सहरी क्षेत्रमा ब्यान्ड बाजाले आफ्नो पकड जमाएका कारण नौमती बाजा लोप हुँदै गएका बेला बाजाको संरक्षणका लागि ब्राह्मण समुदायका नौ जना झापाली युवाले अग्रसरता देखाएका छन् ।
विवाहलगायत जुनसुकै शुभ कार्यमा खुलेरै बाजा बजाउन थालेपछि उनीहरूको चर्चा पनि चुलिएको छ । केही वर्षअघिसम्म नौमती बाजा बजाउन दलित समुदायका दर्जीलाई गाउँघरमा आयोजना हुने शुभकार्यमा भ्याइ–नभ्याइ हुन्थ्यो । नौमती बाजा बजाउने समुदायका व्यक्ति अन्य पेसामा लाग्न थालेपछि नौमती बाजा संकटमा परेको कथित दलित समुदायका अगुवाहरू नै बताउँछन् । शुभकार्यमा अनिवार्य मानिने नौमती बाजा अझै व्यवसायिक हुन सकेको छैन् । पुस्तौदेखि प्रयोगमा आएपनि नौमती बाजा व्यवसायिक हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ ।
‘परम्परागत बाजा, हामी सबैको साझा’ भन्दै विभिन्न पेसा–व्यवसाय सञ्चालन गरिरहेका ब्राह्मण समुदायका युवाहरूले नेपाली मौलिक बाजाको संरक्षणका लागि ‘एक्टिभ नाइन समूह’ गठन गरी बाजा संरक्षण अभियान सञ्चालन गरेका हुन् । नौमती बाजा जाति विशेष र गोत्र विशेषको मात्र नभै सबैको साझा हो भन्दै लोप हुने अवस्थामा पुगेको यो वाद्यवादनको संरक्षणका लागि आफूहरूले नौमती बाजा बजाउन थालेको समूहका अध्यक्ष गोविन्द निरौला बताउँछन् ।