पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरूको संख्या लाखमा छ । पठाओ, टुटल, सरर हुँदै यस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरूको जमात बढिरहेको छ।
हालैको एक दिन कलाकार मनोज गजुरेल कालिमाटीमा थिए । उनलाई कमलादी जानु थियो । उनले आफ्नो गाडी बनाउन दिएका थिए । ‘ढुक्क हुनुस्’ कार्यक्रमका लागि अतिथि २० मिनेटमा आइपुग्दै थिए । काठमाडौंको जाम सबैलाई थाहै छ । यस्तोमा अब के गर्ने ? गजुरेललाई फसाद पर्यो । तत्कालै उनले आफ्नो मोबाइलमा केही समयअघि डाउनलोड गरेको पठाओको एप खोले । आफू रहेको र पुग्नुपर्ने ठाउँ राखे । तत्कालै उनको मोबाइलमा फोन आयो । एक मिनेटभित्रै एक युवक मोटरसाइकलमा उनलाई पिकअप गर्न आइपुगे र समयमै कमलादी पुर्याइदिए । भाडा उठ्यो, १ सय २० रुपैयाँ ।
‘ट्याक्सीमा गएको भए भाडा पनि महँगो पथ्र्यो र समय पनि बढी लाग्थ्यो । त्यस हिसाबले यस्ता मोबाइल राइडिङ एपहरूले हाम्रो यात्रालाई सहज बनाइदिएका छन् । युवाहरूले रोजगारी पाएका छन्’ गजुरेल भन्छन्, ‘तर, यसलाई सरकारले कानुनी दायरामा ल्याउन सकेको छैन । यसतर्फ ध्यान दिँदै सबै श्रमजीवीको उत्तिकै सम्मान र सुरक्षामा ध्यान दिनुपर्छ ।’
गजुरेलमात्र होइन, पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरूको संख्या लाखमा छ । पठाओ, टुटल, सरर हुँदै यस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरूको जमात बढिरहेको छ । एकातर्फ यातायात तथा सवारी व्यवस्था ऐनमा रहेको तगारो त अर्कातर्फ सर्वसाधारणको बढ्दो आकर्षणका बीच विभिन्न उतार–चढाव र बहसका बीच दुईपाङ्ग्रे सवारीले सर्वसुलभ सेवा प्रदान गर्दै आइरहेका छन् ।
यस्ता सवारीको मुख्य आकर्षण दुई पक्षमा देखिएको छ । एउटा चालक र अर्को यात्री । चालकले आफूसँग लाइसेन्स भएकै भरमा रोजगारी प्राप्त गरेका छन् भने यात्रुले सस्तो र छिटो–छरितो सेवा प्राप्त गरिरहेका छन् । विशेष गरी विदेशबाट फर्किएका, देशमै बेरोजगार रहेका, युवा पिँढी, एउटै कामले रोजिरोटी नचलेकाहरू र रोजगारीको सिलसिलामा राजधानी पसेकाहरूका लागि यस्ता दुईपाङ्ग्रे सेवाप्रदायक सवारी आम्दानीको राम्रो स्रोत बनेका छन् ।
राजधानीको एक कम्पनीमा सेक्युरेटी गार्डका रूपमा काम गरिरहेका सनत अधिकारीले आफ्नो मोबाइलमा टुटल, पठाओ र सररको एप इन्सर्ट गरेका छन् । आफ्नो ९–५ को कार्यालय समयबाहेक उनी तीनवटै कम्पनीका लागि राइडरका रूपमा काम गर्छन्, जुन एपमा यात्रुले गरेको रिक्वेस्ट आउँछ, उनी अनुकूलताअनुसार मोटरसाइकल स्टार्ट गरेर हुइँकिन्छन् ।
