‘गुटबाट बन्ने हरेक चलचित्रको फ्लेभर एउटै बन्दै गएको छ । कथालाई कसरी चलाउन सकिन्छ भन्नेमा उनीहरू केन्द्रित हुन सकेका छैनन् ।’
चलचित्र यसै पनि सामूहिक कर्म हो । एउटै चलचित्र निर्माण हुँदा निर्मार्ता–निर्देशक, कलाकार, प्राविधिक, सर्जक गरेर दर्जनौं मानिसको सहभागिता हुन्छ । तर, एकै खालका मान्छे स्थायी रूपमा एउटै समूहमा रहेर काम गर्ने चलन पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बढिरहेको छ । यसलाई कतिपय चलचित्रकर्मी र चलचित्र–समीक्षकले नेपाली चलचित्रमा बढ्दो गुटबन्दीका रूपमा अथ्र्याउने गरेका छन् ।
‘हामी चलचित्रकर्मीहरू एक–अर्काप्रति सद्भाव नै राख्दैनौं । एक–अर्कामा सहयोगको भावनासमेत राख्न छाडेका छौं’, केही महिनाअघि काठमाडौंमा सम्पन्न एउटा अन्तक्र्रियामा चलचित्र निर्माता प्रदीपकुमार उदयले भनेका थिए, ‘चलेको चलचित्रलाई स्विकार्न नसक्ने तथा नचलेको चलचित्रलाई बढाइचढाइ गर्ने गुटबन्दीको समस्या अहिले नेपाली चलचित्र क्षेत्रले भोगिरहेको छ ।’ निर्मार्ता उदयको यो भनाइ नेपाली चलचित्र क्षेत्रमा व्याप्त विसंगतिमाथि सामान्य टिप्पणी मात्रै होइन, बरु बढ्दो गुटबन्दीप्रति पोखिएको तीतो यथार्थ हो ।
चलचित्र निर्माण तथा वितरणको क्षेत्रमा लामो समयदेखि क्रियाशील उदयको भनाइजस्तै केही वर्षयता नेपाली चलचित्र क्षेत्रमा भिन्न–भिन्न समूहको गुटबन्दी मौलाउँदै गएको छ । पछिल्लो आधा दशकयता आधा दर्जनभन्दा बढी यस्ता समूह बनेका छन् । ती समूहमा निर्देशक, निर्माता, अभिनेता–अभिनेत्री, संगीतकार, लेखकदेखि स्पट–ब्वाइसम्म आबद्ध छन् । अपवादबाहेक एउटा समूहमा रहेका चलचित्रकर्मीहरू अर्को समूहले निर्माण गर्ने चलचित्रमा विरलै देख्न पाइन्छ । अझ एउटा समूहले अर्को समूहलाई प्रतिस्पर्धी ठान्ने प्रवृत्ति पनि बढ्दै छ ।
कसरी प्रारम्भ भयो गुट ?
चलचित्र निर्माता प्रदीप उदयको भनाइलाई विश्वास गर्ने हो भने एकल रूपमा निर्माण गरिएका नेपाली चलचित्रले व्यावसायिक सफलता हासिल गर्न सक्ने ग्यारेन्टी नै नभएर समूहमा मिलेर चलचित्र बनाउने चलन बढेको हो । समूहले चलचित्र बनाउँदैमा त्यसले उत्कृष्ट व्यवसाय गर्छ भन्ने हुँदैन । समूहले बनाए पनि, एकल निर्माता–निर्देशकले बनाए पनि व्यावसायिक रूपमा सफल हुनका लागि चलचित्र नै राम्रो बन्नुपर्छ । ‘चलचित्र नराम्रो बन्यो भने स्वत: घाटामा जान्छ’, निर्माता उदय भन्छन्, ‘व्यावसायिक रूपमा सुरक्षित हुन पनि चलचित्र क्षेत्रमा विभिन्न समूहको जन्म भएको हो । अहिले एक्लै चलचित्र बनाएर कोही पनि ‘रिस्क’ लिन चाहँदैन । त्यसैले पनि समूहको प्रचलन बढेको छ ।’
