नेपाल एयरलाइन्सको विमान चार्टर गरेर हङकङ आएका ५ सय ८५ जना नेपालीहरूलाई क्वारेन्टिन सेन्टर लगिएको छ ।
हङकङलाई कर्मथलो बनाएका करिब १५ सय नेपालीहरु नेपालमा जारी लकडाउन र अन्तराष्ट्रिय उडान स्थगन भएका कारण हङकङ आउनबाट रोकिएका थिए । हङकङमा कोराना संक्रमणको अवस्था सामान्य बनेसँगै विद्यालय, बजार र कलकारखाना सुचारु भएको छ । विद्यालय जानेहरु र काममा फर्किनुपर्नेहरु हङकङ आउनै पर्ने भएकाले चार्टर फ्लाईट गरेर हङकङ आएका हुन् ।
हङकङमा रहेका ट्राभल्सहरुको साझा संगठन हङकङ नेप्लिज ट्राभल्स एजेन्ट कम्युनिटीले नेपाल एयरलाइन्सको वाईडबडी जहाजमा २ सय ७७ र हार्भेस्ट मुन ट्राभल्सले चार्टर गरेको दुई न्यारोबडी जहाज मार्फत ३ सय ८ जना नेपालीहरु हङकङ आएका हुन् ।
हङकङ अवतरण भएका सवै यात्रुहरुको विमानस्थलमै स्वाव संकलन पश्चात १४ दिने क्वारेन्टाईनका लागि फो तानस्थित चुङवान स्टेट क्वारेन्टाईन सेन्टरमा पठाईएको छ ।
यात्रुहरुले विमान चार्टर गर्न एजेन्ट हार्भेष्ट मुन ट्राभल्सलाई ८५ हजार र हङकङ नेप्लिज ट्राभल्स एजेन्टलाई ९९ हजार रुपैयामा टिकट किनेका थिए ।
एकयात्रु भन्छन् बाध्यताले मंहगो भएपनि टिकट किन्यौं, बच्चाहरुको विद्यालय शुरु भईसक्यो, मेरो आफ्नै पनि अस्पतालमा नियमित चेकजाँच थियो ।
नेपालमा लकडाउन भएको दुईमहिना बढि भईसक्दा अन्य विभिन्न देशहरुलाई कर्मथलो बनाएका नेपालीहरुलाई चार्टर फ्लाईट मार्फत फर्किने प्रबन्ध मिलेको थियो । हङकङमा पनि पहिलोपटक सम्भव भएको छ । निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चन भन्छन् ‘एकैदिनमा काठमाडौबाट यति धेरै उडान भएको यो नै पहिलो पटक हो’ ।