यटन
पश्चिम नेपाल यातायातको हिसाबले त्यति सुविधाजनक छैन । तर, त्यहाँको प्राकृतिक सौन्दर्यले जो–कोहीको मन तान्न सक्छ । यस्तै गन्तव्य हो, परशुराम धाम । यो धाम डँडेल्धुरामा अवस्थित छ । धार्मिक आस्था राख्नेहरूका लागि परशुराम उपयुक्त थलो हुनसक्छ । धार्मिक विश्वास के छ भने त्रेतायुगमा परशुरामले यहाँ तपस्या गर्दै यज्ञ गरेका थिए ।
त्यसो त यहाँ पुगेपछि धामको अवलोकन मात्र होइन, आसपासको दृश्यले पनि तपाईंलाई लोभ्याउँछ । यो धाम महाकाली नदीको किनारमा अवस्थित छ । यही महाकाली नदीले नेपाल र भारतको सीमा पनि छुट्याउँछ । पूर्व–पश्चिम राजमार्गको दैजी सडकखण्डबाट परशुराम धाम ३० किलोमिटरको दूरीमा छ ।
बेनी बजार घुम्दैफिर्दै
तपाईंलाई लामो पदयात्रा गर्ने रहर छ, हिमाली सौन्दर्यलाई नजिकबाट नियाल्न मन छ भने तपाईंले बेनी बजारलाई केन्द्र बनाएर नयाँ अनुभव सँगाल्न सक्नुहुनेछ । बेनीबाट धौलागिरि हिमालको आधार शिविरसम्म यात्रा गर्न सकिन्छ । त्यहाँसम्म पुग्ने नयाँ मार्ग छ, धौलागिरि स्याङ्चुरी पदमार्ग । यो पदमार्गबाट झींगाउँ, पाखापानी, कोटगाउँ, रायखर्क, छरी, फेदी हुँदै धौलागिरि आधार शिविरमा पुगिन्छ । यत्तिका दूरी छिचोल्नका लागि तपाईंले सात दिनको समय छुट्याउनुपर्छ । यात्रामा तपाईंले ग्रामीण रहनसहनसँग मात्र साक्षात्कार गर्नुहुनेछैन, नाउर, थार जस्ता दुर्लभ वन्यजन्तु पनि देख्न सक्नुहुनेछ । यो पदमार्ग बेनीबाट सुरु भएर पुन: बेनीमा पुगेर टुंगिन्छ । फर्कनका लागि भने अर्को बाटो समात्न सकिन्छ । काठमाडौंबाट बेनीसम्म आउजाउ गर्न दुई दिन लाग्छ, बस यात्रामा ।
लिमी भ्याली मूर्ति र गुम्बाको उपत्यका
बेग्लै चालचलन, कला संस्कृति, बोलीचाली, पहिरनशैली बुझ्न र हेर्नका लागि तपाईं लिमी भ्याली पुग्न सक्नुहुन्छ । यो हुम्ला जिल्लामा अवस्थित छ । यहाँ बोलिने भाषा, यहाँ मनाइने पर्वमा आफ्नोपन मिल्छ । यो उपत्यकामा तीनवटा गाउँ समेटिएको छ, तिल, हल्जी र जाङ । यी बस्ती आफैंमा निकै पुराना हुन् । यहाँ हल्जी गुम्बा छ । भनिन्छ, हल्जी गुम्बा हजार वर्ष पुरानो हो । ११ औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका सानाठूला गुम्बा नै यहाँको खास आकर्षण हुन् । लिमी भ्याली प्राचीनकालका बहुमूल्य मूर्ति र गुम्बाको उपत्यका हो । यस क्षेत्रलाई लोपोन्मुख एवं दुर्लभ वन्यजन्तुको संरक्षित आश्रयस्थल पनि मानिन्छ ।
लिमी भ्याली पुग्न नेपालगन्ज र सुर्खेतबाट हवाईजहाजमा सदरमुकाम सिमिकोट पुग्नुपर्छ । त्यहाँबाट भने हिल्सा, सल्ली हुँदै बढ्नुपर्छ । तर, तपाईंसँग पर्याप्त समय छैन भने लिमी भ्यालीको यात्रा थाल्नु ठीक हुन्न । किनभने यहाँ आउजाउ गर्न समय लाग्छ । सिमिकोटबाट एक साता पैदल हिँडेपछि लिमी भ्याली पुग्न सकिन्छ ।
खप्तड धर्तीको स्वर्ग
खप्तड पुग्नेहरूलाई लाग्न सक्छ, यो त धर्तीको स्वर्ग हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगममा रहेको खप्तड विशाल घाँसे मैदान हो । खप्तडमा २२ वटा घाँसे मैदान छ । लेकाली फूल र घाँसले हराभरा यो विशाल घाँसे मैदान देख्नसाथ तपाईंले आनन्दित महसुस गर्नुहुनेछ । यसलाई तपोभूमिको रूपमा समेत लिइन्छ । यहाँ वर्षौंअघि खप्तड बाबाले तपस्या गरेका थिए । यसको आसपासमा ५३ वटा थुम्का छन् । तर, खप्तडको आकर्षण यतिमात्र होइन । यहाँ खप्तड दह, नागढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर पनि छ । खप्तडमा लाग्ने गंगा दशहरा मेला पनि निकै प्रसिद्ध छ । यो मेला हरेक वर्ष जेठ महिनामा लाग्छ । खप्तडसम्म पुग्नका लागि तमैल र डोटीको झिंग्रानबाट यात्रा थाल्नुपर्छ । मोटरबाटो हुँदै तमैल पुगेपछि ४ घण्टा जति पैदल हिँड्नुपर्छ ।
बारपाक तंग्रिएको बस्ती
बारपाक भन्नासाथ हामीलाई विनाशकारी भूकम्पको सम्झना हुन्छ । ठूलो जनधनको क्षति हुने गरी २०७२ सालमा गएको भूकम्पको केन्द्रबिन्दु थियो, बारपाक । त्यसबेला यो सुन्दर र विशाल बस्ती तहसनहस भएको थियो । ढुंगाले छाएको एकनासको घर, ढुंगाले बनाइएको बाटो, आगन, गल्ली । विश्वयुद्धमा भिक्टोरिया क्रस विजेता गजे घलेको यो गाउँ कम्ता आकर्षक थिएन । तर, भूकम्प गएसँगै बारपाकले आफ्नोपन गुमाउनुपर्यो । जबकी कुनै बेला बारपाकको चिनारी नै ढुंगै ढुंगाले बनेको घर एवं बस्ती थियो ।
अहिले बारपाक तंग्रिएको छ । पुरानो बारपाक र अहिलेको बारपाक नितान्त भिन्न छ । बारपाकको यात्रा किन पनि रोचक हुन्छ भने यो बस्तीले एउटा भयानक त्रासदी झेलेर अहिले मुस्कुराइरहेको छ । यहाँको जनजीवन आफ्नो लयमा फर्किएको छ । यो आफैंमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ हो । यहाँ पर्यटकीय र ऐतिहासिक सम्पदा छन् ।