नेपाली चलचित्र क्षेत्रमा कुनै बेला छवि ओझा, युवराज लामा, अशोक शर्माजस्ता मेकरहरूले समेत समूहको अवधारणामा काम नगरेका होइनन् । त्यतिबेला चलचित्रको निर्माण संख्या अति कम भएका कारण कलाकारदेखि प्राविधिकसम्म आ–आफ्ना विधामा प्रशस्त मेहनत गर्थे । त्यो बेला प्रदर्शनमा आएका कति चलचित्रले व्यावसायिक सफलता पनि हासिल गरेका थिए । देशमा राजनीतिक अस्थिरता र द्वन्द्व चर्किएका बेलामा मनोरञ्जन क्षेत्र धराशायी हुन थाल्यो, जसका कारण चलचित्र निर्माणमै कमी आउन थाल्यो भने कतिपय सिनेमा हलहरूसमेत बन्द भए ।
०६२/६३ को जनआन्दोलनपछि राजनीतिक व्यवस्था फेरिएसँगै चलचित्र क्षेत्रले पुन: फस्टाउने अवसर पायो । दीपकराज गिरी र दीपाश्री निरौला (दीपक–दीपा) समूहले ‘६ एकान ६’ बनाउने क्रममा समूहको अवधारणाबारे सोचेको थिएन । माओवादी सशस्त्र द्वन्द्वको विषय उठान गरिएको दोस्रो चलचित्र ‘वडा नम्बर ६’ मा पुग्दा–नपुग्दै अघोषित रूपमा दीपक–दीपाको बेग्लै समूह बन्यो । हास्यशृंखला ‘तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सै’मा काम गर्ने कलाकारहरूकै समूहले ‘६ एकान ६’ चलचित्रमार्फत ठूलो पर्दाको चलचित्र निर्माणमा हात हालेको थियो । ‘वडा नम्बर ६’, ‘छक्कापन्जा’ नामका तीन सिक्वेल र पछिल्लो ‘छ माया छपक्कै’सम्म आइपुग्दा दीपक–दीपा समूह सुदृढ मात्र भएन, यो समूहकै कारण अन्य चलचित्रकर्मीलाई समेत समूहमै काम गर्नुपर्ने रहेछ भन्ने भावना जगायो । फलस्वरूप यतिबेला नेपाली चलचित्र क्षेत्रमा झन्डै एक दर्जन समूह सक्रिय छन्, जसले नियमित चलचित्रहरू निर्माण गरिरहेका छन् ।
हलिउड र बलिउडमा जस्तो सिक्वेल तथा शृंखलाबद्ध चलचित्र निर्माण गर्ने लहर चलेपछि यस्ता समूहहरू अझ सशक्त भएको बुझाइ केही चलचित्रकर्मीको छ । निर्माता–निर्देशक विकासराज आचार्य, रेखा थापा, छवि ओझा, सुदर्शन थापाजस्ता अधिकांश चलचित्र निर्माताहरू आ–आफ्नो समूहमा आबद्ध भएर सिक्वेल तथा शृंखलाकै निर्माणमा सक्रिय छन् ।
गुटबन्दीको समस्या
एउटा गुटमा आबद्ध कलाकारले आफ्नै गुटले बनाउने चलचित्रमा मात्रै काम गर्छन् । उदाहरणकै कुरा गरौं, दीपक–दीपा समूहले निर्माण गरेका चलचित्रमा गीत–संगीतले महत्त्वपूर्ण स्थान राखेको देखिन्छ । ‘सुर्के थैली खै’देखि ‘पूर्वपश्चिम रेल’जस्ता लोकशैलीका धुन सिर्जना गर्ने संगीतकार राजनराज शिवाकोटी कुनै बेला यही समूहका खम्बा थिए । दीपक–दीपाका दुई चलचित्र ‘वडा नम्बर ६’ तथा ‘छक्कापन्जा’का गीत राजनराजले नै तयार पारेका हुन् । ‘छक्कापन्जा–२’ तथा त्यसपछिका चलचित्रमा भने यो समूहमा राजनराज शिवाकोटी अटाएनन् । दीपक–दीपा समूहले ‘छक्कापन्जा–२’ मा अल्मोडा राणा, ‘छक्कापन्जा–३’ मा दीपक शर्मा र ‘छ माया छपक्कै’ मा वसन्त थापालाई संगीतकार लियो ।
