नेपालमा क्वारेन्टीन सेन्टर भित्र जातीय छुवाछुत, आत्महत्या, असुरक्षा जस्ता घटनाहरुले मन आक्रान्त बनेको बेला, हङकङको ब्यवस्थित क्वारेन्टीनले गर्दा राहत महशुस गरेको त्यहाँ बस्ने नेपालीहरु बताउँछन् ।
गैह्र आवासिय नेपाल संघ हङकङकी अध्यक्ष टीका गुरुङलाई नेपालबाट चार्टर फ्लाईटमा हङकङ आउँन जति उत्साह थियो त्यति नै तनाव पनि ।
हङकङ अवतरण भईसकेपछि विमानस्थलमै स्वाब संकलन पश्चात् १४ दिनसम्मको सरकारी क्वारेन्टीन पुरा गर्नु थियो । गुरुङ भन्छिन्– ‘क्वारेन्टीन भन्ने वित्तिकै मनमा एकप्रकारको डर पलाएको थियो । कहाँ, कसरी राख्ने होलान् ? खानेकुरा, बस्ने ठाउँको बस्दोबस्त कस्तो होला ? स्वास्थ्य, सुरक्षाको ब्यवस्था कस्तो होला ? क्वारेन्टीन सवैप्रकारले सुरक्षित र ब्यवस्थित बनाईएको बारे समाचारमा पढिए पनि आफुले वास्तविक भोग्ने समय आउँदा कौतुहलतासँगै डर पलाएको थियो ।’
‘आज ६ दिनभयो क्वारेन्टीनमा बसेको सवैकुरा ब्यवस्थित भएकाले दिनहरु सजिलै वितिरहेको छ । आफ्नो रोजाईको खाना, खाजा र रेगुलर हेल्थ चेकअपले गर्दा पहिला पैदा भएको डर पनि हराएको छ ।’ गुरुङ भन्छिन्, आफुलाई स्वस्थ्य राख्नकालागि विहान उठ्नासाथ र बेलुकी शारिरीक कसरत गर्छु । दिउँसो र बेलुकीको समयमा आफन्तहरुसँग कुराकानी, सामाजिक काम र क्वारेन्टीनमा बसिरहेका नेपालीहरुको अवस्थाको बारेमा सोधपुछ गर्छु ।
टीकासँगै नेपाल एयरलाईन्सको ३ वटा चार्टर विमानमा ५ सय ८५ जना नेपालीहरु हङकङ आएका थिए । विविध कारणले नेपाल गएका उनीहरु नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै जारी लकडाउन र अन्तराष्ट्रिय उडान स्थगनका कारण हङकङ फर्किनबाट रोकिएका थिए । नेपाली ट्राभल्सहरुको साझा संगठन हङकङ नेप्लिज ट्राभल्स एजेन्ट कम्युनिटी र हार्भेस्ट मुन ट्राभल्सले चार्टर गरेको विमानमार्फत् उनीहरु हङकङ आएका थिए ।
ब्यवस्थित क्वारेन्टीन
क्वारेन्टीनको छैठौं दिनसम्म क्वारेन्टीनमा बसेका कुनै पनि नेपालीमा कोरोना संक्रमण पोजिटिभ देखिएको छैन । क्वारेन्टीनमा बसिरहेका प्रायः सवैले त्यहाँको अवस्था सामाजिक संञ्जालनमा राखिरहेका छन् ।
फोतानस्थित चुङ्वान टेस्ट क्वारेन्टीन सेन्टरको तल्लो तलामा हेल्थ क्याम्पको डेस्क स्थापना गरिएको छ । डेस्क मार्फत सेन्टरमा बस्ने सवैजनाको स्वास्थ्य परिक्षण गरेर रेकर्ड राखिन्छ । सुगर, प्रेसर, सामान्य रुघाखोकी लगायतका औषधी समेत वितरण हुने गर्दछ ।
विहान ८ देखी ९ बजे भित्रमा खाजा वितरण हुने गर्छ । खाजामा लोकल चाईनिज परिकारहरु अण्डा,, पास्ता, अमलेट लगायत र साउथ एसियन परिकारहरु पराठा, रोटी, तरकारी, सुजी, ब्रेड, चियालगायत आफ्नो रोजाई अनुसारको परिकार समावेश हुने गर्छ ।
१ देखि २ बजेको समय खानको समय हो । खानामापनि भेज, ननभेज लोकल चाईनिज परिकार र साउथ एसियन परिकार रोजाईमा रहेका हुन्छन् भने खानाको साथमा कोल्ड ड्रिङ्स, गुलियो मिठाई लगायत समावेश गरिएको हुन्छ ।
बेलुकी ७ देखी ८ बजे डिनरको समय हो । डिनरमा पनि आफ्नो रोजाईको खाना अर्डर गर्न सकिन्छ । यदि आफुलाई मेनु परिवर्तन गर्ने मन भएमा हरेक हप्ता मेनु मगाएर आफ्नो रोजाईहरु परिवर्तन गर्न सकिन्छ ।
हेल्थ डेस्कमा बसेका कर्मचारीहरुले हरेक बिहान ८ बजे र साँझ ४ बजे शरिरको तापक्रम नाप्ने गर्दछन् भने हरेक दिन ११ बजे फोन गरेर शारिरीक अवस्थाका बारेमा सोधपुछ गर्छन् । क्वारेन्टीन सेन्टरमा बाहिरबाट आफन्तहरुले पठाईदिएको फ्रेस खानेकुराहरु आवश्यक चेकजाँच गरेपछि लैजान पाउने अनुमती दिइन्छ ।
नेपालमा क्वारेन्टीन सेन्टर भित्र जातीय छुवाछुत, आत्महत्या, असुरक्षा जस्ता घटनाहरुले मन आक्रान्त बनेको बेला, हङकङको ब्यवस्थित क्वारेन्टीनले गर्दा राहत महशुस गरेको त्यहाँ बस्ने नेपालीहरु बताउँछन् ।