‘सेक्युरिटी गार्डको जागिरबाट कति नै आम्दानी हुन्छ र, त्यही १०–१२ हजार त हो नि † छोराछोरी पढाउनुपर्छ, परिवारको सबै खर्च हेर्नुपर्छ, काठमाडौंको बसाइ । हामीजस्तालाई यी एपहरूले ठूलो राहत दिएका छन्,’ तीन वर्षदेखि काठमाडौं बसिरहेका धादिङका अधिकारी भन्छन्, कहिलेकाहीँ त राइड गर्दागदै बिहानको १ बजेको समेत थाहा पाउँदिनँ ।’ रातको समयमा प्राय: रेस्टुराँमा काम गर्ने, पसले, मापसे गरेका र केही समस्यामा परेका यात्रुहरूलाई आफूले गन्तव्यमा पुर्याएको अनुभव उनीसँग छ ।
पर्यटनमन्त्री योगेश भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईं पनि आजभोलि पठाओ र टुटलजस्ता एप प्रयोग गर्छन् । एक दिन उनलाई मैतीदेवीबाट त्रिभुवन विमानस्थल जानु थियो । ४ बजे विमानस्थल पुग्नुपर्ने थियो, तर ३ बजेर ४५ मिनेट त्यहीँ भइसकेको थियो । ट्याक्सी पाइरहेका थिएनन् । त्यत्तिकैमा उनले डाउनलोड गरेर राखेको तर प्रयोगमा नआएको पठाओको एप खोले र लोकेसन हाने । एक मिनेटमै मोटरसाइकल उनलाई लिन आइपुग्यो । ‘त्यतिबेला अन्तिम बोर्डिङ हुने समयमा म पुगेँ र जहाज छुट्नबाट बचेँ,’ गुरागाईं आफ्नो पहिलो दुईपाङ्ग्रे सवारीको यात्रा अनुभव सुनाउँछन्, ‘त्यसदिन बाटो निकै जाम थियो । ट्याक्सी प्रयोग गरेको भए मेरो विमान छुट्ने रहेछ । त्यसपछि मैले प्राय: यो एप प्रयोग गर्दै आएको छु ।’
यसरी एकातर्फ काठमाडौंको दिक्कलाग्दो ट्राफिक जाम त अर्कातर्फ भरपर्दो र पहुँचयोग्य सवारी साधनको अभावमा सस्तो र छरितो सेवा दिने दुईपाङ्ग्रे सवारीको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । दुईपाङ्ग्रे सवारी र लाइसेन्स भएका विद्यार्थी, बेरोजगार युवा, गृहिणी, विभिन्न संघसंस्थामा कार्यरत प्रतिनिधि, विदेश गएर फर्किएका व्यक्ति, चिकित्सक, वकिल, पत्रकार, कलाकारले फुल र पार्ट टाइम राइडिङ एपमार्फमा यात्रु बोक्ने काम गरिरहेका छन् । तर, सबै राइडरका रूपमा खुलेर बाहिर आउन भने चाहँदैनन् । राइडरको भनाइलाई आधार मान्ने हो भने दुईपाङ्ग्रे सवारीमार्फत यात्रु बोक्ने काम गर्नेहरूले मासिक ३० हजारदेखि ५० हजारसम्म आम्दानी गर्ने गर्छन् । दिनमा अफिस आउँदा र जाँदामात्र यात्रु बोक्नेहरूले पनि मासिक १० हजारसम्म आम्दानी गर्ने गरेको पाइएको छ ।
