गर्भ देखाएर फोटो सुट गर्ने, बच्चाको बुबालाई गर्भमा चुम्बन गर्न लगाउने र तस्बिर सामाजिक सञ्जालमा राख्ने, रेस्टुराँ, पार्टी प्यालेस र घरमै पनि मदिरासहितको पार्टी गर्नेजस्ता कार्य गरेर गर्भावस्थाको सेलिब्रेसन गर्न थालिएको छ ।
नेपालका सहरी क्षेत्रमा ‘बेबी सावर’ले नयाँ संस्कारको रूप लिइरहेको छ । गर्भवती महिला सात–आठ महिना पुगेपछि परिवारका सदस्यबीच दही–चिउरा खाने चलन नेपालमा पुरानै हो । तर, त्यही गर्भोत्सव संस्कारले पछिल्ला वर्षहरूमा ‘बेबी सावर’ उत्सवको नाम पाएको छ ।
गर्भवतीमा आत्मविश्वास बढाउनु र गर्भमा रहेको शिशुको कुशलताको कामना गर्नु दही–चिउरा संस्कारको मुख्य उद्देश्य मानिन्छ । दही–चिउरा संस्कारमा परिवारका सदस्यहरू भेला भएर गर्भवती महिलाको आत्मविश्वास बढाउन मीठो खुवाउने र सु–स्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गरिन्थ्यो । दही–चिउरा संस्कारकै परिमार्जित रूप भनिए पनि बेबी सावरमा खानपान, तडकभडक र खर्चिलो भोजसमेत हुन थालेको छ ।
गर्भ देखाएर फोटो सुट गर्ने, बच्चाको बुबालाई गर्भमा चुम्बन गर्न लगाउने र तस्बिर सामाजिक सञ्जालमा राख्ने, रेस्टुराँ, पार्टी प्यालेस र घरमै पनि मदिरासहितको पार्टी गर्नेजस्ता कार्य गरेर गर्भावस्थाको सेलिब्रेसन गर्न थालिएको छ । सहरी क्षेत्रमा बेबी सावरलाई ब्याचलर पार्टी र जन्मोत्सव जत्तिकै महत्वका साथ मनाउन थालिएको छ । पछिल्लो समय अमेरिका, अस्ट्रेलिया, युरोप, बेलायतजस्ता देशमा बेबी सावर अनिवार्यजस्तै भएको छ । जसको पाश्चात्य प्रभाव नेपालमा परेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । ‘नेपाल आर्य तपोभूमिको देश हो । हाम्रो आफ्नै धर्म, संस्कृति र परम्परा छन् । हिजो पुंसवन संस्कारमा रहेको खिचडी चढाउने संस्कार, त्यसपछिको दही–चिउरा संस्कार हुँदै आज यसले बेबी सावरको रूप लिएको छ’, प्रा. गौतमले साप्ताहिकसँग भने, ‘हुन त यी कुरा व्यक्तिगत स्वतन्त्रतासँग पनि जोडिएलान् तर यसले हाम्रो संस्कृतिको मूल पक्षलाई लोप गराउन सक्छ ।’
सहरिया फेसन
सहर–बजारमा गर्भोत्सव बेबी सावरकै नाममा फेसन बन्दै गएपछि मानिसहरूले त्यसको सिको गर्न थालेको जानकारहरू बताउँछन् । खासगरी विदेश गएका नेपालीहरूले बेबी सावर मनाएको देखेर नेपालीहरूले त्यसको सिको गर्न थालेको पाइन्छ । पछिल्लो समयमा भने नेपालीहरूले आफैं यो संस्कारलाई आत्मसात् गर्न थालेको देखिन्छ ।
