यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा वा यौनजन्य आशयले जिस्काएमा पनि दुव्र्यवहार मानिएको छ । त्यस्तै, त्यस्तो क्रियाकलाप देखाउनेविरुद्ध महिलाले मात्रै नभई जोकसैले आफूमाथि हिंसा भएको ठाने उजुरी गर्न सक्ने उल्लेख छ ।
प्रसंग १
अभिनेत्री लक्ष्मी बर्देवालाई एक चलचित्र निर्देशकले ‘अडिसन’का लागि भन्दै गोठाटारको एउटा रिसोर्टमा बोलाएर चलचित्रको प्लट सुनाए । कुराकानीको अन्त्यमा तिनले भने, ‘फिल्म खेल्ने हो भने लगानी त गर्नुपर्छ ।’ लक्ष्मीले पैसा लगानी गरेर अभिनेत्री नबन्ने जवाफ फर्काइन् । ती निर्देशकले वेटरलाई बोलाएर रिसोर्टकै एउटा कोठाको साँचो खोल्न लगाए । लक्ष्मी झसंग भइन् । निर्देशकले युवतीको शरीर नै सम्पत्ति भन्दै शारीरिक सुख चाहेको बताएपछि लक्ष्मी आत्तिइन् । मदिराको नशामा मातेका ती निर्देशक र लक्ष्मीबीच भनाभन हुन थाल्यो । हिम्मत जुटाउँदै उनी रिसोर्टबाट बाहिरिइन् । निर्देशकले उनलाई चलचित्र क्षेत्रमा टिक्नै नदिने, बदनाम गरिदिने भन्दै अपशब्द प्रयोग गरे । ती निर्देशक आज पनि चलचित्र निर्माण तथा निर्देशन गरिरहेका छन् । उनका चलचित्रमा नयाँ महिला अनुहारले अभिनय गर्ने क्रम जारी छ । लक्ष्मी बेलाबेला सोच्छिन्– ‘त्यो निर्देशकले अरू महिलामाथि पनि शोषण र दुव्र्यवहार गरिरहेको त छैन ?’
प्रसंग २
अभिनेत्री स्वस्तिमा खड्काले केही व्यक्तिबाट आफूलाई यौन प्रस्ताव आएको खुलासा गरिन् । केही साताअघि एक कार्यक्रममा उनले चलचित्रमा आउनु अघि म्युजिक भिडियोमा काम गरिरहेको बेला कतिपय मानिसले आफूलाई घुमाउरो भाषामा यौन प्रस्ताव राखेको सुनाइन् । त्यस्ता प्रस्ताव बेवास्ता गर्दै अघि बढेको उनले बताइन् । ठूलो ब्यानरका चलचित्रमा काम गर्न पाएकाले आफूलाई कसैले पनि गलत नजरले नहेरेको उनको दाबी छ । निर्देशक निश्चल बस्नेतसँग वैवाहिक जीवनमा बाँधिएपछि आफूलाई हेर्ने सबैको नजर सम्मानित भएको उनी बताउँछिन् ।
प्रसंग ३
अघिल्लो वर्ष कात्तिकमा अभिनेत्री बेनिशा हमालले एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा एउटा बैंकका लागि गरिएको फोटोसेसन लगत्तै उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतका तर्फबाट संयोजकले नगरकोट जान प्रस्ताव राखेको खुलासा गरिन् । प्रस्ताव गर्ने व्यक्तिलाई तत्काल गालामा चड्कन हानेको समेत उल्लेख गरिन् ।
प्रसंग ४
चलचित्र सायद–२ की अभिनेत्री स्यारोन श्रेष्ठले पत्रकार सम्मेलन गरेर निर्माता सुनिल रावलले आफूलाई यौन उत्पीडन गरेको आरोप लगाइन् । श्रेष्ठले निर्माता रावलमाथि खराब नियतले व्यवहार गर्ने, छायांकन स्थलमा जिस्क्याउनेदेखि आफ्नो गर्लफ्रेन्ड बन्न दबाब दिनेसम्मका आरोप लगाएकी थिइन् । निर्माताले आफ्नो गर्लफ्रेन्ड बने एयर होस्टेजसम्म बनाइदिने अफर गरेको अभिनेत्रीको आरोप थियो । चलचित्रकर्मीहरूकै पहलमा त्यो मुद्दालाई साम्य बनाइयो ।
यी उदाहरणहरूले भन्छन्– चलचित्रको रंगीन संसारमा करियर बनाउन आउने नयाँ अनुहारलाई सजिलो छैन । ठूलो नाम भएका र शक्तिशाली भूमिका भएका पुराना अनुहारले महिला कलाकारलाई शारीरिक तथा मानसिक शोषण गरेका कति घटना सार्वजनिक नै नभई हराएका हुन्छन् । त्यसविरुद्ध निकै कमले मात्र खुलेर आफ्नो आवाज बुलन्द पारेका छन् । जसले आवाज उठाउने हिम्मत गरे, उनीहरूको आवाज नै मधुरो बनाउन चलचित्र क्षेत्र लागिपरेको देखिन्छ । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी लक्ष्मी बर्देवाले चलचित्र क्षेत्रमा नराम्रा मानिसहरू पनि उत्तिकै भएको बताउँछिन् । ‘मलाई गलत प्रस्ताव गर्ने निर्देशकले त्यसअघि र पछि अरुलाई पनि पक्कै आफ्नो सिकार बनायो होला’, उनले भनिन्, ‘सम्झेर पनि म झसंग हुन्छु ।’
