पोखराको पुस्तक बजारमा लेकसाइडको खासै चर्चा हुँदैन् । तर, लेकसाइड नै यो पर्यटकीय सहरमा पुस्तक व्यापारको मुख्य हब हो । पोखराका अरू सबै क्षेत्रतिर पुस्तक पसलहरू छरिएर रहेका छन् । क्याम्पस र विद्यालयको छेउछाउमा स्टेसनरी पसल र पाठ्यपुस्तक बेच्ने पसलहरू त छन् तर देश–विदेशका पर्यटकहरूलाई समेत पुस्तक बेच्ने पसलहरू भने लेकसाइडमा मात्रै छन् । पछिल्लो दिनमा यी पुस्तक पसलहरूको व्यापार भने दिनप्रतिदिन ओरालो लागेको व्यवसायीहरू बताउँछन् ।
‘पुस्तकको व्यापार घट्नुमा एउटा मात्रै कारण छैन’, पर्फेक्ट बुक्स एन्ड स्टेसनरीका प्रोपाइटर रामप्रसाद ढकाल भन्छन्, ‘पहिलो त इन्टरनेटलगायत प्रविधिको सुविधा कारण धेरै युवाहरू पुस्तकमा भन्दा मोबाइल र कम्प्युटरमा आकर्षित छन्, दोस्रो– पछिल्लो समय सरकारको पुस्तक नीतिले पनि नकारात्मक असर पारेको छ ।’ एक महिनायता भने पोखरामा कोरोना भाइरसको भयका कारण पर्यटकहरूको आगमन नै प्रभावित भएपछि पुस्तक–व्यापारले पनि मार व्यहोरेको
उनले सुनाए ।
त्यसो त, यतिखेर देशैभरि पुस्तकको व्यापार घटेको विभिन्न समाचारहरू प्रकाशित भइरहेका छन् । कति पाठक मुद्रित पुस्तकभन्दा किन्डल, मोबाइल र ट्याबमा पुस्तकहरू पढ्ने बानी लागेपछि पुस्तक पसल जान छाडेको बताउँछन् । मन परेको पुस्तक किन्न पसलमै पुग्नुपर्ने बाध्यता अहिले छैन । किताब घरघरै पुर्याउने अनलाइनहरू पनि आइसकेका छन् । कति पुस्तक त अनलाइनबाटै किनेर वा नि:शुल्क डाउनलोड गरेर पनि पढ्न सकिन्छ । यसले गर्दा कागजमा प्रिन्ट हुने पुस्तक पढ्नेको संख्या घट्न थालेको छ । यसले गर्दा पोखराका पुस्तक व्यवसायीहरू पनि चिन्तित छन् । लेकसाइडमा रहेका पुस्तक पसलहरूले पुस्तकबाट मात्रै खर्च धान्न नसकिने देखेर पुस्तकका र्याक घटाउँदै गिफ्ट सामग्री राख्न थालेका छन् ।
केही वर्ष अगाडिसम्म लेकसाइडमा हातमा पुस्तक बोकेका पर्यटक छ्यापछ्याप्ती भेटिन्थे । अहिले पुस्तक लिने हातमा मोबाइल देखिन्छ । पुस्तकनै हातमा लिएर पढ्दै गरेका विरलै भेटिन्छन् । लेकसाइडमा २०४३ सालबाट सञ्चालनमा आएको होली बुक्ससपमा भेटिएका ८५ वर्षीय होमबहादुर पौडेलले भने, ‘छोरासँगको सल्लाहमा पुस्तक पसल खोलेको हुँ, साढे २ सय रुपैयाँ भाडा तिरिन्थ्यो, अहिले त ४० हजार भाडा तिर्नुपर्छ । त्यतिबेला १/२ वटा मात्रै पुस्तक पसल थिए ।’ उनले होली लजसँगसँगै त्यही नाममा बुकसप खोलेको संस्मरण सुनाए ।
