
‘रामेछापबाट सरेर काठमाडौं आएको उनको परिवारसँग उनी अहिले साथै बस्दिनन् । उनी आफ्नो पार्टनरसँग लिभिङ टुगेदरमा बस्ने गर्छिन् ।’
सामान्य आर्थिक अवस्था भएको परिवारमा कान्छो छोराका रूपमा उनको जन्म भयो । परिवारले कुनै किसिमको अभाव हुन दिएन । सानैदेखि नाच्नमा रुचि देखाउने उनलाई परिवारका सदस्यले नाच्नमै हौस्याइरहे । अझ राम्रो नाचोस् भनेर पैसा दिन्थे । नाच्दा राम्रो देखियोस् भनेर दिदीको घाँगर लगाउँथिन् । आमाका केही साथी अभिनय क्षेत्रमा भएका कारण उनलाई नाच्नका लागि विभिन्न अफर गर्थे, राम्रो नाचेर पाएको पैसाले उनी गुडिया किन्थिन् र चकलेट खान्थिन् ।
घरको कान्छो सन्तान भएका कारण सोफी आमाको प्यारी नै थिइन् । आमालाई काममा सघाउने बानीले उनलाई घरका सबैले माया गर्थे, पुलपुल्याउँथे । स्कुलमा पनि नाचगानमा राम्रै नाम कमाइन् । सानोमा नाचेको देखेर रमाउनेहरूले उनको उमेर र कक्षा बढ्दै गएपछि आएको परिवर्तन देखेनन् अनि गिज्याउन थाले । उनी केटा नै थिए तर साथीहरू ‘ओई केटी’ भनेर बोलाउँथे ।
एक दिन त स्कुलका सरहरूले नै उनलाई बोलाएर भने, ‘तिमी के छक्काको जस्तो गरेर हिँडेको ?’ यो नयाँ शब्द के होला भनेर जिज्ञासा उनलाई हुँदै थियो । पछि त घरकाले र छिमेकले पनि भने, ‘के हिजडाजस्तो भएको ?’ स्कुल तह पूरा गर्दा–नगर्दै उनले आफूलाई भनिएका शब्दहरूको अर्थ थाहा पाइन्– म त खासमा तेस्रोलिंगी रहेछु ।
सोफीलाई लाग्छ, यो समाज निकै ढोंगी छ । ‘स्कुल पढ्ने बेलामा म आमालाई घरको सबै काम सघाउँथें । छरछिमेक मलाई आमालाई कस्तो माया गर्ने छोरा भन्थे, मलाई पनि घरको काम गर्दा आनन्द आउँथ्यो’, उनी सम्झन्छिन्, ‘छिमेकी आन्टीहरू यसले हुनेवाली श्रीमतीलाई निकै सुख दिन्छ भन्थे । मेरो कामको प्रशंसा गर्ने तिनीहरूले नै पछि मलाई ‘छक्का र हिजडा’ भन्दै अपहेलित गर्न थाले ।’
एसएलसी दिएपछि तेस्रोलिंगीको समाजमा प्रवेश गरेकी सोफी एक घटना सम्झन्छिन् । उनका स्कुले साथीका बुबा, जो उनलाई ‘छक्का’ भन्दै छेडखानी गरिरहन्थे, सोफी तेस्रोलिंगी समाजमा प्रवेश गरेपछि थाहा पाइन्– उनी पनि तेस्रोलिंगी रहेछन् । ‘स्कुलमा अंग्रेजी पढाउने सर पनि सधैं मलाई होच्याउथें,’ सोफी भन्छिन्, ‘एक दिन पढेर आइज, भोलि सोध्छु भने । सरले भोलि बेइज्जत नगरोस् भनेर सबै कण्ठ पारेर गएँ । मैले पढेर गएको सबै मज्जाले भनिदिएँ । त्यसपछि पनि उनले मलाई अपमानित गर्दै भने– के नखरा पार्दै भनेको ? तेरो यो नखरा ठीक लागेन, केटाजस्तो बन् ।’
यस्ता घोचपेचको सिकार त जतिखेर पनि हुन्थिन् सोफी । स्कुलको एसेम्ब्लीबाट क्लासमा जाँदा उनको हिँडाइलाई लिएर जिस्क्याउनेदेखि ट्वाइलेट जाँदासम्म जिस्क्याउँथे । ‘कतिपय साथी ‘यसको छैन कि क्या हो हेरौं–हेरौं’ समेत भन्थे’, उनी हिजोका घटना सम्झँदै भन्छिन्, ‘जसको कारण म कोही नभएको मौका छोपेर ट्वाइलेट जाने गर्थें । हाफटाइममा स्कुलको ट्वाइलेटमा धेरै साथी भएका बेला घर गएरै शौचालय गरेर फर्कन्थें ।’ दिनहुँको घोचपेचले उनलाई बाँच्न मन नलाग्ने बनाएको थियो । ‘एक दिन त आत्महत्या गर्ने निर्णयमा पुगें,’ सोफी भन्छिन्– ‘घरमा कोही थिएन । दिदीको सल बाँधेर झुन्डिने प्रयास पनि गरें । तर के भएर हो, सल नै अड्किएन र मर्नै सकिनँ ।’