बोलेपछि निम्तिने परिणामलाई झेल्न सक्ने आँट नहुने भएकाले पीडितहरू बोल्न हिम्मत नगर्ने बर्देवाको बुझाइ छ । अर्की एक अभिनेत्रीको धारणा पनि त्यस्तै छ । उनी भन्छिन्– ‘पीडितहरूले बोल्न गाह्रो नै हुन्छ, किनभने उनीहरूलाई अभिनय क्षेत्रमै करियर बनाउनुपर्ने हुन्छ । बोल्न थाल्यो भने करियरबाटै हात धुनुपर्ने अवस्था आउन सक्छ ।’ अभिनेत्री रेखा थापा भने पुरुषमाथि आत्मनिर्भर हुन छाडेकै दिनदेखि समाजमा महिलामाथि हुने हिंसामा स्वत: कमी आउने दाबी गर्छिन् ।
नेपाली चलचित्रकी पहिलो अभिनेत्री भुवन चन्दको अनुभव भने बेग्लै छ । उनको समयमा केही वर्षको अन्तरालमा निकै थोरै चलचित्र निर्माण हुने भएकाले निर्माताको संख्या पनि कमै हुन्थ्यो । ‘त्यो बेला एउटा परिवारका सदस्यको हिसाबले काम गरिन्थ्यो,’ भुवनले भनिन्, ‘पारिश्रमिक कम हुन्थ्यो, अभिनयलाई करियर बनाउने सपनै हुन्थेन । तसर्थ कसैले कसैलाई शोषण गर्नेबारेमा सोच्नसमेत सक्दैनथ्यो ।’
तस्बिर : सटरस्टक
कानुनमा के छ ?
मिटू कार्यस्थलमा हुने यौन हिंसाविरोधी अभियान हो । नेपालमा केही वर्ष पहिले नै यससम्बन्धी ऐन आएको थियो ।कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ अनुसार सरकारी कार्यालय तथा निजी संघ–संस्थामा महिला, पुरुष वा अन्यमाथि हुने कुनै पनि किसिमका यौन हिंसाबारे उजुरी गर्न सकिनेछ । त्यस्तो उजुरी प्रमाणित भए दोषीलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था ऐनले गरेको छ ।
ऐनको दफा ४ मा लेखिएको छ, ‘कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा यौनजन्य आशयले शरीरको कुनै अंगमा छोएमा वा छुने प्रयास गरेमा, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, प्रदर्शन गरेमा यौनजन्य दुव्र्यवहार गरेको मानिनेछ ।’
यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा वा यौनजन्य आशयले जिस्काएमा पनि दुव्र्यवहार मानिएको छ । त्यस्तै, त्यस्तो क्रियाकलाप देखाउनेविरुद्ध महिलाले मात्रै नभई जोकसैले आफूमाथि हिंसा भएको ठाने उजुरी गर्न सक्ने उल्लेख छ । दुव्र्यवहार भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने प्रावधान छ ।
हलिउडदेखि बलिउडसम्म मिटू
तीन वर्षअघि हलिउड अभिनेत्री एलिसा मिलानोले गरेको एउटा ट्विटपछि ‘मिटू’ अभियान विश्वव्यापी भएको थियो । मिलानोले आफ्नो ट्विटर हेन्डलमा एउटा स्क्रिनसटसहित एउटा ट्विट गर्दै लेखेकी थिइन्– ‘यदि तपाईं यौन हिंसामा पर्नुभएको छ भने यो ट्विटरमा ‘मिटू’ कमेन्ट गर्नुहोस् ।’ मिलानोको उक्त ट्विटपछि हरेक पेसा तथा व्यवसायका महिलाहरूले महिला यौन हिंसाविरुद्ध आफ्नो धारणा व्यक्त गर्न थाले । हलिउडका चलचित्र निर्माता हार्वे विन्स्टिनविरुद्ध त केही अभिनेत्रीले यौन दुव्र्यवहारकै आरोप लगाए । अदालतमा ८० भन्दा बढी पीडितले ती निर्माताविरुद्ध मुद्दा नै दर्ता गरे । हलिउडको उक्त मुद्दाले विश्वको ध्यान आकर्षित गर्यो । निर्मातालाई जेल सजाय नै भयो ।