त्रिविका उपप्रध्यापक राजिन पनेरू धेरैले बेबी सावर मनाएको देखेपछि आफूहरूलाई पनि रहर लागेको बताउँछन् । कहिले घरमा त कहिले साथीहरूको आयोजनामा रेस्टुराँमा गरेर तीन–चार पटक नै बेबी सावर मनाउन परेको र त्यसो गर्दा आफूलाई केही असहज लागेको उनको अनुभव छ । ‘मलाई खासै रुचि त थिएन तर, परिवार र साथीभाइहरूको बीचमा नाइ–नास्ती गर्न सकिएन,’ राजिन भन्छन्, ‘यसका सकारात्मक पक्षहरू पनि छन् तर देखासिकी गर्नु, खर्चिलो र भड्किलो बनाउनुलाई म नकारात्मक रूपमै लिन्छु ।’ सुरुमा श्रीमतीले केही असहज माने पनि पछि सहज लागेको र यसबाट उनको प्रसन्नता बढेको देख्दा भने आफूलाई खुसी लागेको उनको भनाइ छ ।
पश्चिमा मुलुकमा बेबी सावरको नाममा गर्भवती महिलाको तर्फबाट आफन्त तथा साथीहरूलाई बोलाएर पार्टी दिने चलन छ । नेपालमा भने रेस्टुराँमा हुने सामान्य पार्टी आफन्त तथा साथीहरूको पहलमा हुन्छ । घरमा हुने पार्टीमा परिवारका सदस्य र आफन्तहरू सहभागी हुन्छन् । सबै व्यवस्थापन उनीहरूबाटै हुन्छ । पार्टी प्यालेस बुक गरेर, घरमा क्याटरिङ बोलाएर गरिने पार्टीहरू भने गर्भवती महिलाको परिवारबाटै आयोजना गरिन्छ । यस्तै एक पार्टीमा सहभागी भएकी नम्रता केसी भन्छिन्, ‘मलाई त बर्थ डे पार्टी हो कि बेबी सावर भन्ने छुटयाउनै गाह्रो पर्यो । केक पनि काटिएको छ, टीका पनि लगाइएको छ, उपहारहरू पनि दिइएका छन् । साथीभाइ तथा इष्टमित्र एक ठाउँमा भेला हुनुबाहेक अरू त सबै स्वाङजस्तै लाग्यो ।’
सांस्कृतिक क्षेत्रमा आएको रूपान्तरण हो
राजिन पनेरू / उपप्राध्यापक, नेपाली विभाग त्रिभुवन विश्वविद्यालय
समय कालखण्डमा आउने अनेकौं रूपान्तरणझैँ आज हामीले मनाउन सुरु गरेको बेबी सावर पनि एउटा सांस्कृतिक रूपान्तरण हो । रूपान्तरण हुने क्रममा जुन चिजले बढी स्थान ग्रहण गर्छ अथवा ‘हाइलाइट’ हुन्छ, त्यसैमा सबैको ध्यान केन्द्रित हुन्छ । मैले सैद्धान्तिक रूपमा सांस्कृतिक रूपान्तरण र खासगरी पश्चिमा संस्कारलाई गाली गर्नेहरूकै घर–आँगनमा यस्ता संस्कारलाई धुमधामसँग मनाएको देखेको छु ।
मेरो ताजा अनुभव भन्छ, यसले सन्तान जन्माउँदै गरेकी आमा, बुबा, सिङ्गो परिवारजन र साथी–सङ्गीबीच आत्मीय सम्बन्ध स्थापना गर्नुका साथै सोही आत्मीयताका कारण सन्तान जन्माउँदै गरेकी आमा र बुबालाई सन्तानप्रतिको जिम्मेवारीबोध पनि हुन जान्छ । बेबी सावर वा दही–चिउरा नामले मनाइएको फरक–फरक चार कार्यक्रममा सहभागी भएको अनुभवमध्ये पहिलोपटक असहज भएजस्तो अनुभूति भयो । जुन अनुभूति श्रीमतीमा बढी देखियो । तथापि अभ्यस्त भएपछि छुट्टै अनुभव भयो । ‘टु बी मम’ लेखेको ताज पहिरिँदा श्रीमती लाजले रातोपिरो भइन् तर पछिल्ला कार्यक्रममा उनलाई पनि रातोपिरो हुनु परेन ।