दैनिक ४५ हजार यात्रु
पठाओ, टुटल र सरर, हुपजस्ता दुईपाङ्ग्रे सवारीमार्फत दैनिक ४५ हजारको हाराहारीमा सर्वसाधारणले यात्रा गरिरहेका छन् । यो सेवा प्रयोगका लागि एप डाउनलोड गर्नेको संख्या भने ११ लाखको हाराहारीमा छ । तर, यसको कुनै यकिन तथ्यांक कुनै निकायसँग छैन । हाल चर्चामा रहेका दुईपाङ्ग्रे सवारी कम्पनीका जिम्मेवार व्यक्तिले दिएको तथ्यांकका आधारमा यो आँकडा आएको हो ।
नेपालको सबैभन्दा पहिलो दुईपाङ्ग्रे सेवाप्रदायक कम्पनी टुटलको एप ४ लाख प्रयोगकर्ताले डाउनलोड गरेका छन् । उसका ३० हजार राइडर छन् । दैनिक ३० जनाको हराहारीमा नयाँ राइडर र ५० जनाको हाराहारीमा यात्रु थपिइरहेका छन् । आफ्नो एपमार्फत दैनिक ८ हजारले सेवा लिइरहेको टुटलका सहसंस्थापक शिक्षित भट्ट बताउँछन् । यो कम्पनीमा हाल २० जनाले प्रत्यक्ष रोजगारीसमेत पाइरहेका छन् भने दैनिक २५ सय राइडरले यात्रुलाई सेवा दिइरहेका छन् ।
त्यस्तै, बंगलादेश हुँदै नेपाल प्रवेश गरेको पठाओ ब्रान्डको एप ६ लाख प्रयोगकर्ताले डाउनलोड गरेका छन् । उसका ४५ हजार राइडर छन् । ३२ हजार यात्रुले दैनिक सेवा लिइरहेका छन् । दैनिक ७ हजार राइडरले प्रत्यक्ष आम्दानी गरिरहेका छन् । पठाओले ५७ जनालाई प्रत्यक्ष रोगजारीसमेत दिएको छ । ‘हामीकहाँ दैनिक सयदेखि डेढ सय नयाँ राइडर नाम दर्ता गर्न आउनुहुन्छ । यो क्रेजले नै पछिल्लो अवस्था प्रस्ट पार्छ,’ पठाओका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्नेतले भने ।
त्यस्तै, दुई महिनाअघिदेखि सञ्चालनमा आएको सररको एप ८ हजार प्रयोगकर्ताले डाउनलोड गरेका छन् । उसका ४ हजार ५ सय राइडर छन् भने दैनिक ९ सयले सेवा लिइरहेका छन् । हाल सररमा ६ जनाको टिम छ । उसको काठामाडौंबाहिर पोखरा, विराटनगर र धरानमा २ हजार प्रयोगकर्ता र ५ सय राइडर छन् । दैनिक सयको हराहारीमा यात्रुहरूले सेवा लिइरहेको प्रमुख संचालक सन्तोष कुमारले जानकारी दिए ।
पछिल्लो समय हुपराइड पनि नेपालको दुईपाङ्ग्रे राइडिङ सेवामा प्रवेश गरेको छ । त्यस्तै, फिलिली पनि केही समयपछि सेवा दिने तयारीमा छ । हाल १० भन्दा धेरै यस्ता कम्पनीहरू आएको आफूले सुनेको पठाओका असिम बताउँछन् । खुल्ने र केही समयमै बन्द हुने कारणले गर्दा यस्ता एप चर्चामै नआउने उनको भनाइ छ ।
कसरी लिइन्छ यात्रुसँग पैसा ?