एन्जिल बुकसपका कमल अधिकारीले २०५३ सालबाट यो व्यवसाय गर्दैछन् । पुस्तक व्यापार ह्वात्तै घटेपछि उनले पसलमा अहिले गिफ्ट आइटम पनि राखेका छन् । उनको पसलमा २० प्रतिशत पुस्तक छन्, बाँकी गिफ्ट सामान । उनलाई पुस्तकको व्यापार बढ्लाजस्तो लाग्दैन । लेकसाइडमा नेपाल र पोखरासम्बन्धी जानकारीमूलक पुस्तक र सामग्री र उपन्यासहरू धेरै बिक्री हुने उनको अनुभव छ ।
न्यू–एकेडेमी बुकसप १३ वर्षदेखि सञ्चालनमा छ । यसका सञ्चालक झलकमोहन बराल पुस्तकको व्यापार २० प्रतिशतमा झरेको बताउँछन् । उनी पनि पुस्तक पसलभित्रै क्यालेन्डर, गिफ्ट, उड स्टाम जस्ता सामान बेच्न राखेका छन् । सुरु–सुरुमा उनको पसलमा २० प्रतिशत नेपाली र ८० प्रतिशत विदेशी पर्यटक पुस्तक किन्न आउँथे । होली बुकसपका भरत पौडेल घुम्ने ठाउँ बढेका कारण पुस्तक कम बिक्री भएको सुनाउँछन् । उनी भन्छन्, ‘पहिला घुम्ने ठाउँ लेकसाइड मात्र थियो, यहाँ आएका पर्यटक लेकसाइडमै बस्थे । पढ्थे । अहिले घुम्ने ठाउँ पोखरा आसपासमा धेरै छन्, त्यसैले पनि पुस्तक किनेर पढ्न खोज्दैनन् ।’
पहिले–पहिले लेकसाइडमा अरू पसलमा पनि पुस्तक राख्ने चलन थियो, आजभोलि पुस्तक पसलमा पनि अरू मालताल राखेर बेच्न थालिएको छ । केही क्याफे, रेस्टुराँमा किताब पढ्नेका लागि भनेर अलिअलि किताब राख्ने गरिए पनि त्यसतर्फ खासै आकर्षण देखिँदैन । युवा पुस्ता इन्टरनेट र डिजिटल प्रविधितिर आकर्षित भएको व्यवसायीहरू बताउँछन् ।
२७ वर्षदेखि सञ्चालित नेपाल मण्डला लेकसाइडमा भएको ठूलो पुस्तक पसल हो । यो पसलले पनि सुरुका दुई वर्ष पोस्टर बिक्री गथ्र्यो । अहिले भने होलसेल तथा खुद्रा पुस्तक यसको मुख्य व्यापार हो । सँगसँगै गिफ्ट आइटम पनि नेपाल मण्डलाले बेच्छ । गैरआख्यान, सेल्फहेल्प, मोटिभेसनल, बिजनेस, आत्मकथाका पुस्तक खोज्ने पाठक बढी आउने मण्डलाका सञ्चालक प्रेमप्रसाद शर्मा बताउँछन् । अहिले मण्डलाले अनलाइनमार्फत पनि पुस्तक बिक्री गर्छ । तर, अनलाइनमार्फत अर्डर गर्ने ग्राहक ९० प्रतिशत काठमाडौंका हुन्छन् । मण्डलाले लेकसाइडकै अरू पसललाई होलसेलमा पुस्तक पनि बेच्छ । पहिलेको तुलनामा पुस्तकको व्यापार आधा घटेको शर्मा बताउँछन् ।
पोखरामा मूलत: दिल्ली र काठमाडौंबाट पुस्तक ल्याइन्छ । त्यसमा पनि नेपाली भाषाका भन्दा अंग्रेजी र अरू विदेशी भाषाका किताब बढी हुन्छन् । अंग्रेजी, जापानी, फ्रेन्च, जर्मन भाषाका पुस्तक खोज्ने पर्यटकहरू बढी आउँछन् । लेकसाइडका पुस्तक पसलहरूको मूल व्यापार पर्यटकहरूकै खरिदमा भर पर्छ । नेपाली लेखक–साहित्यकार भने आफ्नो पुस्तक छ कि छैन भनेर हेर्न र सोध्न धेरै आउने गरेको व्यवसायीहरू बताउँछन् । पोखरेली साहित्यकारहरू भने पुस्तकै खोज्नका लागि लेकसाइड आउँदैनन् । रमाइलो के छ भने लेकसाइडमा ३५ रुपैयाँदेखि १० हजार रुपैयाँसम्म मूल्यका पुस्तक बिक्रीमा छन् । एकै खेपमा ४८ हजार रुपैयाँसम्मको पुस्तक बिक्री गरेको अनुभव सुनाउँछिन्, न्यू–मण्डला बुकसपकी व्यवस्थापक दुर्गाकुमारी शर्मा बराल ।