काठमाडौं इभेन्ट म्यानेजमेन्टका म्यानेजर दिनेश घिमिरे मध्यम वर्ग र माथिल्लो वर्गले फरक–फरक तरिकाले ‘बेबी सावर’ पार्टीको आयोजना गर्ने गरेको बताउँछन् । हुने खानेले आफ्नै घरको कम्पाउन्डभित्र र मध्यम वर्गले पार्टी प्यालेसहरूमा यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको उनको अनुभव छ । सय जनादेखि ५ सयसम्मको सहभागितामा गरिने रक्सीबाहेकका सुविधासहितका यस्ता पार्टीमा न्यूनतम ३ लाखदेखि १० लाख रुपैयाँसम्म खर्च गर्ने गरेको उनी बताउँछन् । मानिसको सहभागिता र स्थानको सजावटअनुसार खर्च पनि घट्ने–बढ्ने उनको भनाइ छ ।
सिर्जना सुब्बा, रंगकर्मी / फाइल तस्बिर : अनित र कविना दम्पतीले गरेको गर्भोत्सव ।
केही महिनाअघि बेबी सावर गरेकी सविना लामिछाने सुरुमा घरपट्टीबाट, त्यसपछि माइतीबाट र साथीहरूबाट उत्सवका रूपमा यस्तो पार्टीको आयोजना गरेको बताउँछिन् । घरपट्टि सासू, जेठानी, नन्द र केही नजिकका आफन्त र माइतीपट्टि आमा, दिदी–बहिनी, मामा–माइजू र केही नजिकका आफन्त मिलेर मनाइएको बेबी सावर आफूलाई ड्राई पिकनिकजस्तो लागेको उनको अनुभव छ । ‘घरमा गर्दा सबै मिलेर खानेकुरा ल्याउनुभएको थियो । मिलेर खायौं । रमाइलो भयो’ उनी भन्छिन्, ‘एकान्तम बसिरहँदा प्रेसर भइरहेको हुन्छ । यसरी परिवार, आफन्त र साथीभाइबीच आपसमा सेलिब्रेसन गर्दा रिफ्रेसमेन्ट हुन्छ, प्रसन्नता, आत्मविश्वास बढ्छ । मैले पनि सोही अनुभव गरेँ ।’
बेबी सावर मनाउँदा ‘टु बी मम, टु बी ड्याड’ लेखिएको ब्यानर पृष्ठभूमिमा लगाएर गर्भवती आमा र बाबु दुवैलाई सँगै राखिन्छ । घरमा मनाउँदा केक, ‘होम मेड’ खानेकुरा, फलफूल र मीठाईलाई प्राथमिकतामा राखिन्छ भने रेस्टुराँमा मनाउँदा केक काटिन्छ र त्यहाँ बन्ने विभिन्न परिकारहरू खाने–खुवाउने गरिन्छ । केक काटेर श्रीमान्–श्रीमती दुवैलाई टीका लगाइदिएपछि बच्चाका लागि उपहार र पैसा दिने चलन पनि छ । त्यसपछि नाचगान गर्ने र श्रीमान्लाई श्रीमतीको गर्भमा चुम्बन गर्न लगाउने गरिन्छ । ती तस्बिरहरू आगन्तुकले सामाजिक सञ्जालमा राख्छन् । र, अरूले पनि यसको नक्कल गर्न थाल्छन् । अझ केही सेलिब्रेटीहरूले यसो गर्दा त समाचार नै बन्ने गरेको छ । जसले गर्दा बेबी सावर परम्परा फेसनका रूपमा विकसित हुँदै गएको छ ।
खिचडीदेखि केकसम्म
पूर्वीय शास्त्रहरूले मानिसको गर्भधानदेखि श्राद्धसम्म १६ संस्कार गर्नुपर्ने उल्लेख गरेका छन् । परापूर्वकालदेखि प्रचलनमा रहेका यी संस्कारहरू ऋषिमुनिले विकास गरेको धार्मिक तथा सांस्कृतिक मान्यता छ । ती १६ संस्कारमध्ये मानिसको जन्मअघि नै तीन संस्कार पर्छन् । गर्भाधान संस्कार, पुंसवन संस्कार र सीमन्तोन्नयन संस्कार । यसमध्ये सीमन्तोन्नयन संस्कार गर्भाधानको आठौं महिनामा गरिने संस्कार हो । संस्कृतविद्हरूका अनुसार गर्भस्थ शिशुको स्वास्थ्य र आमाको प्रसन्नताका लागि यो संस्कार मनाउने गरिन्छ । जसमा यज्ञमा आहुती दिएर बचेको खिचडीमा घ्यु हालेर गर्भिणीले आफ्नो प्रतिबिम्ब हेर्नुपर्ने हुन्छ ।