पठाओ, टुटल र सररमार्फत यात्रा गर्दा यात्रुले फलानो ठाउँबाट फलानो ठाउँसम्म जाने भनेर एपमा लेखेर पठाउँछन् । त्यसपछि एपले आफैं सो ठाउँसम्म यात्रा गर्दा लाग्ने भाडा देखाइदिन्छ । यात्रुले हुन्छ भनेपछि यात्रु चढ्ने सबैभन्दा नजिकको लोकेसनमा रहेका राइडरको एपमा सूचना जान्छ । उसले सो सूचनाका आधारमा यात्रुलाई फोन गर्छ र उसलाई गन्तव्यसम्म पुर्याइदिन्छ ।
यी सेवाप्रदायक कम्पनीको यात्रुसँग पैसा लिने आ–आफ्ना छुट्टाछुट्टै मापदण्ड छन् । सररले १ दशमलव ६ किलोमिटर (किमि) सम्म यात्रा गरेको ४५ रुपैयाँ लिने गर्छ । त्यसपछि प्रतिकिमि १५ रुपैयाँका दरले जोडिँदै जान्छ । यसरी राइडरले प्राप्त गरेको अन्तिम रकमको ५ प्रतिशत कम्पनीलाई बुझाउनुपर्ने हुन्छ ।
त्यस्तै, टुटल प्रयोगकर्ताले तीन किमिसम्म यात्रा गरेको न्यूनतम ६० रुपैयाँ तिर्नुपर्छ । त्यसपछि प्रत्येक किमि १८ रुपैयाँको दरले जोडिँदै जान्छ । टुटलमा भने राइडरले कुनै पनि रकम कम्पनीलाई तिर्नु पर्दैन । यात्रुबाट प्राप्त गरेको शतप्रतिशत रकम नै राइडरले आफ्नो खल्तीमा राख्न पाउँछ ।
पठाओमा यात्रा गरेको एक किलोमिटरको ४५ रुपैयाँ (न्यूनतम) भाडा लाग्छ । त्यसपछि प्रत्येक किलोमिटरको १५ रुपैयाँका दरले बढ्दै जान्छ । पठाओले राइडरबाट २० प्रतिशत कमिसन लिने गर्छ ।
यी तीनवटै एपले धेरै यात्रा गर्ने यात्रु र सबैभन्दा बढी ट्रिप गर्ने राइडरलाई विशेष स्किमको पनि व्यवस्था गरेका छन् । यात्रुहरूले यी एपमार्फत कुनै बेला सित्तैंमा समेत यात्रा गर्न पाउँछन् । अर्थात्, आफू रहेको ठाउँ र पुग्नुपर्ने ठाउँको लोकेसन राख्दा लाग्ने भाडा शून्य हुन आउँछ ।
मासिक ३० देखि ५० हजारसम्म आम्दानी
मोटरसाइकल या स्कुटरको लाइसेन्स भएका जुनसुकै नेपाली नागरिक राइडिङ कम्पनीसँग आबद्ध हुन पाउँछन् । लाइसेन्स, ब्लू बुक र नागरिकताको प्रमाणपत्रसहित आफ्नो पूर्ण विवरण सम्बन्धित कम्पनीलाई उपलब्ध गराएपछि कुनै पनि व्यक्तिले यात्रु बोक्ने अधिकार पाउँछ । उसले यो प्रक्रिया सम्बन्धित एपको कम्पनीमा पुगेर या इन्टरनेटमार्फत घरमै बसेर पनि पूरा गर्न सक्छ । त्यसपछि राइडिङ एपमार्फत उसले यात्रुलाई सेवा दिन सुरु गर्छ ।
आफ्नो समय र रुचिअनुसार फुल टाइमर र पार्ट टाइमरका रूपमा राइडिङ सेवा दिन सकिन्छ । कम्पनीले दिएको जानकारीअनुसार फुल टाइमरले बिहान ७ देखि साँझ ७ बजेसम्म काम गर्दा २५ देखि ३० ट्रिपसम्म यात्रु ओसार्न सक्छ । यो भनेको उसले ३ हजारसम्म आम्दानी गर्नु हो ।
एक कम्पनीमा सेक्युरेटी गार्डका रूपमा काम गरिरहेका सनत अधिकारी पार्ट टाइम राइडर हुन् । उनले अफिस समय (९–५) बाहेकको समयमा यात्रुलाई राइडिङ सेवा दिने गर्छन् । यसरी पनि उनले दैनिक १ हजारका दरले आम्दानी गरिरहेका छन् । भन्छन्, ‘कहिलेकाहीँ त राति १२ बजेसम्म पनि काम गर्छु । यसो गर्दा दिनमा १५ सय कमाउँछ, नत्र सामान्यत: १ हजार त कहिल्यै टुटेको छैन ।’ मासिक १० हजारको जागिर खाइरहेको सनत जागिरबाट भन्दा तीन गुणा बढी आम्दानी राइडिङ सेवामार्फत गरिरहेका छन् । शनिबार ३५ ट्रिपसम्म गर्न भ्याउने र तेलको पैसा कटाएर २ हजारसम्म बचत हुने गरेको उनको अनुभव छ ।
