साप्ताहिक संवाददाता
लड्डु : मिठाईमा सबैभन्दा लोकप्रिय लड्डु नै मानिन्छ । हिन्दू चाडपर्वमा लड्डुको प्रयोग अनिवार्य छ । विभिन्न किसिमका मसाला प्रयोग गरेर तयार पारिने मोतीचुरको लड्डुहरूमध्ये सबैभन्दा लोकप्रिय लड्डु मानिन्छ । लड्डुको पहिलो प्रयोग प्राचीन भारतीय आयुवेदाचार्य सुश्रूतले गरेका थिए । उनी रोगीलाई तङ्ग्राउन लड्डु प्रयोग गर्थे ।
गुलाब जामुन : हामी कहाँ लालमोहन भनिने लोकप्रिय मिठाईलाई गुलाब जामुन पनि भनिन्छ । भारतीय उपमहाद्वीपमा विशेष मन पराइने गुलाब जामुन खासमा इरानबाट भारत आएको हो । इतिहासअनुसार मुस्लिम शासकहरूले भारतमा लुटपाट मच्याउने क्रममा गुलाबजामुनले भारतमा प्रवेश पाएको हो ।
रसभरी : दूध फटाएर बनाइने छेनाबाट तयार पारिने रसभरी खासमा बंगाली मिठाई हो । एकपटक यो मिठाईको इतिहासको विषयमा भारतकै पश्चिम बंगाल तथा उडीसा राज्यबीच विवादसमेत भएको थियो । चिनीको चास्नीमा डुबाएर तयार पारिने रसभरी नेपालमा पनि निकै लोकप्रिय छ ।
बर्फी : भारतको मौलिक मिठाईका रूपमा परिचित वर्फी आफ्नो स्वाद र आकारका लागि प्रसिद्ध छ । बर्फी विशेष गरी दुधको खुवा र काजुको मिश्रणबाट तयार पारिन्छ ।
जलेबी : दक्षिण एसियामै सर्वाधिक लोकप्रिय मानिने जलेवी पनि मूल रूपमा भारतीय मिठाई होइन । यो मिठाईको पहिलो प्रयोग इरान तथा टर्कीमा भएको थियो । यो मिठाई पनि मुस्लिम आक्रमणकारीहरूले नै भारत भित्र्याएका हुन् ।
घेवर : घेवर भन्ने बित्तिकै मानिसहरू राजस्थानलाई सम्झन्छन् । राजस्थानको मौलिक मिठाई घेवरको पहिलो प्रयोग देवी पार्वतीले महादेवलाई पतिका रूपमा प्राप्त गर्न बसेको तीजको व्रतका क्रममा गरेको धार्मिक मान्यता छ ।
रसमलाई : रसमलाई बंगाली मिठाई हो । यो मिठाई बनाउने विधि तथा रसभरी बनाउने विधि एउटै भए पनि रसमलाई भने चास्नीमा नभै बाक्लो हुने गरी पकाइएको गुलियो दुधमा डुबाइन्छ ।
मैसुर पाक : यो मिठाई दक्षिण भारतको लोकप्रिय मिठाई हो । मैसुर साम्राज्यका शासक महाराजा कृष्णराज वाडियार चौथोलाई प्रशन्न बनाउन दरबारका भान्सेहरूले यो मिठाईको आविष्कार गरेका थिए । यो मिठाई दुध, चिनी तथा घिउबाट तयार पारिन्छ ।
पेडा : पेडा भन्ने बित्तिकै मानिसहरूको भारतको धार्मिक सहर मथुरालाई सम्झन्छन् । पेडासँग भगवान श्री कृष्णका रासलिलाहरू जोडिएका छन् । अहिले पनि मथुरामा बनाइने पेडाको पहिलो घान भगवान श्री कृष्णलाई नै अर्पण गरिन्छ ।
सोनपापडी : चनाको पीठो तथा चिनीबाट तयार पारिने सनपापडी खासमा टर्किस मिठाई हो । १३ औं शताब्दीमा भारतमा आक्रमण गर्ने टर्कीस शासक तैमुरलङसँगै भारत आइपुगेको यो मिठाई सैनिकहरूको शक्ति बढाउन प्रयोग गरिन्थ्यो ।
सोहन हलवा : सोहन हलुवा इरान तथा अफगानिस्तानको परम्परागत मिठाई हो । यो मिठाईलाई पनि मुस्लिम आक्रमणकारीहरूले नै भारतीय उपमहाद्वीपमा भित्र्याएका हुन् । मुगलकालमा सोहन हलुवा भारतको सबैभन्दा लोकप्रिय मिठाई मानिन्थ्यो । अहिले पनि भारतको दिल्ली तथा पाकिस्तानको मुलतान सहरको सोहन हलुवा विशेष मानिन्छ ।