९ पुस, दिउँसो गायक रामकृष्ण ढकाल तथा उनकी धर्मपत्नी निलम शाह ढकालबीच सम्बन्ध–विच्छेद भएको खबरले सामाजिक सञ्जाल भरिन थालेपछि हामीले उनैलाई सोध्यौ, ‘कुरा के हो ?’
ढकालले फेसबुक मेसन्जरमा जवाफ लेखे, ‘फेक न्यूज’ । आफू परिवारसँगै घरमै रहेको बताए तर किन डिभोर्सको खबर आएको भन्ने बारेचाहिँ कुनै टिप्पणी गरेनन् । बरु दुई घण्टापछि श्रीमतीसँगको तस्बिर र तीनवटा लभ इमोजी राख्दै फेसबुकमा लेखें, ‘अरूले जे भने पनि हाम्रो सम्बन्ध कहिल्यै मर्ने छैन ।’
निलमले पनि तस्बिरसहित त्यही स्टाटस कपी गरेर इस्टाग्राममा पोस्ट गरिन् । डिभोर्सको हल्ला फैलिएपछि दुवैको प्रयत्न थियो, खबर निराधार सावित गर्ने । तर, त्यतिञ्जेलसम्ममा यी दुई दम्पतीबीचको सम्बन्ध कानुनत: अलग भइसकेको थियो ।
९ पुस मै काठमाडौं जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाले ढकाल र शाहबीच सम्बन्ध–विच्छेदका लागि मिलापत्र भएको निर्णय सुनाएका थिए । त्यसअघि शाहले सम्बन्ध–विच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् ।
‘विवाह भएपछि सुरुका केही समयसम्म हामीहरूबीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय: सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन । हामीहरूलाई केही समय दिनुस्, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बारभन्दा आफ्नो कार्य व्यस्तताले हामीहरूलाई उचित समय दिन सक्नु भएन’, उनले निवेदनमा लेखेकी छिन्, ‘यसैकारणले हामीहरूको बीचमा मनमुटाव तथा सामान्य झै झगडासमेत हुन थाल्यो । मैले हामीसँग विदेश जाउँm, त्यहाँ हामो भविष्य उज्ज्वल छ भनी सम्झाउँदा उहाँले म नेपालमा नै केही गर्न चाहन्छु । मेरो पेसाको भविष्य पनि नेपाल मै छ भन्नुभयो ।’
कागजी रूपमा सम्बन्ध–विच्छेद भए पनि ढकाल दम्पतिसँगै छन् । सार्वजनिक कार्यक्रममा हिँड्डुल, बसउठ्सँगै गरेको देखिएको छ । भौतिक रूपमा मात्रै होइन, भावनात्मक रूपमा पनि यो दम्पतीले आफूहरूबीच सम्बन्ध राम्रो भएको देखाएका छन् ।
‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध–विच्छेदलाई लिएर समाचार बनेका छन्, ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् । त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्छु’,
रामकृष्णले फेसबुकमा लेखेका छन्, ‘विशेष गरी मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रतिको न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेहरूप्रति खेद प्रकट गर्छु । गीत–संगीत क्षेत्रमा मलाई अनवरत रूपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन् । हामी सधैं झैं हाँसी खुसी परिवारमा सँगै छौं । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन ।’
