वर्ष २०७५ मा पनि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा नेपालको सहभागिता उल्लेख्य रह्यो । यो सहभागिता उपस्थितिमा मात्र सीमित नरही उपलब्धिमूलक र ऐतिहासिक पनि रहे ।
मिस अर्थमा प्रियाको सफलता
मिस नेपाल अर्थ–२०१८ प्रिया सिग्देल फिलिपिन्समा सन् २०१८ नोभेम्बर ३ मा सम्पन्न १८औं संस्करणको मिस अर्थमा उत्कृष्ट १८ भित्र अटाइन् । बेस्ट इको भिडियो एवार्ड जितेसँगै प्रियाले आफूलाई प्रतियोगिताको उत्कृष्ट १८ भित्र उभ्याउन सफल भइन् भने इन्टिेलिजेन्स एन्ड एड्भोकेसी तर्फको प्रस्तुतिमा प्रियाको पर्फमेन्सले पाँचौं स्थान प्राप्त गर्यो । प्रतियोगिताअन्तर्गत फायर ग्रुपमा रहेकी प्रियाले सो समूहको ट्यालेन्ट राउन्ड प्रस्तुतिमा रजन पदक प्राप्त गरिन् । मिस अर्थ–२०१८ को स्पेसल एवार्डमध्ये एक डिभी बोएर एम्बास्ड्रेसको एवार्ड पनि प्राप्त गरिन् ।
मिस वर्ल्डमा श्रृङ्खला
६८ औं संस्करणको मिस वर्ल्ड–२०१८ मा मिस नेपाल–२०१८ श्रृङ्खला खतिवडाले उत्कृष्ट १२ को यात्रा तयर गरिन् । श्रृङ्खला खतिवडाले प्रतियोगितामा मल्टिमिडिया र ब्युटी विथ अ पर्पोजको एवार्डसँगै उत्कृष्ट ३० र त्यसपछि उत्कृष्ट १२ सम्मको यात्रा तय गरेकी थिइन् । सान्या टुरिजम प्रोमोशन भिडियो एवार्ड उनी सेकेन्ड रनर्सअप भइन् । उनी मिस वर्ल्ड टप मोडल कम्पिटिसनतर्फ उत्कृष्ट ३२ भित्र अटाइन् । फास्ट ट्रयाक एवार्ड बाहेक मिस वर्ल्डको अर्को महत्वपूर्ण पाटो मानिएको हेड टू हेड च्यालेन्जमा खतिवडा समूह विजेता बनेकी थिइन् ।
मिस युनिभर्स– २०१८ मा मनिता
६७ औं संस्करणको मिस युनिभर्समा मिस नेपाल युनिभर्स–२०१८ मनिता देवकोटाले उत्कृष्ट १० सम्मको यात्रा तय गरेर ऐतिहासिक सफलता प्राप्त गरिन् । मिस युनिभर्समा नेपालको दोस्रो सहभागितामै सेमिफाइनलसम्मको यात्रा तय गरिनुलाई ऐतिहासिक मानिएको छ ।
मिस युनिभर्स–२०१८ अन्तर्गतको च्यारिटी अक्सनमा मनिताले सबैभन्दा बढी रकम संकलन गरेर उक्त टास्कको विजेता बनेकी थिइन् । मनिताले च्यारिटी अक्सनका लागि कायो स्टुडियो र स्वर्ण महाराजाले डिजाइन गरेको बुद्धिष्ट श्याडो बक्सलाई प्रस्तुत गरेकी थिइन् ।
उपलब्धिमूलक यात्रा तय गर्नेहरू
वर्ष २०७५ का अन्य प्रतिस्पर्धाहरूमा पनि नेपाली प्रतिनिधित्व निकै सफल रह्यो । दुबईमा सञ्चालनमा भएको मिस वर्ल्ड डाइभर्सिटी–२०१८ मा नेपालकी युनिता खत्रीले मुख्य उपाधि नै जितिन् । शीर्ष उपाधिबाहेक युनिताले बेस्ट डान्सको एवार्ड पनि जितेकी थिइन् । मिस वर्ल्ड डाइभर्सिटीमा नेपालको यो पहिलो सहभागिता हो ।
