तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई तथा माझीहरूले सिरुवा पर्व मनाएका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर आदि जिल्लामा सोमबार सिरुवा पर्व धूमधामका साथ मनाइएको हो ।
नयाँ वर्षसँगै सुरु हुने पर्वका अवसरमा झापाका राजवंशीले काद सिरुवा मनाएका छन् । माटोको हिलो बनाएर आपसमा हिलो छ्यापा–छ्याप गर्दै ‘काद सिरुवा’ खेलिन्छ । माटोबिना जीवन चल्दैन भन्दै राजवंशीहरू माटोको सम्मान स्वरुप काद सिरुवा खेल्छन् ।
सिरुवाको पहिलो दिन आइतबार राजवंशी समुदायका व्यक्तिहरूले हर्षोल्लासका साथ ‘पानी सिरुवा’ मनाउँछन् । लगातार तीन दिन मनाइने सिरुवाअन्तर्गत अन्तिम दिन रंग सिरुवा मनाइन्छ । यो पर्वका अवसरमा सरकारले ती जिल्लामा बिदा दिएको छ भने जुडशीतल पर्वका अवसरमा प्रदेश नम्बर २ सरकारले आफू मातहतका आठवटै जिल्लामा सार्वजनिक बिदा दिएको छ । सिरुवा पर्वका अवसरमा तराईका विभिन्न ठाउँमा मेला समेत आयोजित गरिन्छ ।