गुटबन्दीले कलाकार कि सधैं एउटै समूहको बनाउँछ, कि कसैको पनि नहुने बनाउँछ । अभिनेत्री वर्षा राउत र वर्षा शिवाकोटीकै कुरा गरौं न । वर्षा राउत दीपक–दीपाका प्राय: सबै चलचित्रमा छिन् । वर्षा शिवाकोटीले भने उक्त समूहसँग हालसम्म एउटा पनि चलचित्र गर्न पाएकी छैनन् । विकास आचार्य निर्देशनको ‘नाइँ नभन्नु ल–२’ चलचित्रमार्फत अभिनयमा आएकी शिवाकोटीलाई आचार्यले पनि त्यसपछिका कुनै पनि चलचित्रमा लिएनन् । पछिल्लो समय उनी मिलन चाम्सको समूहमा आबद्ध थिइन् । अहिले भने कुनै समूहमा अटाउन सकेकी छैनन् ।
पछिल्लो समय लोकप्रिय हुँदै गएका प्रदीप खड्का निर्माता–निर्देशक सन्तोष सेनको समूहको सदस्यका रूपमा चिनिन्छन् । प्रारम्भमा सुदर्शन थापाको ‘प्रेमगीत’मार्फत दर्शकको मन जितेका प्रदीपलाई त्यसपछि सुदर्शनले आफ्ना कुनै पनि चलचित्रमा लिएनन् । सुदर्शन मात्र होइन, उनकै समूहकी अभिनेत्री तथा निर्मात्री पूजा शर्मासँग सम्बन्ध बिग्रिएपछि अभिनेता खड्का केही समय स्वतन्त्र भएर काम गरे । पछिल्लो समय उनी निर्माता–निर्देशक सन्तोष सेनका चलचित्रमै काम गरिरहेका छन् ।
चलचित्र समीक्षक अनुप सुवेदी समूह बनाएर चलचित्र निर्माण गर्नेहरूले गम्भीर विषयमा काम गर्न नसकेको बताउँछन् । उनका अनुसार पछिल्लो समय गुट बनाएर काम गर्नेहरूले सामाजिक विषय उठाएका भए पनि बढी कमेडी फ्लेभरका चलचित्र बनाएका छन् ।
सुवेदी नेपालको चलचित्र क्षेत्र अहिले बिस्तारै स्टुडियो सिस्टममा जान खोजिरहेको तर्क गर्छन् । ‘यस्तो बेलामा समूहमा रहेर प्रोडक्सन हाउस बनाउनु खुसीको कुरा हो, जसले चलचित्र वितरणदेखि निर्माणसम्मको काम गरिरहेको छ’, सुवेदी भन्छन्, ‘सिर्जनाका हिसाबले समूहबिना नै चलचित्र बनाउनेलाई केही गाह्रो भएको छ । धेरै व्यक्तिको समूह बनाएर चलचित्र बनाउने क्रम भर्खर–भर्खर सुरु भएको छ । यो कति दिनसम्म टिक्छ भन्ने मुख्य कुरा हो । हामीले विगतको अवस्थालाई पनि नियाल्नुपर्छ । कुनै समय छविराज ओझा र युवराज लामाको पनि यस्तै समूह थियो । ती समूह लामो समयसम्म रहन सकेनन् ।’ अहिले धेरै समूहले कमेडी फ्लेभरलाई नै फलो गरिरहेको र नयाँ क्रिएटिभ चलचित्र बनाउँछु भन्नेका लागि गाह्रो अवस्था भएको पनि सुवेदीको बुझाइ छ ।
‘अहिले निश्चित फम्र्याटको चलचित्र हुनुपर्छ भन्ने दबाब छ, किनभने बजारमा दर्शकले त्यस्तै चलचित्रलाई बढी रुचाइरहेका छन्’, सुवेदी भन्छन्, ‘समूहमा लगानी गर्नु राम्रो पक्ष हो, तर त्यसको व्यापार कत्तिको पारदर्शी छ भन्ने गौण छ । यो कुराको खोजी हुनुपर्छ ।’ चलचित्र क्षेत्रमा बढ्दो महँगीले समूह–समूह बनेको भन्ने बुझाइ गलत भएको सुवेदीको तर्क छ । उनी भन्छन्, ‘समूहमा काम गर्दा निर्माणदेखि चलचित्र वितरण गर्न र हलमा लैजानसम्म सजिलो भएको छ । मार्केटिङ गर्न, साइड कास्टिङ गर्न सजिलो भएको छ । नाम चलेका कलाकारलाई पनि कसको टिममा जाने विकल्प पनि तयार भएको छ ।’
