
इंगेजमेन्टका लागि
इंगेजमेन्टबाट सम्बन्धको सिँढी उक्लने हुनाले यो दिनको विशेष महत्त्व हुन्छ । यो दिन दुलहीहरू सफ्ट तथा पेस्टल कलरमा आकर्षक देखिन्छन्, तर मौसमअनुसार फेब्रिक छनौट गर्न बिर्सनु हुँदैन । जाडो महिनामा इंगेजमेन्ट गर्ने हो भने गाढा रंग छान्नुपर्छ जसले वार्म लुक दिन्छ । गर्मी मौसममा भने सफ्ट तथा पेस्टल कलर उत्तम हुन्छ । यस्तो अवसरमा दुलहीको स्किन कलरअनुसार फेब्रिक तथा रंग छान्नुपर्छ । अहिले दुलाहा र दुलहीको पहिरन म्याच गराउने चलन छ ।
प्रि–ब्राइडल फोटोसुट, इंगेजमेन्ट फोटोसुटसमेत हुने भएकाले दुलाहा र दुलही सँगै गएर एउटै रंगका फेब्रिक तथा डिजाइन छान्नु अझ उत्तम हुन्छ । इंगेजमेन्टमा ठूलो प्रिन्ट भएको पहिरन सकेसम्म लगाउनु हुँदैन गोरो छाला भएकाहरूलाई पेस्टल वा नेचुरल कलर राम्रो देखिन्छ भने हल्का काला देखिनेहरूले हल्का रंग नै छान्नुपर्छ ।
इंगेजमेन्टका दिन प्राय: साडी लगाइँदैन, केही समयअघिसम्म इंगेजमेन्टका दिन लेहेंगा लगाउने ट्रेन्ड थियो, अहिले यसका लागि पनि दुलाहा–दुलही दुवैले एउटै कन्सेप्ट बनाएका हुन्छन् । इंगेजमेन्टका दिन डिजाइनर गाउन, रिसेप्सनका दिन लेहेंगा, अन्माउने दिन साडी लगाउने ट्रेन्ड बढ्दो छ । फरक–फरक इभेन्टमा फरक–फरक मेकअप, हेयर स्टायल तथा ड्ेरसअप गर्दा तस्बिर पनि राम्रो र फरक किसिमको आउँछ ।
रिसेप्सनका दिन
रिसेप्सनको दिन दुलहीमा विशेष रूपमा सुन्दर देखिने चाहना हुन्छ जसमा पहिरनले विशेष भूमिका निर्वाह गर्छ । यो दिनका लागि दुलहीको शारीरिक बनावटअनुरूपको पहिरन तयार गराउनुपर्छ । पहिरन छान्नुअघि परिवार तथा फेसन डिजाइनरसँग सल्लाह लिनुपर्छ । कतिपय पहिरन आफूले लगाउँदा निकै सुहाएजस्तो भए पनि अरुको आँखामा नराम्रो देखिएको हुनसक्छ ।
अहिले रिसेप्सनका लागि लेहेंगा नै सबैको पहिलो रोजाइमा छ । रिसेप्सनको लेहेंगा भेल्भेट, र–सिल्क, नेट वा सिल्क फेब्रिकमा तयार गराउन सकिन्छ । लङ ज्याकेट, र–सिल्क तथा भेल्भेटबाट बनाइएका लेहेंगाले दुलहीलाई थप सुन्दर देखाउँछ । अहिले चिसो मौसम भएकाले दुलहीका लागि न्यानो पहिरन आवश्यक हुन्छ । यसका लागि लङ ज्याकेट, क्याप स्लिभ, फूलकारी वा चाइनिज नेकयुक्त ब्लाउज उपयुक्त हुन्छन् । लेहेंगामा फरक–फरक कट तथा ब्लाउजमा प्रशस्तै डिजाइन गर्न सकिने भएकाले धेरैले रिसेप्सन पार्टीमा लेहेंगा नै रुचाउँछन् ।
विवाहको दिनको पहिरन
विवाहको मुख्य दिन नै दुलही अन्माउने दिन हो । यो दिन मुख्य आकर्षण दुलही नै हुन्छिन् । त्यसैले राम्री देखिन मेकअप, ज्वेलरीदेखि पहिरन शैलीसम्ममा कसैले कुनै कसर छोड्न चाहँदैनन् । विवाहको समयमा पहिरन, मेकअप तथा ज्वेलरी सबैको कम्बिनेसन मिलाउन जान्नुपर्छ । विवाहको दिन साडी नै लगाउनुपर्छ भन्ने धेरैको मान्यता छ । पहिलो पटक नयाँ घरमा जान लागेको हुँदा सुन्दरताका साथमा सौम्य र भलाद्मी पनि देखिनुपर्छ । यो दिन रातो पहिरन लगाउने चलन छ ।
अहिले विवाहको दिन दुलहीले लगाउने साडीमा बोर्डर ह्यान्डवर्क गराउने चलन छ । दुलहीको उचाइअनुसार बोर्डर ठूलो वा सानो राख्न सकिन्छ । यो दिन चौबन्दी चोली फोकस हुने डिजाइनको ब्लाउज ट्रेन्डी देखिन्छ । यस्तो डिजाइनको चोली न्यानो पनि हुन्छ । बोर्डरको कन्ट्रास ब्लाउज तथा डायबल क्रेप कन्ट्रास गरी डाई गरेर तयार पारिएको ब्लाउज पनि धेरै राम्रो देखिन्छ ।
- मञ्जु बञ्जारा, ड्रिम वेयर बुटिक, कुपन्डोल