घटना १ : दाङमा कोरोना संक्रमणको त्रासले घोराही–२ का वडा सचिव नारायण आचार्यले आफ्नो घरमा भाडामा बस्दै आएकी नर्सलाई घर निकाला गरे । घर निकाला भएपछि बुद्ध इन्टरनेसनलमा कार्यरत स्टाफ नर्स सिर्जना खड्का महँगो पैसा तिरेर होटलमा बस्न बाध्य भइन् ।
घटना २ : सामाखुसीको आशीर्वाद वृद्धाश्रममा आश्रय लिएकी २८ वर्षीया सरस्वती भुजेल एकाएक बेहोस भएपछि सोह्रखुट्टे प्रहरीलाई सम्पर्क गरियो । प्रहरीले उनलाई उद्दारमा कुनै सहयोग गरेन । एकछिनपछि एम्बुलेन्स बोलाइयो । प्रहरी र एम्बुलेन्स चालक कसैले उनलाई छुन मानेनन् । वृद्धाश्रमकै वृद्धको सहयोगमा उनलाई एम्बुलेन्समा राखेर शिक्षण अस्पताल पुर्याइयो । तर, त्यहाँ पनि कोरोनाको आशंकामा उनलाई भर्ना लिइएन । यतिबेलासम्म उनी अचेत भएको ३ घण्टा बितिसकेको थियो । उनको निधन भयो ।
घटना ३: चीनको बेइजिङबाट आएका टेनबहादुर थापाविरुद्ध चीनबाट कोरोना भाइरस बोकेर ल्याएको र घरमै बसेको भन्दै छिमेकीले वडा कार्यालयमा उजुरी दिए । सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन्, ‘प्रहरीले बोलाएर ‘तँ किन नेपाल आइस्’ भन्दै ममाथि अभद्र व्यवहार गर्यो, मलाई अपराधीजस्तो गरियो ।’ उनको परिवारलाई घरबेटीले समेत बेइज्जत हुन्छ भन्दै कोठाबाट निकाले ।
घटना ४: सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाले विदेशबाट आएका नागरिकबारे जानकारी दिनेलाई ५ हजार पुरस्कार दिने घोषणा गरेको छ भने गुल्मीको गुल्मी दरबार गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो झन्डा राखेको छ । यसरी राज्यबाटै विदेशबाट आएका नागरिकलाई समाजमा छुट्टै ग्रहका नागरिककोजस्तो व्यवहार गरिएको छ ।
घटना ५: बागलुङकी ६५ वर्षीया वृद्धालाई लिन धौलागिरी अञ्चल अस्पतालले नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स बोलायो । ती वृद्ध कोरोना संक्रमित हुन् भन्ने चाल पाएपछि एम्बुलेन्स चालक फरार भए । त्यसपछि स्थानीय प्रशासन र प्रहरीसमक्ष सहयोगको अपिल गरियो । तर, कसैले सहयोग गरेनन् ।
माथिका ५ घटनाले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संकटले नेपाली समाजलाई कुन बाटोतर्फ डोर्याउँदैछ भन्ने प्रष्ट हुन्छ । यी त केही प्रतिनिधिमूलक घटनामात्र हुन्, मिडियामा आएका र नआएका यस्ता सामाजिक विभेदका घटना प्रत्येक गाउँमा छन् । कोरोना संक्रमणबाट बच्न दूरी कायम गर्ने धाउन्नमा मानिसहरू एक–अर्कासँग सामाजिक दूरी बढाइरहेका छन् । जुन भोलि गरेर सामाजिक विभेद र बहिस्करणको कारण बन्न सक्ने विज्ञहरू बताउँछन् ।