निर्देशक तथा समीक्षक मनोज पण्डित चलचित्र निर्माण गर्दा प्रतिस्पर्धा समूह–समूहबीच नभएर चिन्तनमा हुनुपर्ने बताउँछन् । चलचित्र वैचारिक उत्पादन भएकाले समूहमा चलचित्र बन्नु नयाँ नहुने उनको तर्क छ । ‘चलचित्र समूहबाटै बन्ने हो । त्यो समूहमा विभिन्न विचार भएका व्यक्तिहरू संलग्न हुन्छन् । विचार मिल्ने मान्छेसँग मात्र काम गर्न सजिलो हुन्छ । समूहमा विचार, अर्थशास्त्र र व्यवस्थापनको कुरा आउँछ । अहिले दर्शक तथा प्रदर्शकले समूहलाई नै विश्वास गर्न थालेका छन्’, पण्डित भन्छन्, ‘समूहमा काम गर्दा प्रतिस्पर्धा नै हुनु हुँदैन भन्ने होइन । प्रतिस्पर्धा समूहमा होइन, चिन्तनमा हुनुपर्छ । चलचित्रमा कोही नयाँ मान्छे आयो भने ऊभन्दा पनि उसको चिन्तन प्रणाली कस्तो छ, त्यसमा ध्यान दिनुपर्छ । नयाँ चिन्तन लिएर आएको छ भने समाजमा आफूलाई स्थापित गर्न महत्त्वपूर्ण ठाउँ पाउँछ । निश्चल बस्नेत आउँदा उसमा नयाँ चिन्तन थियो, तर ऊ पुरानै चिन्तनमा फर्किंदा असफल भयो ।’
चलचित्र लेखक तथा समीक्षक विजय अधिकारीको तर्क अलि बेग्लै छ । उनी चलचित्र क्षेत्रको गुटबन्दीले मिश्रित परिणाम दिइरहेको सुनाउँछन् । ‘समूहमा चलचित्र बनाउनुलाई मैले सकारात्मक तथा नकारात्मक दुवै पाटोबाट हेर्छु,’ अधिकारी भन्छन्, ‘पहिला सकारात्मक कुरा गरौं । समूहमा चलचित्र बनेपछि त्यसमा एउटा लिडर हुन्छ नै । जस्तो दीपकराज गिरी, निश्चल बस्नेत, प्रदीप भट्टराई लिडर हुन् । समूह भनेको एउटा ब्रान्ड हो । बलिउडमा हेर्ने हो भने सलमान खान, आमिर खान आफैंमा ब्रान्ड बनिसकेका छन् । शाहरूख पनि ब्रान्ड हुन्, तर उनी पछिल्लो समयमा खस्कँदै गएका छन् । अहिले ब्रान्डले गर्दा दर्शकलाई चलचित्र हेर्ने माहौल बन्यो । दीपकराज, निश्चल, प्रदीपलगायतको समूहको फ्लेभर आफ्नै किसिमको छ । दर्शकबाट पनि उनीहरूकै फ्लेभरको चलचित्र हेर्न पाइयोस् भन्ने अपेक्षा हुन्छ । उनीहरू त्योभन्दा बढी र कम पनि अपेक्षा गर्न सक्दैनन् ।’
अधिकारीले गुटबन्दीका कारण कथा प्रस्तुतीकरणमा विविधता नआएको टिप्पणी पनि गरे । ‘गुटबाट बन्ने हरेक चलचित्रको फ्लेभर एउटै बन्दै गएको छ । कथालाई कसरी चलाउन सकिन्छ भन्नेमा उनीहरू केन्द्रित हुन सकेका छैनन्’, उनले भने, ‘अर्को कुरा, बलिउडमा सलमान खानलाई दर्शकले भाइजानकै रूपमा चिनिरहेका छन् । उनले आफूलाई जुनसुकै चलचित्रमा पनि भाइजानकै रूपमा प्रस्तुत गरिरहेका छन् । यस्तो क्रियाकलापले एउटा कलाकारको कलाकारिता मर्छ । हामीले हेर्दा पनि सलमानमा त्यही समस्या देख्छौं । रोहित सेठ्ठीले चलचित्र बनाउँदा उसले चलचित्रमा गाडी उडाउँछ भन्ने दिमागमा बसिसकेको हुन्छ । हामीले ब्रान्ड थिङ्किङलाई राम्ररी स्थापित गर्न सकेका छैनौं ।’ अधिकारी गुटबन्दीकै कारण चलचित्र क्षेत्रले सामाजिक विषय पहिचान गर्न नसकेको दाबी गर्छन् ।
गुटबन्दीबारे के भन्छन् चलचित्रकर्मी ?