‘फेक न्युज’ भनेर सार्वजनिक प्रतिवादमा उत्रिदा रामकृष्ण आफैं ‘फेक डिभोर्स’ का एक पात्र बनिरहेको चाहिँ बिर्सिए । सामाजिक सञ्जालहरूमा श्रीमती लक्षित आलोचनाको ओइरो लागेपछि प्रतिवादमा उत्रिए पनि उनले सम्बन्ध राम्रो भएको मात्रै बताएका छन् । अदालतमा पेस निवेदन र निर्णय बाहिरिँदा पनि उनले मात्रै यसबारे केही नबोल्ने बताएका छन् । हामीसँग पनि उनले यतिमात्रै भने, ‘यो विषयमा केही भन्न मन छैन । हामीले यसअघि नै आ–आफ्नो कुराहरू सामाजिक सञ्जालमार्फत राखिसकेका छौं । त्यही नै वास्तविकता हो ।’
वास्तविकता रामकृष्णले जति भने, त्यो मात्रै होइन, ‘फेक डिभोर्स’ सम्म पुग्नुपर्ने उनको आफ्नै बाध्यताको कथा छ । सडकबाट सफलताको चुलीमा पुगेर फेरि कसरी मानिस भुइँमै आइपुग्छ ? ढकाल एउटा उल्लेखनीय नजिर हुनसक्छन् ।
उनको कथा सुरु हुन्छ, सडकबाट । वीरगन्ज–हेटौंडा चल्ने बसमा उनी प्राय:जसो गाउँदै हिँड्थे । बारा, निजगढको सामान्य परिवारमा जन्मिए पनि उनलाई खान लाउनै चाहिँ गाह्रो थिएन । तर, गायक बन्ने बलियो लक्ष्यले उनी घरबाट निस्किए । काठमाडौं आएपछि उनका संघर्ष दिन प्रारम्भ भए । जति नै दु:ख भए पनि गीत गाउन भने छोडेनन् । नारायण गोपालका गीतहरू उनको जस्तै स्वरमा गाइरहेको एउटा कलिलो बालकलाई संगीत अनुरागी गोपाल कर्माचार्यले भेटेपछि उनको जीवनको नक्सा फेरिन थाल्छ । २०४३ सालतिरको कुरा हो । ढकालको गायकीबाट प्रभावित भएका कर्माचार्यले उनलाई संरक्षण दिए । करिब पाँच वर्ष उनी कर्माचार्यसँगै बसे । कर्माचार्यकै पहलमा २०४५ सालमा उनी पहिलो पटक काठमाडौंको स्टेजमा उक्लिए ‘ढकाल सुमधुर साँझ’ मार्फत । त्यो उनको जीवनकै पहिलो एकल गायन कार्यक्रम थियो । त्यसपछि ढकाल श्रोतामाझ चिनिए । २०४८ सालताका पनि उनी काठमाडौंका गजल रेस्टुराँहरूमा गाउँथे ।
ढकालले पहिलो पटक दरबारमार्गको एउटा गजल रेस्टुराँमा गीत गाउँदा महिनाको १५ सय रुपैयाँ तलब थियो । दोस्रो रेस्टुराँमा पुग्दा उनको तलब बढेर ३२ सय रुपैयाँ प्रतिमहिना भयो । रेस्टुराँमा पाइने टिप्सहरूले उनलाई राम्रै खान–लाउन पुग्न थाल्यो । २०५० सालमा पहिलो एकल एल्बम ‘आशीर्वाद’ सार्वजनिक गरेपछि भने उनले गजल रेस्टुराँमा गाउन बन्द गरे ।
उनलाई पहिलो एकल एल्बम सार्वजनिक गर्न कर्माचार्यले नै सहयोग गरेका थिए । उक्त एल्बमबाट उनलाई खासै आर्थिक लाभ भएन, यद्यपि नेपाली सुगम संगीतमा नारायण गोपालको बिंडो थाम्ने गायकका रूपमा भने स्थापित भए ।
पहिलो एल्बम ‘आशीर्वाद’ ले सांगीतिक सफलता पाएपछि उनले पछाडि फर्कनु परेन । लगातार गीति संग्रह सार्वजनिक गरिरहे, ती सबै एल्बमको शीर्षक ‘अ’ अक्षरबाट जुराइएका थिए । आशीष, आशा, आरोह, आग्रह, आधार, आश्रय, आगमन आदि उनका व्यावसायिक रूपमा समेत सफल गीति एल्बमका शीर्षकहरू हुन् ।
भनिन्छ, विवाह देखेको होइन, लेखेको हुनुपर्छ । तर, गायक रामकृष्ण ढकालको सवालमा यो दुवै भयो । अर्थात् उनले श्रीमती निलम शाहलाई पहिले देखे अनि विवाहको मिति लेखे । रामकृष्ण र निलमको भेट अनि निलमप्रति अंकुराएको रामकृष्णको प्रेमको किस्सा निकै रोचक छ । २०५९ सालको कुरा हो । यही समयमा उनका एक आफन्तलाई कलेज भर्ना गर्नुपर्ने थियो । दैनिक पत्रिका पल्टाएर कलेजको विज्ञापन हेरिरहँदा रामकृष्णको