कोरोना संक्रमण भएका, उनीहरूको सम्पर्कमा आएका, विदेशबाट आएका व्यक्ति र उनीहरूको परिवारलाई समाजमा फरक व्यवहार गरेर असामान्य नागरिकको रूपमा प्रस्तुत गरिएको छ । मानवशास्त्री सुरेश ढकाल हिजो सामाजिक दूरी कायम गर्ने ध्याउन्नमा नेपाली समाजमा जात व्यवस्था हाबी भएको उदाहरण दिँदै कोरोना संक्रमणपछि मानिसहरूले देखाएको छुत र अछुतको व्यवहारले भविष्यमा ठूलो संकट ल्याउनसक्नेतर्फ संकेत गर्छन् । भन्छन्, ‘सामाजिक दूरी कायम राख्ने भनेर ल्याइएको जात व्यवस्था पछि गएर सामाजिक विभेदको कारण बन्यो । अहिले हामी फेरि सामाजिक दूरी कायम गर्ने होडमा त्यही बाटो त समाउँदै छैनौं भन्ने भय उत्पन्न हुन थालेको छ ।’
आज साथी, आफन्त, परिवार, छिमेक र समाजबाट अपहेलित र बहिस्कृत भएका व्यक्तिले भोलि उनीहरूसँगको सम्बन्ध तोड्ने सम्भावना रहन्छ । अथवा पहिलेजस्तो सुमधुर सम्बन्ध नहुन सक्छ । जसले गर्दा समाजमा प्रेम र सद्भावको नास त हुन्छ नै यसले समाजलाई दुई धारमा विभाजन हुने सम्भावना देखिन्छ । मानवशास्त्री ढकाल भन्छन्, ‘अहिले समाजले यो अरूभन्दा फरक हो भन्ने भावना राख्ने र ब्यक्तिले म अरूभन्दा फरक हुँ भन्ने मनोविज्ञान बनाउने कार्य भइरहेको छ । भोलि एउटा ठूलो सामाजिक खाडल उत्पन्न हुने सम्भावना रहन्छ । जसले समाजमा फरक वर्गको स्थापनासमेत नगर्ला भन्न सकिन्न ।’
बालुङकी १९ वर्षीया कोरोना संक्रमित युवतीको परिवारले उनलाई कोरोना संक्रमणको लक्षण देखिँदासमेत बेइज्जत हुने र छोरीको बिहे गर्न अफट्यारो पर्ने भन्दै उपचारका लागि अस्पताल नलगेको घटनाले पनि मानिसको सामाजिक मनोविज्ञानलाई प्रष्ट पार्छ । विदेशबाट आएका मानिसलाई गाउँ–घरमा अपराधीको जस्तो व्यवहार गरिनु अर्को पाटो छ । पछिल्लो समय सुदूरपश्चिममा भारतबाट आएकाहरूमा पनि क्वारेन्टाइनमा बसेको र नबसेकोबीच अन्तर हुन थालिसकेको छ । क्वारेन्टाइनमा नबसेको व्यक्तिले बसेको व्यक्तिलाई ऊ आफूभन्दा असामान्य नागरिकको रूपमा परिचत गराउँदै छ । विज्ञहरूका अनुसार नेपालमा कोरोना संक्रमण बढेको खण्डमा विभेदमा परेकाहरूको ठूलो जमात बन्ने र त्यो जमातलाई फरक नाम र पहिचानले पुकार्ने सामाजिक व्यवस्थाको निर्माण हुने सम्भावना विभिन्न घटनाक्रमले देखाउँछ ।
मानवशास्त्री ढकाल भन्छन्, ‘कोरोना संक्रमणबाट बच्न शारीरिक दूरी कायम गर्न गरिएको आग्रहमा मानिसहरूले सामाजिक दूरी बढाइरहेका छन् । मानिसहरूले एक–अर्कालाई बहिस्कार, तिरस्कार, शंका र हेयको दृष्टिले हेर्न थालेका छन् । यस्तो व्यवहारले गर्दा सामाजिक विभाजन ल्याउने सम्भावना बढेको छ ।’