सन् १९६४ मा हीरासिंह खत्रीले निर्देशन गरेको ‘आमा’लाई नेपालमा बनेको पहिलो चलचित्र मान्ने गरिन्छ । सरकारको सूचना विभागअन्तर्गत रहेर यो चलचित्र निर्माण भएको थियो । तत्कालीन समयमा चलचित्रहरू कम्पनीअन्तर्गत निर्माण हुने गरेका निर्देशक, निर्माता तथा गीतकार यादव खरेल सम्झन्छन् । उक्त कम्पनीमा दुईदेखि तीन जना निर्माता रहन्थे । ‘त्यो समयमा एउटै मान्छेको पनि कम्पनी हुन सक्थ्यो अथवा एकभन्दा बढीको पनि हुन्थ्यो । अरू कम्पनी संलग्न हुने भए पनि पार्टनरका रूपमा निर्माण हुन्थ्यो’, यादव भन्छन्, ‘२०२८ सालमा शाही नेपाल चलचित्र संस्थान गठन भएपछि त्यसअन्तर्गत धेरै चलचित्र बने । निजीको कुरा गर्दा ‘माइतीघर’पछि अन्य चलचित्र बने । निजीमा पनि कम्पनी एउटै भए पनि सेयर होल्डर फरक हुन्थे ।’
यादवको बुझाइमा समूह बनाएर चलचित्र निर्माण गर्नु शक्तिको प्रयोग गर्नु हो । ‘त्यो शक्ति पैसा र व्यवसाय दुवैको हुन सक्छ । समूहमा रहेर काम गर्नु राम्रो कुरा हो । नेपालमा पछिल्लो समयमा समूहले कसरी काम गरिरहेका छन्, त्यसबारे म खासै अपडेट त छैन, तर मेरो बुझाइमा समूहमा काम गर्दा विग्रह र विवाद आउन सक्छ’, उनी भन्छन्, ‘एउटाको मात्र हुँदा एकल निर्णय हुन्छ । निर्माताले यी कुरालाई मिलाएर लैजानुपर्छ ।’
निर्माता छविराज ओझाले अभिनेता राजेश हमालको ‘डेब्यु’ चलचित्र ‘युगदेखि युगसम्म’बाट निर्माणमा हात हालेका हुन् । त्यसयता निर्माणमा सक्रिय उनको पछिल्लो चलचित्र ‘मंगलम्’ हो । उनको बुझाइमा डिजिटल फम्र्याटमा चलचित्र निर्माणमा महँगी बढ्नुले पनि समूहमा काम गर्नु राम्रो हो । ‘समूह बनाएर चलचित्र निर्माण गर्नु नराम्रो कुरा होइन । अहिलेको पुस्तामा चलचित्र महँगो बन्दै गएको छ । धेरै जना मिलेर धेरैवटा चलचित्र निकाल्नुभन्दा समूह–समूहमा बसेर राम्रो चलचित्र बनाउनु राम्रो कुरा हो’, उनी भन्छन्, ‘त्यसो भयो भने धेरै पैसा खर्च गरेर राम्रो चलचित्र बनाउन पनि सकिन्छ । त्यसमा रिस्क पनि कम हुन्छ । हाम्रो समयमा समूह हुँदैनथ्यो । त्यो समयमा ५० देखि ६० लाखमा चलचित्र बन्थ्यो । अहिले यो चलन नेपालमा मात्र होइन, हलिउड र बलिउडमा पनि छ ।’
छविका अनुसार समूहमा काम गर्दा देखिने नराम्रो पक्ष कसले के काम गर्ने, कुन कम्पनी कसको नाममा राख्ने भन्ने हुन्छ । ‘सकारात्मक पक्ष भनेको कम्पनीलाई नै अगाडि लाने भन्ने हो । हामीले हलिउड, बलिउडमा त्यो शैलीलाई देखेका छौं । कम्पनीभित्र को छ भन्ने कुरा मुख्य हुन्छ । जो अगाडि छ, उसको नाम राखेर झगडा नगरी लाने हो भने राम्रो हुन्छ’, छविराज भन्छन् ।
आधा दर्जनभन्दा बढी चलचित्र निर्देशन गरे पनि लेखक तथा निर्देशक विकासराज आचार्य ‘नाइँ नभन्नू ल’ सिरिजबाट दर्शकमाझ बढी चिनिए । यो सिरिजबाट बालकलाकार अनुभव रेग्मीलाई भित्र्याएका आचार्यको पनि आफ्नै समूह छ । ‘चलचित्र बनाउन समूह आवश्यक छ, किनभने समूहका सदस्यसँग जति बढी सल्लाह भयो, त्यति राम्रो रिजल्ट निस्कन्छ । मैले कमर्स पढ्दा शिक्षकले पाँच व्यापारी बसेर छलफल गर्यो भने छैटौं योजना वा धारणा निस्कन्छ भन्थे’, विकास खुल्छन्, ‘गुणस्तरीय कामका लागि समूह राम्रो हो । म त चलचित्र लेखन पनि पाँच–छ जना मिलेर गर्नुपर्छ भन्ने मान्यता राख्छु । यो चलन हलिउड, बलिउडमा चलेर आइरहेको छ ।’ विकास चलचित्रकर्मीलाई समूह–समूहमा मिलेर एउटै चलचित्र बनाए राम्रो परिणाम निस्कने सुझाव दिन्छन् ।
