साप्ताहिक संवाददाता
१२ जनाको संयुक्त परिवार भएका कैलालीको लम्की चुहा नगरपालिकाका राज विक रोजगारीका लागि गत कात्तिकमा मुम्बई गए । त्यहाँ होटलमा काम गर्दै थिए । यसैबीच भारतमा पनि कोभिड–१९ को संक्रमण देखिन थाल्यो । उनले काम गर्ने होटल केही दिनका लागि बन्द भयो । केही समयमै होटल खुल्ने बताइए पनि उनलाई बस्न मन लागेन र ८ वैशाखमा त्यहाँबाट हिँडे ।
१० गते राति ११ बजे गौरीफन्टा नाका पुगे, जहाँ भारतबाट फर्किएकाहरूको भीड थियो । ११ गतेबाट नेपाल सरकारले लकडाउन घोषणा गरेको थियो र त्यस अगावै सीमानाका बन्द भएका थिए । ११ चैतको बिहान सीमाबाट प्रवेश नदिने भनेपछि आन्दोलनकै वातावरण बनेको थियो । त्यसपछि रातको साढे १ बजेतिर नेपाल छिर्न दिइयो । ‘त्यहाँबाट बसको व्यवस्था गरिएको रहेछ, पैसा भने आफैंले तिर्नुपर्यो,’ उनले सुनाए । १२ चैतको बिहान ७ बजेतिर उनी घर पुगे । त्यसपछि उनलाई प्रतापपुरको क्वारेन्टाइनमा पठाइयो, जहाँ उनीसहित ४५ जनाजति विदेशबाट आएकाहरू थिए । सबैको स्वाब संकलन गरी परीक्षणमा पठाइयो ।
एघार दिनको क्वारेन्टाइनको बसाइपछि अचानक उनलाई एम्बुलेन्समा हालेर धनगढी लगियो । २२ गते उनको रिपोर्ट पोजेटिभ आयो, उनी आफूले पनि संक्रमित भएको थाहा पाए ।
‘मलाई खासै केही पनि लक्षण देखिएको थिएन, न ज्वरो थियो, न खोकी । न श्वास फेर्न नै गाह्रो भएको थियो,’ उनी भन्छन्, ‘१६ दिन राम्रै भयो । नर्स र डाक्टरहरूले राम्रो सहयोग गर्नुभयो । मोबाइलमा सामाजिक सञ्जाल हेर्दै र च्याटमा साथीहरूसँग कुरा गर्दै दिन बित्यो ।’ स्वास्थ्यमा केही समस्या नदेखिएका कारण आफूलाई डर पनि नलागेको उनले बताए ।
१६ दिन आइसोलेसनमा बसेपछि दुई पटक स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनी आइतबार डिस्चार्ज भए । एक सातासम्म घरमै आइसोलेसनमा बस्न उनलाई चिकित्सकले सुझाव दिएका छन् । ‘अहिले पनि अलग कोठामा बसिरहेको छु, परिवारसँग धेरै घुलमिल गरेको छैन,’ उनल थपे । उनले तनाव नलिन सबैलाई अनुरोध समेत गरे ।