पुरुषमात्र नभएर महिलाहरूको पनि राइडिङ एपप्रति आकर्षण बढ्दो छ । लक्ष्मी गौतम गृहिणी हुन् । उनका दुई बालबच्चा छन् । घरको काम र बच्चाको हेरचाह गर्नुपर्ने भएकाले जागिर गर्न सम्भव थिएन । काठमाडौंको बसाइ श्रीमान्को मात्र कमाइले गाह्रो पर्दै गइरहेको थियो । यत्तिकैमा उनले एक दिन समाचारमा मोबाइल राइडिङ एपबारे सुनिन् । सबै कुरा बुझेर श्रीमान्सँग सल्लाह गरिन् । श्रीमान्ले घरमा त्यत्तिकै बस्नुभन्दा काम गरेको राम्रो भन्ने सुझाव दिए । त्यसपछि लक्ष्मीले स्कुटरमा यात्रु बोक्न थालिन् । ‘नियमित रूपमा दैनिक ५–६ ट्रिप गर्छु । समय भएको बेला त १० ट्रिपसम्म पनि भ्याउँछु । १० ट्रिप गर्दा १२ देखि १५ सय रुपैयाँ आम्दानी हुन्छ । बिदाको दिन प्राय राइडिङ गर्दिनँ,’ लक्ष्मी भन्छिन् । यसरी उनले मासिक ३० हजार रुपैयाँको दरले नियमित आम्दानी गरिरहेकी छन् । हालसम्म महिला भएकै कारण त्यस्तो कुनै समस्या नआएको समेत उनले बताइन् ।
काठमाडौंको एक कलेजमा क्यान्टिन चलाइरहेका ४३ वर्षीय अच्युत दुलाल पार्ट टाइमर राइडर हुन् । उनले दैनिक ७–८ ट्रिपसम्म मान्छे बोक्छन् । यसरी उनले दैनिक १ हजार रुपैयाँका दरले आम्दानी गरिरहेका छन् । ‘क्यान्टिनको कामबाट फुर्सद मिल्नासाथ एपमा अनलाइन बसेर राइडिङ सेवा दिन्छु,’ अच्युत भन्छन्, ‘दुई–ढाई लाखको मोटरसाइकल किनेर फुल टाइम काम गर्ने हो भने त ५०–६० हजार आम्दानी गर्न निकै सहज छ । राइडिङ कम्पनीहरूले बेरोजगारलाई रोजगारीको राम्रो अवसर प्रदान गरेका छन् । खुसी छु ।’
पत्रकार अनुप ओझा ८ बजे अफिस सकिएपछि दुई घण्टा राइडिङ गर्थे । गीत निकाल्न ४० हजार रुपैयाँ जुटाउने उद्देश्यले राइडिङ सुरु गरेका उनले दैनिक एक–दुई घण्टा काम गर्दा पनि तीन महिनामा १८ हजार रुपैयाँ कमाएका थिए । ओझा भन्छन्, ‘सरकारले कारबाही गर्ने भनेपछि तीन महिना गरेर काम छाडेँ । नत्र थप दुई महिनामा त्यति पैसा जम्मा गर्थें ।’
पूर्वशिक्षक हितलाल मुखिया हिजोआज पढाउन छाडेर राइडिङ सेवामा लागेका छन् । आफूले मासिक ५० हजार आम्दानी गरिरहेको र कामबाट आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।
डेढ वर्ष कतार बसेर तीन महिनाअघि नेपाल आएका २३ वर्षीय सागर नेपाली अविवाहित छन् । उनले राइडिङ गरेरै काठमाडौंको खर्चमात्र धनेका छैनन्, विदेशमा भन्दा धेरै पैसा बचाइरहेका पनि छन् । भन्छन्, ‘हाम्रो उमेरका युवाहरू भविष्यको सपना बोकेर मासिक ३०–४० हजारका लागि विदेशमा मजदुरी गर्न जानुपर्छ । तर, त्यति कमाइ नेपालमै हुने भएपछि विदेश किन जानु ? अब म यहीँ बसेर मोटरसाइकलमा यात्रु बोक्ने काम गर्छु ।’
के हो बिमाको समस्या ?