पछि यो संस्कार परिस्कृत हुँदै लोकजीवनमा दही–चिउरा खुवाउने संस्कारका रूपमा विकास भयो । गर्भवती महिलालाई दही खुवाउँदा आमा र बच्चा दुवै स्वस्थ जन्मने मान्यताका साथ यो संस्कारले मान्यता पाएको थियो । अहिले भने दहीको साटो गर्भवती महिलालाई केक, फलफूल र मिठाई खुवाउने गरिन्छ । कतिपयले दही पनि खुवाउने गर्छन् । केक काट्ने धेरैलाई आफूले बेबी सावर बनाएको हो वा दही–चिउरा भन्ने प्रष्ट छैन । उनीहरू यसलाई दही–चिउराकै परिवर्तित संस्कारका रूपमा लिइरहेका छन् ।
समयक्रमसँगै यो संस्कार मनाउने तरिकामा परिवर्तन आए पनि यसको मान्यतामा भने परिवर्तन आएको देखिँदैन । हिजो पनि गर्भवती महिलाको प्रसन्नता र आत्मविश्वास बढाउन, गर्वमा रहेको बच्चाको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्नका लागि यो संस्कार मनाउने गरेको पाइन्छ र आज पनि यसको उद्देश्य उस्तै छ । आठ महिनाकी गर्भवती लीला सुनुवार बेबी सावर पैसावालका लागि भएको बताउँछिन् । ‘हामीले त दही–चिउरा भनेरै मनायौं । केक पनि काटेनौं । मिठाई, फलफूल र दही खायौं’ उनी भन्छिन्, ‘कुरा एउटै हो । पद, प्रतिष्ठा र हैसियतअनुसार कोही तडक भडक गरेर मनाउँछन् त कोही सामान्य रूपमा ।’
आफूलाई के गर्दा खुसी मिल्छ, त्यो गर्न सक्नुपर्छ
सिर्जना सुब्बा, रंगकर्मी
गर्भ लुकाउनुपर्छ भन्ने एउटा समय थियो । तर, अहिले त्यो छैन । घाउ त लुकायो भने झन् पछि झन् समस्या बल्झदै जान्छ भने गर्भ किन लुकाउने ? यसलाई त सेयरिङ गर्ने हो । कतिलाई सोध्न गाह्रो भएको बेला, कतिलाई सेलिब्रेसन गर्न गाह्रो भएको बेला मैले उहाँहरूको सहजताका लागि फोटोसुट गरेर सामाजिक सञ्जालमा राखेँ । मेरो कदमबाट गर्भवती नभएकालाई यस्तो पनि हुँदोरहेछ भनेर मानसिक रूपमा विकसित गराउन सहयोग पुग्यो भन्ने लाग्छ । गर्भावस्थामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सकारात्मक ऊर्जा हो । त्यसैले आफूलाई के गर्दा खुसी मिल्छ त्यो गर्न सक्नुपर्छ । आफूसँग भएको कुरासँग रमाउने सक्नुपर्छ । हामी एउटा मान्छेबाट अर्को एउटा मान्छे बनाउँदै छौं भने त्यो सानो कुरा होइन । एउटा किसिमको जीवन बिताइरहेका हामी अर्कोतर्फ टर्न हुँदा तनावहरू आउन सक्छन् । तर, हामीले ती तनाबहरू सेलिब्रेसनको माध्यमबाट कम गर्नुपर्छ । ‘बेबी सावर’ जस्ता कार्यक्रमहरू यी कुराको अनुभव हो । जीवनमा अघि बढ्ने एउटा आधार हो ।
गर्भ लुकाउने वा देखाउने ?