कोरोना संक्रमण फैलँदै गएपछि चीनमा डिभोर्सका घटनामा आएको वृद्धि होस् वा कोरोना आशंकामा अमेरिकामा भएको हत्या र आत्महत्या । उत्तर कोरियामा कोरोना संक्रमितलाई मृत्युदण्ड दिएको खबर होस् वा नेपालमा विदेशबाट आएका नेपालीलाई सामाजिक बहिस्कार गरेको दु:खान्त । मानिसको मृत्युभन्दा कोरोनाले ल्याउने सामाजिक बिखण्डनलाई यतिबेला झन् जटिल समस्याका रूपमा लिइएको छ । नेपालका केही निजी अस्पतालहरूले बिरामीको उपचारप्रति देखाएको गैरजिम्मेवारीपन र कोरोनाको लक्षण देखिएर अस्पताल पुगेका बिरामीप्रति डाक्टरको व्यवहारले धेरैलाई तर्साइदिएको छ ।
यसरी सामाजिक दूरी कायम गर्ने ध्याउन्नमा अमेरिकामा काला र गोराबीच रहेको विभेद र नेपालमा रहेको जात व्यवस्थाजस्तै नयाँ वर्गीय स्वरुप निर्माण हुने खतरा रहेको समाजशास्त्री चैतन्य मिश्र बताउँछन् । इतिहासमा राजा रणबहादुर शाहले बिफर रोग आउँदा बिफर आएका बालबालिकालाई तामाकोसी कटाएको, केही नेवार समुदायलाई देश निकाला गरेको घटनालाई मिश्र अहिले आफ्ना नागरिकलाई देशभित्र आउन नदिएको अवस्थासँग जोडेर हेर्छन् । ‘संसारमा आएका विभिन्न महामारी विगतदेखि नै नेपालले पनि सामना गरेको हो र अहिले पनि गरिरहेको छ । तर, अहिले समाज र सामाजिक व्यवस्थाहरू परिवर्तन भएका छन् । मानिसको चेतनास्तर वृद्धि भएको छ । रोग नियन्त्रणका लागि विभिन्न औषधि, उपकरण र प्रविधिको विकास भएको छ’ समाजशास्त्री मिश्र भन्छन्, ‘यस्तो अवस्थामा पनि एउटा चेतनशील प्राणीले अर्को प्राणीप्रति देखाएको व्यवहार दु:खदायी छ । समाजबाट डराउने र घरभित्र कुँडुलो पर्ने मानसिकताको विकास हुनु आफैंमा एउटा रोग हो ।’
यस्तो अवस्थामा कोरोना संक्रमित, उसको परिवार, विदेशबाट आएकाहरू वा संक्रमणको लक्षण देखिएका नागरिकले गाउँ, समाज, परिवार, छिमेकी, आफन्त, साथीभाइ, स्वास्थ्य संस्था र स्थानीय प्रशासनसँग सहयोगको अपेक्षा रोखका हुन्छन् । तर, यी सबै निकाय एवं संस्था भने उनीहरूलाई हेयको भावनाले हेर्ने गरेका छन् । उनीहरूसँग शारीरिक दूरी कायम राख्नुपर्नेमा सामाजिक दूरी राखिएको छ ।
विदेशबाट आएका एक व्यक्तिले बुटवलबाट मनोविश्लेषक वासु आचार्यलाई फोन गरेर भने, ‘सर मलाई घरमा बस्दा–बस्दा गाह्रो भएर बाहिरतिर निस्किएको साथीभाइ, आफन्त र छिमेकीले अपराधीकोजस्तो व्यवहार गरे । सबैले घृणा गरे । मलाई एकदमै छटपटी भएको छ । म के गरौँ ।’ खासमा ती व्यक्तिलाई कोरोना लागेको थिएन तर, डर र भयकै कारण सबैले उनलाई बहिस्कार गरेका थिए । मनोविश्लेषक आचार्यकाअनुसार सामाजिक चेतनाको कमीका कारण यस्तो अवस्था आएको हो । ‘डाक्टरहरूले दिनरात कोरोनाका बिरामीलाई छुँदा पनि नसर्ने तर हामी कोरोना नलागेका व्यक्तिको नजिक पर्दैमा सर्ने भन्ने हुँदैन । चेतनाको कमीले मानिसहरूले यसो गरेका हुन्’ उनी भन्छन्, ‘कोरोना संक्रमणबाट कसरी सुरक्षित हुने, के–कस्ता सावधानीका उपाय अपनाउने भन्ने चेतना जबसम्म हुँदैन तबसम्म यस्तो अवस्था कायम नै रहन्छ ।’ यसरी हरेक व्यक्तिलाई संक्रमित देख्ने अज्ञानता र आफू धेरैभन्दा धेरै बाँच्न चाहने मानिसको स्वाभावले भविष्यमा समाजलाई जटिल अवस्थामा पुर्याउने सम्भावना रहेको उनको भनाइ छ ।
यतिबेला समाजमा एक मानिसले अर्को मानिसलाई संक्रमित वा दुस्मनको व्यवहार गरेको अवस्था छ । मानिसहरू मानिससँग जोगिन खोजिरहेका छन् । खास जोगिनुपर्ने मानिससँग नभएर रोगसँग हो । ‘रोगसँग जोगिन अपनाउनुपर्ने सुरक्षा र रणनीति अपनाउने हो भने यस्तो समस्या नै आउँदैन । तर, हामी संक्रमणको आशंकामा मानिसलाई घृणा गरिरहेका छौँ र उसँग भागिरहेका छौँ’ मनोविश्लेषक आचार्य भन्छन्, ‘एक जनाले मानिसले मलाई फोन गरेर ‘कसैले मेरो आँखामा हेर्यो भने पनि मलाई रोग सर्छजस्तो लाग्छ’ भने । हाम्रो चेतना यस्तो छ । रोग लागेकासँग त भौतिक दूरी कायम गरेर गफ गर्दा रोग सर्दैन भने लाग्दै नलागेकासँग आँखा जुधाउँदा रोग सर्छ भन्ने हाम्रो मनोविज्ञान कस्तो ?’
अहिलेको अवस्थामा कसैसँग नभेट्नु वा अन्य भौतिक दूरी कायम राख्नु स्वाभाविक हो तर, सबैको मनोविज्ञान एकै प्रकारको हुँदैन । मष्तिस्कमा न्यूरोकेमिकल व्यवस्थापन नभएकाहरूका लागि यो निकै पीडादायी अवस्था हो । मनोचिकित्सकहरूका अनुसार साथीभाइसँग भेटिरहने, रमाइलो गर्न मन पराउने, विभिन्न माहोल बनाएर खुसी साट्ने मानिसलाई निश्चित कोठाभित्र बस्नुपर्दा मानसिक समस्या पनि उत्पन्न हुनसक्छ । यसले डिप्रेसनमा पनि लान सक्छ ।
अर्कोतर्फ, देशमा आइपरेको विपत्ति न्यूनीकरणमा राज्यसँगै हरेक नागरिकको पनि भूमिका, कर्तव्य र जिम्मेवारी हुन्छ । तर, हामी त्यसबाट भागिरहेका छौँ । समाजशास्त्री मिश्र, राज्यले नै हरेक व्यक्ति, समाज, निकाय, संस्था र स्थानीय तहको भूमिका र जिम्मेवारी के हुने भन्नेबारे आचारसंहिता बनाउनुपर्ने अवस्था आइसकेको बताउँछन् । बेलायतमा कोरोना नियन्त्रणका लागि ५ लाख स्कुले विद्यार्थीलाई स्वंमसेवकका रूपमा परिचालन गरिएको उदाहरण दिँदै उनी भन्छन्, ‘हामी रोगसँग सचेत हुनुपर्नेमा मानिससँग सचेत भइरहेका छौँ । जुन अभ्यास गलत छ ।’