दुईपाङ्ग्रे सवारी साधनको लोकप्रियता बढेसँगै यात्रुको सुरक्षाको विषयले पनि उत्तिकै महत्त्व पाएको छ । हाल मोबाइल एपमार्फत सेवा लिइरहेका यात्रुको दुर्घटना भएमा उनीहरूका लागि कुनै पनि रूपमा आर्थिक सहायता प्राप्त हुँदैन । यातायात व्यवस्था ऐनमा ‘तोकिएको बाटोमा यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले यात्रा गर्ने प्रत्येक यात्रीको तोकिएको रुकमको दुर्घटना बिमा गराउनुपर्छ’ भनिएको छ । तर, दुईपाङ्ग्रे सवारी कानुनी दायरामै नआएकाले बिमा गर्ने आधार नै तयार भएको छैन ।
एप सञ्चालक कम्पनीहरू कानुनी अड्चन नफुकाउँदासम्म बिमा गर्न सम्भव नभएको बताउँछन् । नियम आएको खण्डमा मात्र बिमामा जाने बाटो खुल्ने उनीहरूको भनाइ छ । पठाओका क्षेत्रीय निर्देशक असीम भन्छन्, ‘यात्रुको बिमाका लागि हामीले बिमा कम्पनीहरूसँग कुरा गरेका थियौँ । उहाँहरूले तपाईंहरूको कानुनी दायरा नै प्रस्ट नभई हामीले बिमा गर्न मिल्दैन भन्नुभयो । विदेशी बिमा ल्याउँदा धेरै नै महँगो पर्न जान्छ । कानुनी रूपमा समस्या हल हुनासाथ बिमाको समस्या आफैं हल हुन्छ ।’ टुटलका सहसंस्थापक शिक्षितको भनाइ पनि असिमको जस्तै छ । सरकारले कानुनी रूपमा समस्याको समाधान गर्नासाथ बिमा र करको विषय हल हुने उनको भनाइ छ ।
हाल यात्रु बोकिरहेका दुईपाङ्ग्रे सवारी चालकले सरकारलाई करसमेत तिर्दैनन् । कुनै व्यक्ति, फर्म या कम्पनीले कानुनबमोजिम आम्दानीको निश्चित रकम सरकारलाई करस्वरूप तिर्नुपर्ने हुन्छ । कानुन बनेसँगै त्यसको दायरा पनि निर्धारण हुने जानकारहरू बताउँछन् ।
सवारी साधन तथा यातायात व्यवस्था ऐन, २०४९ मा नसमेटिएका निजी सवारीलाई पनि समेट्ने गरी संघीय सवारी ऐन आउँदै छ । ऐनमा पठाओ र टुटलजस्ता सेवाप्रदायक एपका सम्बन्धमा विशेष व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागको भनाइ छ । विभागका महानिर्देशक गोगन हमाल भन्छन्, ‘हाल रहेको व्यवस्था संशोधन गर्ने भन्दा पनि अब बन्ने संघीय ऐनमा यो समस्यालाई ‘आइटी बेस एग्रीगेट प्लेटफर्म’ का रूपमा समेट्दै छौँ ।’ त्यसका लागि केही समय पर्खनुपर्ने महानिर्देशक हमाल बताउँछन् ।
रोक्ने प्रयास विफल