नजर एउटा विज्ञापनमा टक्क अडियो । बीबीएस भर्नाका लागि खुलाइएको एक कलेजको भर्नावाला विज्ञापनको साइडमा निलमको पासपोर्ट साइजको सानो फोटो थियो । विज्ञापन देखेपछि रामकृष्ण विज्ञापनभन्दा पनि विज्ञापनमा देखिएको निलमको फोटोबाट यति प्रभावित भए कि, आफन्तलाई भर्ना गराउने प्रक्रिया बुझ्ने बहानामा साथी चन्द्रप्रकाशलाई लिएर निलमले काम गर्ने कलेज पुगे । त्यो भेटपछि निलमसँग फोनमा कुराकानी हुन थाल्यो ।
निलमसँग चिनजान हुनुभन्दा केही समयअघि मात्र रामकृष्णको पाँचौं एल्बम ‘आधार’ श्रोतामाझ आएको थियो । निलम र रामकृष्णको फोन संवादमा रामकृष्णले निलमको जन्मदिन पनि याद गरिसकेका थिए । निलमलाई भित्रभित्रै मनपराइरहेका रामकृष्णले जन्मदिनको शुभकामना ‘विस’ गर्ने योजना बनाए । उनले निलमलाई फोनमा जन्मदिनमा भेटेर ‘विस’ गर्ने योजना सुनाए । त्यही माहौलमा उनले एल्बम ‘आधार’ र फूलको बुकी दिए ।
निलमसँग फोन संवादमा रामकृष्ण आफूले विवाह गर्न केटी खोजिरहेको छु भन्थे । तर, उनलाई नै मन पराउँछु चाहिँ भन्न सकिरहेका थिएनन् । एकदिन रामकृष्ण निलमलाई भेट्न पुग्दा उनकी साथी पनि थिइन् । निलमकी साथी रामकृष्णको ठूलो फ्यान थिइन् । तीन जनाबीच कुराकानी भएर छुट्टिए । साँझ फोन संवादमा निलमले रामकृष्णलाई ‘मैले ल्याएको केटी कस्तो लाग्यो ?’ भनेर सोध्दा उनले ‘तिम्रो साथीलाई भन्दा पनि तिमीलाई मन पराउँछु’ भन्ने जवाफ दिए । त्यसपछि निलमसँगको प्रेम अंकुरायो । ठकुरी र बाहुन केटाबीच विवाहको कुरा चल्दा केही अप्ठेरो मानिए पनि त्यो बेला रामकृष्ण चर्चित थिए । त्यसैले विवाहका लागि निलम राजी भइन् ।
सडकमा गाउँदै हिँड्ने ‘सामान्य केटो’ सेलिब्रेटी हुँदै बिहेवारी, घरजम गरेर एउटा ‘कुलीन’ जस्तो भइरहेको थियो । समय सधैं एकनास हुँदैन । ढकालका लागि पनि समय सधैं अनुकूल हुने कुरा आएन ।
२०६३ सालमा उनले ‘आगमन’ एल्बम सार्वजनिक गर्दा ताका नेपाली सांगीतिक क्षेत्रको स्वरूप परिवर्तन हुन थालिसकेको थियो । संगीतको स्वाद फेरिनु, प्रतिभाशाली कलाकारहरू सांगीतिक क्षेत्रमा बढ्नु, प्रविधिको बढ्दो प्रयोगका कारण स्रोताले पनि फरक स्वाद खोज्न थाले । ढकालका गीतहरू विगतको जस्तो चल्न छाडे । सांगीतिक प्रतिस्पर्धा चर्किन थालेसँगै गायक ढकालले आफूलाई सांगीतिक क्षेत्रमा टिकाउनै संघर्ष गर्न थाल्नुपर्यो । २०५९ सालमा विवाह गर्दासम्म गायक ढकाल फ्ल्याटमा बस्थें । विवाह गरेको एक वर्षपछि नै उनीहरूले लाजिम्पाटमा घर किनें । ९ आना जग्गामा बनेको उक्त घर ५५ लाख रुपैयाँ परेको थियो । उक्त घरको रिनोभेसनमा २८ लाख रुपैयाँ खर्च गरेका थिए । छोरी रानी त्यही घरमा जन्मिएकी हुन् ।