भर्खरै एमबीए सकेकी पोखराकी रोसनी ढकाल ई–बुकतिर आफ्नो रुचि बढेको बताउँछिन् । उनी ई–बुक र मुभीका कारण पुस्तक किनेर पढ्ने पाठक घटेको दाबी गरिन् । तत्कालीन टुरिस्ट बुकसप एसोसिएसनका अध्यक्षसमेत रहेका प्रेमप्रसाद शर्मा धेरैले पुस्तक व्यवसाय नै छाड्न थालेपछि एसोसिएसन नवीकरण नगरेको बताउँछन् ।
लेकसाइडमा मात्र होइन, पोखरैभरि पुस्तक बिक्री घटेको छ । लेखक गनेश पौडेल त अमेरिका, युरोप, अस्ट्रेलियाका ठूलाठूला बुकसप पनि बन्द भएको सुनाउँछन् । ‘नेपालीमा गुणस्तरीय पुस्तक नआएको पाँच वर्ष भयो । प्रकाशकहरू साहित्यकारभन्दा आत्मकथाकारका पछि लागेपछि पुस्तकबजारको दिनदशा सुरु भयो’, उनी भन्छन्, ‘यही कारण पाठक भड्किए ।’ पोखरामा पठन–संस्कृति विकास गर्न भन्दै रिडर क्लबहरू पनि क्रियाशील छन् । त्यसमध्ये २०६५ सालबाट सुरु भएको र्यान्डम रिडर्स सोसाइटीले आजसम्म ९५ वटा शृंखला गरिसकेको छ । सोसाइटीका अध्यक्ष केशवशरण लामिछाने भन्छन्, ‘पाठकहरू फेसबुक र युट्युबमा बढी व्यस्त छन्, बजारमा गुणस्तरीय पुस्तक पनि छैनन् ।’
लेकसाइडबाहिर कफीसपसँगै पुस्तक चलाइरहेका हिमालय रिर्डस कर्नरका विजय भण्डारी पनि पुस्तक बिक्री बढ्न नसकेको सुनाउँछन् । उनका अनुसार पोखरामा नेपाली पुस्तकको तुलनामा अंग्रेजी पुस्तक दोब्बर बिक्री हुन्छन् । नेपाली होस् वा अंग्रेजी, पुस्तक पढ्न र किन्न उत्प्रेरित गर्ने कार्यक्रमहरूमा पाठकहरूको आकर्षण पनि बढ्न सकेको छैन ।
१० पुस्तक पसल बन्द
पोखराको लेकसाइडमा हाल १४ वटा पुस्तक पसल छन् । एकचोटी २८ वटा पसल थिए । पछि लामो समयसम्म २४ पसल रहे । अहिले सञ्चालनमा रहेकामा नेपाल मण्डला, पर्फेक्ट, फिस्टेल, पपुलर, एभरेस्ट, फेवा, याक, न्यू–एकेडेमी, टिनटिन, सनराइज, एटलास, होली, ब्ल्यु हेवन र एन्जिल बुकसप छन् । लेकसाइडका पसलमा यसअघि सेकेन्ड ह्यान्ड पुस्तक धेरै नै पाइन्थो । नयाँ पुस्तक पढेपछि पसलमै बेच्न जाने चलनसमेत थियो । यो क्रम अहिले लगभग रोकिने अवस्थामा छ । आधा मूल्यमा सेकेन्ड ह्याण्ड पुस्तक किनबेच हुने चलन कम हुँदै गएको छ । व्यवसायीले नयाँलाई फोकस गरिरहेका छन् । पहिला सेकेन्डह्याण्ड पुस्तक बेच्ने पसलले अहिले राख्न छोडिसके ।