त्यसो त सन् २००६ ताका अमेरिकी मानवअधिकारकर्मी तराना बुर्केले यौन हिंसामा परेका महिलालाई ‘मिटू अर्थात् म पनि तिमीजस्तै यौन हिंसा पीडित हुँ’ भन्ने आशयको सहमति निर्माण गर्न थालेको सार्वजनिक अभियानबाट प्रारम्भ हुन्छ । हलिउडबाट प्रारम्भ भएको मिटू अभियान सन् २०१८ मा भारतमा प्रवेश भयो । बलिउडका थुप्रै नाम चलेका अनुहारलाई यौन हिंसाको आरोप लाग्यो । नाना पाटेकरदेखि अनु मलिकसम्मका सेलिब्रेटीहरू आरोपमा मुछिए । अभिनेत्री कंगना रनावतले निर्देशक विकास बहलविरुद्ध यौन हिंसाकै आरोप लगाइन् भने अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरविरुद्ध त्यस्तै आशयको आरोप लगाइन् ।
अभिनेत्री कंगना रनावटले बलिउड प्रवेश गरेको प्रारम्भिक वर्षहरूमा आफू कास्टिङ काउचको सिकार भएको खुलेरै स्विकारेकी छिन् । कुनै बेलाकी चर्चित अभिनेत्री ममता कुलकर्णीले पनि आफू कास्टिङ काउचको सिकार भएको बताएकी थिइन् । उनलाई बलिउडका स्थापित निर्देशकले आफ्नो यौनशोषण गरेको दाबी गरेकी छिन् । अभिनेत्री रीता गोलानले निर्देशक सुभाष घईमाथि नै यौनशोषणको आरोप लगाइन् । अभिनेत्री कल्की कोचलिनले पनि आफूमाथि यौन शोषण भएको खुलासा गरेकी थिइन् । अभिनेत्रीहरू टिस्का चोपडा, पायल रोहतनी, तनुश्री दत्ता आदिले पनि आफूमाथि यौनशोषण भएको खुलेर बताएका थिए । इन्डियन आइडलका निर्णायक तथा संगीतकार अनु मलिक दुव्र्यवहारको आरोप लागेपछि निर्णायकको कुर्सीबाटै बाहिरिन बाध्य भएका थिए ।
सामाजिक सञ्जालले दुव्र्यवहार घटाएको छ
रक्षासिंह राणा /निर्देशक
यौन दुव्र्यवहारसमाजका हरेक क्षेत्रमा विद्यमान छ । चलचित्र ग्ल्यामर क्षेत्र भएकाले त्यहाँका सानातिना घटनाहरू पनि बाहिर आउँछन्, अन्य क्षेत्रका घटनाहरू बाहिर आउँदैनन्, फरक त्यत्ति मात्र हो । हरेक क्षेत्रका महिलाहरूयौन दुव्र्यवहारको सिकार भइरहेका हुन्छन् । सामाजिक सञ्जालको जमानामा त्यस्तो कुराहरूलाई लुकाएर राख्न समेत गाह्रो हुन्छ । सामाजिक सञ्जालकै कारणले चलचित्र तथा अन्य क्षेत्रहरूमा हुने दुव्र्यवहारमा केही हदसम्म कमीचाहिँ आएकै हुनुपर्छ । हाम्रो समाज पुरुषप्रधान छ । त्यसैले चलचित्र मात्र होइन हरेक क्षेत्रका महिलाहरूलाई समाजमा टिक्न
गाह्रो छ । आफ्नो खुट्टामा उभिएका, सक्षम महिलाहरूले त्यस्तो दुव्र्यवहार तुलनात्मक रूपले कमै बेहोर्नुपरेको हुन्छ । अस्ति भर्खरै काठमाडौंमा आयोजित एउटा समारोहमा पनि चलचित्रका केही अभिनेत्रीले कति कुरा सोझै भन्नुभयो भने कतिले घुमाउरो पाराले भन्नुभयो । कसैले हिंसा नै हुँदैन पनि भन्नुभयो । म आफैं पनि चलचित्रको प्राविधिक विधामा बसेर काम गर्दै आइरहेकी छु । महिलालाई त्यसै अन्डरइस्टिमेट गरिन्छ । अन्डरइस्टिमेट नै पछि ह्यारेसमेन्टमा परिवर्तन हुन्छ ।
म निर्देशक समाज नेपालको अध्यक्ष भएपछि त्यसप्रकारको गुनासो सुन्नु परेको छैन । महिला चलचित्रकर्मीमाथि हुने दुव्र्यवहारलाई कमगर्न पहिलो कुरा त चेतना हुनु अनिवार्य छ । खासगरी नयाँ अनुहार स्वयं सचेत हुनु आवश्यक छ । आफूमाथि त्यसप्रकारको घटना हुन लाग्यो भने प्रतिकारमा उत्रन डराउनु हुँदैन । कसैले बोलेर, इसारा गरेर अथवा छोएरै पनि दुव्र्यवहार गर्न खोज्छ भने ठाडो शब्दमा ‘नो’ भन्न सक्नुपर्छ ।
(राणा निर्देशक समाज नेपालकी अध्यक्ष हुन् ।)