लाजिम्पाटको घर फ्ल्याट सिस्टमको भएकाले उनीहरूले २०६४ सालमा उक्त घर बेचे र हात्तीगौंडाको एउटा हाउजिङमा घर किने । उक्त घरमा उनीहरू करिब दुई वर्ष बसे । त्यही क्रममा एक जना आफन्तमार्फत रामकृष्णको सम्पर्क लालीगुराँस सहकारीसँग भयो । सहकारीले उनीहरूलाई भैंसेपाटीको हाउजिङमा घर किन्नलाई सहज रूपमा ऋण दिने प्रस्ताव राख्यो । भैंसेपाटीमा ढकाल पत्नीका आफन्तहरू पनि बसोबास गर्ने भएकाले उनीहरूले हात्तीगौंडाको घर बेचेर भैंसेपाटीमा घर किन्ने निर्णय गरे । त्यसका लागि उनीहरूले उक्त सहकारीबाट १७ प्रतिशत ब्याजमा १ करोड ८० लाख रुपैयाँ ऋण लिए । त्यो बेला सावाँ र ब्याज गरेर महिनाको करिब तीन लाख रुपैयाँ तिर्नु पथ्र्याे । त्यसक्रममा उनले पटक–पटक गरेर ४८ लाख रुपैयाँ तिरेको बताएका छन् । एक महिना ब्याज तिर्न ढिलो हुने बित्तिकै १७ प्रतिशतको ब्याज बढेर ३६ प्रतिशत पुग्थ्यो ।
ढकाल दम्पतीले हात्तीगौंडाको घर बेचेर भैंसेपाटीको घरको ऋण तिर्ने योजना बनाएका थिए । तर, उनीहरूले भनेको बेला उक्त घर बिक्री भएन । त्यसपछि नै उनीहरूलाई आर्थिक समस्याले सताउन थाल्यो । त्यो बेला उनी रेकर्डिङ स्टुडियोमा पस्नुको साटो घर किन्ने ग्राहकको खोजीमा भौंतारिन थाले । यद्यपि, सफल भएनन् । एक पटक सांगीतिक कार्यक्रमको क्रममा विदेशमा रहेका बेला लालीगुराँसले उनीहरूको भैंसेपाटीको घर लिलामीको सूचना सार्वजनिक गर्यो । घर किन्ने ग्राहक नआएको भन्दै सहकारीले १ करोड ५० लाख रुपैयाँमा घर आफैंले सकार्यो ।
सामान्यतया: कुनै पनि बैंक तथा सहकारीले धितोको मूल्यांकनको ६०–७० प्रतिशत मात्र ऋण दिन्छन् । रामकृष्णलाई भने बैंकले १ करोड ८० लाख रुपैयाँ ऋण दिन तयार भएको थियो । त्यसअनुसार सहकारीले घरको मूल्यांकन कम्तीमा अढाइ करोड रुपैयाँ गरेको हुनुपर्ने ढकालको तर्क छ । ढकाल गुनासो गर्छन्, ‘लिलामीमा बिक्री नभएको भनेर सहकारीले एकतर्फी रूपले जम्मा डेढ करोड रुपैयाँ मूल्यांकन गरेर घर आफैंले लियो । त्यसपछि घरबाट ऋण असुलउपर नभएको भनेर सहकारीले हामीलाई पुन: दबाब दिइरह्यो ।’ त्यसपछि उनी सहकारीविरुद्ध अदालत गए । अदालतले उनको पक्षमा फैसला गरेपछि सहकारी मौन भएको थियो ।
तर, गत साउन २३ गते अचानक एउटा दैनिक पत्रिकामा प्रकाशित एउटा विज्ञापनमा गायक रामकृष्ण ढकालमाथि ५ करोड ऋण नतिरेको आरोप लाग्यो । ललितपुरमा रहेको श्री लालीगुराँस सहकारी संस्थाले गायक ढकाल र उनकी पत्नी निलम शाहलाई ५ करोड ऋण नतिरेको सूचना जारी गरेको थियो । उक्त सहकारीले पत्रिकामा सूचना छाप्दै ऋण नतिरेको उल्लेख गरे पनि ‘ऋण तिर्न आउनू’ भन्ने सन्देश भने दिएको थिएन । जारी सूचनामा ढकाल दम्पतीले सहकारी संस्थालाई ऋण तिर्नुको साटो विभिन्न व्यक्ति लगाएर धम्क्याएको सहकारीको आरोप थियो ।
ढकालकी पत्नी शाहले २०६६ सालमै सहकारी संस्थाबाट १ करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । १० वर्षअघि लिएको उक्त ऋणको सावाँ–ब्याज तिर्न नसकेपछि २०७० सालमा सहकारीले धितोमा राखिएको घर १ करोड ५० लाख रुपैयाँ मूल्यमा लिलाम गरेको थियो । सहकारीले त्यसले पनि असुलउपर नभएको भन्दै गत साउनमा सूचना निकालेको थियो ।