टुटल र पठाओलगायतका एप कम्पनी रजिस्टारको कार्यालयमा दर्ता छन् । रजिस्ट्रर कार्यालयमा दर्ता भएर यातायात व्यवस्था ऐन विपरीत दुई पाङ्ग्रे सवारीमार्फत यात्रु बोकेको भन्दै यातायात व्यवस्था विभागले पटक–पटक यी कम्पनीमाथि रोक लगाउने प्रयास गर्दै आइरहेको छ । विभागले सूचना नै जारी गरेर मोबाइल एपमार्फत दुईपाङ्ग्रेमा सवारी बोक्ने काम रोक्न निर्देशन दिएपछि ट्राफिक प्रहरीले केही राइडरमाथि कारबाहीसमेत गरेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै कारबाही रोक्न ठाडो निर्देशन दिनुपरेको थियो । यो गत महिनाको कुरा हो ।
प्रधानमन्त्रीको यस्तो निर्देशनपछि ट्याक्सी व्यवसायी संघले टुटल–पठाओलगायतका राइडिङ एप अवैधानिक रूपमा सञ्चालन भइरहेको भन्दै रोक्नका लागि आन्तरिम आदेश माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, टुटल र पठाओ कम्पनीलाई विपक्षी बनाएर मुद्दा दायर भएको थियो ।
तर, पाटन उच्च अदालतले राइड सेयरिङ सेवालाई रोक्ने गरी कुनै पनि आन्तरिक आदेश जारी गरेन । अदालतले आन्दरिम आदेश जारी नगरेपछि टुटल र पठाओलगायतका दुईपाङ्ग्रे मोबाइल राइडिङ एपले मुद्धाको फैसला नहुँदासम्म सेवा दिने बाटो खुलेको छ ।
टुटलका सहसंस्थापक सिक्षित भट्ट प्रविधिको प्रयोग र आविष्कार कानुनलाई हेरेर नगरिने बताउँछन् । ‘सर्वसाधारणलाई सहज र सर्वसुलभ छ, त्यसले देशको कुनै गरिमामा हानि पुर्याएको छैन भने त आविष्कारअनुसार कानुन बनाउँदै जाने न हो,’ उनी भन्छन् ।
नेपालमा ट्रेन्ड र विदेशमा प्रयोग
२०७२ को भूकम्प र त्यसपछि भारतले लगाएको नाकाबन्दीको समयमा नेपालमा ‘लिफ्ट कल्चर’ लोकप्रिय बनेको थियो । फेसबुकमा बनेको ‘कार्पोल’ नामक एक ग्रुपमा राखेको सूचनाका आधारमा दुईपाङ्ग्रे सवारीमार्फत उनीहरूलाई गन्तव्यमा पुर्याउने काम भइरहेको थियो । त्यो ट्रेन्डको उद्देश्य केवल सामाजिक सेवा थियो । यही लिफ्ट कल्चरलाई व्यावसायिक रूप दिन अर्को वर्ष टुटल नामक एप कम्पनी आयो, जसको लोकप्रियता छोटो समयमै बढ्यो । त्यसपछि पठाओलगायतका कम्पनीहरूले पनि दुईपाङ्ग्रे यातायात सेवा दिन थाले ।
नेपालभन्दा जस्तै बंगलादेश, भारत, चीन, अमेरिका, युरोपलगायतका देशमा भाडामा यात्रु बोक्ने प्रचलन छ । ती देशहरूमा यस्तो व्यवसायले कानुनी मान्यता पाएको छ भने व्यवसाय सञ्चालनका सीमाहरू पनि निर्धारण गरिएको छ । मोटरसाइलको रंग, राइडरले प्रयोग गर्ने युनिफर्म हेरेर नै यस्ता सवारी चिन्न सकिन्छ । यात्रुलाई हेल्मेट र बिमको पनि अनिवार्य व्यवस्था गरिएको हुन्छ । ती देशहरूमा यो सेवालाई ट्याक्सीमा बढी केन्द्रित गरिएको छ ।