यस्ता छन् समूहहरू
अहिले झन्डै आधा दर्जन समूह नेपाली चलचित्र निर्माणमा क्रियाशील छन् । त्यस्ता समूहमा चलचित्रका निर्माता, निर्देशक, लेखक, छायाँकार, सम्पादकदेखि कलाकारहरूसमेत आबद्ध छन् । नेपाली चलचित्रमा डिजिटल प्रविधिको प्रवेशपछि समूहमा चलचित्र निर्माण गर्ने चलन बढ्दै गएको देखिन्छ । यी समूह खास गरी चलचित्रको सिरिज र सिक्वेल निर्माणमा सक्रिय छन् ।
हास्यकलाकारहरूको समूह बनाएर ‘६ एकान ६’ बाट निर्माण सुरु गरेका अभिनेता दीपकराज गिरी नेपाली चलचित्रमा स्टारडमको अभाव भएपछि नै समूहमा चलचित्र निर्माणको चेत आएको दाबी गर्छन् । ‘टिमवर्क भन्दै एकै जनाले मात्र काम गरिरहेको अवस्था थियो । हाम्रो बुझाइ पनि चलचित्र एक्लैले बनाउन सक्छ भन्नेमा थियो’, दीपकराज भन्छन्, ‘तर अवस्था त्यो होइन रहेछ । समूहमा जिम्मेवारी दिएर काम गराउन सके राम्रो उत्पादन सिर्जना गर्न सकिने रहेछ भन्ने उदाहरण हामीले ‘छ माया छपक्कै’सम्म आइपुग्दा देखाइसकेका छौं ।’
महसञ्चारबाट चलचित्र निर्माणमा सक्रिय अभिनेता हरिवंश आचार्य यतिखेर निर्देशक तथा लेखक प्रदीप भट्टराई तथा निर्माता रवीन्द्रसिंह बानियाँसँग मिलेर नयाँ चलचित्र निर्माणमा जुटिरहेका छन् । उनी चलचित्र निर्माणको जिम्मेवारी एउटै मान्छले बोक्नु जोखिमपूर्ण हुने बताउँछन् । ‘एउटै मान्छेमा सबै भार थोपरियो भने उसको क्रिएटिभीटीमा असर पर्न सक्छ । समूहमा काम गर्दा त्यसको परिणाम जे–जस्तो आए पनि त्यसमा चित्त बुझाउन सकिन्छ’, हरिवंश भन्छन्, ‘समूहमा काम गर्दा पार्टनरसिपमा गर्न सजिलो हुन्छ, जसले गर्दा चलचित्रमा लगानी पनि कम हुने अवस्था आउँछ ।’
समूहमा काम गर्न रुचाउने निर्देशकमा प्रदीप भट्टराई पनि पर्छन् । मह सञ्चारमा रहेर लामो समय टेलिसिरियलको मुख्य सहायक निर्देशकको अनुभव सँगालिसकेका प्रदीपले चलचित्र ‘जात्रा’बाट चलचित्र निर्देशकीय यात्रा प्रारम्भ गरेका हुन् । त्यसयता उनले ‘शत्रुगते’ र ‘जात्रैजात्रा’ निर्देशन गरिसकेका छन् । समूहमा काम गर्दा त्यसमा आउने इनपुटले गर्दा राम्रो चलचित्र बन्ने बाटो खुला भएको उनी बताउँछन् । ‘नेपालमा समूहमा चलचित्र बनाउने संस्कार अझै बढ्दै जानुपर्छ । फरक–फरक सोच भएका मान्छे एकै ठाउँमा बस्यो भने गल्ती र कमजोरीलाई औंल्याएर त्यसलाई सुधार्न सकिन्छ’, उनी भन्छन् ।
गिरीका अनुसार औपचारिक रूपमा कुनै पनि चलचित्रकर्मीले समूह विभाजन गरेका छैनन् । ‘अनौपचारिक रूपमा भने स्वत: निर्माण भएका समूहका सदस्यमा जिम्मेवारी बाँडफाँड हुन्छ । पाँच जनाको समूहमा कसै न कसैको चित्त नबुझेको पनि हुनसक्छ । त्यसैले यसका सकारात्मक तथा नकारात्मक पक्ष उत्तिकै छन्,’ गिरी भन्छन् । भट्टराईको तर्क बेग्लै छ । उनी भन्छन्, ‘फरक–फरक सोच भएका मान्छे एकै ठाउँमा बस्यो भने गल्ती तथा कमजोरी औंल्याएर त्यसलाई सुधार्न सकिन्छ ।’ अभिनेता हरिवंश आचार्यको विचारमा समूहका सदस्यबीच कहिलेकाहीं राय नमिल्ने सम्भावनासमेत उत्तिकै रहन्छ । निर्देशक मिलन चाम्स पनि एउटै समूहमा आबद्ध भएर काम गर्दा जिम्मेवारी अलि कम हुने तर कहिलेकाहीं कुरा नमिल्दा केही समस्या आउन सक्ने बताउँछन् ।
समूहबाट अलग भएपछि धुर्मुस–सुन्तली