सिंगापुरमा सञ्चालन भएको टिकेएस मिसेज इन्टरनेसनलको १२ औं संस्करणमा नेपालका तीन सुन्दरीमध्ये चन्दा थापा गिरीले मिसेस एसिया प्यासफिक इन्टरनेसनल–२०१८ को उपाधि जितिन् । उनले मिसेज फ्रेन्ड्ली इन्टरनेसनलको उपाधि पनि आफ्नो पोल्टामा पारिन् । सो प्रतियोगितामा सुरुचि पाण्डेले मिसेज इन्टरनेसनल बेस्ट ट्यालेन्ट, एलिगेन्स ब्युटी तथा ब्युटी एम्बेसडरको एवार्ड जितिन् भने एलिजा महर्जनले कन्टेष्टेन्ट अफ द इयर, इन्टिलेक्चुअल ब्युटी र बेस्ट सेल्फ इन्ट्रोडक्सनको एवार्ड आफ्नो पक्षमा पारिन् । प्रतियोगितामा टिम नेपालले बेस्ट टेबल सेट अपको एवार्ड पनि जितेको थियो ।
फिलिपिन्समा सञ्चालन भएको विवाहिता महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिसेज युनिभर्स–२०१८ मा नेपालकी मनीषा डंगोल श्रेष्ठले एन्जल हार्टको उपाधि जितेकी थिइन् ।
थाइल्यान्डमा सम्पन्न क्लासिक एाड मिसेज एसिया इन्टरनेसनल–२०१८ मा परिकल्पना राईले बेस्ट पर्फमेन्स एवार्ड प्राप्त गरिन् । ४० वर्ष भन्दा मुनि र ४० वर्ष भन्दा माथिको विवाहित महिलाहरूको दुई उमेर समूहमा सहभागीहरूको प्रतिस्पर्धा भएको सो प्रतियोगितामा परिकल्पना समग्र सहभागीहरूमा बेस्ट पर्फमेन्स विजेता भएकी थिइन् ।
सिंगापुरमा सञ्चालन भएको हेरिटेज् पेजेन्ट्स–२०१९ को ग्रान्ड फिनालेको मिस हेरिटेज इन्टरनेसनलतर्फ नेपालकी अदिति श्रेष्ठले मिस फोटोजेनिक एवार्डसहित फोर्थ रनर्सअपको उपाधि प्राप्त गरिने भने मिसेज हेरिटेज इन्टरनेसनलतर्फ दुर्गा विसुराल सेकेन्ड रनर्सअप उपाधिको हकदार बनिन् । प्रतियोगितामा विसुरालले मिसेज पिस ड्रेस, पिस एम्बेसडर तर्फ सेकेन्ड रनर्सअप तथा मिसेज एथ्निकतर्फ फस्ट रनर्सअपको एवार्ड पनि जितिन् ।
इजिप्टमा सञ्चालन भएको स्टार्ट मिनी मोडल्स अफ द वर्ल्ड–२०१९ मा नेपालकी ५ वर्षीया प्रिन्सा खड्काले मिनी मोडल वर्ल्डको उपाधि जितिन् । उनले प्रतियोगितामा बेस्ट डान्सरको एवार्ड पनि आफ्नो नाममा पारिन् । सो प्रतियोगितामा १८ वर्षमुनिका विश्वका विभिन्न मुलुकका ४५ जनाले सहभगिता जनाएका थिए । प्रिन्सा सबै सहभागि मध्ये सबैभन्दा कान्छी थिइन् ।
थाइल्यान्डको बैंककमा संचालन भएको इन्टरनेसनल किड्स अफ द इयर–२०१८ अन्तर्गतको टिन विधामा नेपालकी एरी तुलाधर इन्टरनेसनल टिन अफ द इयरतर्फ सेकेन्ड रनर्सअप भइन् ।