पश्चिमा समाजमा बेबी सावरको नामले चिनिँदै आएको संस्कृतिको आदिम प्रभाव प्राचीन वैदिक संस्कृति (पूर्वीय संस्कृति), प्राचीन इजिप्ट, प्राचीन ग्रीक हुँदै उत्तर अमेरिका तथा युरोपियन मुलुकहरूमा परेको पाइन्छ । यसलाई फरक–फरक भूगोल, जाति, संस्कृतिमा फरक–फरक ढङ्गले मनाइन्छ । यी सबैको एउटै उद्देश्य जन्मने सन्तानको आहार–विहार तथा चिन्तन स्वस्थ र सन्तुलित होस् भन्ने हो । हाम्रो प्रवृत्ति पश्चिमा मुलुकको सिको गर्यौं भने सभ्य भइन्छ भन्ने छ, जसको प्रभाव हिजोआजका संस्कृति देख्न सकिन्छ । ‘बर्थ डे’ वा ‘म्यारिज एनिभर्सरी’ जस्तै एउटा उत्सवका रूपमा बेबी सावर प्रचलित हुन थालेको छ ।
फाइल तस्बिर : दीप रायमाझी र अनिता अधिकारी दम्पतीले लण्डनमा गरेको गर्भोत्सव ।
आफू गर्भवती हुँदै छु भनेर अरूलाई आफ्नो अवस्था देखाउनु हाम्रो संस्कार र संस्कृतिमा नभएको पञ्चाङ्ग समितिमा अध्यक्ष प्रा. गौतम बताउँछन् । उनी भन्छन्, ‘गर्भवती महिलाले चाहेको कुरा गर्न पाउनुपर्छ नत्र गर्भ दोषी हुन्छ भनेर शास्त्रमै लेखिएकै छ । त्यसैले रमाइलो गर्ने र उसले चाहेको कुरा खाने–लगाउने कुरामा उसलाई कसैले रोक्न सक्दैन । तर, गर्भको फोटो खिचेर सार्वजनिक गर्ने कुरा भने अलि अपाच्य नै छ । कुलवती नारीहरूले गर्भ छोपेर हिँड्छन् ।’
गर्भावस्थामा फोटोसुट गरेर सामाजिक सञ्जालमा अपलोड गरेकी रंगकर्मी सिर्जना सुब्बा गर्भावस्था लुकाउनुपर्ने विषय नरहेको बताउँछिन् । ‘आफूलाई के गर्दा खुसी मिल्छ, कसरी सकारात्मक ऊर्जाको विकास हुन्छ भन्ने कुराको ख्याल गर्दा बच्चालाई पनि त्यसले सकारात्मक प्रभाव पार्छ’, उनले भनिन्, ‘त्यसैले आफूसँग भएको कुरामा तनाब लिने होइन कि त्यसमा रमाउन सक्नुपर्छ । र, त्यो वातावरण आफूले तयार पार्ने हो ।’
बजारले पनि बढाउँदै !
पछिल्लो समय नेपालमा बेबी सावरकै लागि भनेर होटलहरूमा विशेष अफरहरू राखिन थालिएको छ । विभिन्न फोटोग्राफीसँग सम्बन्धित संस्थाहरूले पनि बेबी सावरका लागि विशेष फोटो सुटको व्यवस्था गर्न थालेका छन् । बेबी सावरकै लागि इभेन्ट म्यानेजमेन्ट सेवाहरूसमेत उपलब्ध हुन थालेको छ ।
अनलाइन सेवा ‘केक कोसेली’ कि रविता प्रजापति ‘बेबी सावर’ का लागि दिनमा ४ देखि ८ वटासम्म अर्डरहरू आउने गरेको बताउँछिन् । डिजाइन हेरेर एक पाउण्ड केकको मूल्य ८ सयदेखि १५ सय रुपैयाँसम्म पर्ने उनको भनाइ छ । काठमाडौं इभेन्ट म्यानेजमेन्टका म्यानेजर दिनेश घिमिरे आफूहरूले दैनिक ३–४ वटा बेबी सावरका कार्यक्रमहरू गर्दै आएको बताउँछन् । अन्य उत्सवहरूका लागि विशेष समारोह कुर्नुपर्ने भए पनि बेबी सावर हरेक महिना र दिनमा हुने भएकाले पनि यो राम्रो व्यवसाय बन्दै गएको उनको भनाइ छ ।