कोरोना महामारीको उद्गमस्थल चीनमा कोरोना संक्रमितको तह नै विभाजन गरिएको छ । मोबाइल एपमा हरियो, पहेँलो र रातो रंगमार्फत उसको स्वास्थ्यको संकेत दिइन्छ । अलिपे नामक एपमा आफ्नो व्यक्तिगत विवरण राखेर फर्म भरेपछि क्यूआर कोडमार्फत ३ मध्ये एक रंग प्राप्त हुन्छ । जसमा हरियोको अर्थ अप्रतिबिन्धत, पहेँलोको अर्थ एक साता घरमै आराम गर्नुपर्ने र रातोको अर्थ २ साता क्योन्टाइनमा बस्नु भन्ने हुन्छ । यसरी प्रमाणपत्र दिएर काममा फर्काउने पद्धतिले विभेद बढ्ने समाजशास्त्री मिश्रको बुझाई छ । भन्छन्, ‘संसारभर नै संक्रमित र असंक्रमितलाई यसरी श्रेणीबद्ध गर्ने सम्भावना छ । यसले सामाजिक विभाजन निम्त्याउने खतरा देखिन्छ ।’
मिश्रले भनेझै राज्यले नै विदेशबाट आएका नागरिकको घरमा रातो झन्डा गाड्नु पनि चीनको श्रेणीबद्ध गर्ने कार्यसँग मिल्दोजुल्दो छ । मानवशास्त्री ढकाल भन्छन्, ‘यसरी उनीहरूलाई समाजभन्दा फरक देखाउने कार्यले भविष्यमा उत्पन्न गराउने सामाजिक विभाजनप्रति हामी अहिले नै सचेत र सतर्क हुनु आवश्यक छ ।’
छुट्टै वर्ग निर्माण हुने खतरा छ – सुरेश ढकाल, मानवशास्त्री
केही दिनअघि सामाजिक सञ्जालमा वडा अध्यक्षले राहत बाँडेको एउटा फोटो भाइरल भएको थियो । उताबाट एउटाले हात तन्काएर खुट्टा उचाल्ने, यताबाट एउटाले उचाल्ने अनि राहत प्रदान गर्ने । यसरी समाजमा एउटा मानिसले अर्को मानिसलाई छुनु हुँदैन है भन्ने सन्देश गइरहेको छ ।
भौतिक दूरी कायम गर्ने सवालमा हामी कतै सामाजिक दूरी नै पो कायम गर्दै छैनौँ भन्ने प्रश्न यस्ता घटनाहरूले उब्जाउनु स्वाभाविक हो । रोगको संक्रमणबाट बच्न सावधानी अपनाउने हो । त्यसका आफ्नै स्वास्थ्य सिद्धान्तहरू छन् । मास्क प्रयोग गर्ने, पञ्जा लगाउने, सेनिटाइजरको प्रयोग गर्ने आदि । तर, हामी शंका र आशंकामा मानिससँग बोलचाल गर्न, एकअर्कालाई हेर्न नै डराइरहेका छौँ । संक्रमण भएकाको परिवार र विदेशबाट आएकाहरूप्रतिको व्यवहार त झन् कुनै अपराधिप्रतिको व्यवहारजस्तो गरिएको छ ।
विदेशबाट आएपछि क्वारेन्टाइनमा बस्नुलाई पनि सामान्य रूपमा लिनुपर्छ । तर, यहाँ त विदेशबाट आएको मानिस देख्दा नै भागाभाग हुन थालेको छ । अरू क्वारेन्टाइनमा बस्नेलाई पनि अन्यले असामान्य रूपमा लिइरहेको छ । आइसोलेसनमा बस्नेलाई त हामी रोग सर्ने मेसिनको रूपमा लिन्छौँ । यसरी भौतिक दुरी कायम गर्न भनेको त सुरक्षित हुनु हो । अरू बेला घरमै बसेजस्तै हो । यस्तो बेलामा परिवार, साथी, आफन्त र समाजको सामिप्यता, सल्लाह–सुझाव आवश्यक पर्छ । तर, यी सबै कुराबाट बञ्चित हुँदा ऊ मनोवैज्ञानिकरुपमा पनि कमजोर हुन्छ । म अरूभन्दा कमजोर रहेछु भन्ने भावना जातृत गराउँछ । जसले गर्दा सामाजिक सम्बन्धहरू कमजोर बन्ने र भोलि छुट्टै सामाजिक वर्ग निर्माण गर्ने खतरा देखिन्छ ।