हिजोआजका केटाकेटीहरू कुनै मोडलभन्दा कम छैनन्। त्यसैले होला, उनीहरूको पहिरनमा लोभलाग्दा डिजाइन उपलब्ध हुन्छ। त्यसमा पनि केटीहरूको त झन् कुरै भएन। उनीहरू हिजोआजका युवतीभन्दा बढी स्टाइलिस र सुन्दर देखिन्छन्। साना नानीहरूको पहिरनमा ज्याकेट, कोट, स्वेटर, हाइनेक, बाक्लो टिसर्ट, कटराइज पाइन्ट, फर भएको कटनको बाक्लो पाइन्ट, स्कर्ट, उलन लेगिन, फूल फ्रक, भेल्बेटको वनपिस आदि चल्तीमा। यस्ता पहिरनको मूल्य ५ सय देखि ३ हजार रुपैयाँसम्म पर्छ। जाडोमा विभिन्न डिजाइनका भेल्बेटका वनपिस पार्टीका लागि तयार पारिएको पाइन्छ। यस्ता पहिरनलाई ४ हजार देखि १० हजारसम्म पर्ने कुपन्डोलस्थित डि्रम वेयर बुटिककी डिजाइनर मञ्जु बञ्जारा बताउँछिन्।
यस्ता पहिरनका साथमा हातमा कार्टुनको चित्र भएको पञ्जा, मुखमा लगाउने मास्क आदि पनि उपलब्ध हुन्छन्। शिरमा जाडो छेक्न उलन टोपी, क्याप र गलामा लगाइने मफ्लरहरू पनि उत्तिकै आकर्षक डिजाइन तथा रंगमा आएका छन्। नानीहरूका लागि जाडोमा प्रयोग हुने एसेसरिज पनि त्यतिकै आकर्षक हुन्छन्। यस्ता एसेसरिजमा विभिन्न फूल भएका फरक डिजाइनका बुट विशेष प्राथमिकतामा पर्छन्।
त्यसैगरी केटाहरूको पहिरनमा पनि पृथक्ता पाइन्छ। जाडो मौसमका लागि भनेर बजारमा ज्याकेट, बाबा सेट, कोट, स्वेटर, हाइनेक, जम्पर, कटरराइज पाइन्ट, फर भएको कटन पाइन्ट, बाक्लो टिसर्ट र टाउजर, हुडी, ढाकाको दौरा-सुरुवाल आदि उपलब्ध छन्। यस्ता पहिरन चीन, थाइल्यान्ड, बैंकक आदि मुलुकबाट नेपाल भित्रिन्छन्। केटाहरूको पहिरनको मूल्य ७ सय देखि ३ हजार ५ सय रुपैयाँसम्म पर्छ, भने बुटिकमा पाइने पार्टीवेयर सेरवानी र दौरा-सुरुवालको मूल्य ५ देखि १० हजार रुपैयाँसम्म पर्न सक्छ। केटाहरूका लागि अहिले विभिन्न डिजाइनका कन्भर्स जुत्ता तथा बुटहरू चल्तीमा छन्।