सामाजिक कार्यमा समेत सक्रिय अभिनेता सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले दीपकराज गिरी र दीपाश्री निरौलाको समूहमा रहेर चलचित्र ‘६ एकान ६’ तथा ‘वडा नम्बर ६’ सहकार्य गरे । दुई चलचित्रमा दीपक–दीपाको समूहमा रहेर काम गरेपछि उनी अभिनयकर्मलाई एकातिर थन्क्याएर सामाजिक काममा सक्रिय भए । अहिले आएर उनले आफैंले चलचित्र ‘सेन्टी भाइरस’ निर्माण गरेका छन् । धेरैले उनीहरू समूहबाट अलग्गिएको आशंका गरे । ‘हामी अलग्गिएका थिएनौं, सामाजिक काममा बढी व्यस्त भएका हौं । ‘६ एकान ६’ देखि अहिले ‘छ माया छपक्कै’ सम्म आउँदा उहाँहरूलाई मातृटिम मान्छु । म आफ्नै कारणले अलग्गिएको हो’, सीताराम भन्छन्, ‘हरेक चलचित्रमा आफू संलग्न रहँदा बस्ती निर्माण र अन्य सामाजिक काममा समय दिन नपाइने भइयो । हामी व्यस्तताका कारण आपसी सहमतिमै अलग्गिएका हौं ।’ उनले दीपक–दीपासँग सहकार्य गर्दा त्यहाँ सिकेको कुरालाई आफ्नो चलचित्र ‘सेन्टी भाइरस’मा लगाएको बताए ।
प्रदीप भट्टराईको समूह
मह सञ्चारमा लामो समय आबद्ध भएका युवा निर्देशक हुन्— प्रदीप भट्टराई । महसञ्चार समूहबाट बाहिरिएर उनले निर्देशन गरेको पहिलो चलचित्र हो— जात्रा । २०७३ साल कात्तिक २६ गते प्रदर्शन भएको उक्त चलचित्र व्यावसायिक रूपमा सफल भयो ।
धुर्मुस–सुन्तलीको समूह
त्यसो त सीताराम कट्टेल घुर्मुस तथा कुञ्जना घिमिरे पनि सानो पर्दाकै जमेका कलाकारहरू हुन् । उनीहरूले हास्यश्रृंखला ‘मेरी बास्सै’ मार्फत दर्शकको मन जितेका थिए । स्टेज कार्यक्रममा समेत उत्तिकै सक्रिय हुने यो जोडी २०७२ सालको भूकम्पपछि भने कलाकारितामा भन्दा समाजसेवामा बढी सक्रिय रहँदै आएको छ । रंगमञ्चका कार्यक्रममा फाट्टफुट्ट प्रस्तुत हुने धुर्मुस–सुन्तलीको जोडी यतिबेला भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा सक्रिय छ । तर, यति नै बेला उनीहरूको समूहले चलचित्र निर्माणमा पनि हात हालेको छ । उनीहरूले निर्माण गरेको पहिलो चलचित्र हो— सेन्टी भाइरस । आफ्नो समूहको पहिलो चलचित्रमा धुर्मुस–सुन्तलीले रामबाबु गुरुङलाई निर्देशकका रूपमा लिएका छन् भने दुवैले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरूको चलचित्रमा दयाहाङ राई तथा विल्सनविक्रम राई पनि मुख्य भूमिकामा छन् । यो समूहमा धुर्मुसका भाइ कुमार कट्टेल लेखकका रूपमा आबद्ध भएका छन् भने कट्टेलकै समूहका दीपक आचार्य पनि लेखकका रूपमा आबद्ध छन् । उता हास्य श्रृंखला भद्रगोल निर्माण र निर्देशन गरेर चर्चामा आएका कुमार कट्टेल, दीपक आचार्य र अर्जुन घिमिरेको समूह यतिबेला ‘सक्किगो नि’ शीर्षकको हास्यश्रृंखला निर्माण गरिरहेका छन् । उनीहरूको समूहले पनि निकट भविष्यमै ‘फनफनी’ शीर्षकको चलचित्र निर्माण गर्ने घोषणा गरिसकेको छ ।
मिलन चाम्सको समूह
पाँच वर्षअघिदेखि चलचित्र निर्माण तथा निर्देशनमा आएका मिलन चाम्सले चलचित्र ‘हँसिया’ र ‘ब्लाइन्ड रक्स’मा निर्माता निकेश लिम्बूसँग सहकार्य गरे । त्यो चलचित्रपछि अहिले आएर उनले निकेशसँगै मिलेर तेस्रो चलचित्र ‘गोर्खा वारियर’ को काम गरिरहेका छन् । अभिनयका हिसाबमा मिलनले चलचित्र ‘वीरविक्रम’ र ‘ह्याप्पी डेज’मा अभिनेता दयाहाङ राईसँग सहकार्य गरे । उनले अभिनेता नाजिर हुसेनसँग पनि चलचित्र ‘वीरविक्रम’ र ‘वीरविक्रम–२’ मा सहकार्य गरेका छन् । उनैले निर्देशन गरेका दुई चलचित्र ‘लिलिबिली’ तथा ‘बोबी’ भने व्यावसायिक रूपमा समेत सफल भए । बोबीमा उनले उमेश थापा र कविता गुरुङको जीवनीलाई चित्रण गरेका थिए । पछिल्लो पटक उनले बोबीकै सिक्वेल निर्देशन गर्ने घोषणा गरेका थिए, यद्यपि चलचित्रको निर्माण प्रारम्भ भएको छैन ।
