
साप्ताहिक संवाददाता

यो कोट लेगिन्ज, पाइन्ट तथा वानपिससँग लगाउन सकिन्छ । पार्टीमा समेत लगाउन मिल्ने भएकाले यसको लुक्स आकर्षक देखिन्छ । १४ वर्षदेखि माथि ३५ वर्षसम्मका महिलाले लगाउन मिल्ने यो कोटमा अगाडि बटन हुन्छन् । मोटो वा पातलो दुवै प्रकारका शरीर भएकाहरूलाई आकर्षक लुक्स दिने यो कोटको माग अहिले अकासिएको व्यवसायीहरू ब्ाताउँछन् । अम्ब्रेला कोटको माग अन्य कोटको तुलनामा बढी नै भएको पाको न्युरोडस्थित आकृति कलेक्सनकी व्यवसायी नीलमदेवीले बताइन् ।
चीनमा उत्पादित अम्ब्रेला कोट धेरै रंगमा उपलब्ध नभए पनि धेरैले रुचाएको नयाँ बानेश्वरस्थित पिकासो एक्सक्लुसिभ कलेक्सनका प्रोपराइटर राजु पौडेल बताउँछन् । अहिले बजारमा गाढा हरियो तथा क्रिम रंगका अम्ब्रेला कोट उपलब्ध छन् । विभिन्न पहिरनसँग लगाउन मिल्ने भएकाले पनि यसलाई सबैले रुचाएको हुन सक्ने असन कमलाक्षीस्थित दि न्यू लुक्स लेडिज वेयरकी सिल्भिया बताउँछिन् । नयाँ फेसन र जाडो छेक्ने क्षमता भएको अम्ब्रेला कोट गुणस्तरीय तथा आरामदायक भएकाले यसको माग बढेको सिल्भियाको बुझाइ छ ।
भित्री भागमा उन र बाहिरी भागमा रहेको सुतीले जाडोमा न्यानो राख्ने भएकाले अम्ब्रेला कोट मन परेको बालाजुकी सपना श्रेष्ठ बताउँछिन् । यसमा जाडोमा धेरै लुगा लगाउनुपर्ने समस्यासमेत टार्न सकिने खालको मेटेरियल प्रयोग गरिएको बानेश्वर निवासी पवित्रा शिवाकोटी बताउँछिन् । न्युरोडको आकृति कलेक्सनमा भेटिएकी शिवाकोटीले सीमित रंगमा उपलब्ध यो कोट आफूलाई असाध्यै मन परेको बताइन् । जाडोमा भद्दा लुक्सबाट जोगिन अम्ब्रेला कोट उपयुक्त भएको उनको तर्क छ ।