साप्ताहिक संवाददाता
मसला बदाम
प्याकेटमा आउने मसला बदाम पनि होलीको दिन खान मिल्ने चटपटे स्न्याक्स हो । होली खेल्दै सजिलै खान मिल्ने यो परिकार घरमै तयार पार्न पनि सजिलो छ । दाल खाने कचौराको एक कचौरा बदामलाई मसला बदाम बनाउन एउटा वाटामा दुई चम्चा बेसन, चामल तथा मकैंको पिठो, १ चम्चा धुलो खुर्सानी, बेसार, स्वाद अनुसार नुन र दुई चिम्टि बेकिङ सोडा हालेर सबैलाई चलाएर राम्रोसँग मिसाउने । त्यसमा बदाम, एक चम्चा चाट मसला, दुई चम्चा तेल, १/१ चम्चा लसुन तथा अदुवाको पेष्ट हाल्ने ।
सुख्खा बनाउने किसिमले केही पानी हालेर बदाम र मसलालाई टाँसिने र ढिक्का हुने गरी मोल्ने । मसला बदाममा टाँसिने किसिमको बनाउन थोरै–थोरै पानी हाल्दै मोल्ने । मोलेको बदाम र मसलालाई ५ मिनेट छोपेर राख्ने । कराहीमा राम्रोसँग तेल तताउने । तातो तेलमा मोलेको बदामलाई डिप फ्राई गर्ने । मसला रातो भएपछि झिक्ने र तेल तर्काउन पेपरमा हाल्ने । तारेको यो बदाम मसलामा थप चाट मसला हालेर मोलेपछि चटपटे बदाम मसला तयार हुन्छ । यो स्न्याक्स यत्तिकै वा कुनै ड्रिंक्ससँग खान मिल्छ ।
चिकेन ललिपप
चिकेन ललिपप बालबालिकादेखि ठूलासम्म सबैलाई मनपर्ने परिकार हो । होलीमा यो परिकार बनाएर खाने हो भने नयाँ किसिमको स्वाद पाइन्छ । यो परिकार बनाउन कुखुराको सग्लो फिला (लेग पिस) को छाला झिक्ने र मसला पस्ने गरी बीच–बीचमा चिर्ने । चिरेको भागमा कागतीको रस, खुर्सानीको धुलो, नुन तथा जिरा–धनियाँको धुलो हालेर मोल्ने । यसरी मोल्दा लेग पिसको भित्री भागसम्म मसला पुग्नुपर्छ ।
अर्को भाँडोमा लेग पिसलाई मोल्न चाहिने जति मैदा, कर्नफ्लोर, मरिचको धुलो, अदुवाको पेष्ट, एउटा अण्डा, नुन र जिराको धुलो हालेर फिट्ने र हल्का पानी हाली ब्याटर बनाउने ।
उक्त ब्याटरमा चिकेनको लेग पिसलाई सबैतिर मोलेर तातेको तेलमा डिप फ्राई गर्ने । चिकेन लेग पिस रातो भएपछि झिक्ने । अर्को तावामा हल्का तेलमा लसुन तथा प्याजको टुक्रा भुट्ने । रातो भएपछि नुन, सोया सस, टोम्याटो केचअप तथा हल्का पानी हालेर चलाउदैं पकाउने । पाकेपछि अघि पकाइएको लेग पिस हालेर चलाउने । केहीबेरमा प्याजको हरियो पात तथा हरियो धनियाँ हालेर चलाउने । यसरी चलाउँदा लेग पिसको सबैतर्फ मसला लाग्नुपर्छ । चिकेन ललीपपको स्वाद गुलियो, नुनिलो तथा पिरो सबै किसिमको हुन्छ ।