चीनमा सन् १९८०, लन्डनमा १९९०, ब्राजिलमा १९९४, अमेरिकामा २०११ मा यस्तो सेवा सुरु गरिएको थियो । फिलिपिन्स, इन्डोनोसिया, केन्या, स्वीडेन, थाइल्यान्ड, नाइजेरिया, भियतनाममा पनि भाडाका मोटरसाइकल चल्छन् । छिमेकी देश भारतमा अमेरिकाको प्रतिष्ठित कम्पनी उवरले समेत सेवा दिइरहेको छ । पछिल्लो समय भारतका विभिन्न सहरमा यो सेवा विस्तार तथा लोकप्रिय भइरहेको छ ।
गाउँमा मुन्द्रे यातायात
सार्वजनिक यातायातका साधनको पहुँचभन्दा बाहिरका पश्चिम नेपालका गाउँमा मुन्द्रे यातायातको ट्रेन्ड छ । प्राय: यो सेवा गाउँबाट सहर जान र सहरबाट गाउँ फर्कनका लागि प्रयोग गरिन्छ । सेवा प्रयोग गरेबापत यात्रुले सवारी धनीलाई दूरीका हिसाबले निश्चित रकम दिनुपर्ने हुन्छ । यसको कुनै संगठन र एन नभए पनि एक दशकदेखि मुन्द्रे यातायातले सेवा दिइरहेको जानकारहरू बताउँछन् । मुन्द्रेले स्थानीय स्तरमा आउने पर्यटकलाई समेत सेवा दिइरहेका छन् । महेन्द्रनगरदेखि दोधारा चाँदनीको यात्राका लागि पर्यटक ओसार्नमा मुन्द्रे यातायातको लोकप्रियता छ ।
ट्याक्सी सेवा पनि लोकप्रियताको पर्खाइमा
टुटल र पठाओले मोटरसाइकल सेवा दिएजस्तै केही कम्पनीले एपमार्फत ट्याक्सी सेवा पनि दिइरहेका छन् । पठाओले पनि केही समयअघि मात्र ट्याक्सी सेवा सञ्चालन गरेको छ भने टुटलले तयारी गरिरहेको छ ।
सारथी नामक एपले २०७३ साल फागुनदेखि क्याप (ट्याक्सी) मार्फत यात्रुहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । सरकारले निर्धारण गरेको मिटर शुल्कका आधारमा सारथीले घरसम्मै पुगेर यात्रु बोकिरहेको छ । मिटर पनि यात्रु चढेपछि बल्ल सुरु गरिन्छ । सारथीले चौबीसै घण्टा यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको प्रमुख व्यवस्थापक अजय पौडेल बताउँछन् । तीन वर्षको अवधिमा सारथिसँग तीन हजार ट्याक्सी जोडिएका छन् ।
यसबाहेक इजी ट्याक्सी नेपाल, अनभर स्मार्ट ट्याक्सी, इडेक्याप, ट्याक्सी फेयर्स नेपाललगायतका एपले पनि ट्याक्सी सेवा सुरु गरेका छन् । तर, यी एपको प्रभावकारिता काठमाडौंबाट भाडामा काठमाडौंबाहिर जान (लामो दूरीको यात्रा) मा देखिएको छ ।
त्यस्तै, पछिल्लो समय लामो दूरीको बसको टिकटसमेत एपमार्फत काट्न थालिएको छ । ईसेवाको बससेवासाग सहकार्य गरेर विभिन्न यातायात सेवा प्रदायक कम्पनीले एपमार्फत अग्रीम टिकट बुकिङ गरिरहेका छन् । तर, यो सेवा त्यति प्रभावकारी भने हुन सकेको छैन । एउटा सिट नम्बरको टिकट काटेर अर्कै सिट पर्ने समस्या रहेको यात्रुहरुको गुनासो छ ।