त्यस्तै, बेबी सावरका लागि डेकुरेसनको अनलाइन सुविधासमेत दिन थालिएको छ । ‘अफरिङ ह्याप्पिनेस’ ले विभिन्न प्याकेजमार्फत लोकेसन डेकुरेसन गर्ने काम गर्दै आएको छ । घरदेखि होटलसम्म ग्राहकको आवश्यकताको आधारमा आफूहरूले डेकुरेसन सेवा उपलब्ध गराउने अफरिङका सेल्स एस्क्युटिभ सुसन संग्रौला बताउँछन् । एउटा सामान्य डेकुरेसनको फोटो सुट र केकसहित ३८ हजार लाग्ने.उनले बताए । आवश्यक सेवा थप गर्न चाहेमा त्यो व्यवस्था पनि रहने र हालसम्म बढीमा ६० हजारसम्मको डेकुरेसन आफूहरूले गरेको उनले बताए ।
बेबी सावरमा सहभागी हुनेहरूले पसलमा गएर आमा र बच्चाका लागि विभन्न उपहारहरू समेत खरिद गर्छन् । बेबिज डे आउटका सञ्चालक ध्रुव मैनाली आफूहरूसँग बेबी सावर कार्यक्रम गर्नका लागि आवश्यक क्राउन, गाउन, ब्यानर, फोटो क्रपदेखि उपहारमा दिइने सबै सामानहरू रहेको बताउँछन् । दिन बिराएर बेबी सावरमा जानेहरू उपहारका लागि आउने र ५ सयदेखि १० हजारसम्मको उपहारहरू किनेर जाने गरेको उनको भनाइ छ ।
लिटिल स्वीट फोटोका संस्थापक मनिष श्रेष्ठ ‘बेबी सावर’ का लागि फोटो खिच्न दैनिक आफूहरू बुक हुने बताउँछन् । फोटो र भिडियो खिचेको ३५ हजार र फोटोमात्र खिचेको २५ हजार लिने गरेको उनको भनाइ छ । यसरी काठमाडौं, चितवन, बुटवल, पोखरा, इटहरीलगायतका देशका मुख्य सहरमा बेबी सावरप्रतिको आकर्षण सँगै व्यवसाय पनि बढ्दै गइरहेको छ ।
दही–चिउरा संस्कृतिको नयाँ रूप
प्रा. डा. रामचन्द्र गौतम / अध्यक्ष, पञ्चाङ्ग निर्णायक समिति
गर्भवती भएपछि रमाइलो गर्नु ठीक हो तर गर्भको फोटो खिच्ने, देखाउने अलि उत्ताउलो कुराहरू हुन् । गर्भधारण सृष्टिसँग जोडिएको कुरा हो । कुलवती नारीहरूले आफ्नो गर्भ छोपेर हिँड्छन् । मूलको पानी कुलको छोरी भन्ने भनाइ नै छ । यसले मानिसहरूलाई संस्कारमा बाँधिन सिकाउँछ । स्वस्थ सन्तान होस् भन्ने कामना गर्दै सीमन्तोन्नयन संस्कारअनुसार खिचडी पकाएर चढाउने परम्परा थियो, त्यसपछि दही–चिउरा खुवाउने संस्कार बस्यो र अहिले केक काट्ने संस्कृतिको विकास हुँदैछ । सन्तान स्वस्थ र गुण सम्पन्न होस् भन्नका लागि १६ संस्कारमा पर्ने सीमन्तोन्नयन संस्कार मनाइने गरिन्थ्यो । दही–चिउरासम्म आइपुग्दा पनि ठीकै थियो । तर, केक काट्ने भन्ने हाम्रो शास्त्रमा छैन । जन्मदिनमा केक काटेर मैनबत्ती निभाउने पाश्चात्य चलन हाम्रोमा भित्रियो । हाम्रो शास्त्रमा त बत्ती बालिराख्ने भन्ने छ । बेबी सावर पाश्चात्य संस्कृतिको प्रभाव हो भन्ने मलाई लाग्छ । पाश्चात्य समाजमा कुलिनता हुँदैन । समाजमा देखाउनु, सन्तान जन्माउने भएँ भन्नु नराम्रो हो भन्न खोजेको होइन । तर, त्यसको नाममा उत्ताउलोपन हाबी हुनु गलत छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेका हाम्रा संस्कारले विकृति–विसंगतिको रूप लिनु गलत हो । हामीले हाम्रो देश, परिवेश र समाज सुहाउँदो सस्कारको विकास तथा विस्तार गर्नुपर्छ । भएका संस्कारहरू पनि मासिँदै गएका छन् । त्यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।