ढकाल दम्पतीसहित सहकारीले ६ जनाको नाममा सूचना प्रकाशन गरेको छ । सूचनामा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ उल्लेख गरेको थियो । त्यस्तै ढकाल पत्नी शाहले २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ चुक्ता गर्न बाँकी रहेको सहकारीको सूचनामा उल्लेख थियो । उक्त विज्ञापन प्रकाशित भएपछि गायक ढकालले सहकारीले आफ्नो मानहानी गरेको आरोप लगाएका थिए । उनले चार वर्षअघि नै ४ वर्षअघि सल्टाइसकेको ऋणका बारेमा गत साउनमा पत्रिकामा सूचना निकाल्नुले आफ्नो मानहानी भएको दाबी गरेका थिए ।
यो पृष्ठभूमिमा ढकाल दम्पती यतिबेला चर्चामा छ । एकातिर सम्बन्ध–विच्छेद गर्न कानुनत: मिलापत्र गरेको अदालतले निर्णय सुनाएको छ भने ढकाल दम्पती सम्बन्ध सुमधुर रहेको दावा सामाजिक सञ्जालमार्फत गरिरहेको छ । विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सँगै देखिएका छन् ।
डिभोर्सको समाचार सार्वजनिक भएकै मध्यरात डिजे राजुले ढकाल निवासमै पुगेर ढकाल परिवारका सबै सदस्यसँग सेल्फी फोटो खिच्दै सामाजिक सञ्जालमा अपलोड गरे । गत शनिबार साँझ सोल्टी होटलमा आयोजित सांगीतिक समारोहमा समेत उनीहरू दुवै छोरी रानीसँगै गएका थिए । रामकृष्णले स्टेजमा आशा भोसलेसँग गीत गाइरहँदा निमल र रानी दर्शक दीर्घामा खुसी साथ बसिरहेका थिए ।
त्यसो भए ढकाल दम्पतीले किन गरे त कागजी सम्बन्ध–विच्छेद ? धेरैको अनुमान छ, ऋणबाट बच्नकै लागि फेक डिभोर्स गरेका हुन् । उनको पारिवारिक स्रोतका अनुसार ‘निलमले सम्बन्ध–विच्छेदपछि पनि श्रीमान् ढकालबाट कुनै पनि अंशको दाबी नगर्नु, दुई जना कानुनी रूपमा अलग भएपछि सहकारीले दिने दु:ख कम हुनु अथवा ऋणको तनावमा बस्न नपर्ने भएकाले उनीहरूले यस्तो गरेको हुन् ।’
ढकालको फेक डिभोर्सलाई लिएर संगीत जगतमा चाहि सहानभूति बढी देखिन्छ । गीतकार राजेन्द्र थापा भन्छन्, ‘रामकृष्णको सन्दर्भमा सहकारीले जे गऱ्यो त्यो गलत छ । कुनै पनि ऋण कहिल्यै नसकिने भन्ने हुन्न । ठूलो मान्छे भनेर षड्यन्त्र गरेर फसाइयो ।’
संगीतकार आलोकश्री कलाकारको जीवनमा उतारचढाव आउने बताउँछन् । ‘हलिउडमा माइकल ज्याक्सन, भारतमा ठूला कलाकारको जीवनमा उतारचढाव आएको देखेका छौं । उहाँहरूको सामान्य पारिवारिक समस्या हो’, उनी भन्छन्, ‘रामकृष्णजी ठूलो पब्लिक फिगर भएकाले मात्र यसलाई ठूलो विषय बनाइयो । किनभने यस्तो समस्या नेपालका सबै स्थानमा भइरहेका छन् ।’
रामकृष्णसँगै काम गरेका संगीतकार शम्भुजित बास्कोटो, गीतकार रमण घिमिरे, संगीतकार लक्ष्मण शेष सबैले राम्रो गायकको कोटीमा राख्दै उनको प्रशंसा गरे । ‘ढकाल दम्पतीका विषयमा समाचारमा आएको कुरा पत्याउन कठिन’, २७ वर्षदेखि सहकार्य गरेका लक्ष्मण शेष भन्छन्, ‘उहाँहरूको दाम्पत्य जीवन सफल रहोस् भन्ने चाहन्छु । उहाँहरूको सम्बन्धमा आएको कुरालाई पत्याउन सक्ने अवस्था छैन ।’
गीतकार रमण घिमिरे भन्छन्, ‘रामकृष्णले परिवारलाई माया नगर्ने, श्रीमतीलाई माया नगर्ने भन्ने कुरा आउँदैन् । यो हल्ला मात्र हो । उसलाई नकारात्मक किसिमले हेर्नुहुँदैन् ।’ संगीतकार बास्कोटा थप्छन्, ‘ऊ भावनात्मक रूपमा एक्साइटेड छ तर कसैलाई हानी पुर्याएको छैन ।’