कोरियाको इन्चिन शहरमा सम्पन्न पाँचौं लक्जरी ब्राण्ड मोडल एवार्ड, ग्लोबल फेसन विक–२०१८ मा नेपालका लागि विक्रम आदित्य महासेठ र रुविष्का श्रेष्ठले ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ एवार्ड जिते भने अदीति अधिकारीले ‘फेसनिष्टा एन्ड ब्रान्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ तथा आदर्श ज्ञवालीले ‘बेस्ट पर्सनालिटी’ एवार्ड प्राप्त गरे । अर्कातर्फ भारतको नयाँ दिल्लीमा सञ्चालन भएको मिस सुपर मोडल ग्लोबमा नेपालकी अदिति अधिकारी मिस फेसन मोडलको एवार्ड सहित सेकेन्ड रनर्सअप भइन् ।
प्लस साइज महिलाहरूमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साइज–२०१८ मा नेपालकी सपना राईले मिस स्माइलको एवार्ड प्राप्त गरिन् ।
मलेसियाको पेटालिङ जायामासञ्चालन भएको मिस कस्मोपोलिटन वर्ल्ड–२०१८ मा नेपालकी ओरुशा थापा मगरले ट्यालेन्ट विधाको एवार्ड जितिन् ।
ज्वेल अफ द वर्ल्ड नामक नयाँ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालकी सपना भेटवाल बोके फेस्टिभल क्विन उपाधिको हकदार बन्न सफल भइन् । संयुक्त राष्ट्रसंघको साधारण सभाले घोषणा गरे अनुसार मे २१ मा मनाइने वर्ल्ड डे अफ कल्चरल डाइभर्सिटी अर्थात् सांस्कृतिक विविधताको विश्व दिवसलाई प्रवर्द्धन गर्ने उद्देश्य अनुसार ज्वेल अफ द इयर प्रतियोगिता फिलिपिन्समा आयोजना गरिएको थियो ।
भारतको नयाँ दिल्लीमा सञ्चालनमा भएको मिस ब्रिक्स इन्टरनेसनल–२०१८ मा नेपालकी एकता कुँवरले ट्यालेन्ट विधातर्फ एवार्ड जितिन् । एकताले प्रतियोगिताको टप सेभेन फाइनलिस्ट सम्मको यात्रा तय गरेकी थिइन् ।
भारतको नयाँ दिल्लीमा सञ्चालन भएको फेश अफ ब्युटी इन्टरनेसनल–२०१८ मा फेस अफ ब्युटी नेपाल–२०१८ प्रिया रानी लामाले उत्कृष्ट २० तथा आफ्नो उमेर समूहमा उत्कृष्ट १० मा आफ्नो नाम लेखाइन् ।
फिलिपिन्समा सञ्चालन भएको मिस ग्ल्यामर लुक इन्टरनेसनल–२०१९ मा नेपालकी खुश्बु यादवले मिस क्लोज अप स्माइलको एवार्ड जितिन् ।
मुना गौचनले इजिप्टमा सञ्चालन भएको मिस इको इन्टरनेसनल–२०१९ मा उत्कृष्ट २१ सम्मको यात्रा तय गरिन् ।
पुरुषतर्फ
फणेन्द्रलाई मिस्टर नेसनल युनिभर्स–२०१८
फणेन्द्र प्रसाईंले थाइल्यान्डमा सञ्चालन भएको मिस्टर नेसनल युनिभर्स–२०१८ मा शीर्ष उपाधि जितेर अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालीहरूको उपस्थितिलाई बलियो बनाए ।
मिस्टर नेसनल युनिभर्स–२०१८ का विजेता २५ वर्षीय फणेन्द्र मिस्टर एन्ड मिस ग्ल्यामरस आइकन दोस्रो सिजनका शीर्ष उपाधि विजेता हुन् ।
दिक्पाललाई मिस्टर मोडल अफ द वर्ल्ड–२०१८