एसएलसी दिएपछि सोफीको रत्नपार्कतर्फ आउजाउ बढ्न थाल्यो । त्यहाँ उनले आफूजस्तै मानिसहरू भेट्न थालिन् । पछि थाहा पाइन्– तेस्रोलिंगीहरूका लागि नीलहीरा समाज भन्ने संस्था रहेछ । समाजले यौन तथा लैंगिक अल्पसंख्यकहरूलाई समाजमा ‘कसरी आत्मनिर्भर हुने’ किसिमका व्यावहारिक तालिम दिन्थ्यो । यो तालिममा उनको रुचि मेकअप आर्टिस्टतर्फ झुक्यो । मेकअपको प्रारम्भिक तालिम गर्ने क्रममा एसिया–प्रशान्त क्षेत्रका यौनिक तथा लैंगिक अल्पसंख्यकको बैंककमा भेला हुने भयो । त्यसमा सोफी नेपालका तर्फबाट छनोट भइन् । २२–२३ वर्षकी लजालु केटा पहिलो पटक विमान चढेर विदेश जाँदै थिइन् । सधैं सार्वजनिक बसको यात्रामा निस्कने सोफीलाई विमानबाट यात्रा कसरी गर्ने भन्ने विषयमा केही जानकारी थिएन, उनले केही विमान चढेकासँग परामर्श गरिन् । बैंकक गएर कहाँ ड्रेस चेन्ज गर्ने भनेर नेपालबाटै महिलाको पोसाक लगाएर एयरपोर्ट गईन् । विमानस्थलका कर्मचारीले उनको पासपोर्ट हेरे । केटाको नाम देखे, रुपरंग र हाउभाउ केटीको पाए । अनि सोधखोज गरे । केही नलागेपछि सोफीले भनिन्— ‘म तेस्रोलिंगी हुँ ।’ अनि बल्ल जान दिए ।
त्यो भेलामा विदेशका तेस्रोलिंगीहरूले आफैंले काम गरेका उदाहरणसहित उनीहरूले एक्लै काम गर्ने तौरतरिका सिकाए । त्यो ज्ञानले उनलाई नेपालमा आएर काम गर्न हौसला मिल्यो । घरबाट आर्थिक सहयोग नमिल्ने देखेपछि सोफीले जिरो लेभलबाट मेकअप आर्टिस्टको काम थालिन् । आफ्नै साथीहरूको मेकअप गर्नेदेखि अरूको सहयोगी बनेर काम गरिन् । यसै क्रममा एक चिनारुले उनलाई मिस नेपालका सहभागीको मेकअप गर्ने मौका दिलाए, जसका कारण उनले सन् २०१५ देखि ०१७ सम्म काम पाइन् । उनको सीपको दायरा फराकिलो हँुदै गयो । एक सौन्दर्य प्रतियोगितामा ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठलाई भेटेपछि उनले केही म्यागजिनको कभर फोटोसुट गर्ने क्रममा सोफीलाई मेकअप आर्टिस्टका रूपमा लिए । यो कामले सोफीलाई नेपालका सेलिब्रेटीहरूमा पनि परिचित बनायो । अनि उनले केही साथीहरूको साथ लिएर खेलिन् मेकअप स्टुडियो ।
आफ्नो लैंगिक पहिचान खुलाएर नेपालमा पहिलो पटक मेकअप आर्टिस्टका रूपमा काम गर्ने श्रेय पाएकी सोफीलाई अझै पनि मानिसहरूले फरक व्यवहार गर्ने गर्छन् । उनी ग्राहकको प्रसंग सुनाउँदै भन्छिन्– ‘फोन गर्छन्, सोफीलाई पाऊँ न भन्छन् । हाम्रो स्वर त केटीको जस्तो हुँदैन । अनि उनीहरू पत्याउदैनन् । केटीको स्वर बनाएर बोलेपछि बल्ल कामको कुरा हुन्छ । अनि मेकअप गर्न गयो, फरक चालढाल देखेर पहिला हच्किन्छन् । त्यसपछि काम हेर्नुस्, राम्रो लागेमा मेरो कामअनुसारको पैसा दिनुस् भनेर काम गर्नुपर्छ । समाजको सोचाइ हामीप्रति अझै परिवर्तन भएको छैन ।’
बाबुआमाले राखेको नामसँग उनको कुनै लगाव छैन । बेलाबेलामा त्यो नामले बोलाउँछन् तर उनलाई अरूलाई नै बोलाएको जस्तो लाग्छ । त्यो नाम उनको नागरिकता र पासपोर्टमा मात्र छ । ‘मैले आफ्नो पहिचान आफैंले बनाएको भएर मेरो नाम सोफी नै हो र यसै नामले मलाई चिनोस् जस्तो लाग्छ,’ सोफी भन्छिन्, ‘हामी तेस्रोलिंगीहरू पहिलाको नामले भन्दा आफैंले न्वारन गरेर राखेको नामले चिनिऔं भन्ने सोच्छौं । मलाई पनि साथीहरूले कुनै अभिनेत्रीको नामसँग मेल खाने नाम राख न भन्थे । तर, मैले ब्ल्यू डाइमन्ड सोसाइटीको लाइब्रेरीमा रहेको एक उपन्यास पढ्दा परीका रूपमा चित्रण गरिएकी पात्र सोफीलाई रोजे, जो आफैं स्वतन्त्र भएर उड्न चाहन्थिन् ।’
समाजकै कुरा गर्दा सोफीलाई बाल्यकाल बिताएको महाबौद्ध क्षेत्र खासै मन पर्दैन । रामेछापबाट सरेर काठमाडौं आएको उनको परिवारसँग उनी अहिले साथै बस्दिनन् । उनी आफ्नो पार्टनरसँग लिभिङ टुगेदरमा बस्ने गर्छिन् । तेस्रोलिंगीहरूको विवाहले कानुनी मान्यता नपाउने भएकै कारण आफूहरूले विवाह गर्न नसकेको सोफीको दुखेसो पनि छ ।