दिनेश राउतको समूह
युवा निर्देशक दिनेश राउत प्रेमकथामा आधारित चलचित्र निर्माण गर्न सिपालु छन् । उनले विगतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठदेखि पछिल्लो समयमा विपिन कार्कीसँग सहकार्य गरिसकेका छन् । आठ वर्षअघि चलचित्र ‘आई एम सरी’ मा आर्यन सिग्देल तथा केकी अधिकारीलाई लिएर चलचित्र निर्देशनको क्षेत्रमा पदार्पण गरेका राउतले दोस्रो चलचित्र ‘नोभेम्बर रेन’ बाट सफलता हासिल गरे, जसमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ नै मुख्य भूमिका थिए । तेस्रो चलचित्र ‘क्लासिक’ मा पनि उनले आर्यन र नम्रतालाई नै दोहोर्याए । यही चलचित्रमार्फत उनले निर्माता सुवास गिरीसँग समेत सहकार्य गरे । निर्माता गिरीसँगै मिलेर उनले चलचित्र ‘पर्व’ समेत निर्देशन गरे, जसमा उनले नम्रता श्रेष्ठलाई पुन: मुख्य भूमिकामा लिए । अभिनेत्री नम्रता श्रेष्ठलाई आफ्नै समूहमा राख्न सफल निर्देशक राउतले अघिल्लो वर्ष निर्देशन गरेको चलचित्र ‘प्रसाद’ व्यावसायिक रूपमा समेत अत्यन्त सफल रह्यो । उक्त चलचित्रमा निर्देशक राउतलाई निर्माता सुवास थापाले साथ दिए । यतिबेला निर्देशक राउत निर्माता थापासँगै नयाँ चलचित्र ‘सेल्फी किङ’मा व्यस्त छन्, जसमा विपिन कार्की तथा लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् ।
चलचित्रकर्मीको आफ्नै असन्तुष्टि
निर्माता तथा निर्देशक आकाश अधिकारी नेपाली चलचित्रको वर्तमान अवस्थालाई सुधार्ने हो भने नेपाली कलाकारले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘आफूलाई रिजर्भ गर्न नसक्नु, आफ्नो दिनचर्यादेखि सबै कुरा सामाजिक सञ्जालमा पोख्नु, अनावश्यक पारिश्रमिकको माग गर्नुजस्ता समस्याहरू कलाकारमा छ, यिनलाई नसुधारेसम्म नेपाली चलचित्र क्षेत्र उँभो लाग्न सक्दैन ।’ त्यसो त निर्देशक अधिकारीलाई नेपाली सेलिब्रेटीहरू अनुशासनमा नबसेकोमा पनि गुनासो छ । ‘सेलिब्रेटी भएपछि रिजर्भ बस्न सक्नुपर्छ,’ उनको गुनासो छ, ‘उठेको, हिंडेको, खाएको, मेकअप गरेको देखि लिएर हरेक कुरा सामाजिक सञ्जालमा अपलोड गरेपछि ती कलाकारलाई हेर्न दर्शक टिकट काटेर हलमा किन जाने ?’ त्यसो त निर्देशक अधिकारी भन्छन् । एक–दुई चलचित्र चल्दा–नचल्दै आफूलाई सुपरस्टार ठानेर जथाभावी चर्काे पारिश्रमिक माग गर्ने कलाकारको रबैयाले गर्दासमेत दर्शकमा वितृष्णा जाग्दै गएको हो ।’
चलचित्रकर्मी नीर शाहले केही वर्षअघि नै चलचित्र क्षेत्रसँग सम्बन्धित एउटा तीतो यथार्थता पोखेका थिए । ‘नेपाली चलचित्र क्षेत्र अफ ट्रयाकमा जान थालेको छ,’ केही वर्षअघि उनले एउटा समारोहमा भनेका थिए, ‘हाम्रो चलचित्र क्षेत्र लिक छाडेर बाहिर गएको रेलजस्तो भएको छ । जुन रेल घिस्रन्छ मात्र, दौडन सक्दैन ।’
‘चलचित्र क्षेत्रले विभिन्न कालखण्डमा विभिन्न खालका सुविधा भोग्न पाएको छ, तर गुणस्तरीय रूपमा अगाडि बढ्न सकेन,’ नीर शाहको भनाइ थियो, ‘नेपाली चलचित्र क्षेत्रमा गुणस्तर प्राप्त हुन सकेन । खालि आकारमा मात्र ठूलो बन्ने काम भयो ।’