दिक्पाल कार्कीले मिस्टर मोडल अफ वर्ल्ड–२०१८ को मुख्य उपाधि जितेर ऐतिहासिक सफलता प्राप्त गरे । म्यानमारको याङगोनमा सञ्चालन भएको मिस्टर मोडल अफ द वर्ल्ड–२०१८ को ग्रान्ड फिनालेमा मुख्य उपाधिसँगै दिक्पालले किङ अफ क्याटवाक, फेस अफ चान लोन हेयर तथा बेस्ट इन फर्मल वेयरको एवार्ड पनि जितेका थिए भने बेष्ट नेसनल कस्ट्युम विधातर्फ दिक्पाल बेस्ट अफ थ्रीमा परेका थिए ।
थाइल्यान्डमा सम्पन्न म्यान अफ द इयर–२०१८ मा नेपालका सुशान्त काजी श्रेष्ठले मिस्टर इन्टरनेट पपुलारिटीको एवार्ड जिते । प्रतियोगितामा सुशान्तले लु चाङ हुवाट मोडल, गोल्ड हुट कुटर मोडल, सायम हाउस भिलेज बेस्ट मोडल एवार्ड पनि हात पारेका थिए । यसैगरी उनले बेस्ट भिगोर तथा वाइल्ड लाइफ फोटोसुट च्यालेन्जतर्फ कांस्यपदक पनि जिते ।
थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता अल्टिच्युड मेन इन्टरनेसनल–२०१८ मा नेपालका शेराप ग्याल्सेन लामाले बेस्ट स्टाइलिस एवार्ड प्राप्त गरे ।
फिलिपिन्समा सम्पन्न मिस्टर कन्टिनेन्टल इन्टरनेसनल–२०१८ मा नेपालका आशिक ताम्राकारले बेस्ट इन ट्राडिसनल ड्रेसको एवार्ड प्राप्त गरे ।
भारतको नयाँ दिल्लीमा सञ्चालन भएको मिस्टर मोडल वर्ल्ड वाइड–२०१८ मा नेपालका सुरज राजोपाध्यायले मिस्टर चार्मिङ स्माइलको एवार्ड जिते ।
भारतकै नयाँ दिल्लीमासञ्चालन भएको मिस्टर युनिभर्सनल एम्बेसडर–२०१८ मा नेपालका सुसन महर्जन उत्कृष्ट १२ सम्मको यात्रा तय गरे ।
अस्ट्रेलियामा सम्पन्न म्यानहन्ट इन्टरनेसनलको १९ औं संस्करणमा नेपालका ध्रुव बुढाथोकीले उत्कृष्ट १५ सम्मको यात्रा तय गरे ।
बाल बालिका तथा टिनएजरतर्फ
यो वर्ष बालबालिका सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा पनि नेपाली बालबालिकाको उपलब्धिमूलक उपस्थिति रह्यो । थाइल्यान्डमा सम्पन्न इन्टरनेसनल किड्स अफ द इयर–२०१८ एसिया प्यासिफिक प्रिन्स एन्ड प्रिन्सेस–२०१८ मा नेपालका युनिक पराजुली, रिब्या तन्डुकार, प्रनिश खड्का र पलिस्ता महर्जनले सहभागिता जनाएका थिए । इन्टरनेसनल किड्स अफ द इयर २०१८ मा युनिक पराजुली आफ्नो उमेर समूहमा फस्ट रनर्सअप भए । प्रतियोगितामा युनिकले बेस्ट इन्ट्रोडक्सन, बेस्ट ड्रेस तथा स्पोर्ट्स च्यालेन्ज एवार्डमा सफलता हासिल गरे ।
एसिया प्यासिफिक प्रिन्स एन्ड प्रिन्सेस–२०१८ मा युनिक आफ्नो उमेर समूहमा विजेता भएका थिए । उनले प्रतियोगितामा मोस्ट पपुलर तथा बेस्ट नेसनल ड्रेसको एवार्ड पनि जिते । इन्टरनेसनल किड्स अफ द इयरमा सहभागिता जनाएकी रिब्या तन्डुकारले आफ्नो उमेर समूहमा सेकेन्ड रनर्सअप एवार्ड जितिन् । उनले प्रतियोगितामा बेस्ट इन्ट्रोडक्सनको एवार्ड पनि हात पारिन् । एसिया प्यासिफिक प्रिन्स एन्ड प्रिन्सेस तर्फ पनि रिब्या सेकेन्ड रनर्सअप बनिन् । एसिया प्यासिफिक प्रिन्स एन्ड प्रिन्सेस तर्फ प्रनिश खड्का आफ्नो उमेर समूहमा सेकेन्ड रनर्सअप भए । उनले मोस्ट पपुलरको एवार्ड पनि जिते । अर्का सहभागी पलिस्ता महर्जन इन्टरनेसनल किड्स अफ द इयरमा आफ्नो उमेर समूहतर्फ सेकेन्ड रनर्सअप भइन् ।
थाइल्यान्डमा सञ्चालन भएको बालबालिका तथा टिनएजर सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा टिम नेपालले सफलता आर्जन गर्यो । सो प्रतियोगितामा नेपालकी १२ वर्षीया प्रितान्सा थापाले मिस लिटिल प्रिन्सेस इन्टरनेसनल–२०१८ को शीर्ष उपाधि जितिन् । सोही प्रतियोगितामा १६ वर्षीय रोमश श्रेष्ठ मिस्टर टिन प्रिन्स इन्टरनेसनल–२०१८ फस्ट रनर्सअप भए । उनले मिस्टर टिन एसियाको एवार्ड पनि प्राप्त गरे । प्रतियोगितामा १७ वर्षीया अस्मिता ढुंगाना मिस टिन प्रिन्सेस इन्टरनेसनल–२०१८ तर्फ सेकेन्ड रनर्सअप भइन् ।
प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल–२०१८ मा नेपालको तर्फबाट प्रि टिन समूहमा प्रतिस्पर्धा गरेका हर्षित अग्रवालले बेस्ट इन्टरभ्यु एवार्ड जिते भने प्रि टिन समूहमै सहभागिता जनाएकी अनुजा पन्तले मिस चार्मिङ विधाको एवार्ड जितिन् ।
टर्कीमा सम्पन्न फेस्टिभल मोडल एन्ड ट्यालेन्ट वर्ल्ड–२०१८ मा नेपालकी फुङ्नाम लिम्बूले ७ देखि १० वर्षको उमेर समूहमा शीर्ष उपाधि जितिन् भने याङ्जी के.सी. ४ देखि ६ वर्षको उमेर समूहमा सेकेन्ड रनर्सअप भइन् । सो प्रतियोगितामा फुङ्नाम बेस्ट क्याटवाक र बेस्ट ट्यालेन्टको पनि हकदार भएकी थिइन् भने याङ्जीले बेस्ट स्माइल र टुरिजम एवार्ड पनि थापेका थिए ।
टर्कीको अन्तालियामा सञ्चालन भएको लिटिल मिस युनिभर्स–२०१८ मा नेपालका १३ वर्षीया लुइसा गुरुङले मिस सुपर मोडल र मिस ग्रेसको एवार्ड जितेकी थिइन् ।
दुबई सञ्चालन भएको मिस क्विन एन्ड मिस्टर किङ अफ ग्लोब इन्टरनेसनल–२०१८ मा नेपालका विराज चौहानले बेस्ट ड्रेस एवार्डसहित मास्टर किङ अफ ग्लोब इन्टरनेसनल–२०१८ को उपाधि जिते भने गर्दिष्मा मल्लले लिटिल मिस क्विन अफ ग्लोब इन्टरनेसनल–२०१८ को उपाधि जितिन् । सोही अवसरमा मिस टिन क्विन अफ ग्लोब इन्टरनेसनल–२०१८ को उपाधि आश्मा दुलालले जितिन् ।